विकासन्युज

अझै कर्जा दिन नसक्ने अवस्थामा यी ४ बैंक, प्रभु बैंकसहित ७ बैंकलाई सहज

काठमाडौं । अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव छ । बैंकहरुले कर्जा लगानीका लागि लगानीयोग्य रकम नपाइरहेको अवस्था छ । असार मासन्तमा धेरै बैंकहरुलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न पनि धौधौ भएको थियो । नयाँ आर्थिक वर्ष सुरु भएपनि अझै केही बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् । नबिल, ग्लोबल आइएमई, कृषि विकास र मेगा बैंक अझै पनि कर्जा लगानी गर्न सक्ने अवस्थामा छैनन् । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अझै पनि नबिल बैंकको ८९.७९ प्रतिशत, ग्लोबल आइएमईको ८९.२१ प्रतिशत, कृषि विकासको ८९.१७ प्रतिशत र मेगा बैंकको ८९.०५ प्रतिशत सीडी रेसियो छ । प्रभु बैंक भने सहज अवस्थामा छ । प्रभुको सीडी रेसियो ७८.३५ प्रतिशत छ । सीडी रेसियोमा सहज अवस्थामा कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, सिभिल र राष्ट्रिय वाणिजय बैंक पनि रहेका छन् । नेपाल राष्ट्र बैंकले ९० प्रतिशतको सीडी रेसियो हुनु पर्ने व्यवस्था गरेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम झन बढेकाे छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटिसकेको छ । नेपाल बैंकर्स संघका अनुसार साउनको तेश्रो साता (साउन २० गतेसम्म) मा बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा ४ अर्ब रुपैयाँले घटी हो । गत असार मसान्तमा भने बैंकहरुमा यस्तो रकम ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको थियो । त्यस्तै, बैंकहरुको कर्जा लगानी भने अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साता ४१ खर्ब ६४ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ नाघेको छ । जुन असार मसान्तमा भने ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो । त्यस्तै, कर्जा लगानी बढेको बैंकहरुको औषत सीडी रेसियो भने घटेको छ । अघिल्लो साता ८७.९८ प्रतिशत रहेको बैंकहरुको औषत सीडी रेसियो यो साता थोरैले घटेर ८७.६९ प्रतिशतमा झरेको छ । निक्षेप घट्दै गएपछि बैंकहरुले लगानी गर्नका लागि रकमकाे अभाव भइरहेकाे हाे ।

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा

वासिङटन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको जनाएका छन् । पूर्व राष्टपति ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबिआइका एजेन्टहरु आएर छापा मारेको जनाएको समाचारमा उल्लेख गरिएको छ । उनीहरुले उनको त्यहाँस्थित घरलाई नै नियन्त्रणमा लिएका छन् । एफबीआईको यो छापा उनी अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरुका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ । साथै गत वर्ष अमेरिकी संसद भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकोले त्यस विषयका लागि पनि यो छापामा मारिएको अनुमान गरिएको छ । यस विषयमा संसदीय छानबिन जारी रहेको छ । एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्व अमेरिकी राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा रहेका बताइएको छ ।

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदमा कार्मचारी

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले मंगलबार एक सुचना जारी गर्दै ६ वटा पदमा कर्मचारी मागेको हो । लघुवित्तले विभागीय प्रमुख र कानुन अधिकृतका लागि १ जना कर्मचारी मागेको छ । साथै, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुख, सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी र प्रशिक्षार्थी सहायकका लागि केही मात्रामा कर्मचारी मागेको छ । लघुवित्तको अनुसार विभागीग प्रमुख, कानुन अधिकृत, प्रदेश प्रमुख, अनुगमन अधिकृत शाखा प्रमुखका र व्यवस्थापन प्रशिक्षार्थी लागि न्यूनतम योग्यता स्नातकोत्तर गरी बैंक तथा वित्तिय संस्थाको काम गरेको हुनुपर्नेछ । त्यस्तै, सहायकले प्लस टु र कनिष्ठ सहायकले एसईई उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । प्रशिक्षार्थी सहायकले भने १० कक्षा उत्र्तीण गरी कम्प्युटर सम्बन्धी जानकार भएको हुनुपर्नेछ लघुवित्तले जनाएको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन भदौ ७ गतेभित्र लघुवित्तको वेवसाइट आवेदन दिइसक्नुपर्नेछ ।

एक जनाबाहेक अन्य मुख्य सचिव १ वर्षसम्म पनि कर्णालीमा बसेनन्

जाजरकोट । कर्मचारीको समस्यलले गर्दा कर्णाली प्रदेशमा काम गर्न समस्या हुँदै आएको छ । झण्डै ३७ प्रतिशत कर्मचारी अभाव हुँदा काम गर्न समस्य परेको हो । आठ मन्त्रालय र प्रदेश सरकार मातहतका अन्य निकायका लागि स्वीकृत दरबन्दी दुई हजार ८६२ रहेकामा हाल एक हजार ७२२ कर्मचारीले काम गरिरहेका छन् भने अझै एक हजार १४० कर्मचारी अभाव छ । तीमध्ये कतिपय त केन्द्रबाट काजमा खटिएका, केही समायोजन भएका र केही करारका समेत छन् । पाँच वर्षको अवधिमा कर्णालीमा आठ मुख्य सचिव फेरबदल भएको पाइएको छ । तीन महिनादेखि आठ महिनासम्म मात्र यहाँ सचिव टिकेको तथ्याङ्कले देखाउँछ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा पाँच उपसचिव आवश्यक भए पनि अहिले एउटाले मात्रै काम चलाइरहेको अवस्था छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री विन्दमान विष्ट प्रदेशका कुनै पनि मन्त्रालयमा दरबन्दीअनुसारको कर्मचारी नरहेको बताउँछन् । पाँच वर्षको अवधिमा कर्णालीमा आठ मुख्य सचिव फेरिएकामा अधिकांश तीन महिनादेखि ८ महिनामै फर्किएका छन् । एक जनाबाहेक अन्य मुख्य सचिव एक वर्षसम्म पनि कर्णालीमा बसेनन् । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा छ र वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा दुई मुख्य सचिव फेरिएका छन् । ‘कतिपय सचिव र मुख्य सचिवको सरुवा प्रदेश सरकारलाई थाहै नदिएर गरिएको अवस्था छ,’ प्रवक्ता विष्टले भने, ‘प्रमुख सचिवको हकमा केही रिटायर हुन चार/पाँच महिना बाँकी रहेकालाई पठाइयो । उनीहरू अवकाश भएपछि स्वतः अर्को आउनुपर्ने हुन्छ । कतिपय मुख्य सचिवले आफ्नो एक्सेसमा सरुवा मागेर गएको अवस्था छ ।’ प्रवक्ता विष्टका अनुसार सबैभन्दा धेरै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव फेरबदल भएको छ । यो मन्त्रालयमा साढे चार वर्षको अवधिमा १० सचिव फेरबदल भइसकेका छन् । उनका अनुसार कर्मचारी सिंहदरबार छोड्न मान्दैनन् । ‘उनीहरूलाई सिंहदरबारमै ठूलो अवसर भएर होला, धेरैजसोको घर काठमाडौं मै छ, त्यसैले पनि कर्णालीमा धेरै समय टिक्न सक्दैनन् । राजनीतिक मनोविज्ञानले पनि कर्मचारीतन्त्रमा असर पार्ने गरेको छ,’ उनले भने । रासस

बेनी–जोमसोम–कोरला सडकमा करिब छ अर्ब खर्च

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा पाँच अर्ब ८४ करोड खर्च भएको हो । विसं २०७२ मा भएको नाकाबन्दीपछि तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने दीर्घकालीन उद्देश्यले सडक आयोजना सुरु गरेको थियो । सात अर्ब ५५ करोड कूल लागत अनुमान गरिएको सो आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले बताए । ‘सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगति भएको छ,’ उनले भने, ‘सडकतर्फ ६ अर्ब ३१ करोड र पुलतर्फ एक अर्ब २४ करोड बजेट खर्च भई कामसमेत भइरहेका छन् ।’ सरकारले आर्थिक वर्ष २०७९/८० मा यस आयोजनालाई एक अर्ब ३८ करोड ७६ लाख विनियोजन गरेको छ । थपिएका मालढुङ्गा–बेनी १३ किमी र जोमसोम कागबेनी १३ किमी सडक कालोपत्र गर्ने योजना गत वर्षदेखि सुरु भएको हो । यसअघि बेनी गलेश्वर ४ किमी सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालयले लिएकामा सो सडक पनि अहिले कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । जोमसोम कोरला ११० किमी सडकको सातमध्ये छवटा खण्डको काम सम्पन्न भई कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । साथै चराङ छोसेर २५ किमी सडकको भौतिक प्रगति ९० प्रतिशत छ । उक्त सडक चालु आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख प्रजापतिले बताए । योसँगै जोमसोम कोरला सातवटै खण्डको ग्राभेल सकिने भएको छ । जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगति ९८ प्रतिशत छ । उक्त सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न दुई अर्ब ६५ करोडमा विभिन्न कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । जोमसोम कोरला सडकअन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी १३ किमी अस्फाल्ट कालोपत्र विस्तार गर्न आर्थिक वर्ष २०७८/७९ मा २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले १० महिनामा तीन प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म १३ किमी सडक स्तरोन्नतिसहित अक्फाल्ट कालोपत्र गर्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । अहिले मालढुङ्गा बेनी १३ किमी सडकको भौतिक प्रगति २० प्रतिशत रहेको आयोजनाले जनाएको छ । कोरला नाका जोड्ने (बेनी जोमसोम कोरला) सडकमा १९ वटा पुल रहेको आयोजनाले जनाएको छ । जसमध्ये पाँचवटा पुल सम्पन्न भइसकेको र बाँकी १४ वटा पुल निर्माणधीन अवस्थामा छन् । कोरला सडकअन्तर्गत म्याग्दीतर्फ दुईवटा र मुस्ताङतर्फ तीनवटा पुल निर्माण भएको आयोजना प्रमुख प्रजापतिले बताए । म्याग्दी खण्डको राहुघाट खोला र म्याग्दी दानाको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । मुस्ताङ खण्डतर्फ लेते खोला, स्याङ खोला र पान्डा खोलामा पुल निर्माण भएको आयोजनाले जनाएको छ । रासस

‘सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?’

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब वृद्धि गर्नु गलत भएको तर्क गरे । उनले भने, ‘सरकारी कर्मचारीका निम्ति सरकारले तलब वृद्धि गरेको छ, यसमा एउटा दुविधा देखिएको छ, राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि हुने भएको छ, जसले गर्दा नायब सुब्बाहरु आन्दोलनमा छन्, त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उनले बताए । उनले भने, ‘ऐन नबन्दा सुशासनभन्दा पनि शासन गर्न गाह्रो भइरहेको छ, ऐन नहुँदा प्रदेश लोक सेवा आयोगले पूरा काम गर्न सकेको छैन, स्थानीय सेवा र प्रदेश सेवाको गठन हुन सकेको छैन, स्थानीय तहमा आठ प्रकृतिका कर्मचारी छन्, जसलाई समायोजन गर्न सकिएको छैन, निजामती सेवाको बनावट र वितरण त्रुटिपूर्ण छ ।’  

१० सूचकमा २६ बैंक : कुनको स्ट्रेन्थ कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार २६ वटा बैंकहरु विभिन्न सूचकहरुमा अब्बल देखिएका छन् । विभिन्न सूचकमा फरक–फरक बैंकहरुको स्ट्रेन्थ देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफा, निक्षेप, कर्जा लगानी, चुक्ता पुँजी, जगेडा कोष, ब्याज आम्दानी, सिडी रेसियो, प्रति सेयर आम्दानी, खराब कर्जा र रिटर्न अन इक्विटीमा फरक– फरक बैंकहरु अब्बल देखिएका हुन् । नाफामा राष्ट्रिय वाणिज्य बैंक टप  अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा २३.१४ प्रतिशतले बढेको छ । गत वर्षको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले नाफा ७४ अर्ब ८० करोड ११ लाख रुपैयाँ गरेका छन् । नाफामा राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । नाफामा ग्लोबल आईएमई बैंक दोस्रो देखिएको छ । ग्लोबल आइएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख, नबिल बैंकले ४ अर्ब ९७ करोड २७ लाख, एनआइसी एशियाले ४ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् । एनएमबि बैंक, प्राइम बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेर प्रतिस्पर्धा गरिरहेका छन् । सरकारी लगानी रहेको नेपाल बैंक पनि आफ्नो स्थान बढाउँदै गएकाले अझै अग्रस्थानमा छिट्टै पुग्ने तथ्याङ्कले देखाएको छ । कुमारी, मेगा, कृषि विकास, प्रभु, एभरेष्ट, हिमालयन, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटजन्स, माछापुच्छ्रे, सनराइज र एनसीसी बैंकले २ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । बिओके, नेपाल एसबिआई, लक्ष्मी, सिभिल र सेञ्चुरी बैंक भने एक अर्ब क्लबमा प्रतिस्पर्धा भइरहेको छ । नेपाल एसबिआई, सिभिल र सेञ्चुरी पहिलो पटक एक अर्ब बढी नाफा आर्जन गरेर अर्ब क्बलमा पुगेका हुन् । प्रतिशतका हिसाबले तुलना गर्ने हो भने यी ३ बैंकको नै सबैभन्दा बढी नाफा बढेको हो । सिभिलको १६२, सेञ्चुरीको ११६ र नेपाल एसबिआई बैंकको नाफा बढेको हो । गत वर्ष ३ वटा वाणिज्य बैंकको नाफा घटेको तथ्याङ्कले देखाएको छ । सानिमा, हिमालयन र कृषि विकास बैंकको नाफा घटेको देखिएको छ । निक्षेप, कर्जा र जगेडामा नबिल यसअघि नाफामा अगाडि देखिने नबिल भने यस पटक कर्जा लगानी, निक्षेप संकलन र जगेडा कोष बढी भएको बैंकको शिर्ष स्थानमा छ । नबिल बैंकको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कर्जा लगानी, निक्षेप संकलन र जगेडा कोष बलियो बनाउनेमा नम्बर वान बैंकका रुपमा देखिएको छ । नबिलले गत आर्थिक वर्षमा ३ खर्ब २६ अर्ब २२ करोड २३ लाख निक्षेप संकलन गरेको छ भने ३ खर्ब १ अर्ब ७ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यस अवधिसम्म कुल २६ अर्ब ३७ करोड ९१ लाख रुपैयाँको जगेडा कोष बनाएको छ । जगेडा कोष बैंक तथा वित्तीय संस्थाको एक महत्वपूर्ण र स्ट्रेन्थ देखाउने सूचक पनि हो । निक्षेप संकलन बढी गर्ने दोस्रोमा एनआइसी एशिया, तेस्रोमा ग्लोबल र चौथोमा राष्ट्रिय वाणिज्य बैंक छ । कर्जा लगानीमा पनि दोस्रो ग्लोबल आइएमई, तेस्रोमा एनआइसी एशिया र चौथोमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । जगेडा कोषमा दोस्रो बैंकका रुपमा नेपाल बैंक, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक, चौथोमा नेपाल इन्भेष्टमेन्ट र पाँचौंमा कृषि विकास बैंक देखिएको छ । चुक्ता पुँजीमा ग्लोबल अब्बल चुक्ता पुँजीको आधारमा ग्लोबल आइएमई बैंक अब्बल देखिएको छ । अहिले पनि नम्बर वानमा रहेको ग्लोबल आइएमई बैंक बैंक अफ काठमाण्डूसँग पनि मर्जर गरेर थप चुक्ता पुँजीमा बलियो हुने रणनीतिका साथ मर्जर सम्झौता गरिसकेको छ । ग्लोबल आईएमई बैंककाे चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार छ । यस्तै, चुक्ता पुँजीमा दोस्रो बैंकका रुपमा नबिल देखिएको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिलको चुक्ता पुँजी बढेको हो । हाल नबिलको कुल चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख छ । चुक्ता पुँजीको आधारमा तेस्रो नम्बरमा भने प्राइम कमर्सियल बैंक देखिएको छ । यस बैंकको कुल चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख छ भने चोथो नम्बरमा रहेको कृषि विकास बैंकको चुक्ता पुँजी १८ अर्ब ६२ करोड ६ लाख रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा पाँचौं नम्बरमा भने एनएमबी बैंक छ । यस बैंकको कुल चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । तीन सूचकमा बलियो एनआईसी एशिया एनआईसी एशिया बैंक तीन सूचकमा अगाडि देखिएको छ । ब्याज आम्दानी, प्रतिसेयर अम्दानी र रिटर्न अन एक्विटी (आरओईं) मा एनआइसी एशिया बैंक अब्बल देखिएको छ । एनआइसी एशिया बैंकले गत आर्थिक वर्षमा ३३ अर्ब २५ करोड ४६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानी बढी गर्ने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई, तेस्रोमा नबिल, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा सिद्धार्थ बैंक देखिएको छ । यस्तै, प्रतिसेयर आम्दानीमा पनि एसआइसी एशिया नै अगाडि देखिएको छ । यस बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३९.१३ रुपैयाँ छ । ईपीएसमा दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, तेस्रोमा एभरेष्ट, चौथोमा नबिल र पाँचौंमा सिद्धार्थ बैंक छ । रिटर्न अन इक्विटीमा पनि एनआइसी एशिया नै अगाडि देखिएको छ । बैंकहरुको ‘स्ट्रेन्थ’ कति छ भन्नको लागि हेर्ने गतिलो सूचक रिटर्न अन इक्विटी (आरओई) अर्थात सम्पत्ति माथिको प्रतिफल हो । विभिन्न बैंकहरूले अर्बौं नाफा गरेको देखिए पनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्ति माथिको प्रतिफल सूचक हो । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको स्ट्रेन्थ कस्तो छ ? भन्ने विषय थाहा पाउन आरओई नै सबैभन्दा अब्बल सूचक हो । लगानीमा कति प्रतिशत नाफा गरेको छ ? भनेर हेर्न रिटर्न अन इक्विटी नै हेर्नुपर्छ । सेयरधनीले बैंकमा गरेको कुल लगानीको प्रतिफल नै रिटर्न अन इक्विटी हो । रिटर्न अन इक्विटीमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ, माछापुच्छ्रे, ग्लोबल आईएमई बैंकबीच पनि आरओईमा प्रतिस्पर्धा देखिएको छ । यी बैंकहरुको आरओई क्रमशः २१.९४ प्रतिशत, १८.४५ प्रतिशत, १७.२२ प्रतिशत, १६.९१ प्रतिशत र १६.३० प्रतिशत छ । खराब कर्जा नेपाल एसबिआईकाे कम बैंकहरुको जति बढी खराब कर्जा (एनपीएल) भयो त्यति नै जोखिम बढी हुन्छ । बैंकहरुको चोथौ त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा कम एनपीएल नेपाल एसबिआई बैंकको देखिन्छ । नेपाल एसबिआई बैंकको खराब कर्जा ०.१५ प्रतिशत छ । खराब कर्जा कम हुनेमा एभरेष्ट बैंक दोस्रो, सानिमा तेस्रो, एनआइसी एशिया चौथो र स्ट्याण्डर्ड चार्टर्ड बैंक पाँचौं नम्बरमा छ । यी बैंकहरुको खराब कर्जा क्रमशः ०.२४ प्रतिशत, ०.३५ प्रतिशत, ०.४९ प्रतिशत र ०.५९ प्रतिशत छ । सीडी रेसियोमा प्रभु बैंक राम्रो अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव छ । बैंकहरुले कर्जा ल गानीका लागि लगानीयोग्य रकम नपाइरहेको अवस्था छ । असार मासन्तमा धेरै बैंकहरुलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न पनि धौधौ भएको थियो । तर, सिटिजन्स बैंक भने सीडी रेसियो कायम गर्नमा उत्कृष्ट बैंकका रुपमा चिनिएको छ । चौथौ त्रैमासको वित्तीय विवरण अनुसार प्रभु बैंकको सीडी रेसियो ७८.३५ प्रतिशत छ । सीडी रेसियोमा सहज अवस्थामा कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड र सिटिजन्स पनि रहेका छन् ।

नेप्सेमा एक कम्पनीको २० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटीसी) को २० प्रतिशत बोनस बापतको ३ करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।