शिवम् सिमेन्ट्सले बोलायो विशेष साधारण सभा
काठमाडौं । शिवम् सिमेन्ट्सले विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले आगामी भदौ १० गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगरमा डाकेको हो । उक्त सभाले कम्पनीको गणपुरक संख्या ६५ प्रतिशतलाई बढाएर ५१ प्रतिशत कायम गर्दै छ । त्यस्तै, सञ्चालक समितिमा ७ जना हुने व्यवस्थालाई संशोधन गरी ६ जनाको बनाउने विशेष प्रस्ताव छ । जसमा स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालकमा १ जना र सेयरधनीहरुबाट ५ जना हुने छन् । विशेष साधारण सभा जुम मार्फत पनि गरिने भएकाले इच्छुकहरु जुम मार्फत सभामा जोडिन सक्ने छन् ।
एक्सपर्ट एजुकेसनले एक लाखलाई दियो परामर्श सेवा
काठमाडौं । नेपालका शिक्षित युवाद्वारा सञ्चालित शैक्षिक परामर्श केन्द्र ‘एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस’ले विगत १९ वर्षमा एक लाखभन्दा बढीलाई परामर्श सेवा दिएको छ । विश्वका विभिन्न १५ देशमा कार्यालय स्थापना गरी ५० भन्दा बढी शाखाबाट सो सेवा दिइएको हो । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई भाषा शिक्षण तथा परामर्श सेवा दिएर विदेशी कलेजसँग जोड्ने काम एक्सपर्टले गर्दै आएको छ । सर्भिसेसका निर्देशक सागर अर्यालका अनुसार एक्सपर्टले मुख्यरूपमा अष्ट्रेलिया, क्यानडा र बेलायत जाने धेरै विद्यार्थीलाई सेवा दिएको छ । एक्सपर्टको अष्ट्रेलियाका प्रमुख सहरमा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको उनले जानकारी दिए । यस्तै भारत, श्रीलङ्का, बङ्गलादेश, हङ्कङ, अफ्रिका, थाइल्याण्डलगायतका देशमा एक्सपर्टका शाखा रहेको र ती शाखामा सात सयभन्दा बढी कर्मचारीले सेवा दिँदै आएका उनले बताए । एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीका अनुसार चितवनसहित नेपालका प्रमुख सहरमा कार्यालयमार्फत यो सेवा दिइएको छ । मुख्यरूपमा १० जोड दुई उत्तीर्ण गरेका विद्यार्थी शैक्षिक परामर्शका लागि धेरै आउने गर्दछन् । यससँगै स्नातक र स्नातकोत्तरपछि पनि उच्च शिक्षाका लागि विद्यार्थी आउने गरेको उनले जानकारी दिए । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने धेरै विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिने संस्थामा एक्सपर्ट अग्रणी मानिन्छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै एक्सपर्ट फाउण्डेशन स्थापना गरी समस्यामा परेकाहरूलाई सहयोग पुर्याउँदै आएको छ । विसं २०७२ को गोरखा भूकम्पका पीडितलाई सो फाउण्डेशनले सात लाख रुपैयाँभन्दा बढीको राहत बितरण गरेको थियो । यस्तै १० लाख रुपैयाँ लगानी गरेर सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माण गरेको थियो । गएको कोभिडको लहरसँगै नेपालका अस्पतालमा ६० लाख रुपैयाँभन्दा बढी खर्च गरेर अक्सिजन कन्सन्टेटर र सिलिण्डर वितरण गरेको थियो । विदेशमा अध्ययनमा रहेका विद्यार्थीलाई कोभिडको समयमा एक लाख ५० हजार अष्ट्रेलियन डलर सहयोग गरेको एक्सपर्टले जनाएको छ । बाढीपहिराको समयमा पनि एक्पर्टले सहयोग गर्दै आएको छ । फाउण्डेशनले जनचेतनामूलक र खेलकुद क्षेत्रमा पनि सहकार्य गर्दै आएको छ । निर्देशक अधिकारीले भने, ‘हामीले परामर्श दिएका विद्यार्थीलाई कुनै अप्ठ्यारो नपरोस् भन्ने कुरामा हामी सजग छौं ।’ एक्सपर्टका सञ्चालकहरूले नेतृत्व गरेर प्रमुख सहरमा काम गरेकाले सेवा प्रभावकारी बनेको यससँग परामर्श लिएका विद्यार्थीहरू बताउँछन् ।
अघि बढ्ने भयो बाहिरी चक्रपथ आयोजना, लागत अनुमान साढे ४२ अर्ब
काठमाडौं । उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथको निर्माणको काम अगाडि बढाउने भएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० बाट निर्माणको काम सुरु गर्ने भएको हो । लामो समयदेखि अन्योलमा रहेको उक्त आयोजनको काम प्राधिकरणले अगाडि बढाउने तयारी गरिरहेको हो । प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बाहिरी चक्रपथ निर्माण यही वर्षबाट सुरु गर्ने बताइन् । वर्षेनी बाहिरी चक्रपथ निर्माणको काम हुने भनिएता पनि अब यो वर्षदेखि लागू हुने उनको भनाइ छ । आयुक्त ढकालका अनुसार प्राधिकरणले यो वर्ष चक्रपथको अध्ययन गर्नेछ । ‘विगत लामो समयदेखि बाहिरी चक्रपथको काम अन्योल जस्तै भएर बसको छ, निर्माणको तयारी बर्सेनि भए पनि निर्माणको प्रक्रियामा भने जान सकेको छैन, विशेष फोकस यस काममा प्राधिकरण लागेको छ, यो वर्ष भित्र नै सम्पूर्ण प्रक्रिया पुर्याइ यही वर्षबाट चक्रपथ निर्माणको कामले गति पाउँछ,’ उनले भनिन् । नेपाल सरकारले आर्थिक वर्ष २०६१/६२ बाट काठमाडौं उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट बाहिरी चक्रपथ निर्माण गर्ने कार्यक्रमको घोषणा गरी विस्तृत अध्ययन कामहरू अगाडि बढाएको थियो । काठमाडौं जिल्लाका मुख्य स्थानहरू चोभार गाम्चा, सतुङ्गल, काप, पुराना भञ्ज्याङ, सितापाईला, नागार्जुन, नेपा टार, चाली, कपन, जगडोल, सन्डोले, थली डाँछी, ललितपूर जिल्लाका लुभु ठत्र धापाखेल, थेचो, वुगमती, चोभार र भक्तपुर जिल्लाका मुख्य स्थानहरू गामफेदी पकाउनेपाटी वासवारी, याङडोल, मसानडोल, भाटेढिकरे नयाँ ठिमी दधिकोटमा उक्त चक्रपथमा निर्माण हुनेछ । काठमाडौं ३५.०८, ललितपुर १५.८ र भक्तपुरका जिल्लामा २१.०८ गरी जम्मा ७२ किलोमिटर उक्त चक्रपथको लम्बाई रहेको छ । प्राधिकरणको अनुसार चक्रपथको जम्मा अनुमानित लागत ४२ अर्ब २७ करोड लाख ५३ हजार ३ सय ५८ रुपैयाँ रहेको छ । जसमध्ये चोभार सतुंगल (६.६ कि.मी) खण्डको लागि ३ अर्ब ८७ करोड ५४ लाख ५ हजार ७ सय २४ रुपैयाँ आवश्यक पर्ने प्राधिकरणको भनाइ छ । ७२ किलोमिटर लम्बाइ मध्ये करिब ५४.४८ किलोमिटर सडकको डिपिआर तयार भैसकेको र बाँकी १७.५२ किलोमिटर सडकको डिपिआर तयार हुन बाँकी रहेको पनि ढकालले बताइन् । चक्रपथ निर्माण सम्बधमा नेपाल सरकार मन्त्रिपरिषद्को २०६५ मा निर्णयबाट चोभार सतगंल खण्डको ६.६ कि.मी को भौतिक विकास योजना स्वीकृत भई नेपाल राजपत्रमा २०७४ जेठ १५ मा सूचना प्रकाशन गरिसकेको छ । चालु आर्थिक वर्षमा पुँजीगत तर्फ ३५ लाख र चालु तर्फ ९९.८७ लाख रुपैयाँ गरी जम्मा एक करोड ३५ लाख रुपैयाँ बाहिरी चक्रपथ आयोजना निर्माणको लागि बजेट विनियोजन भएको पनि प्राधिकरणले जनाकारी दिएको छ । सरकारले यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिसकेको छ । तर, चक्रपथ बन्ने भनिएको भागको जग्गा अझै रोक्का भएको छैन । चक्रपथ प्रस्ताव गरिएका कित्ताहरू नै किनबेच भइरहेका छन् भने भवन पनि बननिरका छन् । यस विषयमा सम्बन्धित निकाय बीच छलफल गरेर अगाडि बढ्ने योजना प्राधिकरण छ । पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाको बढ्दै गएको सहरीकरणका कारण बढेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै योजनाबद्ध विकास गर्ने मुख्य उद्देश्यले आयोजना अघि सारिएको थियो । आयोजना सुरु गर्ने भनेको १८ वर्ष बितिसक्दा न चक्रपथको नै बन्यो, नत बसोबास व्यवस्थित भयो । बाहिरी चक्रपथ सडकको दायाँ बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित बस्ती विकास गर्ने योजना रहेको छ । ‘चक्रपथको योजना बढाउनु अगाडि नै जग्गाको रोक्का भएन, निर्णय प्रक्रिया पनि ढिला भयो, सरकारबाट आउने रकम पनि ढिला आयो, खालि जग्गामा भटाभट घर बन्न थाले, मुआब्जा दिनहुँ बढ्दो छ, काम तुरुन्तै गरौं भन्ने भने आयोजनालाई पुग्ने बजेट छैन,’ आयुक्त ढकालले भनिन् । बाहिरी चक्रपथ ६ लेनको हुने भनिएको छ । सडकका दुवै भागमा साइकल ट्र्याक रहनेछ भने ग्रिन बेल्टसहित किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्र्याकसहित ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ । अव्यवस्थित सहरीकरणलाई रोक्न पनि यो योजना फलदायी हुने सरकारको विश्वास छ । मुआब्जा वितरणमा अर्बौं रुपैयाँ खर्च लाग्ने बाहिरी चक्रपथ निर्माण गर्नको लागि अर्बौं रुपैयाँ बराबरको खर्च गर्नुपर्ने भएको पनि ढकालले बताइन् । प्राधिकरणका अनुसार ६ किलोमिटर सडक विस्तार गर्दा मात्र एक अर्ब रुपैयाँ भन्दा बढी मुआब्जा वितरण हुने अनुमान छ । जग्गा प्राप्त गरी जग्गा एकीकरणको माध्यमबाट योजना अगाडि बढाउन हालसम्म जग्गा प्राप्ति गर्ने प्रक्रिया स्वीकृतिको चरणमै रहेको छ । सन् २००४ मा लगानी बोर्डबाट एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) माग गरी छनोटमा चीन सञ्चार निर्माण कम्पनी लाई राखिएकोमा अन्य थप प्रक्रिया अगाडि बढेको छैन । ‘पहिला जग्गाको रोक्का भएन, त्यी ठाउँमा भटाभटी घर बने, अहिले चक्रपथ निर्माण गर्नु भन्दा बढी मुआब्जा वितरण खर्च हुने भयो,’ उनले भनिन् । प्राधिकरणका अनुसार चोभार खण्डमा ९० वटा घर परेका छन् । सो चक्रपथको निर्माण गर्न मुआब्जाको कुरा सरकारले पटकपटक उठाएको थियो । तर, यस विषयमा नै सरकार असफल हुन पुगेको देखिन्छ । उक्त चक्रपथका आयोजनाको काम अन्योलमा पर्दा निर्माण सुरु हुन मुस्किल देखिन्छ । प्राधिकरण भने केही खण्डको काम यही वर्षदेखि निर्माणको प्रक्रियामा जाने दाबी गर्दै आएको छ । मुआब्जा कति घरलाई वितरण गर्नपर्छ भन्ने विषयमा प्राधिकरणले अध्ययन गर्ने तयारीमा छ । सोही अध्ययन गर्नको लागि प्राधिकरणले बजेट पनि छुट्याएको छ । ‘जग्गा एकीकरणको सिद्धान्त अनुसार कसैलाई पनि आयोजना क्षेत्रबाट विस्थापित गर्न पाइँदैन, मापदण्ड अनुसार न्यूनतम ०–२–२–.० क्षेत्रफल बरावरको घडेरी फिर्ता दिनु पर्ने हुदा उक्त आयोजना क्षेत्रमा कित्ताकाट नरोकिएको हुदा स–सना क्षेत्रफलमा कित्ताकाट हुने सम्भावना रहेको छ, यस्ता स–साना कित्ताहरूलाई जग्गा थप गरी फिर्ता दिनु पर्ने हुदा किताकाटको वर्तमान अवस्थाको बारेमा थप अध्ययन गर्नु पर्छ,’ उनले भनिन् । जग्गा एकीकरणबाट प्राप्त हुने बिक्री प्लटबाट ५०÷२५० दायाँ÷बाया प्रस्ताव गरिएको वस्ति विकासको ६ मिटर चौडा सडक दल र खुल्ला क्षेत्रको विकास गर्न सम्भव भएता पनि मूल ५० मिटर जग्गा विकास कार्यक्रममा प्रस्ताव गरिएका ११ मिटर तथा ९ मिटरका सडक नेपाल सरकारको लगानीमा निर्माण हुन पर्ने प्रस्ताव गरिएको छ । यस सम्बन्धमा हालसम्म स्रोत सुनिश्चितता भई नसको प्राधिकरणको भनाइ छ ।
सफाइ श्रमिकको गुनासो : फोहरको गन्धले होइन, घरधनीको व्यवहारले मन पोल्छ
भक्तपुर । धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्किन्छन् । विगत तीन वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथिमि-५ राधे राधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गर्यो । अनि ट्रयाक्टरमा घरघरबाट फोहर सङ्कलन गर्न निस्कने । उउनी मात्रै होइन, उपत्यकामा फोहर सङ्कलनको मुख्य जिम्मेवारी निर्वाह गर्दै आएको निजी कम्पनी नेप्सेम्याकको भक्तपुरस्थित शाखा कार्यालयमा फोहर सङ्कलनमा खटिने ६९ जनाको दिनचर्या यसैगरी बित्छ । सामान्य मास्क र पञ्जा त छ नै तर फोहरबाट हुन सक्ने सङ्क्रमण रोक्ने कपडा भने छैन । न घाम, न पानी, न चाडपर्व । कुनै पनि कठिनाइको प्रवाह नगरी निरन्तर नगर सफा बनाउन लागि परेका सफाइकर्मीको जीवन भोगाइ भने पीडादायी छ । कोरोना महामारीको समयमा सरकारले ‘लकडाउन’ गर्यो । सो समयमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित भए । सबै नागरिकलाई घरभित्रै सीमित गरियो । तर अत्यावश्यक सेवा मानिएको फोहर सङ्कलन र व्यवस्थापनमा कुनै रोकतोक भएन । फोहर सङ्कलनका लागि घरघर पुग्दा उल्टै आफूहरूमाथि कोरोना सङ्क्रमण लिएर आएको भन्दै दुव्र्यवहार गर्ने गरेको थुप्रैको दुखेसोसहितको तीतो अनुभव छ । घर, टोल, यत्रतत्र छरिएका फोहरको व्यवस्थापन गरेर शहरलाई स्वच्छ र सुन्दर बनाउने सफाइकर्मीमाथि गरिने हेला र तिरस्कारले मावन सभ्यतालाई नै गिज्याइरहेको उनको गुनासो छ । फोहर सङ्कलनमा खटिनेमाथि गरिने दुव्र्यवहारले नेपालीको पहिचानका रूपमा स्थापित हार्दिकतालाई चुनौती दिएको छ । गुरागाईं भन्छन्, ‘बिहान उठेर कोठामा चिया खाएर खानाको पोको बोकेर कार्यालय आउँछौँ, खाना त्यही राखेर आफ्नो क्षेत्रमा फोहर सङ्कलन गर्न हामी निस्कन्छौँ, टोल बस्तीमा सिठ्ठी फुक्दै जान्छौँ, फोहर घर बाहिर निस्कन्छन, हामी टिपेर ट्र्याक्टर, ट्रकमा हालेर ल्याउँछौँ, यो हाम्रो दैनिकी नै हो ।’ फोहर सङ्कलनमा बिहान भोकै निस्कने श्रमिक फोहर सङ्कलन गर्ने क्रममै भोकै हुन्छन् । फोहर सङ्कलनका क्रममा खाजा खाने अवस्था पनि रहँदैन । गुरागाईँका अनुसार फोहर लिएर कार्यालयमा आएपछि बल्ल खानाको मेसो मिल्छ । कहिले त सडक जाम हुँदा फोहर लिएर आइपुग्दै दिन बित्छ, त्यतिखेरसम्म भोकै बस्नु पर्छ । “तर सभ्य मानिसको असभ्य व्यवहार देखेर दिक्क लाग्छ”, उनले भने । दोलखा घरभई कमलविनायक बस्दै आउनुभएका ३१ वर्षीय भीमकुमार थामीका अनुसार सफाइकर्मी श्रमिक बिहान ६ बजे आ-आफ्नो तोकिएको क्षेत्रमा फोहर सङ्कलनका लागि गइसक्छन् । कतिपय ठाउँको फोहर धेरै हुँदा दोहोर्याएर जानुपर्छ । फोहर सङ्कलनमा जाँदा अलि ढिला भयो भने कतिपयले अभद्र व्यवहार गर्न भ्याइहाल्छन् । थामी भन्छन्, ‘सभ्य समाजका सभ्य मानिस हजुर, तर हामीप्रति कोहीकोही त साह्रै असभ्य व्यवहार गर्छन् । फोहर उठाउने मानिस त मानिस नै होइनन्, यी तल्लोस्तरकै हुन् भन्ने व्यवहार गर्दा कहिलेकाँही यो मन साह्रै दुख्छ ।” उनलाई फोहारको गन्धले भन्दा पनि घरधनीको व्यवहारले मन पोल्छ । विगत पाँच वर्षदेखि फोहर सङ्कलन गर्दै आएका भोजपुर घरभई निकोसेरा बस्ने तीलकबहादुर रम्तेल फोहर सङ्कलन गर्दा होस् वा फोहर बोकेर फर्कने क्रममा होस् सभ्य र शिक्षित मानिसको अशिक्षित व्यवहारबाट प्रताडित छन् । उनी भन्छन्, ‘फोहर बोकेर फर्केको गाडीलाई अरु निजी गाडीले बाटो दिँदैनन्, हेप्छन् हामीलाई । फोहरमा काम गर्ने मानिस त मानिस नै हैन जस्तो गर्छन्, कतिले त मुखै छाडेर गाली गर्छन् । तैपनि हामी सहेर काम गर्छौं, उनीहरूसँग केही बोल्दैनौं,’ विगत १० वर्षदेखि फोहर सङ्कलनकै काम गर्दै आउनुभएका इलाम घरभई कटुञ्जे बस्ने ३९ वर्षीय जीवन राईको गुनासो पनि उस्तै छ । फोहरमैलामा काम गर्ने पनि फोहरी हुन् भन्ने व्यवहार गर्ने गरेको भन्दै कतिपयले खाउँला झै गरेर गाली गर्ने गरेको घटना सुनाउनु हुन्छ । ओखलढुङ्गा घरभई नेप्सेम्याकको कार्यालयमै बस्दै आएका ठगबहादुर दर्जी खान हुने र नहुने छुट्ट्याएर खान सक्ने तर कुहिने र नकुहिने फोहर छुट्ट्याउन किन नसकेका होलान् भनी अचम्मित छन् । कतिपयले कुहिने र नकुहिने फोहर एकै ठाउँमा राखिदिन्छन् । कतिपयले भने घरभित्रको फोहर सडकमा ल्याएर फालिदिन्छन् । ‘फोहार छरेर राखिदिने, कुहिने र नकुहिने नछुट्याउने, फलाम, सीसासमेत एकै ठाउँमा राखिदिने फोहरको सङ्कलन र व्यवस्थापनमा जोखिम हुने गरेको छ,’ उनले भने । मानिसले घर अगाडि जथाभाबी फोहर राखिदिँदा कतिपय ठाउँमा कुकुरले छरेको फोहरसमेत टिप्नुपर्ने उनको गुनासो छ । बधशालाका फोहर र हड्डीको व्यवस्थापनमा पनि समस्या छ । ती फोहर जथाभावी गरिदिँदा सङ्कलनमा पनि कठिनाइ आइरहेको सफाइकर्मीको भनाइ छ । भान्छामै कुहिने र नकुहिने फोहरको वर्गीकरण गरेर नागरिक दायित्व पूरा भइदिए फोहर सङ्कलन र व्यवस्थापनमा कुनै समस्या नआउने दर्जीको बुझाइ छ । काम असमान्य, सुविधा सामान्य ! फोहर सङ्कलन र व्यवस्थापनको काम निकै संवेदनशील हो । सफाइकर्मी विविध प्रकृतिको फोहरसँग दिनहुँ जुध्नुपर्छ । फोहरबाट अनेकौँ रोगका सङ्क्रमण हुन सक्ने उत्तिकै सम्भावना हुन्छ । सफाइ मजदूरले उचित सावधानी अपनाउनुपर्ने हुन्छ । व्यवसायजन्य रोगको सम्भावनालाई नकार्न सकिँदैन । सफाइकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था हुनुपर्छ । तर उपत्यकाका सफाइ श्रमिक सामान्य स्वास्थ्य सुरक्षाको प्रबन्धका बीच फोहर व्यवस्थापन गर्न बाध्य छन् । उपत्यकाभित्र काठमाडौँ महानगरपालिकाका सबैभन्दा धेरै सफाइ श्रमिक छन् । कामपामा सरकारी छ सय र निजी क्षेत्रका तीन हजार बढी सफाइकर्मी दिनरात नभनी सफाइमा जुटिरहेका छन् । तर उनीहरूले पाउने सेवा सुविधा भने सीमित छ । कामपाले फोहर व्यवस्थापनसँग सम्बन्धित कर्मचारीलाई स्थायी कर्मचारीसरहका सेवा सुविधा उपलब्ध गराइएको जनाएको छ । महानगरले त्यसबाहेक वार्षिक तीन महिनाको अतिरिक्त तलब उपलब्ध गराउँछ । फोहर व्यवस्थापनमा संलग्न सम्पूर्ण कर्मचारीको जीवन बीमासमेत गरिएको छ । उपत्यकाको फोहर व्यवस्थापनमा संलग्न निजी क्षेत्रमध्येको ठूलो कम्पनी नेप्सेम्याक सफाइ श्रमिकलाई उचित सेवासुविधा दिइएको दाबी गर्छ । नेप्सेम्याकका शाखा प्रबन्धक बाबुराम चौलागाई फोहर सङ्कलनमा संलग्नलाई उचित पारिश्रमिकका साथै बिरामी, साप्ताहिक, सुत्केरी, किरिया बिदाका दिइएको बताउनुहुन्छ । नेप्सेम्याकले त्यस्ता श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराएको छ । त्यसका अतिरिक्त फोहर सङ्कलनमा जाँदा बिरामी भए उपचार गरिदिने, बुठ, पञ्जा, मास्कको व्यवस्था गरेको कामदार बताउँछन् । कर्मचारीलाई कम्तीमा मासिक रु २१ हजारका दरले तलब र आठ घण्टाभन्दा बढी समय काम गरेमा अतिरिक्त भत्ता दिन्छ । कुहिने र नकुहिने फोहर छुट्ट्याएर राखिदिए सङ्कटको बेलामा पनि कुहिने फोहर सङ्कलन गरेर लैजान सकिने र नकुहिने फोहर दुई महिनासम्म घरमै राख्न सकिने चौलागाईंको भनाइ छ । नेप्सेम्याकले यसतर्फ काम गरिरहेको छ । सम्बन्धित पालिकाले नै ल्याण्डफिल साइडको व्यवस्था गरेर जथाभावी फोहर फाल्नेलाई कारबाही गर्ने र सफा टोल बस्तीलाई नमूना बनाउन नागरिकलाई प्रेरित गरे फोहर व्यवस्थापनमा सहज हुने उहाँको भनाइ छ । कुहिने फोहरलाई घरमै कम्पोष्ट मल बनाएर खेतीबारी, कौशी खेती, फूलको गमलामा प्रयोग गर्न सकिन्छ । फोहरलाई मोहरमा रुपान्तरण गर्ने तालिम र प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीय सरकारसँग समन्वय गरिरहेको उनले बताए । सूर्यविनायकको मनोरम प्रगति बस्तीका एक हजार घरले कुहिने र नकुहिने फोहर छुट्याएर फोहर व्यवस्थापनमा नमूना प्रस्तुत गरेका छन् । त्यहाँका प्रत्येक घरलाई वार्षिक पाँचकिलो कम्पोष्ट मल निःशुल्क दिने गरेको र त्यही नमूनालाई अन्यत्र लैजाने प्रयास भइरहेको छ । भक्तपुरका ग्रामीण क्षेत्रका कुहिने फोहरलाई घरघरमा र स्थानीयस्तरमा कम्पोष्ट मल बनाएर व्यवस्थापन गर्ने गरी तालिम तथा अनुदानका लागि कार्यक्रम अगाडि सारिएको छ । नेप्सेम्याकका कार्यक्रम संयोजक गोविन्दप्रसाद आचार्यले आफ्नो कम्पनीमा मात्रै फोहर सङ्कलनमा ६९ जना, सडक सफाई गर्ने चार महिला र अन्य कर्मचारी गरी एक सयभन्दा बढी जनशक्ति भक्तपुरमा परिचालन गरिएको बताउनुभयो । नेप्सेम्याकले सूर्यविनायक नगरपालिकामा आठ हजार ६९, चाँगुनारायण नगरपालिकामा दुई हजार नौ सय ६९, मध्यपुरथिमि नगरपालिकामा तीन हजार नौ सय २४, भक्तपुर नगरपालिकामा ४१ गरी भक्तपुर जिल्लामा मात्रै १५ हजार दुई सय घरबाट फोहर सङ्कलन गर्ने गरेको छ । नेप्सेम्याकले दैनिकरुपमा सूर्यविनायक नपाबाट ३०, चाँगुनारायण नपाबाट २० र मध्यपुरथिमि नपाबाट २५ टन फोहर सङ्कलन गर्दै आएको छ । अन्य संस्थाले करिब ७० टन गरी दैनिक एक सय ५० टन फोहर सङ्कलन गर्दै आएका छन् । संस्थाले एक हजार तीन सय घरबाट छुट्टिएका कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने गरेको र मासिक आठ टन मल उत्पादन हुने गरेको उनी बताउँछन् । फोहर सङ्कलनका लागि प्रतिघरबाट सङ्ख्याको आधारमा मासिक रु दुई सय ५० देखि चार सय ५० सम्म शुल्क लिने गरेको छ । फोहर सङ्कलनमा निजीकै भर, नियमनमा कठिनाइ उपत्यकाका अधिकांश नगर फोहर सङ्कलनमा निजी क्षेत्रकै भरमा छन् । सबैभन्दा धेरै निजी क्षेत्रलाई सहभागिता गराएको काठमाडौँ महानगरपालिकाले फोहर सङ्कलन गर्ने नीति क्षेत्रसँग कुनै सम्झौता गरेको छैन । सफाइसँग सम्बन्धित निजी क्षेत्रले आआफ्नै पहलमा क्षेत्र तोकेर फोहर सङ्कलन गर्ने गरेका छन् । सम्झौता नहुँदा ती संस्थाको कामकारबाहीको नियमनमा समस्या देखिएको छ । फूलबारीले सूर्यविनायक मध्यपुरथिमिबाट आठ हजार पाँच सय, स्वच्छ वातावरण सिर्जना केन्द्रले तीनवटै नपाबाट पाँच हजार पाँच सय, विन्दवासिनी स्यानेटेरी प्रालिले एक हजार एक सय, सिर्जनशील सेवा प्रालिले मध्यपुरथिमिबाट पाँच सय र दिव्यश्वरी सहयोगी हातले मध्यपुरबाट दुई हजार घरबाट फोहर सङ्कलन गर्दै आएको छ । भक्तपुर जिल्लामा निजी कम्पनी र नगरपालिकाको फोहर सङ्कलक, कुचिकार र अन्य गरी करिब आठ सय मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको निजी कम्पनीको दाबी छ । मध्यपुरथिमि नगरपालिकाका सामाजिक सेवा शाखाका प्रमुख तुलसीभक्त तकोले मध्यपुरथिमिको फोहर नेप्सम्याकलगायत संस्थाले सङ्कलन गर्दै आएको र केही ठाउँमा नगरपालिका आफैँले पनि सङ्कलन गर्ने गरेको बताउँछन् । मध्यपुरमा चार पुरुष र १४ महिला गरि १८ जना सफाइ मजदुर र दुई जना फोहर सङ्कलक परिचालित छन् । सूर्यविनायक नगरपालिकाले भने निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मेवारी दिएको छ । नगरपालिका आफैँले फोहर व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको प्रवक्ता रवीन्द्र सापकोटाको भनाइ छ । चाँगुनारायण नगरपालिका पनि फोहर व्यवस्थापनमा निजी कम्पनीकै भर परेको छ । त्यसैले सूर्यविनायक र चाँगुनारायणले सफाइ मजदुरको व्यवस्था गरेको छैन । भक्तपुर नगरपालिकाले भने कुचिकार र सफाइ मजदुरलाई कर्मचारीकै रुपमा राखेर हरेक दिन बिहान सफाइ गर्ने र सङ्कलित फोहर आफ्नै नगर क्षेत्रमा व्यवस्थापन गर्दै आएको छ । रासस
पश्चिम सेती जलविद्युत परियोजनाको विकास गर्दै लगानी बोर्ड, एनएसपीसीसँग गर्यो सम्झौता
काठमाडौं । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएसपीसीसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसीसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मस्र्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओइ गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताए । उनले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको पनि जानकारी दिए । त्यस्तै, बोर्डको बैठकले तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डिपीआर लगायतका विभिन्न कामहरु गर्ने निर्णय गरेको छ । ‘हामी पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गरेका छौँ, यो सहमतिपत्र गर्ने भन्ने बोर्डले डिसिजन गरेको छ, अपर मस्र्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओइ गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो, माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ, तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डिपीआर लगायतका विभिन्न कामहरु गर्नेछ, प्रक्रिया अघि बढाउनेछ । सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेका छौँ, त्यसको लागि अवधारणापत्र स्वीकृत गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्ड अघि जाने भन्नेछ,’ उनले भने । सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसको लागि अवधारणापत्र स्वीकृत गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्डले काम थाल्ने बारेमा पनि छलफल भएको बताए ।
सार्वजनिक यातायातले मनलाग्दी भाडा लिएको गुनासो, भाडादर नियमित गर्ने संयन्त्र बनाउन निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सार्वजनिक यातायातको भाडादरका विषयमा नियमित र भरपर्दोरूपमा अनुगमन गर्ने संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सार्वजनिक यातायातले मनोमानीरूपमा भाडा असुल्ने गरिएको भनी आम नागरिकबाट गुनासो आइरहेकाले त्यसको सम्बोधनका लागि संयन्त्र बनाउन र त्यससम्बन्धी जानकारी समितिलाई उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । हाल सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै वैज्ञानिकरूपमा निर्धारण हुने स्वचालित विधि अपनाएर कार्यान्वयन गरिरहेको छ । समितिले नारायणगढ-मुग्लिन र नारायणगढ-पोखरा सडकमा सीमा अतिक्रमण गरी विनास्वीकृति निर्माण गरिएका घर र विद्युत्का खम्बाका कारण पहिरो खस्दा पन्छाउन जटिलता भएको भन्दै ती संरचना हटाउने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले निर्माणाधीन नारायणगढ-मुग्लिन र मुग्लिन-पोखरा सडक स्तरोन्नति निर्धारित समय र गुणस्तरमा सम्पन्न गर्न तीव्र गतिमा काम अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । विकास निर्माणमा दीर्घकालीन समाधानसहित वातावरणमैत्री, प्रविधिमैत्री र गुणस्तरीय निर्माणका लागि विकासको उपयुक्त मोडल अवलम्बन गर्न तत्काल अध्ययन गरी कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देश गरिएको छ । समितिको सोमबारको बैठकमा भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई, सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालगायतसँग नारायणगढ मुग्लिन र नारायणगढ-पोखरा सडकका विषयमा छलफल भएको थियो । रासस
अग्नी ग्रुपले पोखरामा सञ्चालन गर्यो २ एस सर्भिस सेन्टर
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले नयाँ २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका लागि ग्रुपले पोखराको प्रश्याङ्गमा ‘पोखरा अटो वर्कश’ सञ्चालनमा ल्याएको हो । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ । पोखरा अटो वर्कशको उद्घाटन अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्द राज बतास, बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड युगल सिंह र गण्डकी प्रदेश प्रबन्धक सन्तोष सुबेदीले सामूहिक रुपमा गरिएको थियो । अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलरहरुको धेरैभन्दा धेरै उद्घाटन गर्ने लक्ष्य पनि लिएको छ ।
सयपत्री हाइड्रोको आईपीओ बाँडफाँड भोलि, कति बजे ?
काठमाडौं । सयपत्री हाइड्रो पावरले जारी गरेको आईपीओको बाँडफाँड भोलि (साउन २४ गते) हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले भोलि बिहान १० बजे बाँडफाँड गरिने जानकारी गराएको हो । उक्त बाँडफाँडको कार्यक्रम एनआईबीएल एस क्यापिटलको केन्द्रिय कार्यालयमा हुने छ । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।