विकासन्युज

नेपालमा एमबीबीएस पढ्ने विदेशी विद्यार्थीको संख्या बढ्यो : चिकित्सा शिक्षा आयोग

काठमाडौं । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ । आयोगले सोमवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो । यो वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षको भन्दा ६ गुणा बढी रहेको आयोगको भनाइ छ । चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरुको पहुँचमा क्रमशः वृद्धि भइरहेको आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले बताए । उनले स्तरीकृति गरिएका मापदण्ड र सूचकको आधारमा विज्ञ समूहबाट चिकित्सा शिक्षा सञ्चालन गर्ने संस्थाहरुको सिट निर्धारण गर्ने पद्धतीको विकास भएको बताए । उनले नेपालमा एमबीबीएस २१ वटा संस्थामा पढाइने गरेको र त्यहाँ १ हजार ८९५ विद्यार्थीले यो वर्ष पढ्न पाउने समेत जानकारी गराएका छन् । यो वर्ष छात्रवृत्तिमा स्नातक तहमा २ हजार २३२ जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध रहेको बताउँदै सदस्यसचिव काफ्लेले एमबीबीएसमा मात्रै ४३० जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराएको बताए । उनले विदेशी विद्यार्थीलाई नेपालमा करिव १३ सय सिट दिने गरेको उल्लेख गर्दै एमबीबीएसमा मात्रै ५५७ जनाले अध्ययन गर्न पाउने जनाए । कार्यक्रममा चिकित्सा शिक्षा आायेग अन्तर्गतको योजना, समन्वय तथा प्रज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले देशमा नर्सिङ पेशालाई व्यवस्थित बनाउन नसक्दा नर्स पढेर बेरोजगार बन्ने मात्रै काम भइरहेको बताए । नर्सिङ अध्ययन गर्नेले जागिर नपाएको भन्दै उनले यसलाई सरकारले थप चासोका साथ लिनुपर्ने बताए । पछिल्लो समय १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएको बताए । बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेको भन्दै यस्ता भ्रममा बस्न नहुने बताए । नर्सिङ जनशक्तिको आवश्यक भएपनि गुणस्तर र सय शैयाको आफ्नै स्वामित्वको अस्पताल नभएको संस्थालाई नर्सिङ कार्यक्रम चलाउन नमिल्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । त्यस्तै चिकित्सा शिक्षा आायेग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा.डा. दिलिप शर्माले २०७९ सालमा (हालसम्म) एमबीबीएस अध्ययन गर्नका लागि १८८ जना नेपाली विद्याथी विदेश गएको बताए । त्यस्तै, बिएसी नर्सिङमा २९, एलाइट साइन्समा ६६ जना र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएर विदेश अध्ययनका लागि गएको बताए । निर्देशक शर्माले आधिकारिक रुपमा अनुमति लिएर विदेशिने ठूलो विद्यार्थीको संख्यालाई आयोगले कम गर्न सफल भएको दाबी गरे । उनले अझैपनि एजेन्टको माध्यमबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या पनि ठूलो रहेको बताए । निर्देशक शर्माले ६५ वटा चिकित्सा शिक्षा सम्बन्धी अध्ययन, अध्यापन गराउने क्याम्पसमा स्तरोन्नती गरी सिट निर्धारण गर्ने सम्बन्धमा आयोगले चाँडै नै कतिवटा शैक्षिक संस्थालाई अनुगमन गरेर अध्ययनका लागि योग्य छन् भन्ने निर्णय गर्ने बताए ।

एनएमबी क्यापिटल पनि एनपीएसमा आवद्ध

काठमाडौं । एनएमबी क्यापिटल नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आवद्ध भएको छ । आफ्नो कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न क्यापिटलले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरी एनपीएसमा आवद्ध भएको हो । सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत एनएमबी क्यापिटलले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ७३ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । एनएमबी क्यापिटल मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट बैंकिङ्गको क्षेत्रमा एनएमबी बैंक लिमिटेडको पूर्ण स्वामित्व रही एक दशक भन्दा लामो समय देखि सञ्चालनमा रहेको सहायक कम्पनी हो । हाल उक्त कम्पनीले आईपीओ लगायत धितोपत्र र यसको व्यवस्थापन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ भने एनसीएचएल सँगको यस सहकार्यले कम्पनीको सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

‘नमस्ते पे’ ले ल्यायो लोयल्टी पोइन्टस

काठमाडौं । ‘नमस्ते पे’ ले आफ्नो एपमा लोयल्टी कार्यक्रम ल्याएको छ । नमस्ते पेको लोयल्टी पोइन्टस प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ । प्रत्येक प्रयोगकर्ताले हरेक १०० रुपैयाँको खर्चमा २ लोयल्टी पोइन्टस पाउनेछन् र प्रत्येक ८ पोइन्टसको मूल्य १ रुपैयाँ हुनेछ । सेवाहरूको प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताहरूले पोइन्टस सङ्कलन गर्न सक्नेछन् । ‘नमस्ते पे’ मा उपलब्ध लोयल्टि पाइन्टस प्रयोग गरी भिन्न भ्वाइस र डेटा प्याक, टपअप,  ब्यालेन्स, एयरलाइन्स टिकटहरु पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

वाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्दो, सीडी रेसियो कति ?

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम जारी रहेको छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटीसकेको छ । नेपाल बैंकर्स संघका अनुसार साउनको तेश्रो साता (साउन २० गतेसम्म) मा बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा ४ अर्ब रुपैयाँले घटी हो । गत असार मसान्तमा भने बैंकहरुमा यस्तो रकम ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको थियो । त्यस्तै, बैंकहरुको कर्जा लगानी भने अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साता ४१ खर्ब ६४ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ नाघेको छ । जुन असार मसान्तमा भने ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो । त्यस्तै, कर्जा लगानी बढेको बैंकहरुको औषत सीडी रेसियो भने घटेको छ । अघिल्लो साता ८७.९८ प्रतिशत रहेको बैंकहरुको औषत सीडी रेसियो यो साता थोरैले घटेर ८७.६९ प्रतिशतमा झरेको छ ।

माथिल्लो तहमा अर्बौंको भ्रष्टाचार हुन्छ, तल्लो तहका कर्मचारीमा तलबमै विभेद भयो : भोलानाथ पोख्रेल

चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था विपरित उच्च तहका कर्मचारीको तलब वृद्धि गरिएपछि तल्लो तहका कर्मचारीहरुले बिदा बस्ने सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने र सार्वजनिक भएको नयाँ तलबमानलाई कार्यान्वयन नगर्ने विषय अर्थमन्त्री जनार्दन शर्माले बताइसकेका छन् । तर, सिंहदरबारमा तल्लाे तहका कर्मचारीहरु भने आन्दाेलित नै बनेका छन् । कर्मचारीकाे नयाँ तलबमान, आन्दाेलन गर्नुकाे कारण,  तल्लो तहका कर्मचारी माग लगायतका विषयमा विकासन्युजका नारायण अर्यालले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोख्रेलसँग गरेको कुराकानीको सम्पादित अंश : उच्च तहका कर्मचारीको तलब वृद्धि गरिएपछि नायब सुब्बाहरु पनि आन्दोलनमा उत्रिए, यसलाई ट्रेड युनियनले कसरी लिएको छ ? नायब सुब्बाहरुको आन्दोलनमा हाम्रो समर्थन छ । उहाँहरुले आफ्ना जायज माग अगाडि बढाउनुभएको छ । प्रकृया गलत भएकाले ठिक ढंगले मुद्दा उठेको छ । युनियनले उहाँहरुको कुरालाई बुझेको छ । आधिकारिक ट्रेड युनियनले अर्थमन्त्रीसँग गएर छलफल गरेको गरिसकेको छ । हामीले सरकारसँग कुरा पनि गरेका छौं । अहिलेलाई बजेटभन्दा बाहिरबाट आएको तलबमान कार्यान्वयन नगर्ने कुरा भइसकेको छ । अहिले जारी गरिएको ऐन कार्यान्वयन नगर्ने भैसकेको अवस्था छ । तलबमानमा केही नमिलेको कुराहरुलाई मिलाउनु पर्नेछ । तल्लो तहबाट माथिल्लो तहमा जाने तलबमानको फरक मिलेको छैन । खरदार र सुब्बाको तलबको फरक १ सय रुपैयाँ पनि छैन । शाखा अधिकृत र सुब्बाको तलबमा १३/१४ हजारको फरक छ । यो विषयलाई रेसियो मिलाउँदा अलिकति ध्यान पुर्याउनु पर्ने हो । यो मिलाउनु पर्ने  हाे । मिलेको छैन । यसलाई मिलाएर लैजानुको विकल्प पनि छैन । रेसियो क्याल्कुलेसन गर्ने कुरामा बैज्ञानिक, सामयिक र न्यायोचित हुनु पर्यो । बजेटमा समावेश नै नगरिएको विषयलाई मन्त्रालयस्तरबाट निर्णय गरेर तलबको वृद्धि गर्न मिल्छ ? यो काम कानूनी हिसाबले भन्दापनि पूर्वाग्रही हिसाबले ल्याइएको हो । यो अवस्थामा निजामती प्रशासनलाई विभेद गर्ने, अराजकता सिर्जना गर्ने हिसाबले ल्याइएको थियो । विभेदकारी कुराहरु कसरी कानूनसम्मत हुन्छन ? हुँदैनन नी ? बजेटले हरेक श्रेणीका कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने भनेपछि सबैको १५ प्रतिशत हुनुपर्यो नी । कसैको २४ प्रतिशत कसैको १५ प्रतिशत र कसैको अझै तल हुन मिल्छ र ? अर्को अझ गम्भ‍ीर र अपराधिक काम के भएको छ भने समायोजन ऐन विपरित प्रदेशमा समायोजन भएर गएका सातौं तहका कर्मचारीहरुको तलब नै घटाउने काम भएको छ । यहाँ शाखा अधिकृत भन्दा समायोजन भएर गएका सातौं तहका अधिकृतको तलब अझ माथि हुन्छ । समायोजन भएर गएकाको एउटा तह वृद्धि भएको छ, अर्को तलब र ग्रेड वृद्धि भएको छ । हिजो यहाँ ३० हजार तलब खाने शाखा अधिकृतको तलब उहाँ ३३ हजार भएको थियो । अनि २ ग्रेड थपिएको थियो । अर्थमन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय वा सिंहदरबारमा बस्ने कर्मचारीहरुले हामी सबै राजा हौं भन्ने मान्यताका साथ त्यो तलब बढाउने हो ? त्यो अर्थमन्त्रालयमा बस्ने मान्छेहरु पूर्वाग्राही छन् । त्यहाँ निर्णय प्रकृयामा सामेल भएका मान्छेहरु अयोग्य छन्, असक्षम छन् । परिस्थिति र कानून केही पनि नबुझिकन निजामती प्रशासनलाई भद्रगोल बनाउने दिशामा अगाडि बढाउनेगरी काम गरेका छन् । अर्थमन्त्रीलाई नै विवादमा ल्याइदिएनन ? त्यहाँको कर्मचारीहरुलाई के गर्ने भन्ने विषयमा एउटा निर्णय गर्नु पर्ने अवस्था छ । निजामती कर्मचारीहरुको समस्या तलबमा छ की सेवा सुविधाहरुसँग जोडिएको छ ? तलब रेसियो क्याल्कुलेसनमा विभेद छ । समस्या त्यहीँ छ । सेवा सुविधामा पनि विभेद छ । खाइपाई आएका सेवा सुविधा पनि कटौती गर्ने काम गरेका छन् । यो विषयको अन्त्य हुनु पर्यो नि । धेरै तलब बुझ्ने कर्मचारीहरुलाई पनि विभिन्न प्रकृतिका भ्रष्टाचारको आरोप तथा मुद्दा लगाइरहेको देखिन्छ । तलब वृद्धि गरेर नै कर्मचारीको प्रवृत्तिमा सुधार हुने त देखिँदैन नी । भ्रष्टाचार भनेको माथिबाट हुने हो, तलबाट हुँदैन । प्रधानमन्त्रीले भ्रष्टाचार नगरे कार्यालय सहयोगीले गर्दैन । त्यसले गर्दा नीतिगत भ्रष्टाचार गरेकाहरुलाई कारवाही नगरेसम्म हुँदैन । १० रुपैयाँ घुस खाएकालाई कुरा गर्नुहुन्छ तपाईं ? यहाँ अरबौं अरब खानेहरुको मतलब छैन । त्यसकारणले गर्दाखेरी भ्रष्टाचार नियन्त्रण भनेको माथिबाट गर्ने हो, तलबाट कहिल्यै हुँदैन । कर्मचारीहरुको पारिवारिक शिक्षा, स्वास्थ्य र आवास जस्ता विषयहरु सम्बोधन गर्ने कुराले बरु समस्याको दिगो समाधान गर्छ होला नी । तर, तपाईंहरुको यसतर्फ ध्यान गएको देखिँदैन । किन माग नगर्नु । म तपाईंलाई एउटा प्रतिवेदन हेर्न भन्छु । २०६६ सालमा एउटा कार्यदल बनेको थियो । हामीले ८४ बुँदा माग राखेका थियौं । निजामती कर्मचारीलाई छात्रवृत्ति, उपचार खर्च, अस्पताल बनाउनुपर्छ, आवास सुविधा, यातायात भत्ता, लगायतका कुरामा सहमति भएको थियो । सोही सहमतिका आधारमा निजामती अस्पताल बन्यो । कर्मचारीलाई छात्रवृत्ति दिने कुरा भयो । त्यसकै आधारमा कर्मचारीलाई अध्ययन विदा र पोशाक, लगायत लगायतका कुराहरु प्राप्त गरेका छौं । तलब वृद्धि भन्दापनि यस्तै खालका सुविधा दिनुपर्छ भन्ने कुरा नै हाम्रो माग हो । तर, सबैले तलबमात्रै माग गरेको देख्छन् । संघीयता कार्यान्वयनको ५ वर्ष हुन लाग्दा पनि संघीय निजामती ऐन आउन सकेन, आखिर मुल समस्या कहाँनेर अल्झिरहेको छ ? पहिलो कुरा लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुनुहुन्थ्यो, सायद उहाँ सब–ओभरसियर फेल गर्नुभएको हो की जस्तो लाग्छ । कर्मचारीहरुप्रति उहाँ पूर्वाग्रही हुनुले समायोजनमा समस्या उत्पन्न भएको हो । कर्मचारीको समायोजन अपूर्ण छ, अबैज्ञानिक छ र पूर्वाग्रही छ । कानून ल्याउने कुरामा पनि स्टेकहोल्डरहरुसँग छलफल नै छैन । संघीय निजामती ऐनको समयमा नै निर्माण गर्ने विषयमा तपाईंहरुको पनि सिर्जनात्मक भूमिका देखिएन नी, बरु आन्दोलन समयमा नै ऐन ल्याउने कुरामा गर्नुपर्ने होइन र ? त्यसले समस्याको दिगो समाधान गर्न सक्थ्यो नी ? ऐन कर्मचारीमैत्री बनाउन पर्छ भन्ने हाम्राे भनाइ हाे । ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्नुपर्छ । खाइपाई आएका सेवासुविधाहरु कटौती गर्न पार्ईंदैन । कर्मचारीका वृत्ति विकासका सवालहरुलाई समुचित न्यायोचित र वितरण प्रणालीलाई न्यायोचित बनाउन पर्यो । समायोजन भएर गएका कर्मचारीहरुलाई पनि वृत्ति विकास र सेवासुविधाको ग्यारेन्टी हुनुपर्यो । कसैकसैका लागि मात्रै ऐन बनाउन भएन । बसेर छलफल गरौं । टेबुलमा बसेर निकास दिन सकिन्छ ।

जीवन बीमक संघले दुई संस्थालाई दियो ७० लाख रुपैयाँ

काठमाडाैं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई ७० लाख रुपैयाँ बराबरको सहयाेग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्ट गरी  दुई संस्थालाई सहयाेग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण  गरेकाे हाे । संघले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोईरालालाई ४० लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सञ्जेललाई ३० लाख रुपैयाँ हस्तान्तरण गरेकाे हाे । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय संचालन गरिरहेकाे छ । त्यसैगरी, काठमाडौं  इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-०७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल बनाउने र नेपालको सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।    

बिओकेले ल्यायो ११.०३ प्रतिशत ब्याज दिने रिकरिङ्ग खाता, ९० प्रतिशतसम्म कर्जा सुविधा पाइने

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको वित्तीय व्यवस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको हो । यस निक्षेप खातामा बैंकले खातावाहकहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । बैंकको अनुसार यस खातामा न्यूनतम् १ हजारदेखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक ५०० को गुणाङ्कमा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ । यस्तै, रिकरिङ्ग निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था पनि रहेको छ । बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक आफुहरुले सार्वजानिक गरेको बैंकले जनाएको छ । बैंकको अनुसार यस निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुविधा पनि रहेको छ । साथै, यस निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशतसम्म क्रेडिट कार्ड सविधा रहेको बैंकले जानकारी दिएको छ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यकाल, कर्मचारीमा खुशियाली

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले आज (साउन २३ गते) देखि दोश्रो कार्यकाल सम्हालेका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिको स्वीकृति पाएका उनले आजदेखि औपचारिक रुपमा दोश्रो कार्यभार सम्हालेका हुन् । उनको पहिलो कार्यकाल पनि आजैदेखि सकिएको छ । तर बीमा समितिले असार २२ गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको थियो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ बादेको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि प्रस्ताव गरेसँगै बीमा समितिले स्वीकृति दिएको हो । बादेले २०७५ साउन २३ गतेदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् । पुनः नियुक्ति पाएसँगै बादेले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने र सबैभन्दा बढी बीमितलाई दिने सेवा सुविधामा विशेष जोड दिने योजना रहेको विकासन्युजसँग बोल्दै उनले भने । सीईओ श्रेष्ठ २०७८ चैतमा मात्रै ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका थिए । नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व कौशलताको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड दिएको थियो । त्यस्तै, श्रेष्ठले हाल व्यवस्थापन गरिरहेको आईएमई जनरल इन्स्योरेन्स पनि एशियाकै ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ बाट सम्मानित भएको थियो । सीईओको पुनः नियुक्तिसँगै कर्मचारीमा छायो खुशियाली (तस्विर : सामाजिक सञ्जालबाट) सीईओ श्रेष्ठले थप ४ वर्ष कम्पनीको कार्यकाल सम्हाल्ने भएसँगै कम्पनीका कर्मचारीहरुमा खुशीयाली छाएको छ । सो अवसरमा कम्पनीमा कार्यरत सबैले केक काटेर एक आपसमा खुशीयाली साटासाट गरेका छन् ।