विकासन्युज

मेची प्रादेशिक अस्पताललाई ‘हेमोडायलायसिस सेवा’ सञ्चालन गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ‘हेमोडायलायसिस’ सेवा आफै सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको गत साउन १६ गते बसेको बैठकले अस्पताललाई तीन महिनाभित्रमा सो सेवा आफैँ सञ्चालन गर्न निर्देशन दिने निर्णय गर्दै पत्र समेत पठाएको हो । पत्रमा साझेदार संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको भएमा तीन महिनाको समायावधिभित्र मन्त्रालयअन्तर्गतका सबै तहका अस्पताल, स्वास्थ्य संस्था स्वयंले सञ्चालन गर्न आवश्यक व्यवस्थापन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ । मेची प्रादेशिक अस्पतालका प्रशासन प्रमुख रेखनाथ दाहालले पत्रका बारेमा अस्पताल व्यवस्थापन समितिलाई समेत जानकारी गराइसकिएको बताउनुभयो । अस्पतालले विसंं २०७४ भदौ ९ गतेदेखि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रु ५० लाखको लागतमा निःशुल्क होमोडायलायसिस सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा चार मेसिनबाट विपन्न मिर्गौला रोगीका लागि सहजरूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सो सेवा सञ्चालनमा ल्याइएको हो । तर अस्पतालले विसं २०७७ पुस १ गतेदेखि काठमाडौंको विराङ्ग हेल्थ केयरलाई हेमोडायलायसिस सेवा सञ्चालन गर्ने जिम्मा दिएको थियो । उक्त कम्पनीसँग पाँच वर्षका लागि सम्झौता गरिए पनि महाशाखाको पत्रलाई आधार मानेर सोबारे कम्पनीलाई जानकारी गराइसकिएको उनको भनाइ छ । उनले हाल कम्पनीले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकेको, कर्मचारीलाई समयमै तलब नदिएको लगायतका गुनासो आइरहेकै समयमा महाशाखाको पत्र अस्पताललाई समेत आएको जानकारी दिए। विराङ्ग हेल्थ केयर शाखाका व्यवस्थापक शेरबहादुर चौधरीले मौखिक रूपमा अस्पतालबाट जानकारी आए पनि लिखितरूपमा अझै पत्र नआएको बताए । उनले अस्पतालसँगको सम्झौताअनुसार नै हाल १३ डायलायसिस मेसिनबाट सेवाग्राहीलाई सेवा दिँदै आएको जानकारी दिए। उनले हाल संस्थाले भवनसमेत बनाएर प्रभावकारी र आकस्मिक सेवा सञ्चालन गर्दै आएको दाबी गरे। उनका अनुसार हाल सो संस्थाबाट नियमित ६० मिर्गौलारोगीले सेवा लिइरहेका छन् । हेमोडाइलासिस सेवा सञ्चालन गर्न निजी साझेदार अवधारणालाई हटाउँदै मन्त्रालयले आफू मातहतका अस्पतालबाट सेवा सञ्चालन गर्ने नीति लिएको छ । निःशुल्क सेवा प्रदान गरे वापत मन्त्रालयले सेवा प्रदायक अस्पताललाई एक बिरामी वापत दुई हजार ५०० अनुदान उपलब्ध गराउँदै आएको थियो ।

तनहुँको भानु नगरपालिकामा खादा प्रयोगमा पूर्ण निषेध

तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप रोक लगाइएको हो । विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मानलगायतका कार्यमा समेत खादा प्रयोग नगर्न निर्देशन गरिएको भानु नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले जानकारी दिए । खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगर्न सम्बन्धित निकायमा सोमबार नै परिपत्र गरिसकेको उनले बताए । अब उप्रान्त कुनै पनि कार्यक्रममा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको उनले बताए । भानु नगरपालिकाभित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालय, वाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा नल्याइने नगरपालिका कार्यालयले जनाएको छ । त्यसैगरी सामुदायिक शैक्षिक संस्थामा आयोजना गरिने वार्षिकोत्सव, सभा, बैठक समारोह, स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा पूर्णरूपमा बन्देज लगाइएको उनले जानकारी दिए । रासस

प्रभु क्यापिटलका ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाइन अर्डर गर्दा छुट पाउने

काठमाडाैं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यसकाे लागि प्रभु क्यापिटलले एक्सप्रेस ईट्ससँग समझौता गरेकाे छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा ‘PRABHUCAP10’ उल्लेख गर्नुपर्नेछ । यसैगरी क्यापिटलको हितग्राही ग्राहकले अर्को विशेष अफर अन्तर्गत बत्तीसपुतलीको रोडहाउस पिज्जाबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने छन् । यस योजनबाट छुट लिने हितग्राहीले चेक आउट या बिल पमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

अर्थतन्त्रमा सुधारको संकेत, दबाब भने कायमै

काठमाडौं । पछिल्लो केही महिना यता अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रमा दबाबै देखिएको भएपनि पछिल्ला एक/दुई महिनामा भने अर्थतन्त्र सुधारको दिशामा देखिएको हो । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ऋणात्मक अवस्था थियो । तर, पछिल्ला केही महिनामा भने त्यो अवस्था संकुचित हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजिक गरेको तथ्यांकका अनुसार अर्थतन्त्र सुधारको गतिमा देखिएको हो । गत वर्षको सुरुवातीमा बाह्य क्षेत्रमा ठूलो दबाब देखिएको थियो । विदेशी मुद्राको सञ्चितिमा ठूलो संकुचन थियो भने रेमिट्यान्समा पनि कमि आएको थियो । शोधान्तर स्थिति पनि ठूलो घाटामा थियो । तर, त्यो अवस्था अहिले कम हुँदै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा मूल्यवृद्धि बढेको भएपनि गत महिनाको तुलनामा भने घटेको छ । २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७९ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ । शोधान्तर स्थिती साढे २ खर्ब घाटामा गत आर्थिक वर्ष २०७८/७९ मा शोधनान्तर स्थिती रु.२५५ अर्ब २६ करोडले घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शोधान्तर स्थिति निरन्तर घाटामा छ । यद्यपि पछिल्लो केही महिनामा भने सुधारको संकेत देखिएको छ ।  जेठ महिनामा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । एक महिनामा शोधान्तर स्थिति १४ अर्ब ५५ करोडले घाटा कम देखिएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो । विदेशी मुद्राको सञ्चितिमा सुधार नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनाको तुलनामा विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड कायम भएको छ । तर, एक महिनाको तुलनामा भने केही सुधार देखिएको छ । जेठ महिनामा विदेशी मुद्राको सञ्चिति ११७६ अर्ब ८४ करोड थियो । एक महिनाको तुलनामा विदेशी मुद्राको सञ्चिति ३८ अर्ब ९६ करोडले बढेको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । निर्यातमा वृद्धि गत जेठको तुलनामा निर्यातमा पनि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठमा कुल १ खर्ब ८५ अर्ब ८४ करोड रुपैयाँको निर्यात भएको थियो । तर, असारसम्म कुल २ खर्ब ३ करोडको निर्यात भएको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा पनि निर्यात ४१.७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अ अनुसार आयत भने बढेको छ । समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । रेमिट्यान्स पनि बढ्यो आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । जेठसम्म रेमिट्यान्स आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको थियो । यो तथ्यांकले पनि रेमिट्यान्स बढ्दै गएको देखिन्छ । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । भइरहेको बेला नेपाल राष्ट्र बैंकको तथ्यांकले भने विस्तारै अर्थतन्त्रले लय समात्न लागेको सन्देश प्रवाह गरेको हो ।

नेपालको आर्थिक अवस्था श्रीलंका जस्तो हुने कुरा तथ्यहिन छ : पूर्व गर्भनर नेपाल

काठमाडौं । नेपाल राष्ट बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवी नेपालले नेपालको आर्थिक अवस्था श्रीलंका जस्तो हुन खोजेको भन्ने कुरा तथ्यहिन भएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । ‘नेपालमा श्रीलंकामा जस्तो आर्थिक समस्या आउँंला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन, नेपालमा अझै ६ महिनालाई पुग्ने डलर संचिती रहेको तथ्यांक रहेको छ,’ उनले भने । यस्तै, उनले उच्च सरकारी कार्यालयहरु काम गर्ने भन्दा पनि गफ लडाउने ठाउँं भएको बताएका छन् । डा. नेपालले राष्टिय योजना आयोग जस्ता ठूलाठूला राष्ट्र निर्माता कार्यालयहरु नै गफ गर्ने थलो बनेको आरोप लगाए ।  

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो १० गुणा प्रतिफल दिने मुद्दती योजना, ८० प्रतिशतसम्म कर्जा लिन पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकले यो योजना न्यूनतम मौज्दात १० हजारबाट सुरु गर्न सक्नेछन् । यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ । ग्राहकले यस योजना अन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकको अनुसार ग्राहकले आफ्नो बचत रकममा कर्जा लिनेरदिने दिनसम्म पूँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् । यस योजनामा सहभागि हुन चाहने ग्राहकले मुलुकभर रहेको ११२ शाखा कार्यालयहरु मार्फत सुलभ तरिकाले खाता खोली रकम बचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र संचालन गरिएको बैंकले जनाएको छ । बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएमको साथै बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

नबिल बैंकका क्युआर प्रयोग गर्ने व्यवसायीले बिना धितो फोनबाटै ऋण लिने सक्ने

काठमाडाैं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन क्यूआर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यूआर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कुनै धितो बिना नै क्यूआर कारोबारलाई आधार मानेर क्यूआर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका बताए । उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैंकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए । नबिल बैंकले युएनसिडिएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरी यो सुविधा ल्याएको हो । यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता भएकाे हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ । त्यसका साथसाथै,  व्यवसायीले अघिल्लो महिनामा पाँचवटा क्यूआर कारोबारबाट १० हजार बराबरको कारोबार र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ । बैंककाे अनुसार शुरुवाती चरणमा व्यवसायीहरुले १ लाखसम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएकाे छ । यसअघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो ।

यूनाइटेड इन्स्योरेन्सको वित्तीय सूचक सन्तोषजनक, व्यवसायसँगै ३५% ले बढायो नाफा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको गत आर्थिक वर्षको वित्तीय स्थिति सन्तोषजनक देखिएको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार देखिएको हो । गत आवमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४१.८१ प्रतिशतले बढी हो । जुन आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब १० करोड रुपैयाँ थियो । बीमाशुल्क निरन्तर बढ्दै गएकोले कम्पनीले आगामी दिनमा नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ । त्यस्तै, खुद नाफा पनि ३२.५९ प्रतिशतले बढेर १३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १० करोड ५२ लाख रुपैयाँ थियो । हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७७, प्रतिसेयर नेटवर्थ १६०.४० रुपैयाँ र प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३०३.०१ रुपैयाँ छ । त्यस्तै, बीमा कोषको आकार पनि बढेको छ । अघिल्लो आवमा ३५ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको उक्त कोषमा गत आवमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोष बढेर १९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । हालसम्म इन्स्योरेन्सले १ लाख ३७ हजार बढी बीमालेख जारी गरेको छ भने १५ हजार ५६५ वटा नविकरण गर्न सफल भएको छ । त्यसैगरी, कम्पनीले ६९ करोड ४२ लाख रुपैयाँ बराबरको ४ हजार ५१९ वटा दावी भुक्तानी गरेको छ । हालसम्म ७ ह जार ३२४ वटा दावीबाट ९५ करोड ५५ लाख रुपैयाँ भने भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ ।