राष्ट्र बैंकले कडाइ गरेपछि सुस्तायो घरजग्गा कारोबार, ह्वात्तै घट्यो राजश्व
काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि साउनमा घरजग्गा कारोबार सुस्ताएको छ । घरजग्गा धितो कर्जामा राष्ट्र बैंकले कडाइ गरेपछि साउन महिनामा घरजग्गा कारोबार सुस्ताएको तथ्यांकले देखाएको हो । सरकारको बजेटले पनि घरजग्गा कारोबारमा कडाइ गरेको थियो । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ८ हजार ७८५ कित्ताकाट भएका छन् । गत आवको साउन महिनामा ७३ हजार १५९ वटा जग्गा कित्ताकाट भएको तथ्यांकले देखाउँछ । कित्ताकाटसँगै राजश्व असुलीमा पनि सरकारलाई धक्का लागेको छ । यस्तै, साउन महिनामा कुल ३३ हजार ८३४ मा घरजग्गा किनबेच भएको छ । साउन महिनामा सरकारले २ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ मात्रै राजश्व संक्लन गरेको छ । जबकी गत आर्थिक वर्षको साउनमा सरकारले ८ अर्ब १० करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । सरकारले कृषि, आवासीय, वनलगायत विभिन्न क्षेत्रको जग्गाको वर्गीकरण नगरी कारोबार गर्न नपाउने व्यवस्था गरेको छ भने नेपाल राष्६्र बैंकले काठमाडौं उपत्यकामा कुल मूल्यांकंनको ३० प्रतिशत र काठमाडौं बाहिर कुल मुल्यांकनको ४० प्रतिशत मात्रै कर्जा कर्जा पाइने व्यवस्था गरेको छ । यसकाे प्रत्यक्ष असर घरजग्गा काराेबारमा देखिएकाे हाे ।
नेपालमा पनि बढ्दैछ खाद्य असुरक्षा, २१ प्रतिशत नेपालीलाई कम क्यालोरी
काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७.८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मुलुकमा औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकताका लागि खाद्यान्न पर्याप्त नै भए पनि खाद्य असुरक्षा भने कायमै रहेको बताए । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथि विभागले संयुक्तरुपमा आयोजना गरेको ‘नेपालमा खाद्य सुरक्षा’को अबस्था विषयक गोष्ठीमा उनले यो तथ्य प्रस्तुत गरे । उनले अनुसार मुख्य गरी खाद्यान्नको प्रयोग, सर्वसाधाराणको पहुँच नहुनु, सर्वसुलभ र गुणस्तर नहुनु, प्राकृतिक विपत्ति, जलवायु परिवर्तनको असर, कृत्रिम अभावले उत्पादनमा पुर्याएको असर, कोभिड–१९ तथा राष्ट्रिय एबं अन्तर्राष्ट्रिय बजारमा कृषि सामग्रीको मूल्य उतारचढावका कारण खाद्यान्न आपूर्तिमा अनिश्चितता देखिएको हो । यसका साथै कृषि कर्मबाट युवा शक्तिको पलायन, जमिनको बाँझोपन तथा रोग किराको आक्रमणलगायत कारणले खाद्य सुरक्षामा चुनौती थपिँदै आएको छ । “विश्व बैंकको व्याख्यानुसार एक हजार आठ सय क्यालोरीभन्दा कम हुने गरी प्राप्त भएको खाद्य अवस्थालाई गम्भीर किसिमको खाद्य असुरक्षा भनी परिभाषित गरिएको छ, त्यस अबस्थालाई मूल्याङ्कन गर्दा नेपालमा कुल जनसङ्ख्याको ७.८ प्रतिशतमा गम्भीर खाद्य असुरक्षाको अबस्थामा रहेको देखिन्छ”, मन्त्री यादवले भने । सामान्य मानिसलाई आफ्नो दैनिक क्रियाकलापका लागि सक्रिय रहन हरेक व्यक्तिका लागि दैनिक दुई हजार दुई सय क्यालोरी शक्ति आवश्यक पर्छ । यसको मुख्य सवाल खाद्यान्नको उपलब्धता नै हो । संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् १९९६ ले खाद्य सुरक्षालाई हरेक व्यक्तिले सक्रिय र स्वास्थ्य जीवनयापनका लागि आफ्नो चाहना र आवश्यकतानुरुप सधैँ पर्याप्त स्वच्छ र पोषणयुक्त खानामाथि भौतिक, सामाजिक र आर्थिक पहुँच भएको अवस्था हो भनी परिभाषित गरेको छ । नेपालको १५औँ पञ्चवर्र्षीय योजनामा उल्लेख भएअनुसार नेपालमा २१ प्रतिशत मानिसले अझै पनि पर्याप्त खाना नपाएको उल्लेख छ । खाद्य आवश्यकताको आधारभूत सुरक्षा स्थितिमा रहेका घरपरिवार केवल ४८.२ प्रतिशत मात्रै रहेको उल्लेख गरिएको छ । सरकारी तथ्याङकमा आव २०७८/७९ मा प्रतिव्यक्ति तीन सय ६९ किलो खाद्यान्न उत्पादन भएको अनुमान छ । यसबाट बीउ, पशुआहार भण्डारण तथा प्रशोधन र नोक्सानी कटाएर प्रतिव्यक्ति अनुमानित दुई सय ५७ किलो उपभोग योग्य खाद्यान्न रहेको अनुमान छ । यो औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकता शक्ति प्राप्तिका लागि पर्याप्त नै भएको मन्त्री यादवले बताए । आव ७८/७९ मा नेपालको कुल वार्षिक खाद्यान्न उत्पादन एक करोड सात लाख ७२ हजार मेट्रिक टन पुगेको छ । यसबाट बीउ, पशुआहार भण्डारण, प्रशोधन, नोक्सानीलगायत कटाएर झन्डै ७५ लाख ३० हजार मेट्रिक टन उपभोग योग्य खाद्यान्न प्राप्त भएको अनुमान छ । विसं २०७८ को एक अभिलेखअनुसार देशको जनसङ्ख्याका लागि वार्षिक करिब ५८ लाख ६७ हजार मेट्रिक टन प्रशोधित खाद्यान्न आवश्यक हुन आउँछ । मन्त्री याववले भने , “यस अर्थमा खाद्यान्न उपलब्धता आवश्यक परिमाणका हिसाबले झन्डै १६ लाख ६३ हजार मेट्रिक टन बचतमा नै देखिन्छ । तर राष्ट्रियस्तरमा खाद्यान्न बचत देखिए पनि पारिवारिक तहमा झन्डै २१ प्रतिशत नेपाली अझै दैनिक निर्धारित क्यालोरीभन्दा कम खाद्यान्न उपभोग गर्नुपर्ने अबस्थामा रहेका छन् ।” उनका अनुसार देश भित्रको असन्तुलित उत्पादन र वितरणले करिब २० जिल्ला खाद्य असुरक्षाको अवस्थामा छन् । विगत एक दशकभन्दा बढीको समयलाई हेर्दा नेपालमा २०७२ को महाभूकम्पको वर्षबाहेक अन्य अवधिमा देशमा खाद्य सञ्चितिकै अवस्था देखिएको जनाइएको छ । उता चामलको आयात भने अनपेक्षित देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागको वार्षिक घरधुरी सर्वेक्षण प्रतिवेदन, २०१७ अनुसार मसिनो चामलको उपभोग बढ्दो क्रममा रहेको छ । चालमको उत्पादनले उपभोग धान्न सकेको छैन । तर ठीक विपरीत अन्य अन्न बालीमा उत्पादनको ठूलो परिमाण उपभोग भइरहेको छ । खाद्य तथा पोषण सुरक्षाका हिसाबमा कोदो तथा फापर जस्ता बालीको योगदान अझै मूलधारमा आउन सकेको छैन । खाद्य तथा पोषण सुरक्षाका दृष्टिले मानिसलाई दैनिक आवश्यक पर्ने कुल क्यालोरीको ७७ प्रतिशत हिस्सा वनस्पतिजन्य पदार्थ र बाँकी पशुपक्षीजन्य पदार्थबाट आपूर्ति हुनुपर्नेमा दैनिक आवश्यक क्यालोरीको आपूर्ति यसअनुसार नभएको कृषि मन्त्रालयले जनाएको छ । प्रतिव्यक्ति प्रतिदिन चाहिनेमध्ये ८७ प्रतिशत वनस्पतिजन्य पदार्थबाट र बाँकी दूध, दही मासु, अन्डालगायत पशुपक्षीजन्य पदार्थबाट प्राप्त भएको देखिएको छ । उत्पादनका हिसाबले माछा, मासु, अण्डामा आत्मनिर्भर भएको तथ्याङ्कले देखाउँछ भने दूधमा आत्मर्नभिरताको नजिक रहेको मन्त्री यादवले बताए । यस हिसाबले खाद्य तथा सन्तुलित उपभोगमा पोषण सुरक्षाका लागि पशुपक्षीजन्य उत्पादन र आपूर्तिका साथै उपभोग बढी गर्नुपर्ने देखिएको छ । यसका लागि मन्त्रालयले खाद्य सुरक्षाका लागि विशेष जोड दिइरहेको उहाँले जानकारी दिनुभएको छ । उत्पादनमा वृद्धिका लागि सिचाइ सुविधा विस्तारका साथै उन्नत बीउ, नस्लको उपलब्धतासँगै आधुनिकीकरण तथा व्यवसायिकीकरणमा थप लगानी गर्नुपर्ने आवश्यकता छ । यसका साथै खाद्य तथा पोषण क्षेत्रमा देखिएका चुनौती सामनाका लागि अनुसन्धान, प्रविधि विस्तार पूर्वाधार विस्तारलगातयका कर्यक्रममा तीनै तहका सरकार, गैरसरकी निजी तथा विकास साझेदारहरुसँग सहकार्य आवश्यकता रहेको औँल्याइएको छ । यसलाई साझा जिम्मेवारीका रुपमा प्राथमिकताका साथ जिम्मेवारी निभाउनुपर्नेमा उनले जोड दिए । उक्त गोष्ठीमा रक्षा सचिव तथा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका संयोजक किरणराज शर्माले समसामयिक विषयमा यस प्रकारको सेमिनार पहिलो पटक आयोजना गरिएको जानकारी दिए । विश्वव्यापी मानवअधिकार घोषणपत्र सन् १९४८ को दफा २५ मा हरेक व्यक्तिलाई गाँस, बास, कपास र औषधोपचारको अधिकार रहेको छ । आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध सन् १९६६ को धारा ११ मा पनि हरेक नागरिकलाई भोक मेटाउन पाउने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ । संयोजक शर्माले खाद्य सुरक्षा मानव सुरक्षासँग मात्रै नभई समग्र विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यसतर्फ केन्द्रित कार्यक्रम आयोजना गरिएको जानकारी दिए । दोस्रो विश्वयुद्धपछि जनसङ्ख्याको तीव्र वृद्धि, प्रकोप, खाद्यान्न र स्रोतको सीमितता भोमकरीलगायत समस्याका कारण विश्वव्यापी रुपमा खाद्य सुरक्षा र महत्वको बोध भएको हो । सन् १९७४ मा आयोजित विश्व खाद्य सम्मेलनले खाद्यपदार्थलाई आधारभूत आवश्यकताका रुपमा स्वीकार गर्र्दै त्यसको मात्रा, मूल्य र आपूर्तिलाई स्थिर बनाउनुपर्नेमा जोड दिइएको थियो । सन् १९९६ मा रोममा भएको सम्मेलनले हरेक व्यक्तिमा आफ्नो आवश्यकताअनुसार स्वच्छ र पोषणयुक्त खानामाथि भौतिक एवं आर्थिक पहुँच भएमा मात्रै खाद्य सुरक्षा भएको मान्न सकिने उल्लेख छ । सचिव शर्माले नेपाल कृषि प्रधान देश भएर पनि आवश्यकताअनुसार खाद्यान्नको उत्पादन हुन नसक्नु दुःखद भएकाे बताए । उनले निर्वाहमुखी र परम्परागत कृषि प्रणाली, कृषियोग्य जमिनको उपलब्धता र वितरणमा असमानता, कृषियोग्य जमिनको बनावटमा जटिलता र कृषिमाथिको अत्यधिक निर्भरताका कारण मुलुकको ठूलो सङ्ख्या खाद्य सुरक्षाबाट वञ्चित रहनुपरेको बताए । नेपालमा ६० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित छ भने कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत छ । नेपालमा वार्षिक ६ लाख मेट्रिक टन खाद्यान्न अपुग रहेको तथ्याङ्क छ । विश्वव्यापी सङ्कटका रुपमा देखिएको कोभिड–१९, रुस–युक्रेन युद्ध र सोबाट खाद्यान्न एवं इन्धन आपूर्तिमा परेको असर र विभिन्न मुलुकले लिइरहेको खाद्य आयात/निर्यातसम्बन्धी परिवर्तित नीति लगायतका कारण नेपालमा पनि खाद्य सुरक्षामा ठूलो प्रभाव परिरहेको विज्ञहरुको निष्कर्ष छ । रासस
माछापुच्छ्रे बैंकले ल्यायो फोनबाटै लोन लिने सुविधा, कागजात पेश गर्नु नपर्ने
काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ्ग एपमा स्मार्ट लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधाको सुरुवात गरेको छ । यससँगै ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बेला लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधा प्रयोग गरी मोबाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् । कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ । यस योजना मार्फत ग्राहकले मुद्दती निक्षेपबाट न्युनतमा ब्याजमा ८० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । बैंकले कर्जा प्रकृया गर्न कुनै पनि शुल्क निलिने जनाएको छ । बैंकले ग्राहकले अनलाईन तथा मोबाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा ‘लोन अगेनस्ट एफडी’ सहज तरिकाले आफुले चाहेको समयमा लिन सक्नेछन् ।
वालेटमा पैसा राखेर सेयर किनबेच, वाणिज्य बैंकको डाटामा राष्ट्र बैंकको शंका
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । साउन चौथो साता आइपुग्दा वाणिज्य बैंकमा कुल ४४ खर्ब २१ अर्ब रुपैयाँ मात्रै निक्षेप रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ । यो एक महिनाको अवधिमा वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब रुपैयाँ बाहिरिएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै वाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्नुलाई धेरैले चासोको विषयका रुपमा लिएका छन् । असार मासन्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकमा साउन पहिलो सातामा कुल ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप कायम भयो । त्यतिबेला एक सातामै ६३ अर्ब रुपैयाँ घटेको देखियाे । यस्तै, साउनको दोस्रो साता वाणिज्य बैंकहरुमा ४४ खर्ब ५० अर्ब रुपैयाँ मात्रै रह्यो । त्यो भनेको साउन पहिलो साताको तुलनामा २८ अर्ब कम हो । साउन तेस्रो सातामा दोस्रो साताको तुलनामा निक्षेप चार अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४६ अर्ब कायम भयो । साउन तेस्रो साताको तुलनामा चौथो सातामा २५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँ मात्रै रहेको बैंकर्स संघको तथ्यांकले देखाउँछ । निक्षेप घटिरहँदा बैंकहरुको कर्जा लगानी भने खासै घटेको देखिँदैन । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा यथावत छ । गत असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा पनि ४१ खर्ब ७५ अर्ब नै देखिन्छ । याे बिचकाे साताहरुमा भने कर्जा दुई/चार अर्ब रुपैयाँले घटबढ भएको देखिन्छ । दिनप्रतिदिन बैंकिङ प्रणालीबाट पैसा बाहिरिएपछि बैंकर्सका लागि मात्रै होइन सर्वसाधारणबाट पनि चिन्ता र चासो प्रकट हुन थालेकाे छ । जानकारहरुका अनुसार निक्षेपमा आएकाे याे गिरावट हालसम्मकै उच्च हाे । हालसम्म एक महिनाकाे अवधिमा यति ठूलो गिरावट नआएको उनीहरु बताउँछन् । तथ्यांकले पनि त्याे कुरालाई स्पष्ट पार्छ । नेपाल बैंकर्स संघका अनुसार आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा वाणिज्य बैंकहरुमा कुल २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थियो भने साउन मसान्तमा २४ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको देखिन्छ । त्यतिबेला एक महिनाकाे अवधिमा १५ अर्ब रुपैयाँले निक्षेप घटेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा वाणिज्य बैंकहरुमा कुल ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउन मसान्तमा भने ३४ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको थियो । त्यस वर्ष पनि निक्षेप ८ अर्ब रुपैयाँले घटेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउनमा ४१ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप थियो । सो वर्ष ४३ अर्ब निक्षेप रुपैयाँले घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ । यस वर्ष भएकाे १ खर्ब २० अर्ब रुपैयाँको गिरावट हालसम्मकै उच्च भएको पनि तथ्यांकले पनि देखाउँछ । कहाँ गयो पैसा ? वाणिज्य बैंकहरुको निक्षेप निरन्तर ओरालो लागेपछि अहिले धेरैले यसप्रति चासो दिन थालेका छन् । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल भने निक्षेप घट्नुमा दुई/तीन वटा कारण हुन सक्ने धारणा राख्छन् । ‘पहिलो त असारमा केही बैंकहरुले आर्टिफिसियल डिपोजिट संकलन गरेको भन्ने पनि सुनिएको थियो, साउनमा राष्ट्र बैंकले कडाइ गरेपछि त्यो घटेको हुन सक्छ, सरकारले तिर्नु पर्ने रकम पनि साउनमै तिरेको हुन सक्छ, यी विभिन्न कारणले निक्षेपमा गिरावट आएको हुन सक्छ,’ उनले भने । उनका अनुसार यसअघिका वर्षहरुमा पनि निक्षेप र कर्जा घटेको ट्रेण्ड छ । तर, यो साउनमा भने ह्वात्तै घटेको उनको भनाइ छ । ‘बैंकका म्यानेजरहरुले आफ्नो पफर्मेन्स राम्रो देखाउनका लागि बिजनेस म्यान या अरुलाई आग्रह गरेर निक्षेप राख्न लगाउने वा अन्य विधिबाट बिजनेस बढाउने गर्ने गरेका छन् तर साउन लागेपछि त्यो निक्षेप घट्छ, अहिले पनि सोही प्रवृति देखिएको हुन सक्छ,’ सानिमा बैंकका पूर्व सीईओ समेत रहेका दाहालले भने । यस्तै, ग्लोबल आईएमई बैंकका पूर्व सीईओ तथा अनुभवी बैंकर पर्शुराम कुवँर ६० अर्ब बढी रकम सरकारको ढुकुटीमै थन्किएको र बाँकी आयातित वस्तुको पेमेन्टमै गएकोले निक्षेप ह्वात्तै घटेको हुन सक्ने तर्क राख्छन् । ‘६० अर्ब रुपैयाँ बढी सरकारको ढुकुटीमै थन्किएको देखिन्छ, आइतबारसम्म सरकारले ८२ अर्ब राजश्व संकलन गरेको छ त्यसको २० अर्ब मात्रै खर्च गरेको तथ्यांकले देखाउँछ, यसअघि पेमेन्ट गर्न बाँकी रकम पेमेन्ट पनि भएको देखिन्छ, त्यसैले पनि निक्षेप घटेको हुन सक्छ,’ उनले भने । राष्ट्र बैंकलाई तथ्यांकमै शंका नेपाल बैंकर्स संघले एक महिनाको अवधिमा १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप घटेको तथ्यांक सार्वजनिक गर्दा राष्ट्र बैंकलाई भने सो तथ्यांकप्रति नै शंका लागेको छ । बैंकर्स संघले जुनसुकै तथ्यांक सार्वजनिक गरे पनि त्यसमा आफ्नो कन्सर्न नहुने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल बताउँछन् । ‘बैंकर्स संघको तथ्यांकसँग राष्ट्र बैंकको तथ्यांकले मेल खाँदैन, हामीलाई उनीहरुले सही तथ्यांक पठाउनु पर्छ, बाहिर के दिन्छ त्यसमा हाम्रो कन्सर्न हँदैन, उसले के तथ्यांक निकाल्यो, उहाँहरुको हामीले एडभोकेसी गर्दैनौं, हाम्रो तथ्यांकले बैंकिङ क्षेत्रमै ९९ अर्ब रुपैयाँ मात्रै निक्षेप घटेको देखिन्छ,’ उनले भने । उनका अनुसार साउन एक गतेदेखि साउन ३० गतेसम्म बैंकि क्षेत्रकाे निक्षेप ९९ अर्ब रुपैयाँ घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यो एक महिनाको अवधिमा २ अर्ब ३७ करोड लघुवित्तको, १० अर्ब ६१ विकास र ८६ अर्ब २६ करोड वाणिज्य बैंकको गरी कुल ९९ अर्ब २४ करोड निक्षेप घटेको देखिन्छ । राष्ट्र बैंक र बैंकर्स संघको तथ्यांकमा ३३ अर्ब ७४ करोड रुपैयाँको भिन्नता देखिएको छ । यसले पनि राष्ट्र बैंकलाई बैंकर्स संघको तथ्यांकमा शंका लागेको हो । साउन एक गतेदेखि ३० गतेसम्म २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी घटेको छ । वाणिज्य बैंकको एक अर्ब २९ करोड कर्जा बढेको छ । २ अर्ब ६८ करोड रुपैयाँ विकास बैंकको र ६४ करोड रुपैयाँ वित्तीय कम्पनीको कर्जा घटेको देखिन्छ । सह–प्रवक्ता पोखरेलले अहिलेको निक्षेपमा आएको गिरावट अस्वभाविक नभएको धारणा राखे । ‘साउन एक गते कुनै बैंकले अर्को बैंकसँग इन्टरबैंकिङ कारोबार गरेको थियो भने त्यो अहिले तिर्नु पर्यो, राष्ट्र बैंकबाट लिएको एसएलएफ सुविधा बुझाउनु पर्यो, पुँजी बजारमा अहिले वालेटमा राखेर कारोबार भइरहेको छ, वालेटको पैसा बैंकमा देखिँदैन, आजभोलि महँगी बढेको छ, मुद्रास्फिति बढेको कारणले बजारमा बढी पैसा गएको छ, त्यसको सर्कुलेसन बढी हुनाले तत्काल बैंकिङ च्यानलमा त्यो पैसा आउँदैन, त्यस कारणले निक्षेप घटेको देखिएको हो, पैसा कहीँ गएको छैन, धेरैले बैंकबाट वालेटमा विथड्र गर्दा पनि बैंकिङ प्रणालीमा निक्षेप घटेको देखिएको हो तर पुनः पनि त्यो पैसा च्यानलमै आउँछ,’ उनले विकासन्युजसँग भने । ‘आर्टिफिसियल डिपोजिट’ भने राष्ट्र बैंकले नबुझ्ने तर्क दिए । एउटै निक्षेपलाई चारपाँच वटा बैंकले सेयर गर्ने विषय राष्ट्र बैंकलाई जानकारी नुहने धारणा उनको छ ।
नेपालस्थित इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न
काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औं स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालयले झण्डोत्तलनको कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यालयको प्राङ्गणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गरे । कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामि दिनमा यसलाई जनस्तरसम्म पु¥याउन आफूले प्रयास गरिरहेको बताए । उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रसस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुद बनाउनुपर्ने बताए । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरुमध्यको सबैभन्दा ठूलो अर्थतन्त्र हो । नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् । झण्डोत्तलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अर्थमन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान
काठमाडाैं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले त्यसको सुरुआत गरेका हुन् । खाना पकाउने ग्यासमा मात्रै मुलुकको ठूलो धनराशि बाहिरिएपछि सरकारले आन्तरिक रुपमा बिजुली खपत गराउने लक्ष्यका साथ बजेटमा नै नीतिगत प्रबन्ध गरेको हो । गत साउन महिनाभित्रै सिंहदरबारभित्रका सबै चमेनागृह तथा भोजनगृहहरुबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले सम्भव हुन सकेको थिएन । अर्थमन्त्री शर्माले आज अर्थ मन्त्रालयको क्यान्टिनबाट विद्युतीय चुल्होको प्रयोग गरिएको जानकारी दिँदै छिट्टै सबै मन्त्रालय र विभागका क्यान्टिनबाट एलपी ग्यास विस्थापन गर्न आग्रह गरे । उनले मातहतका सबै निकायलाई तत्काल यस प्रक्रियामा सहभागी हुन निर्देशन दिनुभएको अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिए । सरकारले उपभोक्तालाई पनि विद्युतीय चुल्होको प्रयोग गर्न आग्रह गरिरहेको छ । त्यसका लागि बिजुलीको महसुलमा समेत केही छुट दिएको छ । सकारात्मक हस्तक्षेपका लागि सार्वजनिक निकाय तथा महानगरपालिकाहरुमा अभियान्तमक रुपमा विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने नीति लिइएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि लगायतका कारण आर्थिक वर्ष २०७८/७९ मा झन्डै रु तीन खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसबाट जोगिन पनि विद्युतीय चुल्होको प्रयोग नै उपयुक्त विकल्प रहेको सरकारको बुझाइ छ । अर्थमन्त्री शर्माले पनि नेपालको आन्तरिक ऊर्जा खपत गर्न र बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको जनसम्पर्क सल्लाहकार धितालले जानकारी दिए । अधिकांश चमेनागृहले विद्युतीय चुल्होको तयारी गरेको भए पनि बिजुलीको नियमित आपूर्तिको प्रबन्ध गरिदिन आग्रह गरेका छन् । केही प्राविधिक जटिलताका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली प्रवाहमा कहिलेकाहीँ समस्या देखिने गरेको छ । उक्त समस्या समाधानका लागि प्राधिकरणले पहल गरिरहेको र बिना अवरोध विद्युतीय चुल्होको प्रयोग गर्न सक्ने गरी व्यवस्था हुने जनाइएको छ ।
खरिद प्रकृयामा रहेका अधिकांश रासायनिक मल असोजभित्र नेपाल आइपुग्ने
काठमाडौं । खरिद प्रकृयामा रहेका अधिकांश मल आगामी असोज महिनाभित्र नेपालमा आइ्पुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद प्रकृया अगाडि बढाएको रासायनिक मलको अधिकांश आयात आगामी असोज महिनाभित्रै हुने बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले खरिदको जिम्मेवारी लिएको ३० हजार मेट्रिकटन युरिया मध्ये १८ हजार ८ सय ५० मेट्रिक टन आइसकेको र बाँकी ११ हजार १ सय ५० मेट्रिक टन नेपाल प्रवेश हुने क्रममा रहको मन्त्रालयले जनाएको छ । सोही कम्पनीले खरिद गर्ने २० हजार मेट्रिक टन डिएपी भारतको कोलकत्ता बन्दरगाहमा आइपुगको र अगस्ट ३० देखि नेपाल प्रवेश हुने कुरा सूचनामा उल्लेख गरिएको छ । त्यस्तै मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गर्ने २० हजार मेट्रिक टन युरिया अगस्ट १८ मा भारतको बिशाखापटनमा आउने र भारत सरकारको अनुमति पश्चात त्यसको ३० दिनपछि नेपाल आइपुग्ने जनाएको छ । कृषि सामग्री कम्पनीले खरिद गर्ने थप २० हजार मेट्रिक टन डिएपी अगस्ट २१ सम्म बन्दरगाहमा आइपुग्ने र सोही कम्पनीले खरिद गर्ने थप ३० हजार मेट्रिक टन युरियाको सम्झौताअनुसार असोज सम्म नेपाल प्रवेश गर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले थप २७ हजार ५०० मेट्रिक टन युरिया खरिदको लागि यही भदौको १० गते बोलपत्र आह्वान गर्ने जनाइएको छ । रासायनिक मल खरिदको मूल्य खरिदकर्ताअनुसार फरक–फरक भएको जनाइएको छ । अहिले साल्ट ट्रेडिङ कर्पोेरेसन र कृषि सामग्री कम्पनीमा ११ हजार १ सय ७१ मेट्रिक टन युरिया, ६ हजार १ सय ४१ मेट्रिक टन डिएपी र ५ हजार ७ सय ३४ मेट्रिक टन पोटास मोज्दात रहेको मन्त्रालयले जनाएको छ । अनुदानमा बिक्री गरिने रासायनिक मलको मुल्य युरियाको प्रतिकेजी १४ रुपैयाँ, डिएपीको ४३ रुपैयाँ र पोटासको ३१ रुपैयाँ हुने जनाइएको छ । सो मूल्यमा सञ्चालन खर्च, ढुवानी भाडा र डिलरहरुको सञ्चालन खर्च जोडिने मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
लाभाशं र बोनस दिन रोक, घरजग्गामा लगानी गर्न नपाउने
काठमाडौं । सहकारी संस्थाहरुको नियामक सहकारी विभागले सहकारी संस्थाहरुलाई बोनस र लाभांश वितरणमा रोक लगाएको छ । विभागले सहकारी संस्थाहरुका लागि मंगलबार एकिकृत निर्देशन जारी गर्दै लाभांश र कर्मचारीलाई बोनस वितरणमा रोक लगाएको हो । विभागले जारी गरेको ११ बुँदे एकिकृत निर्देशन जारी गर्दै समस्यामा परेका सहकारीहरुका लागि सो व्यवस्था गरेको हो । यस्तै, सहकारीहरुले घरजग्गा खरिद बिक्री गर्न पनि नपाउने भएका हुन् । सहकारी संस्थाको सञ्चालन तथा नियन्त्रण यसको सदस्यहरुले नै गर्ने भएकोले संस्थाका सबै गतिविधिहरुमा जानकारी राख्ने, समस्या समाधानमा सहभागी हुने, साधारणसभामा सक्रियतापूर्वक भाग लिने, विस्तारित मंचको बैठकमा भाग लिने, संस्थामा सदस्यको हैसियतले नियमित बचत गर्ने र लिएको कर्जा समयमै चुक्ता गर्न पनि निर्देशनमा उल्लेख गरिएको छ । विभागले संस्थाको नाम, ठेगाना, सञ्चालकहरुको पहिचान, सामाजिक प्रतिष्ठा, कर्मचारी तथा व्यवस्थापकहरुको जानकारी, कार्यक्षेत्र संस्थागत सुशासन, लेखापरिक्षण, साधारण सभा, सामाजिक उत्तरदायित्व प्रतिको सचेतना, सदस्यसँगको सम्बन्ध, संस्थाको कारोबार, नियामकीय निर्देशनको पालना र सुधार, सूचनाहरुको संप्रेषण, वेबसाइट आदिबाट पर्याप्त सूचना संकलन र विश्लेषण गरेपछी मात्र आफ्नो कार्यक्षेत्रभित्रको विश्वासयोग्य कुनै एक प्रकृतिको एक संस्थाको शेयर सदस्य भइ कारोबार गर्ने/गराउन निर्देश्न दिएको छ । यस्तै, विभागले केन्द्रीय संघ/सहकारी बैंकका आफू सम्बद्ध प्रारम्भिक संस्थाहरुसँग निरन्तर छलफल र संवाद गर्ने, आवश्यक पूर्व सजगता सहितका निर्देशनहरु जारी गरी कार्यान्वयन गर्ने गराउने । आफूसँग आवद्ध नभएका संस्थाहरुलाई समेत विश्वासमा लिई संस्थागत सुशासन प्रकृयामा सहभागिता अभिवृद्धि गर्न निर्देशन पनि दिएको छ । आफूमा आवद्ध संस्थाहरुको निरन्तर सुक्ष्म निगरानी राखी सम्भाव्य समस्या समाधानका लागि आवश्यक पहल गरी संभव भएसम्म कोषको व्यवस्थापन गर्ने, केन्द्रीय संघहरु माफर्त सञ्चालित स्तरीकरणका कार्यक्रमहरुमा सहभागिता गराउने, सहकारी शिक्षा तथा तालिमका विषयहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । [pdf id=346173]