अर्थसचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थ सचिव कृष्णहरि पुष्करले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग शपथ लिएका हुन् । यस अघिका अर्थसचिव मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यलयमा सरुवा भएपछि कार्कीले अर्थसचिवको जिम्मेवारी पाएका हुन् । राजस्व सचिव रहेका कार्कीले केही दिन अघि मात्र अर्थसचिवको जिम्मेवारी पाएका हुन् । ऐन अनुसार अर्थमन्त्रालयका सचिव राष्ट्र बैंकको पदेन सञ्चालक हुने व्यवस्था छ । जस अनुसार पुष्कर सञ्चालक भएका हुन् ।
अवरोधकै बीच फोहोर व्यवस्थापन
काठमाडौं । स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौं महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहोर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर दुई महिनादेखि अन्तिम व्यवस्थापन हुन सकेको छैन । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसक्दा अहिले उपत्यकाका सडक फोहरले दुगन्धित बनेका छन् भने नागरिकको दैनिकीमा समस्या आएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयहरुले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था जस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरी विरोध गर्दै आएका छन् । कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यन्वयनको चरणमा रहेको भन्दै फोहोर ढुवानीका लागि सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । स्थानीयले निरन्तर अवरोध र लामो समयसम्म उपत्यकामै फोहोर राख्नु परेकाले प्रहरी प्रशासन परिचालन गरेर फोहोर व्यवस्थापनको काम गरिएको जनाएको छ । कामपाका प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् भनेर इमान्दार, सचेत र संवेदशनशील भएर काम भइरहेको बताएका छन् । गत जेठ २६ गते कामपा, धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सम्झौता कार्यान्वयनको अवस्थामा रहेको जानकारी दिँदै प्रमुख साहले तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक वर्षमा उक्त स्थानमै काम गर्न बजेट विनियोजन गरिएको पनि जानकारी दिए । कामपाले चालु आर्थिक वर्षमा सिसडोल बञ्चरेडाँडा क्षेत्रमा फोहोर व्यवस्थापन र सडक मर्मतका लागि मात्र २० करोड बजेट विनियोजन गरेको छ । प्रहरी प्रशासनको सहयोग लिएर मङ्गलबार एक सय ८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । आज पनि प्रहरीकै सहयोगमा फोहोर व्यवस्थापनको काम भइरहेको छ । स्थानीयको अवरोध भने कायमै छ । रासस
गरिमा क्यापिटलको कार्यालय कमलपाेखरीमा
काठमाडौं । गरिमा क्यापिटलको कार्यालय स्थानतरण भएको छ । क्यापिटलको कार्यालय हात्तिसारबाट कमलपोखरीमा (सिटी सेन्टरको अगाडी – विपरित दिशा) स्थानतरण भएको हो । क्यापिटलले कार्यलय सोमबार स्थानतरण गरी सेवा संचालन गरिसकेको छ । गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । साविक केसीएल अस्ट्युटबाट लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो सेयर खातासम्बन्धी) सेवा प्रवाह गर्ने गरिमा क्यापिटलले मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवा प्रदान गर्दछ ।
नेपाल बैंकका अध्यक्ष ज्ञवालीलाई गभर्नरले भने : खराब कर्जामा ध्यान दिनु
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकका नवनियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीलाई पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । गभर्नर अधिकारीले ज्ञवालीको शपथ ग्रहणको क्रममा यस्तो सुझाव दिएका हुन् । ज्ञवालीले सोमबार गर्भनर अधिकारीबाट पदको पद तथा गोपनियताको शपथ लिएका छन् । साउन २३ गते बसेको बैंकको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा उनी नियुक्त भएका थिए । गभर्नर अधिकारीले अध्यक्ष ज्ञवालीको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने पनि बताए । यस्तै, उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । शपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष ज्ञवालीले बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने बताए ।
सुन र चाँदी दुबैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँ र चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
एनएमबि क्यापिटलले सार्वजनिक गर्यो तीन म्युचुअल फण्डको न्याभ, कुनको कति ?
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका विभिन्न म्युचुअल फण्डको वित्तीय विवरण सार्वजनिक भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल-१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड-इ को गत आर्थिक वर्ष २०७८/७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको हो । जसमध्ये एनएमबि हाइब्रिड फण्ड एल-१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरि गत साउन ३१ गते बुक क्लोज गरिसकेको छ । एनएमबि फिफ्टी को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरि गत साउन ३१ गते बुक क्लोज गरिसकेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना ‘एनएमबि सरल बचत फण्ड-इ’ रहेको छ । विगत नौ महिना देखि संचालनमा रहेको यस योजनाको गत आषाढमा खूद सम्पत्ति मूल्य (न्याभ) ९ रुपैयाँ ११ पैसा कायम रहेको छ । साथै, एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२’ गत श्रावण २६ गतेदेखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
नेकोले सर्वाधिक कमाउँदा सानिमा जनरलले ९८% ले बढायो नाफा, बीमा कोषमा जनरल एग्रेसिभ
काठमाडौं । गत वर्ष १६ वटा निर्जीवन बीमा कम्पनीले कूल ४ अर्ब ९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १६ वटा कम्पनीले सो मात्राको नाफा कमाउन सफल भएका हुन् । जुन अघिल्लो वर्षको तुलनामा ८.०६ प्रतिशतले बढी हो । यी कम्पनीले अघिल्लो आवमा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा ४ वटा कम्पनीको नाफा घटेको छ । जसमा सगरमाथाको ८.७१, प्रिमियरको ३.५४, लुम्बिनी जनरलको २३.२२ र हिमालयन एभरेष्टको ५९.६१ प्रतिशतले नाफा घटेको छ । बाँकी सबै कम्पनीको अघिल्लो आवको तुलनामा नाफा बढेको देखिन्छ । सबैभन्दा बढी नाफा कमाउनेमा नेको इन्स्योरेन्स अगाडि देखिएको छ । नेकोले एक वर्षको अवधिमा ५५ करोड १ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । अघिल्लो आवमा ५० करोड ४५ लाख रुपैयाँ बराबरको नाफा कमाएको कम्पनीले एक वर्षमा ९.०३ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै, बढी नाफा कमाउनेको दोश्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा ३१.४१ प्रतिशतले नाफा बढाएर ४७ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, तेश्रोमा सगरमाथा इन्स्योरेन्स छ । समीक्षा अवधिमा कम्पनीले ४० करोड २२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । रकमको आधारमा तेश्रोमा रहेको सगरमाथा अघिल्लो आवको तुलनामा ८.७१ प्रतिशतले घटी हो । अधिकांश स्थानमा शीर्ष स्थानमा हुने शिखर इन्स्योरेन्स नाफाको आधारमा चौथो स्थानमा देखिएको छ । अघिल्लो आवको तुलनामा शिखरको नाफा २८.९३ प्रतिशत बढेर ४० करोड १४ लाख रुपैयाँ पुगेको छ । प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी एग्रेसिभ सानिमा जनरल देखिएको छ । सानिमा जनरलले एक वर्षको अवधिमा ९८.६४ प्रतिशत बढी नाफा कमाएको छ । अघिल्लो आवमा ७ करोड २९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको इन्स्योरेन्सले गत आवमा १४ करोड ४९ लाख रुपैयाँ कमाएको छ । कुनको कति ? (सूचीसहित) यससँगै अघिल्लो आवमा सबैभन्दा कम नाफा कमाउनेको सूचीमा परेको सानिमा जनरल अहिले १६ कम्पनीमध्ये ४ वटालाई उछिन्न सफल भएको देखिन्छ । १६ कम्पनीमध्ये सबैभन्दा कम नाफा हिमालयन एभरेष्ट इन्स्योरेन्सको छ । बीमा क्षेत्रमै पहिलो मर्जरमा गई एकीकृत कारोबार गरेको यो कम्पनीले गत असारसम्ममा ७ करोड ५ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । बीमा कोष बढाउन जनरल इन्स्योरेन्स एग्रेशिभ समीक्षा अवधिमा १६ निर्जीवन बीमा कम्पनीको बीमा कोषको आकार १४ अर्ब २ करोड रुपैयाँ बढी छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवमा यी १६ कम्पनीको बीमा कोषको आकार कूल ११ अर्ब ९१ करोड रुपैयाँ थियो । बीमाकोषको आधारमा सबैभन्दा बलियो सरकारी कम्पनी अर्थातर राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले उक्त कोषको आकार ९.७४ प्रतिशतले बढाई २ अर्ब ६६ करोड रुपैयाँ बढी पुर्याएको छ । त्यस्तै, शिखरको १ अर्ब ४१ करोड, नेकोको १ अर्ब ३७ करोड र सगरमाथाको १ अर्ब २२ करोड रुपैयाँ बढी बीमा कोषमा सञ्चित छ । जुन प्रतिशतको आधारमा क्रमशः १६.५८, २५.०२ र १७.८९ प्रतिशतले बढी हो । कुनको कति ? (सूचीसहित) त्यसैगरी, एग्रेसिभ रुपमा कोषको आकार बढाउनेमा जनरल इन्योरेन्स देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा १४२.५७ प्रतिशतले बीमा कोष बढाई २४ करोड ६५ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको उक्त कोषमा १० करोड १६ लाख रुपैयाँ सञ्चित थियो । त्यस्तै, सानिमा जनरलको बीमा कोषमा सबैभन्दा थोरै रकम छ । २०७९ असारसम्म कम्पनीको कोषमा १६ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । जुन २०७८ असारसम्मको तुलनामा ७७.१८ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीको कोषको आकार ९ करोड २७ लाख रुपैयाँ थियो ।
बैतडीका बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’ दिइने
बैतडी । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार यही भदौ ५ देखि ९ गतेसम्म उक्त खोप अभियान सुरु हुनेछ । यसका लागि पाँच सय ६८ खोप कार्यकर्ता र एक हजार एक सय ३६ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । यहाँका सात स्थानीय तहमा यही भदौ ८ सम्म र बाँकी तीन पालिकामा ९ गतेसम्म अभियान सञ्चालन हुने भएको छ । जिल्लाको मेलौली नगरपालिकासहित सुर्नया, शिवनाथ, पञ्चेश्वर, डिलाशैनी, सिगास र दोगडाकेदार गाउँपालिका ८ गतेसम्म सञ्चालन हुने र पाटन, पुर्चौडी, दशरथचन्द नगरपालिकामा भने ९ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ । जिल्लामा उक्त उमेर समूहका ३८ हजार पाँच बालबालिका रहेका र उनीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो । जिल्लाभरि पाँच सय ६२ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ । जिल्लामा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ जनाले ‘बुस्टर डोज’ लगाएका छन् । कोरोनाकै कारण यहाँ १९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ । बैतडीमा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ ले ‘बुस्टर डोज’ लगाएका छन् । भारतसँग सीमा जोडिएको यस जिल्लामा हालसम्म तीन हजार चार सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।