मेगा बैंक नेपालले ल्यायो ६ गुणा रकम बढ्ने योजना
काठमाडौं । मेगा बैंक नेपालले ६ गुणासम्म प्रतिफल दिने मेगा म्याजिक मुद्दती योजना ल्याएको छ । यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । यस्तै, संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यसैगरी, रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । ।
सानिमा बैंकले ल्यायो फेमिली सेभिङ्ग खाता : ८.०३ प्रतिशत ब्याज पाइने, सबै सदस्यलाई १ लाखसम्मको बीमा
काठमाडाैं । सानिमा बैंकले सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी १ लाखसम्मको औषधी उपचार बीमा सहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो । यस खातामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाखको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगहरुको बीमा, २५ हजारको अवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप्रै सुविधाको व्यवस्था गरिएकाे बैंकले जनाएकाे छ । बैंककाे अनुसार यसबाट ग्राहकहरुलाई औषधी उपचार खर्च गरी बीमा वापत सोधभर्ना लिनु पर्ने झन्झटबाट छुट्कारा मिल्ने छ । सानिमाका ग्राहकले आफ्नो बीमा पोलीसी नं उपलब्ध गराएर औषधी उपचार गराउन सक्ने र यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुने बैंकले जानकारी दिएकाे छ । यसका साथै, यस खातामा भिसा नेटवर्कका एटिएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट प्रदान गरेिएकाे छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
अब सहकारीहरुले पनि मासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने
काठमाडौं । अब सहकारीहरुले पनि मासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने भएको छ । सहकारी विभागले सहकारी संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै सदस्यहरुको जानकारीका लागि मासिक रुपमा विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था गरेको हो । विभागको नयाँ व्यवस्था अनुसार अब सहकारीहरुले मासिक रुपमा संस्थाको सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानी, सेयर सदस्य संख्या, कुल ऋणी, तरलताको रकम र प्रशित, कुल संस्थागत पुँजी र विभिन्न कोषमा रहेको रकम सहितको विवरण सार्वजनिक गर्नु पर्ने भएको हो । पछिल्लो समय एकपछि अर्को सहकारी संस्थामा समस्या देखिन थालेपछि विभागले यस्तो व्यवस्था गरेको हो ।
अब उर्जा मन्त्रालयले विद्युतिय गाडी मात्र खरिद गर्छ : मन्त्री भुषाल
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतिय गाडी मात्र खरिद गर्ने बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७औँ वार्षिकोत्सवमा मन्त्री भुषालले उर्जा मन्त्रालयले विद्युतिय गाडी मात्र खरिद गर्ने बताएकी हुन् । उनले प्राधिकरणले त्यही अनुसार चार्जिङ स्टेशन निर्माण गर्ने पनि बताइन् । ‘सरकारले विद्युतको खपत बढाउन धेरै प्रकारका कार्यक्रम संचालन गरिरहेको छ, अब उर्जा मन्त्रालयले पनि विद्युतिय गाडी मात्र खरिद गर्छ र प्राधिकरणले त्यही अनुसार चार्जिङ स्टेशन बनाउँछ,’ उनले भनिन् । उनले छिट्टै हाइड्रोजनको व्यापारमा अनुसन्धान गरी प्रारम्भ गरिने पनि बताइन् । यस्तै, मन्त्री भुषालले निजि क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको बताइन् । हाल १६ सय मेगावाटको विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० गरेर पनि काम नभएको र अहिलेको अवस्थामा क्यु ट्वान्टिको डिजाइनमा काम गर्दै धेरै विद्युत उत्पादन गर्न नसकिने उनको भनाइ छ । उनले मिटर जोड्न महिनौं लगाउने प्राधिकरणका कर्मचारीहरुलाई कारबाही गर्न पनि अनुरोध गरेकी छिन् । ‘हामी मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत खपत बढाउन अनुरोध गर्दै हिँड्ने तर तलबाट एउटा मिटर जोड्नभन्दा महिनौ नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ, समयमा काम नगर्ने कर्मचारीलाई आवश्यक विभागिय कारबाही गर्न म अनुरोध गर्छु,’ उनले भनिन् । उनले प्राधिकरणका कर्मचारीको लागि ५२ महिनाको जीवन बीमाको व्यवस्था गर्ने र ज्यालामा काम गर्ने कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारी बनाउने पनि बताइन् ।
८५२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ६ हजार ३८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७६ जना तथा एन्टिजेन विधिबाट २ हजार ५०७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ३२८ जना निको भएका छन् भने १ लाख ८९ हजार ७६७ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ ।
जीवन बीमा कोषमा नेपाल लाइफ दोब्बरले बलियो, रिलायबलको ७८ प्रतिशत बढ्दा अन्यको कति ?
काठमाडौं । जीवन बीमा कोषको आधारमा नेपाल लाइफ इन्स्योरेन्स नम्बर वान बन्न सफल भएको छ । २० वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ यो कोषमा करिब दोब्बर रकमले अग्रस्थानमा देखिएको हो । कम्पनीहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकारमा नेपाल लाइफ पहिलो स्थानमा छ भने दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । यी दुई कम्पनीको जीवन बीमा कोषको आकारमा करिब ८० अर्ब रुपैयाँ बढीको अन्तर देखिएको छ । कम्पनीले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार नेपाल लाइफको उक्त कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ बढी छ । जबकी अन्य कम्पनीको उक्त कोषमा खर्बभन्दा तल छ भने दोश्रोमा रहेको लाइफ इन्स्योरेन्स कम्पनीको कोषमा ९३ अर्ब ६३ खर्ब रुपैयाँ सञ्चित छ । गत आवमा नाफा घटाएको नेपाल लाइफले जीवन बीमा कोषको आकार भने २१.५८ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो वर्ष कम्पनीको यो कोषमा १ खर्ब १२ अर्ब रुपैयाँ थियो । समग्रमा १९ जीवन बीमा कम्पनीको जीवन बीमा कोषको आकार कूल ४ खर्ब ६५ अर्ब रुपैयाँ बढीको छ । जुन अघिल्लो आवको तुलनामा औषत २१.३९ प्रतिशतले बढी हो । उक्त रकम अघिल्लो आवमा ३ खर्ब ८३ अर्ब रुपैयाँ थियो । प्रतिशतको आधारमा रिलायबल लाइफको जीवन बीमा कोषको आधार सर्वाधिक बढेको छ । एक वर्षमा कम्पनीको कोषको आकार ७८.१३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा हाल ४ अर्ब ६० करोड रुपैयाँ बढी सञ्चित छ । कुन कम्पनी कति बलियो ? त्यस्तै, सबैभन्दा कम जीवन बीमा कोष हुनेमा महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको उक्त कोषमा २ अर्ब १२ करोड रुपैयाँ सञ्चित छ । जुन अन्य कम्पनीको तुलनामा कम भएपनि अघिल्लो वर्षको तुलनामा भने २२.२६ प्रतिशतले बढी हो । के हो बीमा कोष ? बीमा कम्पनीहरुले प्रत्येक बीमा व्यवसायको छुट्टाछुट्टै कोष राख्नु पर्ने व्यवस्था छ । र बीमा व्यवसायबाट प्राप्त रकम सम्बन्धित कोषमा जम्मा गर्नु पर्नेछ । तर एउटा बीमा व्यवसायको लागि राखिएको कोषबाट अर्को बीमा व्यवसाय सम्बन्धी दायित्व व्यहोर्न नपाइने समेत व्यवस्था छ । कम्पनीहरुको कोषमा जति बढी रकम हुन्छ, त्यति नै बलियो मानिन्छ ।
निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिनुस् : अध्यक्ष आचार्य
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष कृष्ण आचार्यले निजी क्षेत्रलाई विद्युतको व्यापार गर्न दिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७औँ वार्षिकोत्सवमा उनले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन बताएका हुन् । उनले इपान प्राधिकरणसँग प्रतिस्पर्धाभन्दा पनि सहकार्य गरेर अगाडी बढ्न तयार रहेको धारणा राखे । ‘अहिलेको उत्पादनमा निजी क्षेत्रको योगदान बढी छ, आगामी दिनमा पनि निजी क्षेत्रकै योगदान बढी रहन्छ, तर प्रतिवेदनमा हामीलाई गौण गरियो, प्राधिकरणको सफलतामा हामी पनि छौँ, हामीलाई खुसी लागेको छ,’ उनले भने । उनले ५ वर्षदेखि ग्याँसचुल्हो विस्थापित गर्ने कार्यक्रम कार्यान्वयन नभएको बताएका छन् । ०७५ सालदेखि नखुलेको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अब खुलाउनुपर्ने उनको भनाइ छ ।
आजदेखि सामाजिक सुरक्षा कोषले ७५ लाखसम्म ऋण दिने, सेवा एपबाटै, यस्तो छ प्रक्रिया
काठमाडौं । सामाजिक सुरक्षा कोष (एसएसएफ) ले सापटी सेवा सुरु गरेको छ । कोषले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सेवाग्राहीलाई योगदानको आधारमा ऋण लिने सुविधा सुरु गरेको जानकारी दिएको हो । यस योजना ३६ महिनासम्म कोषमा योगदान गरेको हकमा लागु हुने र सेवाग्राहीले जम्मा गरेको ८० प्रतिशत रकम ऋण लिन पाउने कोषले जनाएको छ । कोषले घर सापटी, शिक्षा सापटी र सामाजिक सापटी दिनेछ । सेवाग्राहीले घर सापटीमा ७५ लाख रुपैयाँसम्म ऋण पाउने कोषले जानकारी दिएको छ । याे सुविधा एपबाट पनि पाउन सकिनेछ । काेषले आज एप पनि सार्वजनिक गरेकाे छ । ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ मा योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, घर मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था छ । निर्देशिका अनुसार कोषमा कम्तीमा तीन वर्ष अर्थात ३६ महिना योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी लिन पाउनेछन् । यस्तै, कोषमा रकम जम्मा गरेका, उमेर र सेवा अवधिका आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गर्न सकिने व्यवस्था कोषमा गरिएको छ । घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिमध्ये जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी प्रदान गर्न सकिने व्यवस्था निर्देशिकामा छ । निर्देशिकाले ती तीन विधामध्ये पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपैयाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था गरेको छ । कोषले योगदानकर्ताको शैक्षिक तथा सामाजिक कार्य सापटीमा ९.७५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, धितो राखेरसँगै धितो बिना पनि कोषले योगदानकर्तालाई ऋण दिने जनाएको छ । योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशत रकम कोषले ऋणका रुपमा दिनेछ । जसको ब्याजदर ९.१ तोकेको छ । योगदानकर्ताको रकमको ऋणमा भने कोषले ८ प्रतिशत मात्रै ब्याज लिने जनाएको छ । निर्देशिकाका अनुसार घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्दा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्ता कायम गरिनेछ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा पच्चीस प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्याङ्कनकर्ताले सिफारिस गरेको प्रगति विवरणको आधारमा कायम गरिने निर्देशिकामा उल्लेख छ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिनेछ । शैक्षिक सापटी लिई सो सापटीको ब्याज नियमित रुपमा चुक्ता नगर्ने योगदानकर्तालाई घर सापटी नगरिने निर्देशिकामा उल्लेख छ । घर मर्मत सापटी लिएका योगदानकर्ताले सो सापटी चुक्ता गरिसकेपछि मात्र निजलाई थप घर सापटी प्रदान गर्न सकिने व्यवस्थ छ । घर सापटी चुक्ता गर्नुपर्ने अवधिः योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी दफा २६ बमोजिमको सहुलियत अवधि सहित घर सापटीको पहिलो किस्ता लिएको बढीमा बीस वर्ष भित्र सापटी चुक्ता गर्नु पर्छ । तर, योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छोडेको छ वर्ष भित्र त्यस्तो सापटी चुक्ता गरिसक्नु पर्नेछ । योगदानकर्ताले लिएको घर सापटी चुक्ता गरेमा पुनः घर सापटी दिन सकिने व्यवस्था पनि निर्देशकिामा छ । निर्देशिकाले योगदानमा आधारित सामाजिक सुरक्षामा योगदान गर्नेले शैक्षिक सापटी सेवा लिन सक्ने व्यवस्था पनि गरेको छ । कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको हो । उक्त निर्देशिकाअनुसार यस प्रकारको सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लािग सापटी प्रदान गर्न सकिने उल्लेख छ । उक्त रकम ३५ लाख रुपियाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने व्यवस्था निर्देशिकामा गरिएको छ । सो निर्देशिकाअनुसार विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, छात्रावास खर्च वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च, भ्रमण तथा बीमा खर्च उक्त सापटीमा रहने व्यवस्था गरिएको छ । एक पटक लिएको सापटी चुक्ता गरिसकेका योगदानकर्ताले शैक्षिक सापटीबापत पुनः अर्को सापटी पनि लिन सक्ने व्यवस्था कोषले गरेको छ । कोषले हाल निजी क्षेत्रको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यस्तो छ प्रक्रिया कोषबाट सापटी लिन चाहने योगदानकर्ताले सापटी माग फारामको विवरण भरी आफू कार्यरत कार्यालयको सिफारिसका साथ कार्यालयको छाप लगाई कोषको कार्यालयमा पेश गर्नुपर्ने । आवश्यक कागजात पेश गरी सापटी माग फारामका साथ यी कागजात पेश गर्नु पर्नेछ । १. निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचय पत्रको प्रतिलिपि, २. धितो राखिने जग्गाको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि (नयाँ नापी भएको भए श्रेस्ता अद्यावधिक भएको हुनुपर्ने) । ३. घर जग्गा प्राप्तिको स्वामित्व सम्बन्धी लिखत (राजीनामा, अंशवण्डा,वकसपत्र, छोडपत्र, दर्ताफारी आदि) को प्रतिलिपि, तर नामसारीको हकमा जग्गाधनी पूर्जामा नामसारी भएको व्यहोरा जनाइएको हुनुपर्ने । ४. धितो राखिने जग्गाको नापी नक्साको सम्बन्धित निकायबाट प्रमाणित ब्लू प्रिन्ट र चार किल्ला खुलेको ट्रेस पेपरको सक्कल प्रति । ५. धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा जग्गाधनीको नागरिकताको प्रतिलिपि । ६. चालू आर्थिक वर्षको मालपोत बुझाएको रसिदको प्रतिलिपि । ७. धितो राखिने जग्गाको जग्गा धनी र निवेदक फरक व्यक्ति भएमा निजहरू नाता खुल्ने प्रतिलिपी । ८. घर खरिद गर्दा खरिदकर्ता र बिक्रिकर्ताबीच हुने सम्झौता । ९. सम्बन्धित स्थानीय तहबाट प्रमाणित चारकिल्ला खुलेको सक्कल पत्र । १०. सम्बन्धित कार्यालयबाट प्रमाणित योगदानकर्ताको अवकाश हुने मिति तथा तलवमान खुलेको सक्कल पत्र । ११. घर र जग्गा दुबै धितो राख्नु परेमा घर निर्माण सम्पन्न प्रमाणपत्र, तर जग्गाको मूल्याङ्कनले मात्रै सापटी रकमलाई खाम्ने भएमा जग्गाको मूल्याङ्कनबाट मात्र पनि सापटी गर्न सकिनेछ । १२. धितो राखिने घरको सम्पत्ति बिमाका कागजातकहरू । १३. कोषले आवश्यक ठानेका अन्य थप कागजातहरू ।