विकासन्युज

आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिजले गरे व्यवसायिक सम्झौता

काठमाडौं । आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)बीच व्यवसायिक सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच व्यवसायिक सम्झौता भएको हो । यससँगै आइसीएफसी फाईनान्सका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप (आईसीएफसी फाइनान्स स्मार्ट) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्ने जनाएको छ । उक्त सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डूको ऋणपत्र खुल्यो, लगानी गर्नेले १०.५ प्रतिशत व्याज पाउने

काठमाडौं । बैंक अफ काठमाण्डूले आज (भदौ २ गते) देखि १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । बैंकले ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक सो मात्राको ऋणपत्र आजदेखि बिक्रीमा राखेको हो । ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा राखेको हो । जसमा लगानी गर्दा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइने छ । बैंकले बिक्रीमा ल्याएको कुल ११ लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। साथै, सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको समेत बैंकले जानकारी गराएको छ । त्यस्तै, उक्त ऋणपत्रको बिक्री बन्द छिटोमा भदौ ७ गते र ढिलोमा भदौ १६ गते हुने छ । यससँगै इच्छुकले सो अवधि भित्रमा न्यूनतम २५ गतेदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्ने छन् ।

संस्थापक सेयर लगानीकर्तालाई ‘घाँडो’

काठमाडौं । पूँजी बजारमा सूचीकृत कम्पनीहरुका दुई किसिमका सेयर हुन्छ, प्रमोटर (संस्थापक) सेयर र पब्लिक (सर्वसाधारण) सेयर । विभिन्न कम्पनीमा लगानीकर्तालाई संस्थापक सेयर र पब्लिक सेयर गरी दुई समूहमा विभाजन गरिएको हुन्छ । लगानीकर्ताले कुनै कम्पनीको सेयर आज खरिद गरेर भोलि नै बिक्री गर्न पाउँछन् भने यस्ता सेयरलाई पब्लिक सेयर भनिन्छ । तर, पब्लिक सेयर सरह खरिद बिक्री गर्न नपाइने सेयरलाई प्रमोटर सेयर भनिन्छ । प्रमोटर सेयर विभिन्न प्रक्रिया पुर्याएर मात्रै खरिद बिक्री गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा ५१ प्रतिशत प्रमोटर सेयर अनिवार्य हुनुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा सुरुमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत पब्लिक सेयर हुनुपर्छ । तर, ५ देखि १० वर्ष अवधि पुगेपछि संस्थापकको १९ प्रतिशत सेयर पब्लिकमा रुपान्तरण गर्न पाउँछन् । तर, संस्थापक सेयर ५१ प्रतिशत भन्दा कम नहुने गरी सेयर संरचना परिवर्तन गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीबाहेक अन्य कम्पनीको भने ३ वर्ष अवधि (लकिङ पिरियड) पुगेपछि संस्थापक सेयर पनि पब्लिक सेयर सरह कारोबार गर्न पाइन्छ । तर, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका संस्थापक लगानीकर्ताले भने लामो समय पुग्दा पनि पब्लिक सेयर सरह कारोबार गर्न पाउँदैनन् । संस्थापक सेयर खरिद बिक्री गर्ने प्रक्रिया सहज नहुँदा संस्थापक सेयर ‘घाँडो’ जस्तै बनेको लगानीकर्ताको गुनासो छ । लगानीकर्ताका लागि प्रमोटर सेयर खरिद बिक्री गर्न झण्झट भएको लगानीकर्ता राजन लम्साल बताउँछन् । प्रमोटर सेयरधनीले नै संस्थालाई संचालन गर्ने भएकाले खरिद बिक्री प्रक्रियामा कडा व्यवस्था गरेको लगानीकर्ता लम्सालले बताए । ‘५१ प्रतिशत अनिवार्य मानसिकता भएका लगानीकर्तामात्रै प्रमोटर सेयरमा लगानी गर्छन्, प्रमोटर सेयर खरिद गर्न विभिन्न प्रक्रिया पुरा गर्नुपर्छ, यदि कुनै प्रमोटरले सेयर बिक्री गर्न चाह्यो भने प्रमोटरभित्रैबाट खरिदकर्ता खोज्नुपर्छ, पाएन भने प्रमोटर सेयर बिक्रीमा भनेर सूचना प्रकाशन गर्नु पर्छ,’ लगानीकर्ता लम्सालले भने, ‘यस्ता खालका सीमा र शर्तका कारण प्रमोटर सेयर झण्झटिलो छ, सिधै बिक्री गर्न नसक्ने, सूचना निकालेर प्रमोटर खोज्नुपर्ने व्यवस्थाका कारण झण्झट भएको छ ।’ प्रमोटर सेयर खरिद गर्न आम्दानीको स्रोत, कर तिरेको सिफारिस, कालो सूचीमा नपरेको हुनुपर्छ भने बिक्री गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ । खरिद गर्ने व्यक्तिले थुप्रै प्रक्रिया अपनाउनु पर्ने भएकाले बिक्री गर्न कम्तिमा ६ महिना समय लाग्ने गरेको लगानीकर्ता लम्साल बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रमोटर सेयरधनीले आफ्नो सेयर बिक्री गर्न चाह्यो भने बिक्री नै नहुने अवस्थामा पुग्छन् । प्रमोटर सेयर मूल्य कम हुँदा कहिलेकाहीँ त प्रमोटरले आईपीओकै मूल्यमा सेयर बिक्री गर्नु पर्ने बाध्यता रहेको लगानीकर्ताले गुनासो गर्दै आएका छन् । ‘बजारमा बिक्रीमा राखिएको प्रमोटर सेयरमा ५० प्रतिशत पनि बिक्री हुँदैन, बजार मूल्यभन्दा ६५ प्रतिशत कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘प्रमोटर सेयर खासै बिक्री गर्न आउँदैनन्, समस्या परेर मात्रै प्रमोटर सेयर बिक्री गर्छन् ।’ प्रमोटर सेयरमा दीर्घकालको योजना बनाएर लाभांश र लगानी सुरक्षित गर्नका लागि लगानी गर्छन् । पब्लिक र प्रमोटरमा विभेद पब्लिक सेयर तत्काल खरिद बिक्री गर्न मिल्छ । पब्लिक सेयर आज खरिद गरेर अर्काे दिन बिक्री गर्न सकिन्छ । प्रमोटर सेयर भने खरिद बिक्रीका लागि दायरा छुट्याएको छ । ‘पब्लिकले आज किन्छ, भोलि १० रुपैयाँ फाइदा भएपछि बिक्री गर्छ, कम्पनीबाट बाहिर जान्छ तर, कम्पनीको मालिक प्रमोटर सेयर भएका लगानीकर्ता हुन्, पब्लिक सेयर छोटो अवधिका लागि मात्रै हो, संस्थाको स्थायी साहु प्रमोटर हुन्,’ उनले भने, ‘संस्था स्थापना गर्दा ठूलो रकम लगानी गरेर संचालन गरिरहेका हुन्छन्, निश्चित मापदण्डभित्र रहेर काम गर्न लगानी गरेका हुन्छन् ।’ प्रमोटर सेयर बिक्री गर्नका लागि प्रक्रिया मात्रै सहज बनाएमा अर्काे ब्यक्ति आएर सो सेयर खरिद गर्न सक्ने उनले बताए । छोटो समयमा खरिद बिक्री गर्ने मापदण्ड बनायो भने संस्थापक सेयरमा लगानीकर्ताको आकर्षण बढ्ने उनको भनाइ छ । प्रमोटर सेयरमा भएको अहिलेको व्यवस्था गलत रहेको लगानीकर्ता मुक्ती अर्यालको आरोप छ । प्रमोटर सेयर कारोबार हनु नपाउने व्यवस्थाले लगानीकर्ता मारमा परेको उनको भनाइ छ । सेयर भनेको अंश भएकाले बराबर अधिकार र कर्तव्य हुनुपर्ने उनको धारणा छ । ‘कारोबार फुकुवा नहुन्जेलसम्म लगानीकर्तालाई घाटा हुन्छ, फुकुवा हुने समयमा खेलेर अरु लगानीकर्तालाई मर्का वा घाटा पार्छन्,’ उनले भने, ‘सेयर अंश हो, अंश बराबर हुन्छ, सबैको अधिकार र कर्तव्य बराबर हुनुपर्छ, तर हामीकहाँ पुर्वाग्राही छ, बराबर भएको छैन ।’ उनले यस्तो व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताए । नियामकले लगानीकर्ताको सम्पत्तिलाई बंधक बनाएर राखेको आरोप उनको छ । ‘कसैले गरेको लगानी बिक्री गर्न नपाउनु भनेको सम्पत्ति वा लगानी टाइट गर्नु हो, अरुले बिक्री गर्न पाउने तर प्रमोटरले बिक्री गर्न नपाउँदा पुर्वाग्रह भयो, सम्पत्ति चल हो तर अचल सम्पत्ति जस्तै होल्ड गर्नु गलत हो,’ उनले भने । संस्थामा सेयरधनी मात्रै हुने भएकाले संस्थापक र सर्वसाधारण सेयरधनीको अवधारण गलत रहेको उनको बुझाइ छ । ‘५ प्रतिशत बढी होल्ड गर्ने एक किसिमको सेयरधनी र ५ प्रतिशतभन्दा कम गर्ने रिटेल, ५ प्रतिशत बढी होल्ड गर्नेलाई बिक्री गर्न समय र विभिन्न प्रावधान अपनाउनुपर्छ, किनभने प्राइसलाई प्रभाव पार्ने सूचना हुन सक्छन् तर, की प्राइसलाई प्रभाव नपर्ने गरी बिक्री गर्न पाउनु पर्छ, बिक्री गर्दा धितोपत्र बोर्डलाई जानकारी दिने व्यवस्था लागू हुनुपर्छ,’ उनले भने । हाल कायम रहेको व्यवस्थाका कारण अस्वस्थ अभ्यास भएपछि सरकार र मार्केटलाई समेत नोक्सान भइरहेको उनले बताए । ‘ब्रोकर, स्टक एक्सचेञ्जलाई पनि घाटा भएको छ, कारोबार भएपछि ब्रोकरलाई कमिसन आउँछ, धितोपत्र बोर्डलाई पनि कमिसन आउँछ, सरकारलाई कर तिर्छन्,’ लगानीकर्ता अर्यालले भने, ‘सप्लाई बढेपछि प्राइस लेभलमा आउँछ, प्रमोटरले कारोबार गर्न नपाउँदा पब्लिकको सेयर कम हुन्छ, प्राइस म्यानुपुलेसन गरेर तलमाथि गर्न सक्छन् ।’ उनका अनुसार यदि कुनै प्रमोटरसँग २० प्रतिशत सेयर छ भने ५ प्रतिशत बिक्री गरेर अन्य विजनेश गर्न सक्छ, जसले गर्दा बजार सक्रिय हुन्छ । तर, अहिलेको व्यवस्थाले क्यापिटल मोविलाइजेसन रोकेका उनको बुझाइ छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का प्रवक्ता रुपेश केसीले संस्थापक सेयर बारे बोर्डले कुनै छलफल नगरेको बताए । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका लागि नियामकले गरेको व्यवस्था नै लागू हुने र अन्य कम्पनीको सन्दर्भमा धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा भएका व्यवस्था लागू हुने उनको भनाइ छ । बैंक तथा वित्त संस्था र बीमा कम्पनीको संस्थापक सेयर कारोबार गर्न नपाउने व्यवस्थालाई राष्ट्र बैंक र बीमा समितिको नियमले रोकेको र अन्य कम्पनीको हकमा भने सुझावको रुपमा बोर्डमा राख्ने उनको भनाइ छ । राष्ट्र बैंकका सह-प्रवक्ता नारायण प्रसाद पोखरेलले बैंक तथा वित्त संस्था लाखौंको निक्षेप राख्ने ठाउँ भएको र बैंकको शाख जोगाउन यस्तो व्यवस्था लागू गरेको बताए । यदि बैंकको सेयरलाई शतप्रतिशत पब्लिक सेयर बनाएमा हरिविजोग हुने उनको भनाइ छ । ‘संस्थापकको सेयरलाई शतप्रतिशत पब्लिक सेयर बनाउँदा बैंक हरिविजोग हुन्छ, कोही न कोही स्वामित्व लिने मान्छे चाहिन्छ, पब्लिक सेयरधनीले पनि जिम्मेवारी लिएको हो तर भोलिका दिनमा पूँजी थप भन्दा थप्दिन भन्न पाउँछ,’ उनले भने, ‘बैंकमा प्रमोटरको हिस्सा ५१ प्रतिशत हुनुपर्छ, भोलिका दिनमा आवश्यक परेमा पूँजी थप्न सक्छ, पब्लिक सेयरधनीले कम्पनीबाट उम्किन खोज्छ, प्रमोटरले उम्किने मौका पाउँदैनन्, उसको काँधमा जिम्मेवारी हुन्छ, जसले बैंकलाई अफ्ठ्यारो परेको बेलामा पूँजी थपथाप गरेर बैंकलाई जोगाउन सक्छन् ।’ बैंकका संस्थापक सेयरधनीलाई आफ्नो सेयर बिक्री गर्न कुनै झण्झट नभएको उनको दाबी छ । लाभांश र लगानी सुरक्षित हुने भएकाले लगानीकर्ताले प्रमोटर सेयरमा लगानी गरेको उनले बताए । ‘असहज भएको स्वभाविक हो, किनभने प्रमोटरसँग ठूलो रकम हुन्छ, प्रमोटरले किन्ने मान्छे भेट्यो भने राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ,’ उनले भने, ‘सेयर बिक्री गर्नु भनेको बैंकका लागि बिजनेस पार्टनर खोज्नु हो, सेयर बिक्री गरेको होइन, बिजनेश पार्टनर भेट्न गाह्रो हुन्छ, भेटे पनि नियामक निकायसँग स्वीकृति लिएर मात्रै हस्तान्तरण गर्नुपर्छ ।’

सात स्थानीय तहले भूमि आयोगसँग गरे सम्झौता

बैतडी । बैतडीका सात स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा पञ्चेश्वर शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन् । राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष धर्मसिंह ऐरका अनुसार अव्यवस्थित बसोबासी, भूमिहीन, दलित र सुकुम्बासीको तथ्याङ्क सङ्कलनका लागि ती पालिकाले सम्झौता गरेका हुन् । सम्झौता भएसँगै जिल्लामा रहेका अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनको तथ्याङ्क सङ्कलन गरी उनीहरुका समस्या समाधानका लागि आयोगले काम गर्ने छ । उनले भने ‘पालिकाले आयोगसँग सम्झौता गरेसँगै अब काम अघि बढ्छ, तथ्याङ्क सङ्कलनपछि अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गछौं ।’ जिल्लाका अन्य तीन स्थानीय तहलाई पनि सम्झौताका लागि आग्रह गरिएको अध्यक्ष ऐरले बताए । अब डिलाशैनी र दोगडाकेदार गाउँपालिका तथा दशरथचन्द नगरपालिकाले मात्रै आयोगसँग सम्झौता गर्न बाँकी छ । स्थानीय तहले यसअघि राष्ट्रिय भूमि आयोगसँग सम्झौता नगरेका कारण काम अघि बढ्न सकेको थिएन । रासस

इन्धनको मूल्य वृद्धिका कारण बंगलादेशमा तत्काल आर्थिक संकटको सम्भावना नरहेको आइएमएफको भनाइ

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बंगलादेश श्रीलङ्काजस्तो आर्थिक संकटको जोखिममा नरहेको बताएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया तथा प्रशान्त विभागका महाशाखा प्रमुख राहुल आनन्दले बंगलादेशको वर्तमान आर्थिक अवस्थाका बारेमा मंगलबार अनलाइन कन्फरेन्समा पत्रकारलाई जानकारी दिँदै बंगलादेशको बाह्य स्थिति ‘यस क्षेत्रका धेरै देशहरूभन्दा निकै फरक’ रहेको बताउनुभयो । आईएमएफका अधिकारीका अनुसार बंगलादेशको बाह्य ऋण र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात १४ प्रतिशतको हाराहारीमा रहेको र तुलनात्मक रूपमा कम रहेको र प्रायः सहुलियतपूर्ण प्रकृतिको छ । त्यसैले कर्जा संकटको जोखिम कम छ । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले फाइनान्सियल टाइम्सलाई पठाएको जवाफमा भनिएको छ, “अहिले ४० अर्ब अमेरिकी डलर सञ्चिति रहेको छ, जुन पाँच महिनाभन्दा बढीको आयात भुक्तानीका लागि पर्याप्त छ र आईएमएफले तोकेको जोखिमको सीमाभन्दा बढी छ । घरेलु पेट्रोलको मूल्य तीव्र गतिमा बढेसँगै बंगलादेशले रुसबाट कच्चा तेल आयात गर्ने सोच बनाएको छ । बंगलादेशका विदेश सचिव मसूद बिन मोमेनले कच्चा तेल आयातको विषयमा निर्णय गर्न रूसको एक विशेषज्ञ प्रतिनिधिमण्डल चाँडै ढाका आउने बताउनुभएको छ । यस महिनाको सुरुमा बङ्गलादेशको इन्धनको खुद्रा मूल्य सन् १९७१ मा बङ्गलादेशस्वतन्त्र भएयता कहिल्यै नदेखिएको स्तरमा वृद्धि गरिएको थियो । बंगलादेश सरकारले अगष्ट ६ देखि लागू हुने गरी इन्धनको मूल्य ५१।७ प्रतिशतसम्म बढाएको छ । सरकारी वितरण कम्पनीहरूमाथिको अनुदानको भार कम गर्न खुद्रा बजारमा पछिल्लो मूल्यवृद्धि अपरिहार्य भएको अधिकारीहरूले बताएका छन् । विज्ञहरूका अनुसार इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई अझ खराब बनाउनेछ । बंगलादेशको मुद्रास्फीति जूनमा बढेर ७।५६ प्रतिशत पुगेको छ । यो वृद्धि दर करिब नौ वर्ष यताकै उच्च हो ।

सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको ह्यारिसन प्यालेसमा २० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकर विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बुधबार बैंक र प्यालेसबीच बैंकका डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग ग्राहकलाई छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ह्यारिसन प्यालेसमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

साढे २६ करोडमा बनेको लुम्बिनी अस्पतालमा सञ्चालनमा आयो प्रसूति सेवा

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निर्माण भएको नयाँ प्रसूति भवन सञ्चालनमा आएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले निर्माण गरेको यो भवन आजदेखि सञ्चालनमा आएको हो । सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले संयुुक्तरुपमा चार तले सुविधा सम्पन्न प्रसूति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् । प्रसूतिका लागि भरपर्दो मानिएको उक्त अस्पतालमा शय्या अभाव भएको गुनासो आएपछि एक सय ५० शय्याको प्रसूति भवन निर्माण गरिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो । उद्घाटन समारोहमै मन्त्रीद्वयको उपस्थितिमा आयोजना एकाइ कार्यालयले लुम्बिनी प्रादेशिक अस्पताललाई भवन हस्तान्तरणसमेत गरेको छ । कार्यक्रममा सहरी विकासमन्त्री चौधरीले प्रसूति भवनले बुुटवल र यस आसपासका बिरामीलाई ठूलो राहत पुग्ने बताए । उनले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गरे । अस्पतालले बिरामीलाई सहजरुपमा सर्वसुलभ र गुणस्तरीय सेवा दिनुपर्ने मन्त्री चौधरीले बताए । स्वास्थ्यमन्त्री खापुङले मुटुु, मिर्गौला तथा क्यान्सरजस्ता रोगका कारण बर्सेनि पाँच लाख नेपाली गरिबीको रेखामा पर्ने गरेको तथ्याङ्क देखिएको जनाउँदै अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुपर्ने बताए । उनले स्वास्थ्य मानव सेवा भएकाले भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यमा गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । मन्त्री खापुङले सरकार नागरिकको स्वास्थ्यमा संवेदनशील रहेको बताए । सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले प्रसूति भवन निर्माणले अस्पतालको सेवालाई गुणस्तरीय बनाउन टेवा पुग्ने बताए । कार्यक्रममा सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख रमेश थिङले विसं २०७५ मा सम्झौता भएको भवन निर्धारित समयमै सम्पन्न भएको जानकारी दिए । अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले सुविधा सम्पन्न प्रसूति भवन बनेकाले यसले नागरिकलाई राहत पुग्ने बताए । उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा वार्षिक १३ हजारले प्रसूति सेवा लिने गरेका छन् । अपाङ्गमैत्री र लिफ्टको व्यवस्था रहेको भवनमा इर्मेजेन्सी, आइसियु, एनआइसियु, मेजर एण्ड माइनर, ओटी, पोस्ट शल्यक्रिया कक्ष, मातृशिशुु वार्ड, सम्पूर्ण बच्चाको खोप लगाइनेलगायतका कक्ष बनाइएको छ ।

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत खाता खोल्न सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् । बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुनेछ भन्ने बैकले विश्वास लिएको जनाएकाे छ । बैंककाे अनुसार यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहकहरू, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाईसी सेवा मार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्नेछन । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।