विकासन्युज

राष्ट्रिय बाणिज्य बैंक बन्यो युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सर

काठमाडौं । काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौं २८ गते हुने उक्त सम्मेलनमा राष्ट्रिय बाणिज्य बैंक टाइटल स्पोन्सरको रुपमा हुने भएको हो । जसको लागि राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेबिच टाइटल स्पोन्सरका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजि क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । ‘आर्थिक समृद्धीका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसंग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तलिम र यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे । पहिलो शिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउदैं यो सम्मेलनले देशभरका युवाहरुमा वित्तीइ साक्षरता, बैकिङ् पँहुच अभिबृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास व्यक्त गरे । त्यसैगरी सम्मेलनमा ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५०० जना युवाहरु सहभागी हुने छन् । सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समुहगत छलफल, नेटवर्किङ्ग, सफल युवा उद्यमीहरुको प्रस्तुतीसहितको अवार्ड वितरण, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरीङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् । सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयसमेत साझेदार रहेको छ ।

१०.७५ प्रतिशत व्याज पाइने सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । सिद्धार्थ बैंकको ‘१०.७५% एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९’ नेप्सेमा सूचीकृत भएको छ । मंगलबार मात्रै बैंकको १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो । उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् । बैंकले सर्वसाधारणमा निष्कासन गरेको ४० लाख थान अर्थात ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र वितरण भई साउन ३१ गते नेप्सेमा सूचीकृत भएको हो । उक्त ऋणपत्र भदौ १ गतेदेखि नै दोश्रो बजारमा कारोबारमा आइसकेको छ ।

एनएमबि बैंकले ल्यायो नारी लक्षित बचत योजना, क्यास ब्याकसँगै कर्जामा विशेष छुट पाइने

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि स्मार्ट नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी उक्त आकर्षक बचत योजना ल्याएको हो । बैंकले महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयास स्वरुप यो योजना ल्याएको हो । यसअन्तर्गत ग्राहकहरूले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजारसम्म क्यास ब्याक पाउन सक्नेछन् । त्यसैगरी, ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् । यो योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशतसम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । बैंकले हाल २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

श्रममन्त्री कुँवरले प्रत्येक आइबार प्रत्यक्ष रुपमा उजुरी गनासो सुन्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार प्रत्यक्ष रुपमा उजुरी तथा गुनासो सुन्ने भएका छन् । मन्त्रालयले १ गते प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक आइतबार ‘श्रमिकसँग मन्त्री’ कार्यक्रममार्फत सरोकारवालासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम रहेको जनाएको छ । प्रेस विज्ञप्तिमा कार्यक्रम प्रत्येक आइतबार बिहान ११ बजेबाट १२ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ । ‘श्रमिकसँग मन्त्री’ कार्यक्रममा स्वदेशबाट सम्पर्क गर्दा ११४१ र १६६००१५००५ नम्बरमा डायल गरेर निःशुल्क संवाद गर्न सकिने छ । साथै विदेशमा रहेका नेपालीले भने सःशुल्क ००९७–१–५९७००८ मा कल गरेर आफ्नो जानकारी, उजुरी तथा गुनासो राख्न सकिने मन्त्रालयले जनाएको छ । हेर्नुहोस्, प्रेस विज्ञप्ति ।

नेप्सेमा हरियाली छाउँदा ४ कम्पनीमा लाग्यो सर्किट, हाइड्रोमा झुम्मिए लगानीकर्ता

काठमाडौं । पछिल्लो तीन दिन लगातार राताम्मे देखिएको बजारमा बिहीबार हरियाली छाएको छ । नेप्से परिसूचक र कारोबार रकम दुबै बढेकोले सेयर बजार हरियाली देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक २७.५६ अंकले बढेर २०६८.२६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढी हो । त्यस्तै, सेयर कारोबार रकम पनि ६५ करोड रुपैयाँले बढेको छ । अघिल्लो दिन १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको कारोबार बिहीबार २ अर्ब ५ करोड रुपैयाँ बढीको किनबेच भएको छ । दिनभरको बजारमा २२० वटा स्क्रिप्सको ५१ लाख १ हजार २९० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये रिडी पावरको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् । बजारमा कम्पनीको १० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य भने १२ रुपैयाँले घटेर प्रतिकित्ता ६३२ रुपैयाँमा झरेको छ । त्यसपछि बढी कारोबार गर्नेको दोश्रोमा अपि पावर कम्पनी छ । जसको ७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजार बढेसँगै चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर क्रमशः २८७.१० र ३९२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३२५.४० रुपैयाँ र अपर हेवा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २२६.४० रुपैयाँ पुगेको छ । बजारमा प्रतिशतको आधारमा बढी घट्नेमा एनआइबीएल प्रगति फण्ड रहेको छ । जसको इकाई मूल्य ३.८० प्रतिशतले घटेर प्रतिइकाई ९.१२ रुपैयाँमा झरेको छ । बिहीबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये विकास बैंक समूह भने सबैभन्दा बढी ११७ अंकले बढेको छ ।

भारतमा कल गर्दा सस्तो पर्ने, टेलिकमले ल्यायो अफरसहितको ‘भ्वाइस प्याक’

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । हिजो (२०७९ भदौ १) देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ । इन्डिया भ्वाइस प्याक-डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु. २५९ मा र ७५९ रुपैयाँमा उपलब्ध छन् । एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *१४१५# डायल गरी ७ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

नेपाल नाई संघले पायो माछापुच्छ्रेको क्युआर, तीन लाख व्यवसायी लाभान्वित हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै गएको बैंकले हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने उद्देश्यले उक्त कोड हस्तान्तरण गरेको हो । यससँगै देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने बैंकको विश्वास छ । राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका हुन् । उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले नेपाल नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने बैंकले जानकारी गराएको छ ।

नागरिकता विधेयकमाथि एमालेले राजनीति गरिरहेको छ : नेता पुन

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् । नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे । बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैबाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘२०७५ मा प्रस्तुत गरिएको नागरिकता विधेयकमा म आफैं क्याविनेटमा थिए, पूर्ववक्ता माननीय सदस्यहरु पनि क्याविनेटमा हुनुहुन्थ्यो, जहाँ यो वैबाहिक अंगीकृतको बारेमा कुनै व्यवस्था थिएन, पछि हाउसमा, समितिमा प्रस्तुत भयो, छलफल भयो, केही नयाँ व्यवस्थाहरु भए त्यसमा, तर सहमती बन्न सकेन, बहुमतले पास गरेर ल्यायो, त्यो कुरा तत्कालीन माननीय केपी ओली नेतृत्वको सरकारले प्रस्तुत गर्यो, सम्माननीय शेरबहादुर देउवा नेतृत्वको सरकार आयो, स्वभाविक रुपमा पुरानो विधेयकलाई नयाँ सरकारले अर्न नगर्दा फिर्ता हुन्छ, यो पनि सामान्य प्रक्रिया हो, यो माननीयजीहरुलाई जानकारी भएकै कुरा हो, त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔं, बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरुलाई आग्रह गर्दछु ।’ नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको सो सम्बन्धि विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे ।