तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते
फाइल फाेटाे तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् । करेन्ट लागेर तीनै जना घाइते भएका थिए । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पश्चिम सेती र सेती नदी-६ विकास गर्न एनएचपीसीसँग सम्झौता, समयमै काम सक्ने प्रतिवद्धता
काठमाडौं । सुसदूरपश्चिमा निर्माण हुने पश्चिम सेती र सेती नदी-६ जलविद्युत आयोजना निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी कम्पनीबीच समझादारी पत्रमा सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा बोर्ड र एनएचपीसीबीच सम्झौता भएको हो । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन् । ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ यी दुवै परियोजनाको विस्तृत अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न बोर्डले एनएचपीसीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार पश्चिम सेतीको सर्वे अनुमतिका लागि सम्झदारी भएको ४५ दिन भित्र र सेती नदी-६ को ६ महिनाभित्र आवेदन गर्नुपर्ने छ । सर्वे अनुमति पाएको दुई वर्ष भित्र विस्तृत अध्ययन गरेर प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नु पर्नेछ । परियोजनालाई जलाशय वा अर्धजलाशयवा संयुक्त रुपमा वा छुट्टाछुट्टै निर्माण गर्ने, परियोजनाको अनुमानित लागत आँकलन गर्ने, निर्माण सरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना बनाउनु पर्ने लगातका विषय सम्झौता पत्रमा उल्लेख गरिएका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिमसँगै देशको अर्थतन्त्रमा यी परियोजनाले महत्वपूर्ण योगदान गर्ने बताए । उनका अनुसार यी दुई आयोजनाले सुदूरपश्चिको विकासका लागि ठूलो सहयोग गर्नेछन् । देउवाले आयोजना समयमै बन्नेमा विश्वास व्यक्त गरे । उनले सरकारको तर्फबाट गर्नु पर्ने सबै प्रकारको समन्वय, सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस्तै, कार्यक्रकमा एनएचपीसीका अध्यक्ष सिंहले नेपिाल जलविद्युत उत्पादनको राम्रो क्षेत्र भएको धारणा राखे । उनले कोरोना महामारीका कारण धेरै समस्या उत्पन्न भएपनि सम्झौता अनुसार काम अगाडि बढाउने उनले बताए । आयोजनालाई तोकिएको समयमा नै सम्पन्न गर्ने उनको दाबी छ । कार्यक्रममा बोर्डको सीईओ भट्टले नेपाल ग्रिन इनर्जीको लागि सम्भावना बोकेको देश भएको बताउँदै विदेशी लगानीकर्तालाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आव्हान गरे । उनले लगानी बोर्डले रणनीति बनाएर काम गरिरहेको बताए ।यो सम्झौताले सुदूरपश्चिका जनातालाई मात्रै होइन देश विकासमा पनि महतवपूर्ण टेवा पुग्ने धारणा राखे । दुई आयोजनाको कुल १२ सय मेगावाटको आयोजना बनाउन झण्डै ३ खर्ब लागत अनुमान गरिएको छ । सेती नदी–६ जलाशययुक्त यो आयोजना सुदूरपश्चिमको अछाम र डोटीमा निर्माण हुनेछ। यो आयोजनाको विस्तृत अध्ययनको काम सकिएको छ भने इआइए प्रतिवेदन समेत स्वीकृत भएको छ ।
नेपालमा जलविद्युतको अथाह सम्भावना छ, हामी लगानी गर्न चाहान्छौं : एके सिंह
काठमाडौं । भारतीय एनएचपिसी कम्पनीका सिएमडी एके सिंहले नेपालमा जलविद्युतको अथाह सम्भावना रहेको बताएका छन् । बिहीबार पश्चिम सेती आयोजना निर्माणका लागि नेपाल सरकारसँग सम्झौता कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् । ‘नेपालमा जलविद्युतको अथाह सम्भावना छ, हामी लगानी गर्न चाहन्छौं, जलविद्युतको उत्पादनका लागि नेपाल उत्तम देश हो,’ सिंहले भने । यसअघि पनि जलविद्युत आयोजना डेभलप गरेको अनुभवले पश्चिम सेती आयोजना निर्माणमा सहज हुने उनको भनाइ छ । उनले पश्चिम सेती आयोजना निर्माणका लागि भएको सम्झौता ऐतिहासिक रहेको समेत बताए । ‘नेपालमा यसअघि पनि विभिन्न जलविद्युत आयोजना डेभलप गरेको अनुभव छ, पश्चिम सेती आयोजना निर्माण गर्न सहज हुने विश्वास छ,’ उनले भने ‘यो सम्झौतालाई एउटा ऐतिहासिक अवसरका रुपमा लिएका छौं ।’ कोरोना महामारीका कारण धेरै समस्या उत्पन्न भएपनि सम्झौता अनुसार काम अगाडि बढाउने उनले बताए । आयोजनालाई तोकिएको समयमा नै सम्पन्न गर्ने उनको दाबी छ । पश्चिम सेती र सेती नदि–६ जलविद्युत आयोजनाले सुदूरपश्चिमका जनतालाई धेरै सहज हुने विश्वास लिएको छ । नेपालमा आयोजना निर्माणको यात्रा सुभारम्भ भएकाले आगामी दिनमा पनि यस्तै आयोजना निर्माणका लागि सहकार्यको आवश्यकता चाहेको उनले बताए ।
श्रीमानलाई विदेशबाट बोलाएर बाख्रा पालन, लाखौं आम्दानी
देउखुरी । दाङको लमही नगरपालिका-९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उनी लमही बजारमा बस्थिन् । कमाइ केही थिएन । उनका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया गएका थिए । उनले सिलाइकटाइ तालिम लिइन् र कपडा सिलाउन थालिन् तर त्यसबाट भनेजति कमाइ हुन सकेन । उनले हर्दवामा रहेको माइती घरमा गइन् र त्यहीँ बाख्रापालन थालिन् । चार बाख्राबाट सुरु गरेको व्यवसाय बढ्दै गएपछि गाउँमै उन रमाउन थाले । अहिले उनको फार्ममा ८० बाख्रा छन् । उनले विसं २०७८ को दसैँमा दुई लाख रुपैयाँ बराबरको खसी बोका बिक्री गरिन् । बाख्राबाटै वार्षिक चार लाखभन्दा बढी कमाइ हुने गरेको छ । यही कमाइबाटै उनले ६ कट्ठा जग्गा किनिसकेका छन् । ‘सुरुमा माइतीले दिएको एक कट्ठामा बाख्रा पाल्न सुरु गरेकी थिएँ, अहिले कमाएर जग्गा थपेँ,’ कृष्णीकुमारीले भने, ‘बाख्राबाट राम्रो कमाइ हुन थालेपछि श्रीमान् पनि यही फर्कनुभएको छ, दुवैजना मिलेर बाख्रापालन गरेका छौं ।’ अर्काको भूमिमा पसिना बगाउनुको साटो आफ्नै गाउँ घरमै प्रशस्त कमाइ भएपछि श्रीमानश्रीमती मिलेर काम गरेको उनले बताए । लमही-९ रिहारकी हुमा वलीले २०७२ सालबाट व्यावसा बाख्रा पालन गरेका छन् । रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्थाले दिएका तीन बाख्राबाट व्यवसाय सुरु गरेकामा अहिले उनीसँग ५० बाख्रा छन् । उनका श्रीमान् मानसिंह वली वैदेशिक रोजगारीका लागि साउदी गएका थिए। गाउँमा बाख्रा पालनबाट राम्रो आम्दानी हुन थालेपछि हुमाले श्रीमानलाई घरमै बाख्रा पालन गरौँला भनेर बोलाइन् । अहिले उनीसँग १५ खसी, १३ माउ र साना पाठापाठी २३ छन् । गत दसैँमा दुई लाख ९१ हजार रुपैयाँका खसी बिक्री भएका थिए । यसपाली पनि १२ खसी दशैंमा बिक्री गर्ने भनेर पालेको उनले बताए । घरमा पालेका खसी बढीमा ४० किलोसम्मका बिक्री गर्न उनी सफल भएकी छिन् । गत वर्षका ३० खसी रोगै पत्ता नलागेर मरे तर पनि हरेस नखाएर काममा लागेको उनको भनाइ छ । उनको पाँच जनाको परिवार छ । ‘सबैले मिलेर घरको काम गर्ने गरेका छौं,’ उनले भने, ‘घरको छेउमा सुपरनेपियर, किमु, जिगट र मकैचरी घाँस रोपेका छौं, बाख्रालाई खुवाउन सजिलो भएको छ ।’ बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको उनको भनाइ छ । उनका अनुसार सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको छ । लमही-९ हर्दवाकी गङ्गा घर्र्तीले पनि व्यावसायिक रुपमा बाख्रा पालेकी छिन् । अरु समयमा पनि बाख्रा बिक्री हुन्छ, तर २०७८ सालको दसैँमा मात्रै खसीबोका बेचेरै उनले रु तीन लाख कमाएका हुन् । उनीसँग ५५ बाख्रा छन् । उनी वर्षमा रु चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् । ‘अहिले त जुनी नै फेरिएजस्तो भएको छ, पहिले भैँसी पालेर खान मात्र ठिक्क हुन्थ्यो,’ उनले भने, ‘अहिले कमाइ छ, अरुलाई सापट दिनसक्ने भएकी छु ।’ नौ वर्षअघि ग्रामीण महिला उत्थान केन्द्रबाट उपहार पाएका दुई बाख्राबाट उनले व्यवसाय सुरु गरेका हुन् । उनले भने, ‘अझै बढाउने योजना छ ।’ महिला सहकारीबाट बिना धितो ऋण, बाख्रा उपहार र तालिम, डालेघाँसको बीउ, प्राविधिक सेवा दिन थालेपछि हौसला बढेको घर्तीले बताए । राम्रो आम्दानी भएपछि महिलाहरू बाख्रापालन व्यवसायमा आकर्षित भइरहेको लमही-९ रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले बताए । ‘सहकारीबाट व्यवसाय गर्न चाहने महिलालाई ऋण दिने, तालिम दिने, सरकारी अनुदानमा सहयोग गर्नेजस्ता काम गर्दै आएका छौं,’ उनले भने, ‘धेरै महिलाको बैंकमा धितो राख्ने दर्ता जग्गा छैन, त्यस्तो बेला सहकारी नै जमानी बसेर बैंकबाट महिलालाई ऋण निकालिदिएका छौं ।’ सहकारीका एक हजार २०० सदस्यमध्ये ५० बढीले बाख्रा पालन गर्दै आएको उनले बताए । सहकारी संस्थाले संस्थामा आवद्ध सदस्यलाई तीन देखि चार बाख्रा दिएर सहयोग गर्ने गरेको अध्यक्ष थापाले बताए । आफूले उत्पादन गरेको बस्तु बिक्री गर्न सजिलो होस् भनेर सहकारीले खसीबोका खरिद गर्ने गरेको छ । गत दसैँमा सहकारीले जिउँदो २० देखि २६ किलोसम्मको खसीको प्रतिकिलो रु चार सय २० निर्धारण गरिएको थियो । त्यस्तै सहकारीले गत दसैँमा २७ देखि ३५ किलोसम्मका खसीलाई प्रतिकिलो चार सय ९० रुपैयाँ र ३५ किलोभन्दा माथिका जिउँदो खसीलाई प्रतिकिलो रुपैयाँ पाँच सय मूल्य निर्धारण गरेर किसानसँग खरिद गरेको थियो । त्यस्तै बोका २५ किलोभन्दा कम तौल भएकालाई प्रतिकिलो जिउँदो चार सय ३० रुपैयाँ र सोभन्दा माथिकालाई प्रतिकिलो चार सय ५० रुपैयाँ मूल्य निर्धारण गरेर खरिद गरेको अध्यक्ष थापाले बताए । संस्थाको सहयोगमा महिला बाख्रापालनमा लमही-९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा एक हजार तीन सय ३५ सदस्य रहेका छन् । यो संस्था २०७० सालमा स्थापना भएको हो । यसको कार्यक्षेत्र लमही-८ र ९ राजपुर गाउँपालिकाको ६ र ७ नम्बर वडामा रहेको छ । संस्थाले बचत तथा ऋण कारोबार, रासायनिक मल खरिद बिक्री, खसीबोका तथा माउ बाख्रा सङ्कलन गरी बिक्री, बाख्राको दानाको बजारीकरण, पशु बीमा गर्नेलगायत काम गर्ने गरेको सहकारीका व्यवस्थापक हरिनारायण चौधरीले जानकारी दिए । सहकारी संस्थामा आवद्ध २३ महिलाले फर्म नै दर्ता गरेर व्यवसायिक रुपमा बाख्रा पाल्दै आएका छन् । सहकारीले संस्थामा आबद्ध सदस्यलाई तीनदेखि चार माउ बाख्रा वितरण गरेर सहयोग गर्ने गरेको छ । समूहमा आवद्ध महिलाले पालेका खसीबोका सहकारीले खरिद गरेर बिक्री गर्ने गरेको छ । यसरी खरिद गरिएका खसीबाख्रा तुलसीपुर, बुटवल, काठमाडौंका खसी व्यापारीले खरिद गर्ने गरेको उनको भनाइ छ । दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई प्रत्यक वर्ष खसीबाख्रा बिक्री गर्ने गरिएको छ । सहकारीले आर्थिक वर्ष २०७८/७९मा दुई हजार ५० खसीबोका बिक्री गरेको हो । रासस
क्युआर कारोबारीलाई बोनस दिँदै कामना सेवा विकास बैंक
काठमाडौं । कामना सेवा विकास बैंकले मर्चेण्ट बोनस योजना ल्याएको छ । बैंकले आफ्ना फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि उक्त योजना ल्याएको हो । यो योजना भदौ १ गतेदेखि नै शुरु भएको छ । ‘क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’ योजना अन्तर्गत क्यूआर मर्चेन्टहरुले क्यूआरप्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँसम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै, यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट एयरलाई टेवा पुर्याउने बैंकको विश्वास छ ।
योजनाको काममा भुक्तानी प्रणाली नै ‘बाधक’
काठमाडौं । मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस) प्रणालीका कारण कुनै पनि सडक वा पुलको एउटा भाग निर्माणको रकम अर्को भागमा खर्च गर्नसमेत प्रक्रियागत झन्झट रहेको छ । सरकारले दुई वर्ष पहिले बजेटमा उल्लेख भएअनुसार मात्रै कार्यक्रममा खर्च गर्न सो प्रणाली सुरु गरेको थियो । सो प्रणालीले गर्दा पुलको माथिल्लो भागको रकम जगमा खर्च गर्दासमेत लामो प्रक्रिया लाग्ने गरेको सडक विभागले जनाएको छ । एउटै योजनाको रकम आवश्यकताअनुसार खर्च गर्न नपाउँदा योजना कार्यालयले रकमान्तर गर्न पर्ने सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले जानकारी दिए । योजना कार्यालयले क्षेत्रीय कार्यालय, सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म पुग्नु परेको उनले बताए । प्रणालीका कारणले समयमै रकम भुक्तानी हुन नसकेको उनले बताए । माघ वा पुसदेखि नै रकमान्तरका लागि प्रक्रिया थाल्दा असारसम्म मात्रै हुने अवस्था छ । महानिर्देशक थापाले भने, ‘त्यसमा आमूल परिवर्तन नगरेसम्म यो वर्ष पनि भुक्तानी समयमा गर्न नसकिने अवस्था छ ।’ पुलको जग, माथिल्लो भाग, पहुँच सडकलगायत गरी छ/सात किसिमका भाग हुन्छन् । एउटै पुलमा एउटा संरचनाका लागि छुट्याइएको पैसा अर्को भागमा खर्च गर्नसमेत अर्थमन्त्रालय नै पुग्नुपर्ने अवस्था रहेको उनले बताए । एउटै योजनामा सिलिङभित्र रहेर खर्च गर्न भौतिक मन्त्रालयलाई अधिकार दिँदा समस्या नहुने उनको भनाइ छ । अहिले सबै कुरा अर्थमन्त्रालय र अर्थमन्त्रीसम्म पुगेर परिवर्तन गर्नुपर्ने हुँदा त्यसको परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘नयाँ सफ्टवेयर ल्याएर प्रयोग गर्दा झन अप्ठयारो भयो ।’ एउटै संरचनाको एउटा भागबाट अर्को भाग बनाउन खर्च गर्दा कार्यक्रम संशोधन नभएर अहिले रकमान्तर गर्नुपर्ने व्यवस्था छ । कार्यक्रम संशोधनभन्दा रकमान्तर गरेकोभन्दा सन्देश फरक जाने उनले बताए । गत आवमा झण्डै १० प्रतिशत रकमान्तर र २५ प्रतिशत कार्यक्रम संशोधन भए पनि सबै रकमान्तर नै गर्नुपरेको विभागले जनाएको छ । एउटै योजनाको रकममा रकमान्तर गर्नुपर्ने व्यवस्था परिवर्तनका लागि विभागले पटकपटक अर्थ मन्त्रालयलाई भन्दै आएको छ । मन्त्रालय सकारात्मक भएकाले अर्थमन्त्रालय र विभागसँगै बसेर छलफल गरेर सफ्टवेयर सुधार्न लाग्ने उनले बताए । माघ वा फागुनमा बिल तयार भए पनि रकमान्तर गर्नुपर्दा भुक्तानी गर्न असार लाग्ने अवस्था छ । दार्चुला वा ताप्लेजुङबाट पनि त्यही कामका लागि चार पाँच तह हुँदै अर्थमन्त्रालय आइपुग्नुपर्ने अवस्था छ । उनले भने, ‘लामो प्रक्रियाका कारण माघमा उठेको फाइल पनि जेठको अन्तिमदेखि असारमा स्वीकृत भएर भुक्तानी ढिला भइरहेको छ ।’ रकम भुक्तानी समयमा नहुँदा नै भौतिक पूर्वाधारलगायत विकासे मन्त्रालयको आशा गरिएअनुसार प्रगति हुन नसकेको पाइन्छ । गत आवमा कतिपय शीर्षकमा स्रोत सुनिश्चित नभई कार्यक्रम राख्दा रकम भुक्तानीमा समस्या भएको विभागका महानिर्देशक थापाले बताए । वैदेशिक एजेन्सी (दुईपक्षीय र बहुपक्षीय) निकायबाट पैसा आउँछ भनेर उल्लेख भएपनि सहमति भइनसकेको उनले बताए । उनले भने, ‘बजेटमा सिद्धार्थ राजमार्गमा स्तरोन्नतिका लागि पाँच अर्ब रुपैयाँ छुट्याइएको भए पनि स्रोत थाहा थिएन ।’ राष्ट्रिय गौरवका आयोजनामा पनि कतिपय वैदेशिक सहयोग पछि आएर सुनिश्चित भएको महानिर्देशक थापाले बताए । बजेट निर्माण हुँदासम्म सम्बन्धित निकायसँग वार्ता भइरहे पनि हस्ताक्षर भइसकेको थिएन । विश्व बैंक, एशियाली विकास बैंकसँग पछि हस्ताक्षर भएको थियो । उनले भने, ‘बजेटमा उल्लेख हुने तर स्रोत पछि आएर मात्रै सुनिश्चित हुँदा पनि रकम भुक्तानीमा अप्ठ्यारो हुने गर्छ ।’ एउटै योजनामा रकम सार्न भौतिक मन्त्रालयलाई नै अधिकार दिन अर्थ मन्त्रालयलाई भनिएको विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए । विभागलाई एक तह माथि मन्त्रालयबाट नियन्त्रण हुँदा एउटा शीर्षकबाट अर्कोमा लैजान मात्रै अर्थमन्त्रालय जान नपर्ने उनले बताए । अहिले एउटा पुलमा जगमा रकम पुगेन र थप्नुपर्दा स्ल्याबको खर्च गर्न पनि अर्थमन्त्रालय नै पुग्नुपरिरहेको छ । उनले भने, ‘अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ के निर्णय आउँछ हेर्नुपर्छ ।’ रासस
‘छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२’ को भव्य शुरुवात
काठमाडौं । महिला उद्यमी महासंघ नेपालको आयोजनामा छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलाको भव्य शुरुवात भएको छ । ललितपुरको सानेपामा एक समारोहको बीचमा प्रधानमन्त्री शेरबहादर देउबाले मेलाको उद्घाटन गरेरका छन् । मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउबाले महिला उद्यमीहरुले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । महिला उद्यमीहरुले लघु तथा साना उद्यमहरुबाट गरेका उत्पादनहरुले नेपालको व्यापार घाटा कम गर्न सहयोग पुर्याएको उनको भनाइ थियो । साथै उनले महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न सरकारले सहुलियतपूर्ण कर्जाको लागि सहजिकरण गर्न पहल गर्ने बताएका थिए । मेला नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । यस ५ दिने मेलामा हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेशाजन्य वस्तु ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पर्दाथ स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु,कृषिजन्य उत्पादनहरु, पुष्प सामाग्रीहरु, जडिबुटीहरु, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु आकर्षक ढंगले प्रर्दशनीमा राखिनेछन । मेलामा सातै प्रदेशका जिल्लाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला उद्यमीहरुका उत्पादनहरुको स्टलहरु रहनेछन । अन्तराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेलामा उद्यमी महिलाहरूको सिप र सृजनालाई अगाडी ल्याएर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा आफनो दिगो पहिचान बनाउन सघाउ पुयाउनुका साथै उनीहरुलाई अगाडी बढ्न प्रोत्साहित गर्ने विश्वास पनि महिला उद्यमी महासंघ नेपालले जनाएको छ । मेलामा १०९ वटा स्टल रहेका छन् । ५ दिनसम्म सञ्चालन हुने मेलामा ७५ हजार जनाले अवलोकन गर्नुका साथै २ करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।
नागरिकता विधेयकः राष्ट्रपतिसमक्ष पुनः पेश भए के हुन्छ ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनःविचार गर्न नपाइने व्यवस्था रहेको छ । विधेयकलाई संसद्ले चाहे जस्ताको त्यस्तै वा संशोधनसहित पारित गरेर पठाए भने राष्ट्रपतिलाई रोक्ने ठाउँ देखिँदैन । दोस्रो पटक पारित गरिएको कुनै पनि विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी पुनःपेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानविद् डा विपिन अधिकारीले संसद्ले पुनःपारित गरेर राष्ट्रपतिसमक्ष नागरिकता विधेयक पेश गरेमा प्रमाणीकरण गर्नुपर्ने बताउँछन् । ‘राष्ट्रपतिले संविधानअनुसार नागरिकता विधेयकलाई पुनःविचार गर्नका लागि संसद्मा फिर्ता गर्न मिल्दैन,’ उनले भने, ‘अब राष्ट्रपतिले विधेयकलाई थुनछेक नगरी प्रमाणीकरण गर्नुहुन्छ ।’ उनले सरकारको चाहनाअनुसार नै नागरिकता विधेयक आउने बताउँछन् । उनले राष्ट्राध्यक्षले पुनःविचार गर्न संसद्मा विधेयक फिर्ता गरेपछि प्रक्रिया मात्र पुर्याएर पारित गर्न नहुने बताए । ‘राष्ट्रपतिले नागरिकता विधेयकमा जुन कुरा उठाउनुभएको छ, त्यो कुराको संसद्को दुवै सदनमा पर्याप्त छलफल हुनुपर्दछ,’ उनले भने, ‘राष्ट्राध्यक्षले उठाएको कुरालाई सम्बोधन गरेर मात्र विधेयक प्रमाणीकरणका लागि पठाउनुपर्दछ ।’ उनले नागरिकता विधेयकमा विवाद रहेकाले राष्ट्रपति भण्डारीले संसद्मा पुनःविचार गर्नका लागि पठाएको जानकारी दिए । संविधानविद् डा अधिकारीले राज्य व्यवस्था समितिमा दफावार छलफल गरेर मात्र नागरिकता विधेयकमा देखिएको विवाद सुल्झाउनुपर्नेमा जोड दिए । ‘राष्ट्रपतिले नागरिकता विधेयकका सम्बन्धमा पुनःविचार गर्न भनेको कुरालाई राज्यव्यवस्था समितिबाट नै टुङ्ग्याएर संसद्मा लैजानुपर्दछ,’ उनले भने । राष्ट्रपति भण्डारीसमक्ष गत साउन १५ गते प्रमाणीकरणका लागि पेश गरिएको नागरिकता विधेयक साउन २९ गते फिर्ता भएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएका थिए । यसरी फिर्ता पठाएको विधेयक आज पुनःसंसद्ले पारित गरेर पठाउने कार्यसूची राखिएको छ । अहिले प्रतिनिधिसभामा राष्ट्रपति भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकबारे छलफल भइरहेको छ । प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पेश गर्नुपर्ने हुन्छ । अर्का संविधानविद् डा भिमार्जुन आचार्यले पनि संसद्को दुवै सदनले पुनःपारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले स्वीकार गरेर प्रमाणीकरण गर्नुपर्ने बताउँछन् । ‘राष्ट्रपतिले फिर्ता गरेको विधेयकलाई पर्याप्तमात्रामा छलफल गरेर मात्र पुनःप्रमाणीकरणका लागि पठाउनुपर्दछ,’ उनले भने, ‘राष्ट्रपतिले उठाउनुभएको कुराको संसदीय व्यवस्थाअनुसार सम्बोधन हुनुपर्दछ ।’ राष्ट्रपतिले पुनःविचारका लागि फिर्ता पठाएको विधेयकलाई अवसरका रुपमा संसद्ले लिनुपर्ने उनको भनाइ छ । अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अब नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति भण्डारीले पुनःविचार गर्ने ठाउँ नरहेको बताए । ‘अब संसद्को दुवै सदनले पारित गरेपछि राष्ट्रपतिलाई फेरि पनि पुनःविचार गर्नका लागि ठाउँ छैन,’ उनले भने, ‘संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयकलाई उनले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।’ राष्ट्रपति भण्डारीले नागरिकताका सम्बन्धमा स्थायी समाधान खोज्नका लागि नै विधेयक फिर्ता गरेको उल्लेख गर्दै भने, ‘उहाँले नागरिकताका विषयमा यो-यो विषयमा संशोधन गर भनेर सन्देशसहित अभिभावकको भूमिका निर्वाह गर्दै संसद्मा विधयेक फिर्ता पठाउनुभएको थियो, संसद्ले राष्ट्रपतिको सन्देशलाई मनन् गरेर नागरिकता विधेयकलाई पर्याप्त मात्रामा छलफल गरी संशोधनसहित प्रमाणीकरणका लागि पठाउनुपर्दछ ।’ रासस