एसबिआई बैंकका कार्ड प्रयोगकर्तालाई गौतम होटलमा विशेष छुट
काठमाडौं । नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले गौतम होटलको विभिन्न सेवामा छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंकको प्रदेश कार्यालय प्रमुख लेखनाथ पोख्रेल र गौतम होटलका प्रोपाइटर हिरालाल गौतमबीच सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सेवामा छुट पाउने छन् । उक्त कार्यक्रममा एसबिआई बैंक शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक प्रज्वल राज भण्डारी लगायत बैंक तथा होटलका अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
लघुवित्त विरुद्ध संघर्ष गर्नेलाई कारवाही गर्न गृहको निर्देशन
काठमाडौं । प्रचलित कानुन अनुसार दर्ता भई सञ्चालन भएका लघुवित्त विरुद्ध संघर्ष समिति निर्माण गरि आन्दोलन गर्नेहरुलाई कारवाही गर्न गृह मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयले भदौ १ गते ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहले आन्दोलन गरी लघुवित्त कार्यक्रमलाई धरासायी बनाउने कोशिष भइरहेको भन्दै आवश्यक कारवाहीको लागि प्रहरी प्रधान कार्यालयलाई आदेश गरेको छ । मन्त्रालयले मन्त्रालयले ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहले लघुवित्तका कार्यक्रममा अवरोध गर्ने, कपोकल्पित आक्षेप लगाई अनर्गल प्रचार गर्ने र कार्यक्रम बन्द गर्न धम्की दिने गरिएको जनाएको छ । मन्त्रालयले नेपाल लघुवित्त बैंकर्स संघको पत्रमार्फत सो संघर्ष समितिले गरेको गतिविधिको विषयमा आवश्यक कारवाहीको लागि अनुरोध गरी पत्र बुझाएको र सोही आधारमा लघुवित्त विरुद्ध संघर्ष गर्नेहरुलाई आवश्यक कारवाहीको लागि पत्र काटेको जनाएको छ ।
नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान
काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको बताए । उनले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको, एक द्धार नीति अबलम्बन गरेको बताए । उनले नेपालको आर्थिक विकासका लागि नेपालको निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए । नेपालमा गरिने लगानीका लागि भारत एवं चीनलगायत प्रमुख बजार रहेको भन्दै उनले लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको बताउदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए । उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, यूनिलिभर नेपाललगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिदै लगानीका लागि आग्रह गरे । उनले सिमेन्ट, खानी, जलविद्युत, सूचना प्रविधिलगायतका क्षेत्रमा निकै अवसर रहेको बताए । ७७ वटा नेपाली उत्पादनलाई अमेरिकाले भन्सार र कोटारहित सुविधा दिएको जानकारी गराउँदै नेपालमा उच्च प्रतिफलको सम्भावना रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षबारे चर्चा गर्दै पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको बताए । उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका अध्यक्ष ब्रम्हा मिश्राले नेपाल लगानीका लागि उचित गन्तव्य मुलुक भएको बताए । उनले नेपाल सरकार, नेपालको निजी क्षेत्रले भारतीय लगानीकर्तालाई गरेको सम्मान एवं स्वागतले आफूहरुलाई उर्जा प्रदान गरेको बताए । कार्यक्रममा भारतीय तथा स्वदेशी लगानीकर्ताबीच उर्जा, खानी तथा रियल स्टेट, स्टील, कपडा, कृषि, खाना तथा प्याकेजिङ, सेवा तथा पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा बीटूबी छलफल भएको थियो ।
नेपाल म्यानमार चेम्बरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अग्रवाल
काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार सम्पन्न संघको १२ औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो भने संघको वरिष्ठ उपाध्यक्षमा रतनलाल केडिया र उपाध्यक्षमा मोहनवीर थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महासचिवमा सुभाषकाजी श्रेष्ठ, सचिवमा अमृत खड्का तथा कोषाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । संघको सदस्यहरुमा पवनकुमार अग्रवाल, मोहनलाल दारुका, रामचन्द्र खेतान, राज लामा, प्रदीपकुमार रुंगटा, सृजना सुवेदी र मुकुन्दप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रममा नेपालका लागि म्यानमारका राजदूत यु सेन ओले म्यानमारको यांगुनबाट नेपाल उडान गर्ने तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए । साधारणसभालाई सम्बोधन गर्दै उनले याङ्गुनदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म उडान सञ्चालनका लागि म्यानमार सरकारलाई प्रस्ताव पठाइएको बताए । म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिशचन्द्र घिमिरेले दुई देशबीच सांस्कृतिक, व्यापारिक र भाषिक सम्बन्ध विकास गर्ने प्रचुर सम्भावना रहेको बताए । उनले म्यानमारमा रहेका नेपाली दोस्रो ठूलो डायस्पोरा भएको र नेपालको सन्दर्भमा सफ्ट पावरको रुपमा काम गर्न सक्ने बताए । निर्यातका लागि जडिबुटी र आयुर्वेदिक औषधि प्रमुख उत्पादन हुन सक्ने उनको भनाइ छ । संघले व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न दुवै देशका सरकारलाई सीधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरेको छ । ‘हामी नेपाल र म्यानमारको व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ,’ अग्रवालले भने, ‘दुई देशबीच सिधा हवाई सम्पर्क हुनुपर्छ ।’
सबै सदस्यले एकएक वटा व्यवसायमा लगानी गर्ने प्रतिवद्धता गरौं : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत् र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी/व्यवसायीबीचको अन्तर्क्रियालाई सम्बोधन गर्दै महासङ्घका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले नेपालको जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । उनले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको बताए । ‘हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौं । भारत, चीन, युरोपेली सङ्घ र आंशिकरूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ । यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा कमाएका छन्,’ उनले भने । उनले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न आग्रह गरे । ‘यस भ्रमण दलका प्रतिनिधिबाट नयाँ स्तरको सहकार्यको थालनी गरेर व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरौं । सबै सदस्यले एकएक वटा व्यवसायमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरौं,’ उनले भने, ‘नेपाल र भारतबीच व्यापारिक सम्बन्धको प्रचुर सम्भावना छ । भ्रमण दलका प्रतिनिधि र नेपाली व्यापारी समुदायबीचको आजको अन्तर्क्रियाले व्यावसायिक सहयोग मूर्त परियोजनामा परिणत हुनेमा म विश्वस्त छु,’ उनले भने । ढकालले नेपालले भारतसँगको व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ गर्दै भारतको आपूर्ति र मूल्य शृङ्खलालाई एकीकृत गरी दुवै देशले एकअर्काको फाइदा लिनसक्ने बताए । ‘नेपाली निजी क्षेत्र सधैँ झैँ भारतीय आर्थिक पुनरुत्थान र समृद्धिको हिस्सा बन्न आतुर छ, हामी हाम्रो द्विपक्षीय व्यापार सम्बन्ध र सहयोगलाई सुदृढ गर्न तयार छौं,’ उनले भने । रासस
एमसीसीको कार्यालय पाँच तारे होटलमा किन ?
काठमाडौं । एमसिए नेपालले आयोजना गरेको छलफलमा एउटा महत्वपूर्ण जिज्ञासाका रुपमा पाँच तारे होटलमा कार्यालय किन ? भन्ने रह्यो । एमसिए नेपालको कार्यालय काठमाडौंको दरबारमार्गमा रहेको एक पाँच तारे होटलमा राखिएको छ । केही समय पहिले अर्थमन्त्री जनार्दन शर्मालेसमेत महँगो भाडा तिरेर किन पाँच तारे होटलमा कार्यालय राखेको भनेर आफूलाई पनि जिज्ञासा राखेको कार्यकारी निर्देशक विष्टले जानकारी दिए। उनले भने, ‘विभिन्न स्थानको कोटेशन मागेर सार्वजनिक खरिदको सबै प्रक्रिया पूरा गरेर नै कार्यालय त्यहाँ राखिएको हो । त्यस स्थान भन्दा अन्य उपयुक्त स्थान फेला परेको खण्डमा कार्यालय सार्न हामीलाई कुनै आपत्ति छैन ।’ उनले पाँचतारे होटलमा रहेपनि तुलनात्मक रुपमा कार्यालयको भाडा सस्तो नै रहेको बताए । एमसिसी परियोजनामा अमेरिकाको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलर बराबर लगानी रहनेछ । संसदीय अनुमोदन प्रक्रियामा ढिलाइ हुँदा आयोजनाको काममा केही ढिलाइ भए पनि अब कुनै पनि अवरोध नहुने भन्दै कार्यकारी निर्देशक विष्टले नेपालको प्रसारण प्रणालीको विकासमा यस परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । यस्तै, दाङको धानखोलादेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक समेत नयाँ प्रविधिका आधारमा मर्मत सम्भार हुनेछ । संसदीय अनुमोदनपछि के हुँदैछ एमसीसी ? प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गरेको साढे पाँच महिना पुगेको छ । नेपालमा निकै चासोका साथ हेरिएको यो परियोजना अन्तर्गतका आयोजना कहिलेदेखि सुरु हुन्छन् भन्ने बारेमा आम मानिसमा जिज्ञासा छ । लामो बहस र विवादपछि अनुमोदन भएको सो परियोजनाको काममा किन ढिलाइ भइरहेको छ र ? सरकार या कसको कारण हो रु वा अनुदान उपलब्ध गराउने निकायका तर्फबाट गर्नुपर्ने केही काम बाँकी छ कि भन्ने चासो र जिज्ञासा पनि उत्तिकै छ । प्रतिनिधिसभाले गत फागुन १५ गते नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता अनुमोदन गरेको हो । तीव्र राजनीतिक विवादकाबीच सम्झौता अनुमोदन भए पनि त्यसपछिका काम भने नियमित रुपमा नै अगाडि बढिरहेको पाइन्छ । तर यस परियोजनामा के भइरहेको छ भन्ने बारेमा नागरिकले प्रत्यक्ष रुपमा थाहा भने पाएका छैनन् । सम्बद्ध निकायले परियोजना प्रभावित क्षेत्रमा गर्नुपर्ने कामहरु जारी नै रहेको जनाएको छ । आम मानिसका यिनै जिज्ञासाको समाधान गर्दै एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘पूर्व तयारीको काम भइरहेको छ । त्यसकारण पनि के काम भयो भनेर जिज्ञासा हुनु स्वभाविक नै हो ।’ वातावरणीय प्रभाव मूल्याङ्कनको काम यसैबीचमा सम्पन्न भएको छ । तीन वटामध्ये एक सवस्टेशन रहने नुवाकोटको रातमाटेस्थित जग्गाको मुआब्जा वितरणको काम करिब सकिएको छ । यस्तै, रुख गणना तथा अन्य काम जारी छ भने सवस्टेशन निर्माण हुने तनहुँको दमौली र न्यू बुटबलको पनि डिजाइन एवं ड्रइङको काम भइरहेको छ । निर्माण व्यवसायी छनोटका लागि गर्नुपर्ने पूर्व तयारीको काम पनि जारी रहेको कार्यकारी निर्देशक विष्टले जानकारी दिए। आगामी मङ्सिर पुसभित्र सक्ने गरी ठेकेदार छनोटका लागि आवश्यक काम भइरहेको छ । ठेकेदार छनोटका लागि कम्तीमा पनि १८० दिनको समयसीमा निर्धारण गरेर अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने व्यवस्था छ । त्यसभन्दा पहिल्यै आयोजनास्थल तयार बनाउनुपर्नेछ । काठमाडौँको नाङ्लेभारदेखि सुरु हुने चार सय किलोभोल्ट क्षमताको प्रसारण लाइन नुवाकोटको रातमाटे जान्छ । रातमाटेबाट एउटा लाइन मकवानपुरको हेटौँडा जान्छ, भने अर्को लाइन दमौली हुँदै बुटवल जान्छ । ती सबै प्रसारण लाइन कूल तीन सय १५ किलोमिटर बराबर रहनेछ । कूल १० जिल्लाका ३० स्थानीय तह र त्यसका ९६ वटा बडा भएर जाने सो प्रसारण लाइनमा मात्रै कूल दुई लाख १२ हजार बराबरको रुख बिरुवा हटाउनुपर्नेछ । नेपालको हकमा एउटा प्रसारण लाइनको एउटा टावर निर्माण गर्नु नै एउटा आयोजना बराबर हुने भएकाले पनि पूर्व तयारीको काममा धेरै समय लागेको उनको भनाइ छ । सन् २०२३ को अगस्टदेखि गणना हुन्छ पाँच वर्ष एमसिसीले उपलब्ध गराउने कूल ५० करोड अमेरिकी डलर बराबरको अनुमादन पाँच वर्षभित्र तोकिएको काममा खर्चै गर्नुपर्ने समयसीमा छ । सोही समयसीमा सुरु हुनुभन्दा पहिले नै आवश्यक पूर्व तयारीको काम सम्पन्न गर्न लागिएको कार्यकारी निर्देशक विष्टले जानकारी दिए । उनले आयोजना कार्यान्वयनको पाँच वर्षे गणना भने सन् २०२३ को अगस्टदेखि सुरु हुने गरी समयसीमा निर्धारण गरिएको छ । नेपालको प्रसारण प्रणालीको केन्द्रमा रहने गरी निर्माण गर्न लागिएको सो प्रसारण प्रणालीले झण्डै तीन हजार मेगावाट बिजुली प्रवाह गर्न सक्ने छ । पूर्वमा तामाकोसी करिडोरदेखि पश्चिममा कालीगण्डकी करिडोरसम्मको बिजुली प्रवाहका लागि संरचना तयार पार्न लागिएको हो । पाँच वर्षे अवधि सुरु भए पनि त्यसैभित्र सम्पन्न गर्नुपर्ने समयसीमाका कारण पूर्वतयारीमा सिनो गरी ध्यान दिइएको दाबी गर्दै कार्यकारी निर्देशक विष्टले कूल तीन सय १५ किलोमिट प्रसारण लाइनमध्यको ३० किलोमिटर बराबरको क्षेत्रमा भने प्रसारण मार्ग परिवर्तन गर्न माग आएको बताए । आयोजनाले १० जिल्लाका ३० पालिकामा नै सार्वजनिक सुनुवाइ गरेर त्यसको लाभ हानीका बारेमा जानकारी गराएको छ । जुनसुकै देशका ठेकेदार सहभागी हुन पाउँछन् एमसिसीको अनुमादनमा निर्माण हुने प्रसारण लाइन निर्माण एवं कूल ७७ किलोमिट सडक मर्मतका लागि जुनसुकै देशका निर्माण व्यवसायी सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । प्रतिस्पर्धामा छनोट हुने निर्माण व्यवसायीका लागि कुनै पनि प्रकारको विभेद नहुने कार्यकारी निर्देशक विष्टको भनाइ छ । पूर्ण सरकारी कम्पनीबाहेक जुनसुकै खालका निर्माण व्यवसायीले आफूलाई श्रेष्ठ सावित गरेर काम गर्न सक्ने उनले जानकारी दिए । नेपालमा विशेष गरी प्रसारण लाइन निर्माणमा संलग्न भारतीय चिनियाँ निर्माण व्यवसायीका अतिरिक्त अन्य देशका व्यवसायी तथा नेपाली व्यवसायी समेत यसमा काम गर्न सक्नेछन् । छनोट भएका निर्माण व्यवसायीलाई एमसिसी मुख्यालयबाटै प्रत्यक्ष भुक्तानी हुने भएकाले आर्थिक विषयमा समेत कुनै समस्या नपर्ने विष्टको दाबी छ । आयोजनाको काम सुरु भएपछि कूल सात हजार तीन सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् । त्यसमा ११ प्रतिशत दक्ष, २० प्रतिशत अर्धदक्ष एवं ६६ प्रतिशत अदक्ष कामदारले रोजगारी पाउनेछन् । त्यस्तै, कूल दुई सय जनाले पूर्णकालीन रोजगारीको अवसर पाउनेछन् । आयोजनाको कार्यान्वयनपछि राष्ट्रिय प्रसारण लाइनको विश्वसनियतामा वृद्धि हुनेछ । यस्तै, आर्थिक लगानीमा सुधार हुनेछ भने विद्युत् बिक्रीलगायतका कारणले सरकारको आम्दानीमा वृद्धि हुनेछ । स्थानीय रुपमा रोजगारीमा वृद्धि हुनेछ । एमसिए नेपालका प्रमुख वित्त निर्देशक निर्मल खतिवडाले खर्च गर्ने प्रणाली समेत विशिष्ठ प्रकारको हुने भएकाले त्यसमा कुनै पनि आशङ्का नगर्न आाग्रह गरे। पारदर्शीता, विश्वसनियतालाई विशेष ख्याल गरिने र स्वतन्त्र निकायबाट अध्ययनसमेत हुने भएकाले यसमा कुनै पनि आशङ्का गर्र्नै नपर्ने उनको भनाइ छ । त्यस्तै एमसिए नेपालमा खरिदतर्फको काम हेरिरहनुभएका महेन्द्र श्रेष्ठका अनुसार एमसिसीले तयार पारेको मार्गदर्शन अनुसार नै खरिद प्रक्रिया अगाडि बढ्ने भएकाले पनि अनावश्यक आशङ्का गर्ने ठाँउ नै नरहने बताए ।
शुक्रबार सेयर कारोबार बन्द
काठमाडौं । भोलि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ । भदौ ३ गते कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा भएसँगै सेयर बजार पनि बन्द हुने भएको हो । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार भदौ ५ गते आइतबार मात्रै खुल्ने छ ।
५४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ५४२ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना संक्रिमतको कूल संख्या ९ लाख ९४ हजार ६१३ जना पुगेको छ । यस्तै २४ घण्टामा ४ हजार ९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ८२ जना तथा एन्टिजेन विधिबाट २ हजार ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना संक्रमणमुक्त हुने ४२१ जना रहेका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७७ हजार ३५८ जना पुगेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७ हजार ६५७ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।