विकासन्युज

विदेशी सपिङ ‘कल्चर’लाई नेपालमा देखाउँदै चार साथीभाई, २० करोडको लगानीमा खोल्दै नेक्स्ट स्मार्ट सपिङ

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा ‘नेक्स्ट स्मार्ट सपिङ’ खुल्ने भएको छ । यही वर्षदेखि सञ्चालनमा आउँने गरी सो सपिङ खुल्ने भएको हो । चार जानले साझेदारी गरेर उक्त सपिङ खोल्न लागेका नेक्स्ट स्मार्ट सपिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज भाइ श्रेष्ठले जानकारी दिए । नेक्स्ट स्मार्ट सपिङ नयाँ अवधारणासहित खाेलिदैछ । सीईओ श्रेष्ठका अनुसार २० करोड रुपैयाँको लगानी गरेर काठमाडौंका विभिन्न ठाउँमा ५ वटा नेक्स्ट स्मार्ट सपिङ खोल्ने तयारी छ । जस मध्ये एउटा स्मार्ट सपिङ यही महिना भित्र सञ्चालनमा आउँदैछ । ‘म पनि लामो समयसम्म विदेश बसेँ, बाहिर बस्दा सपिङको बारेमा अध्ययन पनि गरे र काम गर्ने अवसर मिल्यो, त्यो अनुभवलाई मिलाएर नेपालमा सञ्चालन भइरहेको भन्दा फरक तरिकाले काम गर्याे भने राम्रो हुन्छ भनेर नेक्स्ट स्मार्ट सपिङ अवधारण ल्याएका हौं,’ उनले भने । अस्ट्रेलियाको कोल्स र जापानको ताकाशिमाया सपिङ सेन्टरको अवधारणलाई मिसाउँदै नेपालमा पहिलो पटक नेक्स्ट स्मार्ट सपिङ सुरु गर्ने तयारी गरेको पनि श्रेष्ठले बताए । उनका अनुसार सो स्मार्ट सपिङमा ४ जनाको नै बराबरी लगानी गरेका छन् । ‘हामी चारै जना लामो समयसम्म विदेश बस्यौं, विदेशबाट फर्केर नेपालमा नै केही गर्ने योजना बनाएका थियौं, सोही अनुरूप मलाई पनि विदेशका सपिङ सेन्टरमा काम गर्ने अवसर मिल्यो, त्यहाँ काम गरेको अनुभवलाई मिसाएर नेपालमा नेक्स्ट स्मार्ट सपिङ सञ्चालन गरेका हौं, चारै जना साथीहरू लामो समयको विदेश बसाइ पश्चात् नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ स्मार्ट सपिङ सञ्चालन ल्याउने तयारीमा छौं,’ उनले भने । जग्गा भाडामा लिएर स्मार्ट सपिङ खोल्न लागेको पनि श्रेष्ठले बताए । उनका अनुसार विदेशका सपिङ सेन्टरको जस्तो अनुभूति नेक्स्ट स्मार्ट सपिङबाट ग्राहकले पाउने छन् । यसपछि के होला भन्ने उत्सुकता मान्छेमा आओस् भनेर नेक्स्ट स्मार्ट सपिङ नाम राखेका उनको भनाइ छ । यो वर्ष काठमाडौं भित्र ५ वटा स्मार्ट सपिङ खोले पश्चात् उपत्यका बाहिर पनि यसका शाखा विस्तार गर्ने योजना कम्पनीको छ । यी पाँच ठाउँमा खुल्दैछन् शाखा नेक्स्ट स्मार्ट सपिङ पहिलो चरणमा काठमाडौंका ५ वटा ठाउँमा खुल्दैछन् । जसमध्ये पहिलो स्मार्ट सपिङ बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ कपन सुन्दर बस्तीमा खुल्ने भएको छ । सो ठाउँमा हाल स्मार्ट सपिङको भवन निर्माण भई फिनिसिङको काम भइरहेको छ । उक्त स्मार्ट सपिङ सञ्चालनमा आए पश्चात् त्यसको शाखा बौद्धमा खुल्ने पनि श्रेष्ठले बताए । बौद्धमा सो सपिङ ५ रोपनीको क्षेत्रफलमा हुनेछ । बौद्धमा स्मार्ट सपिङ निर्माण भइसकेपछि पेप्सीकोलामा खुल्नेछ । श्रेष्ठका अनुसार कपनको शाखा निर्माण भइसकेपछि बौद्धमा र पेप्सीकोलामा एकै चोटि सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । हाल उक्त ठाउँमा नेक्स्ट स्मार्ट सपिङ खोल्नको लागि संरचना तयारीको काम भइरहेको छ । श्रेष्ठका अनुसार २ ठाउँमा अहिले जग्गाको विषयमा कुरा चलिरहेको छ । जग्गाको व्यवस्थापन पश्चात् भौतिक संरचनाको काम भई सपिङका आवश्यक पूर्वाधारहरू निर्माण भई नेक्स्ट स्मार्ट सपिङ खुल्नेछ । ‘जग्गाको व्यवस्थापन भई नसकी हामीले ठाउँको बारेमा बताउन मिल्दैन, जहाँ हामी कुरा चलाएका छौं, त्यहाँबाट सकारात्मक नै कुरा आएको छ, करिब ९९ प्रतिशत कुरा मिलिसकेको छ, अब निर्णय हुन बाँकी छ,’ उनले भने । एउटा सपिङको लागि पूर्वाधार निर्माण भइसकेको २ महिना पछि अर्को ठाउँमा काम सुरु हुने पनि श्रेष्ठले बताए । कपनमा निर्माणाधीन नेक्स्ट स्मार्ट सपिङ दुई हप्ता भित्र सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । हाल स्मार्ट सपिङको लागि तयार भइरहेको भवनको फिनिसिङको काम भइरहेको छ । श्रेष्ठका अनुसार सो ठाउँमा निर्माण भइरहेको भवनको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माणाधीन स्मार्ट सपिङ ६ रोपनी क्षेत्रफल फैलिएको छ । सो स्मार्ट सपिङ प्राङ्गडमा ४० वटा गाडी र ४० वटा मोटरसाइकल पनि पार्किङ गर्न मिल्छ । ‘कपनमा निर्माण भइरेको नेक्स्ट स्मार्ट सपिङ हालसम्म सञ्चालनमा आइसक्थ्यो, भवनको निर्माण गर्ने क्रममा एसि जडानमा समस्या आयो, एसीमा राम्रो भएन भने पछि फेरी समस्या आएर सक्ने कुरालाई मध्यनजर गर्दै एसीलाई पुन परिवर्तन गर्नु परेकाले ढिला भयो, अब त्यो समस्याको पनि समाधान भइसकेको छ, अब सञ्चालनमा ल्याउँछौं,’ उनले भने । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्षको जग्गामा सो स्मार्ट सपिङ निर्माण भएको हो । उक्त सपिङ सेन्टरमा बिद्युतीय गाडी चार्जिङ स्टेसन पनि जडान हुनेछ । ‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै धेरैको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेको छ, खरिदमा पनि महँगो र पेट्रोल पनि महँगो नै भएपछि मानिसहरूको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेको देखिन्छ, अहिले सडकमा पनि इभीको संख्या बाक्लो देखिन्छ, त्यसैलाई मध्यनजर गरेर चार्जिङ स्टेसन पनि सोच बनाएका हौं,’ उनले भने । श्रेष्ठका अनुसार महिनाको ३ लाख १५ हजार रुपैयाँ जग्गा भाडा तिर्नुपर्छ । के-के छन् सुविधा ? घरको लागि चाहिने खाद्य र अन्य सम्पूर्ण (ग्रोसरी) सामान नेक्सट् स्मार्ट सपिङमा उपलब्ध हुनेछन् । ग्रोसरी सामान अन्तर्गत तरकारी, दुध जन्य पदार्थ आदि पर्छ । स्मार्ट सपिङमा पाइने ग्रोसरीका सामानहरू स्वस्थ्यकर हुनुको साथै गुणस्तर हुने पनि श्रेष्ठको दाबी छ । तरकारीका सामानहरू आफै उत्पादन गरेर प्याकिङ गर्ने सोचमा पनि कम्पनी छ । ‘हाम्रो घरको भान्सामा तरकारीहरू पनि राम्रोसँग सफा नगरी पकाउने चलन छ, कसैको त तरकारी नपकाई पनि खाने चलन हुन्छ, यसैलाई मध्यनजर गरेर भिजिटेबलका सामानहरूलाई जारको पानीले सफल गरेर मात्र फलफूल अथवा तरकारी बेच्ने छौं,’ उनले भने । राम्रो पानी प्रोभाइट नभएसम्म जारको पानी नै तरकारी सफा गर्न प्रयोग हुने छ । यस्तै, स्मार्ट सपिङमा इलेकट्रोनिक्स सामानहरू पनि उपलब्ध हुनेछ । इलेक्ट्रोनिक्स सामान एउटा ब्रान्डको मात्र राख्ने योजना कम्पनीले बनाएको छ । गुणस्तरीय सेवालाई मध्यनजर गरेर स्मार्ट सपिङ खेल्ने योजना बनाएको पनि श्रेष्ठले बताए । नेक्स्ट स्मार्ट सपिङमा उपलब्ध सामान अनलाइनबाट पनि अर्डर गरेर खरिद गर्नुका साथै सपिङमा प्रत्यक्ष उपस्थिति भएर पनि किन मेल गर्न सकिन्छ । ‘अहिलेका मानिसहरू अफिसियल कामले अफिसमा नै धेरै समय बिताउनु पर्ने हुन्छ, आवश्यक परेका सामानहरू किन्न पाइरहेका हुँदैनन्, अफिसबाट निस्कनु आधा घण्टा पूर्व सामान अर्डर अनलाइन बाटै गरेर निस्किँदा हामी त्यही सामान लाई तयारी पारी राख्छौं, उनीहरू आएर पैसा तिरेर सामान लान सक्ने व्यवस्था छ,’ उनले भने । अन्य ठाउँमा पाइने सामान भन्दा करिब ५ प्रतिशत काम मूल्यमा स्मार्ट सपिङमा सामान उपलब्ध हुने पनि श्रेष्ठले बताए । ‘हामी आफै आयातकर्ता पनि हौं, सपिङ सेन्टर भित्रको सामानहरू हामी हाफैले आयात गर्ने सोचमा छौं, अन्य मार्टहरूलाई पनि हामीले आयात गरेको सामान सप्लाई पनि अहिले गरिरहेका छौं, हामीले नै सामानको आयात गर्ने भएकाले सामान अन्य ठाउँको तुलनामा सस्तो पनि पर्न जान्छ,’ उनले भने । यस स्मार्ट सपिङबाट धेरैले रोजगार पाउने विश्वास पनि कम्पनीले लिएको छ । श्रेष्ठका अनुसार एउटा सपिङमा २० देखि ३० जना कर्मचारीको आवश्यकता पर्छ, ५ वटै स्मार्ट सपिङ निर्माण भइसके पछि लगभग १ सय ५० भन्दा बढिले रोजगारी पाउनेछन् ।

फर्निचर एक्स्पोको लागि भारत तथा बंगलादेशदेखि स्टल बुकिङ, सित्तैमा हेर्न नपाइने

काठमाडौं । राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागी हुनका लागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ । यही भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुनका लागि भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स्पोमा कुल ११० स्टल रहने छन् । जसमा मुख्य प्रदर्शनी हलमा ५० र बाहिर तयार हुने ह्याङ्गरमा ६० स्टल स्टल बन्नेछ । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार मुख्य हलका सबै स्टल बुक भईसकेका छन् भने ह्याङ्गरका केही स्टल मात्र बाँकी छन् । एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमा नै स्टल बुकिङ गर्न पनि प्रधानले आग्रह गरेका छन् । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजक फर्निचर तथा फर्निसिङ संघको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाड पर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नेहरुका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ । ‘झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको बेला एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,’ जोशीले भने, ‘यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।’ ५ दिनसम्म चल्ने एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री मुख्य आकर्षणका रुपमा रहने छन् । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी जानसा कार्पेट, हलेसी डेकोर र भिवोन चेयरले एक्स्पोलाई मुख्य प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ । एक्स्पो अवलोकनका लागि १०० रुपैंया शुल्क लाग्नेछ भने डिजी पेका प्रयोगकर्ताले १० गोल्ड क्यास रिडिम गरेर एक्स्पोको पास पाउन सक्छन् । एक्स्पो प्रवेशद्धारमा राखिएको व्यक्तिगत विबरण संकलन केन्द्रमा माग गरिएका आफ्नो वास्तविक विबरण भरेर निशुल्क एक्स्पो अवलोकन गर्न सकिन्छ । कार्यक्रममा सहभागी हुने प्रदर्शक तथा अतिथीहरुलाई एक्स्पोको प्रवेश पास डिजी पे मार्फत नै उपलब्ध गराइने इभेण्ट सोलुसनले जनाएको छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।

संसदमा उठ्यो काठमाडौंको फोहोरको विषय, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अमृता थापा मगरले काठमाडौंमा दैनिक फोहोर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएको प्रति सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले काठमाडौंसहित देशभरका सहरमा फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहोरका कारण नेपालका मुख्य सहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिए । सांसद कलिना खातुनले फोहोर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घ सबै जुट्नुपर्नेमा जोड दिए । सांसद अञ्जना विसङ्खेले नागरिकतासम्बन्धी विधेयक सबैले छलफल गरेर आवश्यक संशोधन गरी सम्मानजनक तरिकाले पठाउनुपर्ने बताए । सांसद कृष्णगोपाल श्रेष्ठले नागरिकता विधेयकमा गम्भीर त्रुटी देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएपछि त्यसका विषयमा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए । सांसद खेमप्रसाद लोहनीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु संवैधानिक अधिकार भएको र विवाह गर्ना साथ नागरिकता दिने व्यवस्था राख्न नहुने बताए । सांसद गणेश ठगुन्नाले दार्चुलामा बुधबार भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सांसद जयकुमार राईले देशभरका सडक, पुल समयमै ठेकेदारले निर्माण सम्पन्न नगर्दा यात्रुले सास्ती भोग्नुपरेको हुँदा सरकारले त्यस्ता ठेकेदारलाई समयमै काम गर्न लगाउन ध्यानाकर्षण गराए । सांसद झपटबहादुर रावलले कैलालीमा डेङ्गु फैलिएर समस्या देखिएकाले तत्काल रोकथामका लागि सरकारसँग आग्रह गरे । रासस

रोजगारी सिर्जना गर्दै बागमती प्रदेश, घरेलु तथा साना उद्योगलाई राख्यो प्राथमिकतामा

काठमाडौं । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई माथि उठाउने र आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउन सघाउने यस्ता उद्योगहरुका लागि बागमती सरकार सदैव साथमा रहेको बताए । चप्पलदेखि टोपीसम्म, लत्ता कपडादेखि दैनिक उपभोग्य वस्तुसम्म लघु घरेलु तथा साना उद्योगका माध्यमबाट आत्मनिर्भर हुन सक्ने सम्भावना प्रशस्तै रहेको भन्दै मन्त्री श्रेष्ठले रोजगारी र आत्मनिर्भरका हिसाबले यो क्षेत्रका लागि आफुले मन्त्रालय सम्हाल्दासम्म दत्तचित्त भएर सहयोग गर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग जोडिएर व्यवसायीहरुलाई सहजता प्रदान गर्ने र उद्यमशीलताको विकास गर्ने कुरामा लागिपर्ने प्रतिवद्घता पनि उनले व्यक्त गरे । ललितपुरको लुभु र ठैवमा टेक्सटाइल, भक्तपुरमा काष्ठकला, पाटनमा ललितकता र धातुकलालगायतका कुराले अर्बौं रुपैयाँको आयआर्जनमा भूमिका खेलेको भन्दै उनले घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रवद्र्घन गर्नका लागि प्रदेशको राजधानी हेटौंडामा चारदेखि पाँच करोडको लागतमा गत वर्षदेखि अत्याधुनिक बिक्री कक्ष निर्माण भइरहेको बताए । यस्तै घरेलु सामानको प्रवद्र्घनका लागि चितवन, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा आधुनिक रुपमा प्रदर्शनी कक्ष निर्माण गर्ने कार्यक्रम राखेको भन्दै उनले महासंघलाई पनि हातमा हात राखेर हिड्न आग्रह गरे । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्धिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए । महासंघको पालिकादेखि केन्द्रिय सरकारसम्म नेटवर्क रहेको भन्दै अहिले दुई चार जनाको संस्था खडा गरेर प्रदेशका कार्यक्रमहरुको दुरुपयोग भएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्यक्रमका लागि कार्यक्रम नगर्न आग्रह गरे । लघु, घरेलु तथा साना उद्योगहरुको उच्चतम सदुपयोग र प्रवद्र्घनबाट अर्थतन्त्रलाई पनि समृद्घ बनाउने दिशामा महासंघ बागमती प्रदेशसँग सहकार्य गरी अगाडि बढ्न चाहेको उनले बताए । महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले वास्तवमा समानुपातिक विकासका लागि र उत्पादनको समानुपातिक वितरणका लागि प्रदेश सरकारको जरुरी रहेको बताए । प्रदेश आफनै भौगोलिक दायरामा रहेको भन्दै त्यसका केही सकारात्मक सम्भावनाका अवसरहरु त्यहाँ रहेको उनले भने- ‘हामीले औद्योगिक व्यवसाय वृद्धिको विकासका रुपमा खासगरी रोजगारी प्रवद्र्घनका सन्दर्भमा काम गर्ने कुरा गर्दा संविधानत केन्द्रिय सरकारले साना तथा घरेलु उद्योगलाई तल पठाइसकेको छ । यसको प्रवद्र्घन, नियमन र प्रशासनको विषय पनि तल पठाइसकेको छ अझ संविधानले त पालिकाले नै साना तथा घरेलु उद्योगलाई हेरोस भनेको छ । तर साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनका सन्दर्भमा पालिकाको भूमिका विगत पाँच वर्षदेखि त्यति प्रभावकारी हुन नसकेको त्यसैले प्रदेश सरकारको जरुरी भएको हो ।’ साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनका लागि प्रदेश सरकारले केही छलाङ मार्ने खालका कार्यक्रम ल्याउन जरुरी भएको भन्दै निवर्तमान अध्यक्ष गिरीले भने- ‘अहिले साना तथा घरेलु उद्योगका समस्या भनेकै प्रविधि र पूँजीको पहुँच हो, विगत ५० वर्षमा सीप र दक्षताका सवालमा धेरै काम भए जुन पर्यााप्त छन् अहिले साना तथा घरेलु उद्योगीहरु, युवा उद्यमी र महिला उद्यमीहरुको बीचमा आवश्यकताको विषय भनेको प्रविधि र पूँजीको पहुँच भएको छ ।’ कर्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरु मोहन कटुवाल र शोभा गुरुङ, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघको महिला उद्यमी समिति वरिष्ठ उपाध्यक्ष रीता अवाललगायतले पनि आफ्ना भनाई राखेका थिए ।

नाडेप लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले आन्तरिक लेखापरीक्षकका लागि २ जना, कानून अधिकृतका लागि १, सवारी चालकका लागि १ र कनिष्ठ सहायक प्रशिक्षार्थी लागि केही संख्यामा कर्मचारी मागेको हो । लघुवित्तका अनुसार आन्तरिक लेखापरीक्षकको लागि आईपीपीसी, कानून अधिकृतको लागि कानून विषयमा स्नातक र कनिष्ठ सहायक प्रशिक्षार्थीको लागि प्लस टु उत्तिर्ण गरेको हनुपर्नेछ । त्यस्तै, सवारी चालकको लागि आठ कक्षा पास गरी ड्राईभिङ लाईसेन्स लिई १ वर्षको कार्य अनुभव भएको हुनुपर्छ । २१ देखि ३५ वर्षका समुहका व्यक्तिले आवेदन दिन सक्नेछन् तर महिलाको हकमा भने ४० वर्ष सम्मकाले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित भदौ १६ गतेभित्र लघुवित्तको वेवसाइटमा गएर आवेदन दिनुपर्नेछ ।

हिमालयन डिस्टिलरीमा एक लाख लगानी गर्नेले कमाए डेढ करोड, यस्तो छ लाभांश इतिहास

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये सेयर लगानीकर्ताको पहिलो रोजाइमा पर्ने कम्पनीहरुमा हिमालयन डिस्टिलरी पनि पर्दछ । कम्पनीले सेयरधनीहरुलाई आकर्षक प्रतिफल वितरण गर्दै आएपछि लगानीकर्ताको रोजाइमा पर्न थालेको हो । हिमालयन डिस्टीलरी कम्पनी सन् २००७ जुलाइ २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको संस्थापक सेयर स्वामित्व ५८ प्रतिशत अर्थात् ८८ लाख ७ हजार १७९ कित्ता सेयर र पब्लिक सेयर स्वामित्व ४२ प्रतिशत अर्थात् ६३ लाख ७७ हजार ६१२ कित्ता सेयर गरी कूल १ करोड ५१ लाख ८४ हजार ७९१ कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । बुधबार नेप्सेमा कम्पनीको ३ हजार ५४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस आधारमा कम्पनीको बजार पूँजीकरण ५३ अर्ब ७५ करोड ४१ लाख ६० हजार १४० रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७०/०७१ मा १०.५२ प्रतिशत, आर्थिक वर्ष २०७१/०७२ र आर्थिक वर्ष २०७२/०७३ मा २० प्रतिशत, आर्थिक वर्ष २०७३/०७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ मा ६८.४२ प्रतिशत र २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले निरन्तर नगद लाभांश वितरण गर्दै आएकोमा आर्थिक वर्ष २०७५/०७६ मा ५० प्रतिशत बोनस सेयर र ५२.६३ प्रतिशत नगद गरी कूल १०२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । यस कम्पनीमा २०७० सालमा एक सय रुपैयाँमा एक हजार कित्ता सेयर खरिद गरेर एक लाख लगानी गर्ने सेयरधीले ९ वर्षको अवधिमा साढे एक करोड रुपैयाँ प्रतिफल पाएको देखिन्छ । २०७० मा कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँको हाराहारीमा थियो । सो अवधिमा एक सय रुपैयाँमा एक हजार कित्ता खरिद गरेको लगानीकर्ताले त्यसको एक वर्षपछि अर्थात आर्थिक वर्ष २०७०/७१ मा १०.५२ प्रतिशत नगद लाभांश पाएको देखिन्छ । यस हिसाबले सो सेयरधनीले कुल साढे १० हजार रुपैयाँ नगद लाभांश पाएको देखिन्छ । यसरी आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा सो सेयरधनीले १ हजार सेयर खरिदबाट कुल १ लाख २ लाख ८८ हजार ६५० रुपैयाँ नगद लाभांशबाट पाएको देखिन्छ । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ बाट बोनस सेयर पाएको देखिन्छ । कम्पनीले तीन आर्थिक वर्षमा कुल १७५ प्रतिशत बोनस सेयर वितरण गर्दा सो सेयरधनीको कुल ३ हजार ९ सय सय ३७ कित्ता सेयर पुगेको देखिन्छ । यस हिसाबले सेयरधनीले नौ वर्ष अगाडि एक सय रुपैयाँमा एक हजार सेयर खरिद गर्दा कुल १ करोड ३९ लाख ३८ हजार ७५० रुपैयाँ प्रतिफल पाएको तथ्यांकले देखाउँछ । सेयरधनीले बोनस र नगद लाभांशबाट भने कुल १ करोड ४२ लाख २७ हजार ४ सय रुपैयाँ प्रतिफल पाएको देखिन्छ ।

सम्पूर्ण सेवा बन्द गर्दै सिडिएस, एक दिनभर मेरो सेयर पनि नचल्ने

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) को सेवा भोलिसम्म बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै सिडिएसले हाल दिँदै आएको सेवा भदौ २ गते साँझ साढे ५ बजेदेखि बन्द हुने जानकारी गराएको हो । कम्पनीले सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण (र्याक माइग्रेसन) गर्नुपर्ने भएकोले विभिन्न सेवा बन्द हुने जानकारी गराएको हो । हाल सञ्चालन गरिरहेको मेरो सेयर, सिआस्वा, वेभ सीडीएएस र सीएनएस लगायतका सबै सेवाहरु एक दिनसम्म बन्द हुने छ । यससँगै भदौ ३ गते साँझदेखि भने उक्त सेवा पुनः सञ्चालन हुने बुझिन्छ ।