विकासन्युज

उल्लासमय कर्मचारीको प्रतिक्षामा जब मन्त्री भुसालले पानी खन्याइन्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वाषिकोत्सव उल्लासमय रुपमा सम्पन्न भएको छ । बुधबार काठमाडौं, कमलादीमा एक समारोहको बीचमा प्राधिकरणको ३७ औं वार्षिकोत्सव उल्लासमय ढंगले सम्पन्न भएको हो । लामो समयदेखि निरन्तर रुपमा घाटामा रहेको प्राधिकरणले पछिल्लो केही वर्ष यता निरन्तर रुपमा नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष ०७७/०७८ मा ६ अर्ब २७ करोड नाफा आर्जन गरेको प्राधिकरणले गत आवमा नाफामा १ सय ५७ दशमलब ७३ प्रतिशतले वृद्धि गरी १६ अर्ब १६ करोड ५० लाख पुर्याउन सफल भएको छ । प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्त्वयपछि प्रस्तुत गरिएको डिजिटल प्रस्तुतीकरणमा प्राधिकरणको स्थापनादेखि वर्तमानसम्मको अवस्थालाई संक्षेपमा प्रस्तुत गरिएको थियो । उक्त विगतमा लोडसेडिङको तालिका निर्माण गर्न व्यस्त हुने प्राधिकरणका कर्मचारी अहिले आएर विद्युतको निर्यात गर्ने तालिका बनाउन व्यस्त रहेको प्रस्तुती गर्दा सम्पूर्ण कर्मचारीहरु उत्साहित भएर ताली बजाउने काम गरेका थिए । मनग्गे नाफा आर्जन गरिसकेपछि प्राधिकरण अहिले कसैको जमानीबिना नै ऋण लिन र लगानी गर्न सक्ने अवस्थामा पुगेको छ । अहिलेसम्म ४२ वटा जिल्लामा पूर्ण विद्युतीकरण गरिएको र बाँकी जिल्लामा छिटै नै पूर्ण विद्युतीकरण गर्ने योजनामा प्राधिकरण जुटेको बताईरहँदा हल उल्लासमय बनेको थियो । अब प्राधिकरणले विद्युत मात्रै निर्यात गर्ने नभएर हरित हाइड्रोजन उद्योग निर्माण गरेर अन्तर्राष्ट्रिय जगतमा बिक्री कार्य जुट्ने तयारी गरेको रिपोर्टमा बताइएको थियो । वार्षिकोत्सवमा टे«ेड युनियनका विभिन्न नेताले मन्तव्य राख्दै प्राधिकरणले मनग्य नाफा आर्जन गरेकाले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने माग राखेका थिए । साथै उनीहरुले प्राधिकरणको नाफाको १० प्रतिशत नाफा कर्मचारीहरुलाई बोनसको रुपमा वितरण गर्नुपर्ने माग राखेका थिए । साथै उनीहरुले कर्मचारीको बीमा रकमको वृद्धि, आवासको व्यवस्था लगायतको माग गरेका थिए । ट्रेड युनियनका नेताहरुले भाषण गर्दैगर्दा पुरै हलमा बसेका कर्मचारीहरुले उत्साह हुँदै धेरैपटक ताली बजाए । ट्रेड युनियनका नेताहरुको मन्तव्य पश्चात बोलेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा सानो इन्टेन्सिभको निर्णय गर्दा अख्तियार र संसदबाट पत्र आउने स्थितिबाट प्राधिकरण आँफै निर्णय गर्नसक्ने अवस्थामा आइपुगेको बताएका थिए । विगत ५ वर्षदेखि यता विद्युत खपतको दरमा ३ गुणा वृद्धि भएको र आगामी दिनमा पनि प्राधिकरणको नाफाको ग्राफ थप उकालो लाग्ने उनको भनाई थियो । निर्देशक घिसिङले कर्मचारीहरुले राखेको मागलाई मन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउँदै भनाई टुंग्याउँदा हलमा प्रतिक्षाको ताली बजेको थियो । केही व्यक्तिहरुको भनाईपछि कार्यक्रमकी प्रमुख अतिथि तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको मन्तव्यलाई कर्मचारीहरुलाई प्रतिक्षा गरिरहेका थिए । तर, मन्त्री भुसालले प्राधिकरणलाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने कर्मचारी लगायतका क्षेत्रलाई धन्यवाद दिँदै कर्मचारीको बोनस माग सान्दर्भिक नभएको बताइन् । ‘नेपाली दाजुभाई अरबको घाममा पसिना बगाएर काम गरिरहेका छन्, भर्खरै सरकारले १५ प्रतिशत तलबको वृद्धि गरेको छ, त्यसमाथि तपाईंहरुले बोनस माग्ने ? सँधै कर्मचारी भन्दा पनि देशको नागरिक भएर सोँच्नुस’, मन्त्री भुसालले भनीन् । मन्त्री भुसालको भनाइले कार्यक्रमको शुरुदेखी उल्लासमय हुँदै आएका कर्मचारीहरुको खुसीमा पानी हाले जस्तो भयो । तर, केही कर्मचारीहरुले भने ताली बजाए । कार्यक्रमबाट निस्कँदै गर्दा कर्मचारीहरुले एक आपसमा अब राष्ट्रको लागि काम गर्ने भनेर हाँस्दै थिए भने केही कर्मचारीले मन्त्रीको भनाई वास्तवमा ठिक हो भनेर पनि समर्थन गर्दै थिए ।

साढे ६ हजार सर्किट किलोमिटर प्रसारण लाइनको निर्माणमा प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न क्षमताको साढे ६ हजार सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको बताएको छ । प्राधिकरणले साढे ६ हजार सर्किट किलोमिटर प्रसारण लाइन र १० हजार केन्द्रीय क्षमताका सब स्टेसन निर्माणको लागि अध्ययनको चरणमा रहेको छ । प्राधिकरणका अनुसार विद्युत् प्रसारण लाइन अझ विस्तारित र भरपर्दो बनाउन थप आयोजनाको अध्ययनको काम पनि भइरहेको छ । छिमेकी मुलुक भारतसँग विद्युत व्यापारको लागि बुटवल गोरखपुर ४ सय केभी दोस्रो अन्तर देशीय प्रसारण लाइन कार्यान्वयनको चरणमा पुगेको छ । इनरुवा पुर्निया र हेलम्की फरेली ४ सय केभी प्रसारण लाइन तथा केलपुरदेखि उत्तर प्रदेशको नाम तारा जोड्ने १ सय ३२ केभी प्रसारण लाइनमा सम्भवयताको अध्ययन पुरा भएको प्राधिकरणले जनाएको छ । मैनहीया सम्पतिहा न्यु नौतनुहा १ सय ३२ केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । यी विद्युतीय पूर्वाधार निर्माण भइसकेपछि नेपालमा खपत भई बाँकी विद्युत भारतमा बजारमा बिक्री गर्न थप सहज हुने विश्वास प्राधिकरणले लिएको छ । प्राधिकरणले रसुवागढी केरुङ ४ सय केभी प्रसारण लाइन निर्माण गर्नको लागि नेपाल तर्फको लाइनको सम्भवयताको अध्ययन पुरा गरेको बताएको छ । यस्तै, निर्माणाधीन आयोजना यतासीघ्र सक्न मात्र हैन, दीर्घकालीन आयोजना अन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण वितरण तर्फका ठुला क्षमताको सब स्टेसनहरूको निर्माण अगाडि बढाएको पनि प्रधिकरणले जनाएको छ । यस्तै, प्राधिकरणले यस वर्ष विभिन्न ठाउँमा १६ वटा सब स्टेसनहरू निर्माण सम्पन्न गरेको बताएको छ । गत आर्थिक वर्ष मात्रै प्राधिकरणले ६६ केभी र त्यस भन्दा ठुला क्षमताका ४ सय ५५ सर्किट किलोमिटर प्रसारण लाइनको सम्पन्न गरेको छ । सोलु कोरिडोर, मोतीपुर–सन्धि खर्क, बन्दर्घाट–सन्धि, बुटवल –मैनहिया, सिङगठि–लामो साखु, नयाँ मोती–लाहा चोक १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको आएको छ । २ सय २० केभी को कोसी कोरिडोर प्रसारण लाइन अन्तर्गत इनरुवा तुम्लिङटार खण्ड, मर्सयाङदि काठमाडौं, भरतपुर कन्दरघाट प्रसारण लाइन अधिकांश भाग निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याएको प्राधिकरणको भनाइ छ । यस्तै, ३ हजार १ सय सर्किट किलोमिटरका प्रसारण लाइन निर्माणाधीन रहेको पनि प्राधिकरणले जनाएको छ । साथै साथ हजार ८ सय ५७ केन्द्रीय क्षमताका सब स्टेसनहरू निर्माणाधीन छन् ।

सनराइज नारी बचत खाता हुनेलाई भदौ महिनामा क्यासब्याक र छुट

काठमाडौं । हरितालिका तिजलाई लक्षित गर्दै सनराइज बैंकले महिला ग्राहकहरुकाे लागि अफर ल्याएकाे छ । यस याेजना अन्तर्गत भदाै १ गते देखि भदाै १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुले पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । भदाै महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि नि:शुल्क रुपमा डेबिट कार्ड, डिम्याट खाता र मेरो सेयर खाता पाउनेछन् । यसका साथै, गरगहना राख्नको लागि लकर सुविधाdf ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएकाे छ । सनराइज बैंकले नारी बचत खातामा १० हजारसम्मको प्रसुती खर्च र ५ लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ । यस्तै, बैंकले स्वास्थ्य योजना अन्तर्गत १ लाखसम्मको स्वास्थ्य बीमा र ५ लाखसम्मको दुर्घटना बीमा समेत दिँदै आएको छ ।

नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला गरेको छ । नाडाले असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको इभि एक्सपोको लागि बुधबारबाट स्टल बुकिङ खुल्ला गरेको हो । यो नेपालमै पहिलोपटक हुन लागेको इभी एक्स्पो हो । इभि एक्सपोका लागि भदौ ५ गते सम्मका लागि स्टल बुकिङ्क खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् । रकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागि हुन अनुरोध गरेका छन् ।

छिमेक लघुवित्त पनि नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झाैता भएकाे छ । लघुवित्तकाे कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झाैता भएकाे हाे । सम्झौता पत्रमा छिमेक लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात छिमेक लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत छिमेक लघुवित्तले एनसिएचएल आएपिएस र आरपिएस कनेक्ट आइपिएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७४ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध छन् । छिमेक लघुवित्तले नेपालभरका १९२ शाखाहरू मार्फत ६९ जिल्लाका ४ लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म आफ्नो सेवा पुर्याउन सफल भएको छ ।

साउनमा ६३ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । चालु आवको २०७९÷८० को साउनमा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख रमेश अर्यालले जानकारी दिए । गत आर्थिक वर्षको साउन महिनामा २५ हजार चार सय २८ नेपालीले श्रम स्वीकृति लिएका थिए । साउनमा सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति जारी भएको छ । कतारमा १२ हजार पाँच सय ७०, संयुक्त अरब इमिरेट्समा आठ हजार एक सय ४०, साउदी अरेबियामा छ हजार सात सय पाँच र कुवेतमा चार हजार दुई सय ८४ श्रम स्वीकृति जारी भएको छ । पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् । कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । गत आर्थिक वर्षमा दोहो¥याएर जाने ४५ प्रतिशत थिए । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् । कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकामा २०७८ फागुनदेखि जान सहमति दिएसँगै मलेसिया जानेको सङ्ख्या बढ्दै गएको र समग्रमा विदेशिनेको सङ्ख्या पनि बढेको सहसचिव अर्यालले जानकारी गराउनुभयो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ मा रु १० खर्ब सात अर्ब विप्रेषण भित्रिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा रु नौ खर्ब ६१ अर्ब विप्रेषण भित्रिएको थियो । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा सुधार आउने विश्वास गरिएको छ ।

मुग्लिन–पोखरा सडक विस्तार : एक वर्ष बित्दा मात्र २ प्रतिशत काम भयाे 

काठमाडौं । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन विस्तारका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटामा प्रगति एक प्रतिशत र अर्काेमा तीन दशमलव पाँच प्रतिशत छ । सो सडक चार लेनमा विस्तार गरिने भएपनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले जानकारी दिए । मादी नदीमा चार लेनको नयाँ पुल बनाइने भएको छ । हाल रहेको पुल पुरानो भएको र आयू कम भएकाले हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो । जम्मा ८० दशमलव ३३ किलोमिटर लम्बाइको सडकको स्तरोन्नति विसं २०७६/७७ मा सुरु भएको थियो । सो योजनाको अवधि आव २०८५/८६ सम्म रहेको छ । ठेक्का अङ्कअनुसार योजनाको लागत १३ दशमलव ६२ अर्ब छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो । सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो । कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैर सहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ । पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्किसहित १५ प्रतिशत थियो । निर्माण सुरु भएको आठ नौ महिना गइसकेको भए पनि निर्माणको गति कम देखिएको महानिर्देशक थापाले बताए । सो ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता रहने छ । निर्माण गरेकै कम्पनीले मर्मत गर्नुपर्ने हुँदा राम्रो गर्नुपर्ने छ । उनले भने, ‘अरु धेरै ठेक्कामा एक वर्ष मर्मत गरेपछि त्यो कटाएर जाने थियो ।’ पहिलो ठेक्कामा एक सय ४१ स्ल्याब कल्भर्टमध्ये १८ मा काम भइरहेको छ । चार सम्पन्न भइसकेको छ । त्यस्तै, २५ बक्स कल्भर्टमध्ये आठ वटामा काम भइरहेको र दुई सम्पन्न भएको छ । सो खण्डमा २४ माइनर (साना) पुलमध्ये तीन सम्पन्न भइसकेको र तीन ठूला पुलमध्ये एक निर्माणाधीन छ । अहिलेसम्म २५ दशमलव तीन किमीमा माटो काटी सडक विस्तार भएको र टेवा पर्खालको काम भइरहेको छ । पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो । जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैर सहरी क्षेत्र छ । सो खण्डमा एक दशमलव आठ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ । अवधि केही गए पनि काम आशा गरिए अनुसार नभएको विभागले जनाएको छ । यो ठेक्कामा पनि निर्माण, मर्मत र सम्भार गरी नौ वर्ष समय छ । दोस्रो ठेक्कामा हालसम्मको प्रगति एक प्रतिशत र वित्तीय प्रगति मोबिलानइजेशन पेश्कीसहित सात दशमलव पाँच प्रतिशत छ । सो खण्डमा ७८ स्ल्याब कल्भर्ट, ३५ बक्स कल्भर्ट र साना र ठूला पुल निर्माणको तयारी अघि बढेको योजनाले जनाएको छ । अपेक्षा गरिएको भन्दा न्यून प्रगति हुनुको कारण कोभिड सङ्क्रमण पनि रहेको विभागका महानिर्देशक थापाले बताए । निर्माणको काम सुरु भएपनि चीनबाट दक्षजनशक्ति र उपकरण ल्याउन बाधा भएको जनाइएको छ । दोस्रो लहरको समयमा कतिपय कामदारलाई सङ्क्रमण देखिएकाले कार्यरत कामदार घट्दै गएका थिए । तेस्रो लहरको समयमा पनि कामदार घटेको र उपकरण ल्याउन नसकिएको उनले बताए । निर्माण व्यवसायीबाट समयमानै आवश्यक स्रोतसाधन जुटाउन नसकेको महानिर्देशक थापाले बताए । परामर्शदाताको निर्देशन ढिला गरी पालना गर्ने गरेको र पटक–पटक प्रतिबद्धता पेश गर्ने तर पूरा नगर्ने हुँदा समस्या देखिएको छ । निर्माणस्थलमा विद्युत् प्राधिकरणको प्रशारण लाइन र वितरण लाइन दुबै छ । विद्युतीय संरचनाको स्थानान्तरण भइरहेको छैन । प्राधिकरणका कार्यकारी निर्देशकसँग कुरा भइरहेको महानिर्देशक थापाले बताउनुभयो । सो कामका लागि हाल लागत अनुमान प्राप्त नभएको उनले बताए । त्यस्तै, खानेपानीको संरचना हटाउन पनि समस्या रहेको योजनाले जनाएको छ । जामुनेदेखि सेती नदी पुलसम्म सडकको स्तरोन्नति गर्न सो क्षेत्रमा खानेपानी संस्था र उपभोक्ता समितिका पाइप लाइन तथा संरचना रहेका छन् । उनले भने, ‘सबै संस्था र समितिबाट योजनाबाटै तीनको स्थानान्तरण गरिनुपर्ने माग भएको र हाल स्थानान्तरणको लागत सङ्कलन भइरहेको छ ।’ सडक चाैंडा गर्ने क्रममा ढुङ्गा र माटो निस्के पनि निर्माण सामग्रीमा स्थानीय तहबाट ‘हाम्रो हो’ भनेर रोयल्टी माग भएको र ढुवानी गर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको महानिर्देशेक थापाले बताए । सो विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय सरकारसँग पटक–पटक छलफल हुँदासमेत समाधान हुन नसकेको उनले बताए । सडक निर्माणका लागि अत्यधिक मात्रामा नदीजन्य सामग्री आवश्यक पर्ने र सेती नदी तथा आसपासका क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्ने उल्लेख छ । स्थानीय तहबाट सो सामग्रीको ठेक्कापट्टा हुँदा योजनालाई निर्माण सामग्रीको अभाव हुने देखिएको महानिर्देशक थापाले बताए । त्यसले गर्दा ढिलाइ हुने अवस्था छ । उनले भने, ‘यहाँ मात्रै होइन देशभरमानै नदीजन्य सामग्री पाउन गाहे हुँदा निर्माणमा समस्या छ ।’ अमरसिंह चोकदेखि विजयपुर पुलसम्मको सडकमा उत्तरतर्फको ठूलो क्षेत्रमा आकाशे पानी तथा नहर र कुलोको पानी सडकमा नै आउने अवस्था छ । सडकको दक्षिणी भेगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा रहेकाले पानीको ‘क्रसिङ’ गर्नसक्ने अवस्था छैन । अहिले वर्षाको समयमा आबुखैरेनीदेखि मुग्लिनसम्म ठाउँठाउँमा पहिरो जाने ठाउँ रहेकाले त्यसको समाधान गरिने छ । पानी जम्ने र नाली थुन्ने समस्या रहेकाले सडक भासिने हुँदा व्यवसायीले खुलाइरहेका छन् । हाल विस्तारकै क्रममा रहेको नारायणगढ–बुटवल सडकमा निर्माणस्थल खाली हुन लामो समय लागेकै कारण अवधि सकिँदासमेत प्रगति न्यून छ । पृथ्वीराजमार्गको विस्तारमा सुरुमा निर्माणस्थल खाली गर्न समस्या देखिएकाले सोही ढिलाइ दोहोरिन सक्ने आशङ्का भइरहेको छ । गत साता प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा सांसद्हरुले यो सडक निर्माण सुरु हुँदादेखि नै ढिलाइ भइरहेको भन्दै विभागको ध्यानाकर्षण गराएका थिए । चीन सरकारको सहयोगमा सन् १९७४ मा १७४ किमी लम्बाइको नौबिसे–पोखरा खण्डको निर्माण भएको थियो । पहिले सडक एक लेन रहेकमा आव २०४९/५० मा दुई लेन विस्तार गरिएको थियो । मुग्लिनबाट १५/१६ किमीसम्म दुई लेन र त्यहाँबाट पोखरासम्म ‘इन्टरमिडियट लेन’ रहेको थियो । अहिले विश्व बैंकबाट ऋण सहयोगमा निर्माण सुरु गरिएको छ । सडक चार लेनमा विस्तार गर्ने अवधारणाअनुसार विश्व बैंकबाट ऋण सम्झौता गरिएको छ । रासस

एनएमबिका ग्राहकले बुद्ध र यति एयरको टिकट काट्दा ५०० रुपैयाँसम्म क्यासब्याक पाउने

काठमाडाैं । एनएमबि बैंकले एयरलाइन्सकाे टिकट खरिद गर्दा क्यासब्याक पाइने अफर ल्याएकाे छ । बैंकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० रुपैयाँ र ५०० रुपैयाँ क्यासब्याक पाइने सुविधा ल्याएकाेच हाे । यस क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ईकमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएकाे छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।