काठमाडौं । भारतीय एनएचपिसी कम्पनीका सिएमडी एके सिंहले नेपालमा जलविद्युतको अथाह सम्भावना रहेको बताएका छन् । बिहीबार पश्चिम सेती आयोजना निर्माणका लागि नेपाल सरकारसँग सम्झौता कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् ।
‘नेपालमा जलविद्युतको अथाह सम्भावना छ, हामी लगानी गर्न चाहन्छौं, जलविद्युतको उत्पादनका लागि नेपाल उत्तम देश हो,’ सिंहले भने ।
यसअघि पनि जलविद्युत आयोजना डेभलप गरेको अनुभवले पश्चिम सेती आयोजना निर्माणमा सहज हुने उनको भनाइ छ । उनले पश्चिम सेती आयोजना निर्माणका लागि भएको सम्झौता ऐतिहासिक रहेको समेत बताए ।
‘नेपालमा यसअघि पनि विभिन्न जलविद्युत आयोजना डेभलप गरेको अनुभव छ, पश्चिम सेती आयोजना निर्माण गर्न सहज हुने विश्वास छ,’ उनले भने ‘यो सम्झौतालाई एउटा ऐतिहासिक अवसरका रुपमा लिएका छौं ।’
कोरोना महामारीका कारण धेरै समस्या उत्पन्न भएपनि सम्झौता अनुसार काम अगाडि बढाउने उनले बताए । आयोजनालाई तोकिएको समयमा नै सम्पन्न गर्ने उनको दाबी छ ।
पश्चिम सेती र सेती नदि–६ जलविद्युत आयोजनाले सुदूरपश्चिमका जनतालाई धेरै सहज हुने विश्वास लिएको छ । नेपालमा आयोजना निर्माणको यात्रा सुभारम्भ भएकाले आगामी दिनमा पनि यस्तै आयोजना निर्माणका लागि सहकार्यको आवश्यकता चाहेको उनले बताए ।