पञ्चेश्वर परियोजनाको डीपीआर छिट्टै टुंग्याउन नेपाल-भारतका प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीले लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यथाशीघ्र अन्तिम रूप दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउने सहमति भएको हो । दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई परियोजनाको डीपीआर छिटो टुंग्याउन तथा कार्यान्वयनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा पञ्चेश्वर परियोजनालाई प्राथमिकताका साथ अघि बढाउने विषय उल्लेख गरिएको छ । लामो समयदेखि चर्चामा रहे पनि विभिन्न कारणले कार्यान्वयनमा जान नसकेको यस परियोजनालाई अघि बढाउन दुवै देशका प्रधानमन्त्रीले चासो देखाएका हुन् ।

त्यसैगरी, नेपाल र भारतबीच उपलब्ध जलस्रोतको पारस्परिक लाभका लागि उपयोग गर्ने उद्देश्यले सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर तयार गर्ने कामलाई पनि तीव्रता दिने सहमति भएको छ ।

दुवै नेताले यी परियोजनाको कार्यान्वयनबाट जलस्रोतको अधिकतम उपयोग गरी दुवै देशले पारस्परिक लाभ लिन सक्ने बताएका छन् । साथै, जलस्रोतको उपयोगमार्फत बाढीको जोखिम र प्रभाव न्यूनीकरण गर्न सकिने विषयमा समेत उनीहरूले जोड दिएका छन् ।

Share News