९२ अर्बको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीले गरे शिलान्यास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (मंसिर ७) नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट भर्चुअल माध्यममार्फत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनासहित ५ वटा विकास परियोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा शिलान्यास गरिएको यो आयोजना संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुन लागेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आयोजनाको कुल अनुमानित लागत ९२ अर्ब ६८ करोड रुपैयाँ (५ हजार ७९२ करोड ३६ लाख भारतीय रुपैयाँ) रहेको छ ।

भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनी प्रालिले निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा यो आयोजना अघि बढाएको छ ।

नेपाल सरकारले सन् २०२१ जनवरी २९ मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत एसजेभीएनलाई आयोजनाको जिम्मा दिएको थियो भने सोही वर्षको जुलाई ११ मा लगानी बोर्ड नेपाल र एसजेभीएनबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

विस्तृत प्राविधिक अध्ययनपछि सुरुमा प्रस्तावित ६७९ मेगावाट क्षमतालाई संशोधन गरी ६६९ मेगावाट कायम गरिएको यस आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) सन् २०२३ जुन १ (२०८० जेठ १८) मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला सम्पन्न भएको थियो ।

औपचारिक शिलान्याससँगै आयोजनाको निर्माण कार्यले तीव्रता पाउने भएको छ । भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको एसजेभीएनका अधिकारीहरूले नोभेम्बर २०२६ को सुरुवातमै आयोजनास्थलको निरीक्षण गरी पूर्वतयारीको समीक्षा गरेका थिए । 

निर्माणका लागि आवश्यक प्रशासनिक, कानुनी तथा ठेक्कासम्बन्धी प्रक्रिया अघि बढिसकेको छ, जसअन्तर्गत आयोजनाको प्याकेज-२ निर्माणको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले पाउने गरी छनोट भइसकेको छ भने अन्य सिभिल तथा हाइड्रोमेकानिकल प्याकेजका लागि बोलपत्र आह्वान गरिएको छ ।

सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने यस आयोजनाका लागि आवश्यक कुल १८४ हेक्टर जग्गामध्ये निजी जग्गाको मुआब्जा वितरण कार्य तीव्र पारिएको छ । 

कुल ६५६ जग्गाधनी तथा २६८ प्रत्यक्ष प्रभावित घरपरिवारका लागि करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जामा खर्च हुने अनुमान गरिएकोमा हालसम्म करिब २५३ परिवारलाई ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ वितरण भइसकेको छ । प्रभावित क्षेत्रमा प्रतिरोपनी ५ लाखदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्याङ्कन गरिएको छ ।

लगानी बोर्ड नेपालले आयोजनाको उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरिसकेको छ भने सरकारले राष्ट्रिय वन क्षेत्र प्रयोग तथा रुख कटानको अनुमतिसमेत प्रदान गरिसकेको छ ।

तल्लो अरुण जलविद्युत् आयोजना एसजेभीएनले नै निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको क्यासकेड परियोजना हो । अरुण तेस्रोबाट विद्युत् उत्पादन भएपछि निस्कने पानीलाई नै पुनः उपयोग गरी तल्लो अरुणबाट थप विद्युत् उत्पादन गरिनेछ ।

Share News