काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (मंसिर ७) संयुक्त रूपमा पाँच वटा विकास परियोजनाको शिलान्यास गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यममार्फत ती परियोजनाको संयुक्त शिलान्यास गरेका हुन् ।
शिलान्यास गरिएका परियोजनामा नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमाथिको पुल, बनबासामा एकीकृत चेक पोस्ट (आईसीपी), मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण, झापामा ग्रीन फिल्ड आयल स्टोरेज टर्मिनल र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन् ।
यसअघि प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीको नेतृत्वमा नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक बसेको थियो । सोही उच्चस्तरीय बैठक सम्पन्न भए लगत्तै दुई देशको कनेक्टिभिटी, ऊर्जा तथा व्यापार सहजीकरणमा टेवा पुग्ने यी पाँच परियोजनाको शिलान्यास गरिएको हो ।