यस्तो छ बालेन र मोदीले साटासाट गरेको उपहारको अर्थ

बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद, मोदीको उपहारमा गंगाजलको घडा

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तामा उपहार आदानप्रदान भएको छ । प्रधानमन्त्री शाहले मोदीलाई पशुपतिनाथ मन्दिरसँग जोडिएका धार्मिक तथा आध्यात्मिक महत्त्वका वस्तु उपहार दिएका छन् भने मोदीले शाहलाई गंगाजलसहितको घडा प्रदान गरेका छन् । 

प्रधानमन्त्री शाहले मोदीलाई कलात्मक काठको बट्टाभित्र राखेर रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन उपहार दिएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले दिएको यो उपहार व्यक्तिगत तर्फबाट प्रदान गरिएको हो । 

यस उपहारमा समावेश तीनवटै वस्तुको हिन्दू धार्मिक परम्परामा विशेष महत्त्व छ । रुद्राक्षलाई भगवान् शिवसँग सम्बन्धित पवित्र वस्तु मानिन्छ । शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ । त्यस्तै, पशुपतिनाथ मन्दिरको चन्दन धार्मिक अनुष्ठान, पूजा तथा तिलकमा प्रयोग गरिने पवित्र प्रसाद हो । 

प्रधानमन्त्री शाहले यी वस्तु एकै ठाउँमा राखेर उपहार दिनुले नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानलाई भारतसमक्ष प्रस्तुत गरेको अर्थमा बुझ्न सकिन्छ । पशुपतिनाथ हिन्दू धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्र हो ।
रुद्राक्ष र शालिग्रामले क्रमशः शिव र विष्णुसँग जोडिएको धार्मिक परम्परालाई प्रतिनिधित्व गर्छन् । 

भारतीय प्रधानमन्त्री मोदीले शाहलाई गंगाजलसहितको घडा उपहार दिएका छन् । हिन्दू धार्मिक परम्परामा गंगाजललाई पवित्र जलका रूपमा लिइन्छ । गंगालाई पापमोचन, शुद्धता, आस्था र आध्यात्मिक मुक्तिको प्रतीक मानिन्छ । धार्मिक अनुष्ठान, पूजा र संस्कारमा गंगाजलको प्रयोग गरिन्छ ।

मोदीले गंगाजलसहितको घडा उपहार दिनुले भारतको धार्मिक तथा सांस्कृतिक परम्पराको प्रतीकात्मक प्रतिनिधित्व गरेको देखिन्छ । नेपाल र भारत दुवै देशको सभ्यता, संस्कृति र धार्मिक आस्थामा गंगाको विशेष स्थान छ ।

प्रधानमन्त्री शाहले व्यक्तिगत रूपमा मोदीलाई पशुपतिनाथको प्रसाद उपहार दिएको भए पनि नेपाली दूतावासका तर्फबाट भारतीय प्रधानमन्त्रीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहारसमेत प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसरी दुवै देशका प्रधानमन्त्रीबीच भएको उपहार आदानप्रदानमा नेपाल र भारतका साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धको झल्को देखिएको छ ।
 

Share News