भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’

काठमाडाैं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सैनिक सम्मान दिएको हो ।

राष्ट्रपति भवन परिसरमा आयोजित औपचारिक समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई स्वागत गरेका थिए। त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

प्रधानमन्त्री शाहको आजको कार्यतालिका विभिन्न उच्चस्तरीय भेटवार्ता र द्विपक्षीय छलफलमा केन्द्रित छ । निर्धारित कार्यक्रमअनुसार बिहान १०ः४० बजे उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्नेछन् ।

त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ। बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग र विकास साझेदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन गर्ने, दुई देशबीच समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने र संयुक्त पत्रकार सम्मेलनमार्फत सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।

भारत भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ ।

Share News