काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले काठमाडौं आएका राउटे समुदायका सदस्यहरूलाई उनीहरू बसेकै सुन्धारास्थित अतिथि गृहमा पुगेर भेट गरेकी छन् । सल्यानको बस्तीमा भएको पुरानो भेटको सम्झना गर्दै मन्त्री बादी उनीहरूको अवस्था बुझ्न र आवश्यकताबारे छलफल गर्न पुगेकी हुन् ।
मन्त्री बादीले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा संवाद गरेकी थिइन् । उनले समुदायका सदस्यहरूसँग उनीहरूको वर्तमान अवस्था, समस्या र अपेक्षाबारे जानकारी लिएकी थिइन् ।
यसअघि सल्यान भ्रमणका क्रममा मन्त्री बादी राउटे बस्तीमै पुगेर समुदायका सदस्यहरूसँग भेट गरेकी थिइन् । त्यसबेला राउटे समुदायका सदस्यहरूले आफ्नै हातले बनाएका रोटी बेल्ने सामग्री, काठका ठेकीलगायत परम्परागत हस्तकलाका सामग्री उनलाई उपहार दिएका थिए । त्यही भेटको सम्झना गर्दै राउटे समुदाय काठमाडौं आएको जानकारी पाएपछि उनी उनीहरूलाई भेट्न पुगेकी हुन् ।
भेटघाटका क्रममा मन्त्री बादीले राउटे समुदायका सदस्यहरूलाई साडी, पोते, जुत्तालगायत आवश्यक सामग्री उपहार दिएकी थिइन् । प्रधानमन्त्री र मन्त्रीको संयुक्त तस्बिर तथा मन्त्रालयको तस्बिर अङ्कित सामग्रीसमेत उनले प्रदान गरेकी थिइन् ।
मन्त्री बादीले राउटे समुदायको ऐतिहासिक पहिचान, जीविकोपार्जनको परम्परा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताइन् । समुदायको इच्छाअनुसार सुरक्षित बसोबास, पर्याप्त खाद्यान्न तथा जीवनस्तर सुधारका लागि सरकारले गरिरहेको प्रयासमा थप के गर्न सकिन्छ भन्ने विषयमा उनले सुझाव मागेकी थिइन् ।
विशेषगरी बालबालिका, गर्भवती महिला, एकल महिला तथा ज्येष्ठ नागरिकको पोषण र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । छलफलका क्रममा राउटे समुदायका सदस्यहरूले आफ्नो जीवनशैलीमा पनि सकारात्मक परिवर्तन चाहेको बताए । शिक्षा, स्वास्थ्य र आवासका क्षेत्रमा क्रमिक परिवर्तन भइरहेको भए पनि त्यसका लागि समुदायका अग्रज तथा मुखियालाई समेत बुझाउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।