काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको ‘नास-आईटी एक्स्पो’ सम्पन्न भएको छ । एक्स्पोमा सहभागी प्रविधि उद्यमी तथा विज्ञहरूले स्वदेशमै प्रविधि उत्पादन र प्रयोग बढाउँदै नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार र आइतबार आयोजना गरेको एक्स्पोमा ४ हजारभन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाएका थिए । आयोजकका अनुसार प्रदर्शनीमा विभिन्न प्रविधि तथा सेवा क्षेत्रका ३१ वटा स्टल राखिएका थिए ।
एक्स्पोमा विद्यार्थीहरूको सहभागिता उल्लेख्य रहे पनि बैंकिङ क्षेत्र, कर्पोरेट निकाय तथा विभिन्न उद्योगका व्यावसायिक व्यक्तिहरूको उपस्थिति अझ बढी देखिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सभामुख डीपी अर्याललगायत सरकारी तथा नीतिगत तहका व्यक्तित्वहरूले समेत अवलोकन गरेका थिए । त्यसैगरी विभिन्न मित्रराष्ट्रका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
एक्स्पोको उद्देश्य नेपाली प्रविधि कम्पनीलाई स्वदेशी खरिदकर्ता, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग जोड्नुका साथै नेपालमै प्रविधिमा आधारित रोजगारी र उद्यमशीलताको सम्भावना विस्तार गर्नु रहेको आयोजकले जनाएको छ ।
सन् २०२५ मा पहिलोपटक आयोजना गरिएको एक्स्पोमा २ हजार ५०० भन्दा बढी अवलोकनकर्ता र ३० भन्दा बढी कम्पनी सहभागी भएका थिए । दोस्रो संस्करणमा प्रदर्शनीका अतिरिक्त स्टार्टअप प्याभिलियन, व्यावसायिक प्रस्तुति सत्र र विषयगत छलफललाई समेत समावेश गरिएको थियो ।