काठमाडौं । एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइट पनि एक महिनाभित्र बन्द गर्ने योजना अघि बढाएको हो ।
एनसेलका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन् । अब बाँकी २ हजार १३७ वटा साइटमा पनि थ्रीजी सेवा बन्द गरिने कम्पनीले जनाएको छ ।
थ्रीजी सेवा बन्द गर्ने प्रक्रिया चार चरणमा कार्यान्वयन हुनेछ । पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिनेछन् । दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन् ।
त्यस्तै, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थान तथा चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ । चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा रहेका बाँकी थ्रीजी साइट बन्द गरिने कम्पनीले जनाएको छ ।
सन् २०१७ मा सुरु भएको एनसेलको थ्रीजी सेवा आगामी पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछ । त्यसपछि ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत अझ स्पष्ट र उच्च गुणस्तरको भ्वाइस कल गर्न सक्नेछन् । यस प्रविधिमा कल छिटो कनेक्ट हुनुका साथै फोनमा कुरा गर्दागर्दै फोरजी डेटा पनि प्रयोग गर्न सकिनेछ ।
भोल्टे सेवा प्रयोग गर्न ग्राहकसँग फोरजी सिम र उक्त प्रविधि सपोर्ट गर्ने मोबाइल हुनुपर्नेछ ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले पुरानो प्रविधिको सट्टा नयाँ, छिटो र प्रभावकारी प्रविधि विस्तार गर्ने तथा पुराना प्रणालीको सञ्चालन र मर्मतसम्भार खर्च घटाउने उद्देश्यले थ्रीजी बन्द गर्न लागिएको बताइन् ।
उनका अनुसार थ्रीजी सेवा बन्द भएपछि कम्पनीले भोल्टेसहितको फोरजी नेटवर्क थप सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधिका लागि आवश्यक तयारी गर्न सक्नेछ ।
थ्रीजी सेवा बन्द हुँदा कुनै पनि ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुने व्यवस्था गरिएको पनि उनले बताइन् । फोरजीमा अपग्रेड नभएका ग्राहकले टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन् ।
एनसेलले थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवा विस्तारमा पुनः प्रयोग गर्ने जनाएको छ । यसबाट फोरजी नेटवर्कको क्षमता वृद्धि, सेवा गुणस्तर सुधार र कनेक्टिभिटी विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
कम्पनीका अनुसार एनसेलको फोरजी सेवा नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको छ । तर, हालका सक्रिय ग्राहकहरूमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन् ।
थ्रीजी सेवा बन्द हुने क्रममा ग्राहकलाई पर्न सक्ने असुविधा कम गर्न एनसेलले थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ । ग्राहकले नजिकैको एनसेल सेन्टर वा बिक्री केन्द्रमा गएर आफ्नो सिम फोरजीमा अपग्रेड गर्न सक्नेछन् । फोरजी सिम लिँदा सात दिन समयावधि भएको २ जीबी डेटा पनि निःशुल्क पाइने कम्पनीले जनाएको छ ।