विवरा इन्टरनेशनललाई ६ करोड रुपैयाँ फिर्ता गर्न प्रहरीको ३५ दिने अल्टिमेटम

काठमाडौं । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरले निर्माण कम्पनी विवरा इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई ६ करोड रुपैयाँभन्दा बढी रकम दाखिला गर्न ३५ दिनको समय दिएको छ । ठेक्का सम्झौता अन्त्य भएपछि असुलउपर गर्नुपर्ने रकम दाखिला नगरेको भन्दै केन्द्रले सार्वजनिक सूचना जारी गरी रकम भुक्तानीका लागि ताकेता गरेको हो ।

मोरङको गोठगाउँस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यालय तथा ब्यारेक निर्माणका लागि कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तर, सम्झौता अन्त्य भएपछि कम्पनीले सरकारलाई बुझाउनुपर्ने रकम दाखिला नगरेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता २०८३ वैशाख २५ गतेको निर्णयअनुसार अन्त्य भएपछि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम असुलउपर गर्नुपर्ने रकम निर्धारण गरिएको थियाे ।

केन्द्रले कम्पनीबाट ६ करोड ७ लाख १९ हजार ७८९ रुपैयाँ असुल गर्नुपर्ने जनाएको छ । उक्त रकम कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङको धरौटी खातामा दाखिला गर्नुपर्नेछ ।

यसअघि केन्द्रले गत भदौ २२ गते, असोज १३ गते र कात्तिक ११ गते रकम दाखिला गर्न भन्दै पत्र पठाएको जनाएको छ । तर, ती पत्र निर्माण कम्पनीसम्म पुग्न नसकी केन्द्रमै फिर्ता आएका थिए ।

त्यसपछि केन्द्रले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र तोकिएको रकम धरौटी खातामा दाखिला गर्न निर्देशन दिएको हो ।

Share News