बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा जोखिम र स्थानीयको भावनालाई सन्तुलित बनाउनुपर्छ: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार स्थलगत अवलोकनपछि उनले प्राविधिक मूल्याङ्कनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरणका उपाय अपनाएर बस्ती पुनर्निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

प्रभावित बासिन्दाले वर्षौँदेखि बसोबास गर्दै आएको पुख्र्यौली थातथलो छाड्न नचाहेको र विशेषगरी बेत्रावती, त्रिशूली तथा देवीघाटका स्थानीयले जोखिम न्यूनीकरण गरेर सोही क्षेत्रमा बस्ती बसाल्न माग गरेको उल्लेख गर्दै सभापति थापाले स्थानीयको भावना र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए । 

उनले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नराखी प्रभावित क्षेत्रको समग्र पुनःस्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे । 

यसका लागि सडक, पुल, विद्युत् आयोजना तथा अन्य सार्वजनिक संरचनाको पुनर्निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीका अवसरलाई समेत पुनःस्थापनाको योजनामा समेट्नुपर्ने उनको भनाइ छ ।

सरकारले पुनर्निर्माणका योजना तयार गर्दा प्रभावित बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्ने बताउँदै सभापति थापाले पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रमलाई एकीकृत प्याकेजका रूपमा अघि बढाउनुपर्ने उल्लेख गरे । 

यस कार्यमा आफ्नो पार्टीका तर्फबाट सरकारलाई आवश्यक सुझाव र पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । अवलोकनका क्रममा सभापति थापाले रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न बस्ती, रसुवा-नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे, देवीघाट हुँदै धादिङको गल्छीसम्मको प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । 

सो क्रममा नदी किनार तथा आसपासका बस्तीको पुनर्निर्माण गर्दा भविष्यमा हुन सक्ने जोखिमको प्राविधिक अध्ययनलाई मुख्य आधार बनाउनुपर्ने उनले बताए ।

निरीक्षणकै क्रममा उनले स्थानीय तहका जनप्रतिनिधिसँग विपद्पछिको अवस्था, राहत तथा पुनःस्थापनाका कार्य र पुनर्निर्माणका प्राथमिकताबारे जानकारी लिनुका साथै अस्थायी आवास केन्द्रमा बसोबास गरिरहेका प्रभावित बासिन्दासँग प्रत्यक्ष छलफल गरेका थिए । 

भोटेकोशीको बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती, सडक, पुल, विद्युत् आयोजना, निजी आवास तथा व्यावसायिक संरचनामा ठूलो क्षति पुर्याएको र प्रभावितको स्थायी पुनःस्थापना, सुरक्षित आवास निर्माण तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अहिलेको प्रमुख आवश्यकता रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सभापति थापालाई जानकारी गराएका थिए ।

Share News