काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा नेपाल-भारत ‘बिजनेस राउन्डटेबल’ छलफल सुरु भएको छ ।
नयाँ दिल्लीस्थित होटल ताज महलमा आइतबार साँझदेखि सुरु भएको उक्त कार्यक्रममा दुवै देशका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
छलफलमा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठलगायत सहभागी छन् ।
त्यस्तै, भारतको तर्फबाट उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, भारतीय उद्योग परिसंघ (सीआईआई) इन्टरनेसनलका सहसंयोजक तथा सन इन्टरनेसनलका अध्यक्ष विक्रमजित सिंह साहनीलगायतको उपस्थिति रहेको छ ।
नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले संयुक्त रूपमा ’नेपाल–इन्डिया बिजनेस राउन्डटेबल’ आयोजना गर्ने परम्परा छ ।
सोही क्रममा प्रधानमन्त्री शाहको भ्रमण पारेर आयोजित यस राउन्डटेबलमा दुवै देशबीचको व्यापार, लगानी प्रवद्र्धन तथा आर्थिक साझेदारी विस्तारका विविध विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।