काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै छ ।
भेटवार्ताको कार्यक्रमअनुसार बिहान ११ः१५ बजे हैदरावाद हाउसमा दुवै प्रधानमन्त्रीबीच एक्लाएक्लै छलफल हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्री प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।
द्विपक्षीय बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार, विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालगायत क्षेत्रसँग सम्बन्धित समझदारीपत्र र सम्झौतामा हस्ताक्षर हुनेछन् ।
समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षरपछि दुवै देशका प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुनेछन् । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा आयोजना गर्ने दिवाभोजमा उनी सहभागी हुने कार्यक्रम छ ।
दिवाभोजपछि प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः३० बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति मुर्मूसँगको भेटपछि प्रधानमन्त्री शाह दिउँसो ४ः५० बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ । उनी आजै साँझ ६ः४५ बजेतिर काठमाडौं आइपुग्नेछन् ।