काठमाडौं । नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच प्रत्यक्ष रेल सेवा सुरु भएको छ । नेपाल र भारतका दुई ऐतिहासिक तथा धार्मिक सहरलाई रेलमार्गबाट जोड्ने उद्देश्यसहित सोमबारदेखि जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सेवा उद्घाटन गरेसँगै अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्ने कार्यक्रम छ ।
रेललाई अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा भारतीय रेलका उच्च अधिकारीहरूले बिदाइ गर्नेछन् ।
नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । विशेषगरी रामायणकालीन सभ्यतासँग जोडिएका जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्न यो सेवाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा मानिने भएकाले यी दुई सहरबीचको सम्बन्ध धार्मिक दृष्टिले विशेष महत्त्वको छ । रेल सेवा सुरु भएपछि दुवै सहरमा धार्मिक यात्रा गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवागमन सहज हुने अपेक्षा गरिएको छ ।