नेपालले भारतका पारादीप र कान्डला बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं । तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतका केही निश्चित बन्दरगाह प्रयोग गर्दै आएको नेपालले अब थप दुई बन्दरगाहसम्म पहुँच पाउने भएको छ । 

भारतले नेपाललाई ओडिशास्थित पारादीप र गुजरातस्थित कान्डला बन्दरगाह प्रयोग गर्न अनुमति दिने भएको हो । दुई देशका प्रतिनिधिमण्डलबीच भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरे ।

यसअघि नेपालले ओडिशाकै धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न अनुमति माग्दै आएको थियो । यी दुई बन्दरगाह प्रयोग गर्ने विषयमा नेपाल र भारतबीच सन् २०१९ मै सहमति भएको थियो । तर, लामो समयदेखि चर्चामा रहेको उक्त विषयले अपेक्षित गति लिन सकेको थिएन ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा पनि धाम्रा र मुन्द्रा बन्दरगाह प्रयोगको अनुमति प्राप्त हुने अपेक्षा गरिएको थियो । तर, अन्तिम सहमतिमा ती बन्दरगाहको सट्टा सोही राज्यका पारादीप र कान्डला बन्दरगाह प्रयोग गर्न दिने निर्णय भएको छ ।

नेपाल भूपरिवेष्टित मुलुक भएकाले अन्तर्राष्ट्रिय व्यापारका लागि छिमेकी मुलुकका समुद्री बन्दरगाहमा निर्भर रहनुपर्ने बाध्यता छ । विशेषगरी भारतका बन्दरगाह हुँदै तेस्रो मुलुकबाट वस्तु आयात तथा नेपाली उत्पादन निर्यात हुँदै आएको छ ।

हाल नेपालले भारतको कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ । पश्चिम बंगालस्थित कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै व्यापारिक मार्गका रूपमा प्रयोग गर्दै आएको छ । यी दुई बन्दरगाहमध्ये कोलकातामा साना र हल्दियामा ठूला जहाज आउने गर्छन् ।

त्यसैगरी, आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाह पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको छ ।

अब पारादीप र कान्डला बन्दरगाहको पहुँच प्राप्त भएपछि नेपालको समुद्री व्यापारका लागि उपलब्ध विकल्पको सङ्ख्या बढ्नेछ । यसले कुनै एक बन्दरगाह वा व्यापारिक मार्गमा निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न सहयोग पुर्याउन सक्छ ।

नेपालले यसअघि प्रयोग गर्न खोजेका धाम्रा र मुन्द्रा दुवै बन्दरगाहको व्यवस्थापन निजी क्षेत्रको अडानी समूहले गर्दै आएको छ । तर, अहिले प्रयोग गर्न अनुमति दिने सहमति भएका पारादीप र कान्डला बन्दरगाह भारत सरकारको सञ्चालन तथा व्यवस्थापनअन्तर्गत रहेका छन् ।

यसरी एउटै राज्यभित्रका फरक बन्दरगाह प्रयोग गर्न पाउने सहमति हुनुले नेपालको समुद्री व्यापारमा थप सम्भावनाको ढोका खोलेको छ ।

थप बन्दरगाह प्रयोग गर्न पाएपछि आयातकर्ताले सामानको प्रकृति, ढुवानी दूरी, भाडादर र समयअनुसार उपयुक्त मार्ग छनोट गर्न सक्नेछन् । यसले ढुवानी खर्च घटाउने, सामान आइपुग्ने समय व्यवस्थापन गर्ने र आपूर्ति प्रणालीलाई थप सहज बनाउने सम्भावना रहन्छ ।

विशेषगरी अन्तर्राष्ट्रिय बजारबाट आउने औद्योगिक कच्चा पदार्थ, मेसिनरी, पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुको ढुवानीमा नयाँ विकल्प उपलब्ध हुन सक्छन् । त्यसैगरी, नेपाली उत्पादनलाई तेस्रो मुलुकसम्म पु¥याउन पनि थप मार्ग उपयोगी हुन सक्नेछ ।

यद्यपि, नयाँ बन्दरगाहको वास्तविक उपयोगिता ढुवानीको लागत, पारवहन सुविधा, भन्सार प्रक्रिया, सडक तथा रेल सम्पर्क र बन्दरगाहमा उपलब्ध सेवामा निर्भर हुनेछ ।

Share News