विकासन्युज

सिरक बनाउने भारतीय व्यापारीमाथि ३४ लाखको मुद्दा

काठमाडौं । सिरक बनाउने भारतीय व्यापारीमाथि ३४ लाखको मुद्दा परेको छ । भारत घर भई हाल बुटवलमा रौनक डसना सिरक पसलका प्रोपराइटर फिरोज अहमद र वसिर मियामाथि ३४ लाखको मुद्दा परेको हो । अहमद र मियामाथि राजस्व अनुसन्धान विभागका कार्यलय बुटवलले राजस्व चुहावट गरेको भन्दै उच्च अदालत तुलसीपुरमा आइतबार मुद्धा दायर गरेको हो । उनीहरुले सम्पुर्ण कारोबारको विवरण पेश नगरी ठूलो विवरणको रकम लुकाई राजस्व छली गरेको पाइएको हो । उनीहरुलाई हदैसम्मको कैद र ३४ लाख जरिवाना माग गरिएको छ ।

एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई सुम्पियो नेतृत्व

काठमाडौं । एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई नेतृत्वमा राखेको छ । एनमबि वुमन इन लिडरसिप कार्यक्रमको आयोजना गर्दै बैंकले यस्तो उद्दघोष गरेको हो । अब सात वटा प्रदेशको ६ वटा शाखामा ब्रान्च म्यानेजरको रुपमा महिला रहने छन् । जसमा प्रदेश एकमा सोभिता पन्त, मधेशमा मल्लिका ठाकुर, बागमतीमा प्रफुल्ला मानन्धर, गण्डकीमा खिमकुमारी गुरुङ, लुम्बिनीमा ससता भुसास र सुदूरपश्चिममा नन्द कुमारी भण्डारी रहेका छन् । ७७ वटै जिल्लामा शाखा विस्तार गरेको बैंकले कूल २०१ शाखाबाट बैंकिङ्ग सेवा दिँदै आएको छ ।

६५८ जनामा देखियो कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं । एकैदिन ६५८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६ हजार ६४३ जनामा परिक्षण गर्दा ६५८ जनामा संक्रमण देखिएको छ । आज ४५६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ भने ३८ हजार १५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।

नविल जेन अल्फाको ब्राण्ड एम्बासेडरमा समाजसेवी प्रेन्सी रेग्मी नियुक्त

काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो । अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्ट मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ । बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२ जितेकी थिइन । नविल जेन अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्र्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए । “प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनीधित्व गर्ने प्रेरणादायी पात्र भएकोले हामीले उहाँलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौं,” उनले थपे । यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुङ्गानाले भने, “हामीले एउटा एप विकास गरेका छौं, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन् । यसरी बच्चाहरूले घरको काम र जीवन सीपहरू सिक्दै आफ्नो लिङ्क गरिएको खातामा पैसा कमाउन सक्छन् ।” उनले यस एपले सानै उमेरबाट बालबालिकाहरुमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।

चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

  काठमाडौं । भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ पर्छ । चुनबाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० रुपैयाँमा लसुन बिक्री गर्दा दुःख नउठ्ने भन्दै प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री गर्न चाहन्छन् । किलोलाई एक सय रुपैयाँ दिएर कसैले लसुन खरिद नगरेपछि अहिले चुनबाङको लसुन घरघरमा थुप्रिएको च्याङचुङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताए । अहिले आफ्नो मात्रै १० क्विन्टलको हारहारीमा लसुन रहेको उनले बताए । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गरेका उनले अहिले भने उत्पादन घटेको बताए । केहीको लसुन उत्पादन गत वर्षको तुलनामा अहिले घटे पनि समग्रमा भने गत वर्षको तुलनामा यसवर्ष उत्पादन बढेको छ । अहिले उचित मूल्य नपाएकै कारण कति पनि लसुन बिक्री नभएको किसान खड्काले बताए । उनका अनुसार अहिले चुनबाङका प्रत्येक घरमा तीनदेखि १० क्विन्टलको हारहारीमा लसुन छ । लसुनले उचित मूल्य र बजार नपाएको भन्दै उनले अर्को वर्ष लसुन लगाउने क्षेत्र घटाएर मोटो कला लगाउने योजना बनाएको समेत सुनाए । यस्तै चुनवाङकै स्थानीय एवं पूर्व वडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको बताउँदै बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताए । बजार मूल्यभन्दा महँगो हाले लसुन सङ्कलन गर्न भने नसकिने उनको भनाइ छ । यसवर्ष चुनबाङमा चार सय ३२ दशमलव ३५ मेट्रिकटन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए। उहाँका अनुसार यो उत्पादन गत वर्षको तुलनामा १२ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । अहिले जिल्लाको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुनखेती हुँदै आएको छ । रासस

निरन्तर ओरालो यात्रामा पूँजी बजार, हिमालयन दोलखाको सबैभन्दा धेरै कारोबार

काठमाडौं । निरन्तर ओरालो लागिरहेको पूँजी बजार सोमबार पनि सामान्य अंकले गिरावट आएको छ । दिनभरि बजार घटबढ हुँदा अन्तिम समयमा घटेर बन्द भएको हो । घरजग्गा क्षेत्रमा सुरु भएको मन्दीले पनि सेयर बजारमा असर गरेको लगानीकर्ता बताउँछन् । बैंकिङ्ग क्षेत्रमा तरलताको चाप कायम रहेकाले बैंकहरुले कर्जा प्रवाह रोकेका छन् । बैंकहरुको कर्जा–निक्षेप रेसियो ९० प्रतिशत भन्दा कम गर्नुपर्ने दबाबका कारण नेप्सेमा प्रभाव पारेको हो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार नेप्से परिसूचक ७.७२ प्रतिशत घटेर २०६०.५५ अंकमा बन्द भएको थियो । नेप्से एकल अंकले घटेको लगानीकर्तामा अन्यौलता कायम रहेको सेयर जानकार बताउँछन् । सोमबार दिनभरिमा २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर ३१ हजार ७९५ पटक कारोबार हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो सोमबार २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर ४३ हजार ४५५ पटक किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको थियो । हिजोको तुलनामा सोमबार कारोबार रकम घटेको छ । अधिकांश सूचकहरु पनि राताम्य बनेका छन् । सोमबार बैंकिङ्ग समूह ०.११ प्रतिशत, ट्रेडिङ्ग समूह ०.०४ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.०५ प्रतिशत, विकास बैंक समूह ०.६४ प्रतिशत, निर्जीवन बीमा समूह ०.५७ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.६३ प्रतिशत, अन्य समूह ०.६६ प्रतिशत, जीवन बीमा समूह ०.०३ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.४२ प्रतिशत, हाइड्रोपावर समूह ०.६८ प्रतिशत, फाइनान्स समूह ०.४७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.३३ प्रतिशत घटेको छ । यता म्युचुअल फण्ड समूह ०.२ प्रतिशत बढेको छ । आज उपर हेवीखोलाको सेयर मूल्य १० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशत बढेको छ । सोमबार एनआइबिएल समृद्धि फण्ड २ को सेयर मूल्य सबैभन्दा बढी घटेको छ । हालै आइपीओ जारी गरेको हिमालयन दोलखा हाइड्रोको सर्वाधिक २८ करोड १८ लाख ७१ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम

काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । उक्त सोरुमको समुद्धघाटन डिशहोमका तर्फबाट रिजनलसेल्स म्यानेजर जेबि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाईबरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ । १ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार ईन्टरप्राईजले अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने न्यू केदार ईन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिए ।

मिटर ब्याजी अनुरुदको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

जलेश्वर । महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए । शनिबार पक्राउ परेका उनको ससुराली घरबाट ७१ लाख ४४ हजार ३५० रुपैयाको नौ थान कपाली तमसुक बरामद भएको हो । महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ७ ससुराली घरबाट बरामद गरेको हो । उनले ५० हजारका नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए । यसैगरी निज साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले बयालिस लाख बयाननब्बे हजार एक सय ९० बाराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उनलाई अदालतले एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो । सोे मुद्दा अझै पनि अदालतमा बिचाराधीन छ । मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजेतिर भङ्गाहा नगरपालिका– ५ बाट पक्राउ गरिएकामा जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । त्यस्तै साह बिरुद्ध आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए । रासस