विकासन्युज

नेप्सेलाई व्यवस्थित गर्ने की नयाँ स्टक एक्स्चेञ्ज ल्याउने ?

काठमाडौं । झण्डै एक दशकभन्दा बढी समय अघिबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को विकल्प खोज्नुपर्ने आवाज उठ्दै आएको छ । २०६५ सालतिर नेप्सले डिजिटाइजेशनमा पाइला टेक्दै गर्दा लगानीकर्ताको समूहले नयाँ स्टक मार्केट सञ्चालनमा ल्याउनका लागि सरकारसँग माग गरे । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि अध्ययन गरेर मात्रै विकल्पका रुपमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने बताउँदै आएको लामो समय भइसकेको छ । बोर्डले प्रत्येक वर्ष आफ्नो नीति तथा कार्यक्रममा नेप्सेको सुधारका लागि विकल्प खोज्ने बताउँदै आएको छ । तर झण्डै डेढ दशक हुँदा पनि बोर्डले न नेप्सेको विकल्प खोज्न सक्यो, न त आफ्नो नीति तथा कार्यक्रमबाट सो योजना नै हटाउन सक्यो । नयाँ स्टक सञ्चालनका लागि लगानीकर्ताबाट आवाज उठ्ने क्रम जारी नै छ । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियारले नेप्सेको मनोमानी अन्त्य गर्न नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्ने बताए । नेप्सेको एकाधिकार तोड्नका लागि भएपनि नयाँ स्टक आउनुपर्ने उनको धारणा छ । ‘नेप्सेलाई काउण्टर दिन व्यवस्थित भएको स्टक एक्सचेञ्ज आउनुपर्छ, एउटा मात्रै स्टक हुँदा मोनोपोली बढ्यो, जे गरेपनि हुन्छ भन्ने सोच बनाएको छ, एउटा मात्रै स्टक हुँदा राम्रो नराम्रो तुलना गर्ने अवस्था नै भएन, केही समस्या आयो भने पनि सुन्दैन, हामी एक्लै हो भनेर मोनोपोली गर्याे,’ उनले विकासन्युजसँग भने । नेप्सेलाई सुधार गर्नुपर्ने र अर्काे स्टक मार्केट आएमा प्रतिस्पर्धी बनाउने गरी संरचना परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । नयाँ स्टक मार्केट आएमा बाध्यताले नेप्सेले पनि गुणस्तरीय सेवा दिने उनको बुझाई छ । ‘सुधार गर्नुपर्याे भनेको धेरै भयो, नेप्से सुध्रिनेवाला छैन, काम कछुवा गतिमा छ,’ छोटेलाल बताउँछन् । निजी क्षेत्रसँगको सहकार्यमा नयाँ स्टक सञ्चालनमा ल्याउनुपर्ने र पब्लिक लिमिटेडमा स्टक ल्याउन आवश्यक रहेको उनको सुझाव छ । साथै, धेरै कम्पनी नेप्सेमा आउन नचाहेकाले अर्काे नयाँ स्टक आए बजारमा आउने उनी बताउँछन् । ‘नयाँ स्टक आयो भने उसले नयाँ कम्पनी तथा सेक्टरलाई पहल गरेर पुँजी बजारमा ल्याउँछ र सेबोनसँग राम्रो व्यवस्थापन गरेर नयाँ सुविधा दिन्छ,’ उनले भने । नेप्सेले आफ्नो सेवामा ठूलो विकास गरेपनि लगानीकर्ता भने अझै सन्तुष्ट हुन सकिरहेका छैनन् । उनीहरु नेप्सेले परम्परागत शैलीबाट सेवा दिएको बताउँदै जसरी पनि नयाँ स्टक ल्याउन खोजिरहेका छन् । तर, आफूहरुले लामो समयदेखि नयाँ स्टक मार्केट सञ्चालनका लागि माग गरेपनि कुनै सुनुवाइ नै नभएको लगानीकर्ताको गुनासो छ । लगानीकर्ता अम्बिका प्रसाद पौडेलले पुँजी बजारको विकासका लागि नयाँ स्टक मार्केट आउनुपर्ने माग पहिलादेखि राख्दै आएको भएपनि सुनुवाइ नभएको गुनासो गरे । सामान्य पुँजी भएको स्टक मार्केटको भविष्य नभएको बताउँदै उनले बलियो संरचना भएका स्टक ल्याउनुपर्ने बताए । ‘नयाँ स्टक एक्सचेञ्ज स्तरीय स्टक, प्रविधिमैत्री, पुँजीमा बलियो हुनुपर्छ, २-३ करोड पुँजी भएको स्टक चल्दैन, नयाँ स्टक सञ्चालन गर्छु भनेर कोही आउँछ भने ल्याउन दिनुपर्छ, नयाँ आउने स्टक संस्थागत रुपमा मजवुत हुनुपर्छ, टिका लगाएर हुँदैन, विदेशी रणनीतिक साझेदार ल्याउनुपर्छ, प्रविधि र ज्ञानका लागि स्थापित भएको देशलाई दिनुपर्छ,’ उनले भने । ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष भरत रानाभाट भने नयाँ स्टक एक्सचेञ्जको आवश्यकता नरहेको बताउँछन् । नेप्सेलाई नै व्यवस्थित गरेर लैजानुपर्ने उनको धारणा छ । नेप्सेमा रणनीतिक पार्टनर ल्याएर अझै व्यवस्थित गर्न सकिने उनको बुझाइ छ । ‘नेप्सेको सुधार गर्नुपयो, रणनीतिक पार्टनर ल्याएर नेप्सेको विकास नगर्दासम्म अर्काे आवश्यक छैन, नयाँ स्टक पनि यस्तै भयो भने के हुने ?’ उनले प्रश्न गरे । ३ सय कम्पनी मात्रै सूचीकृत भएको बजारमा बजार पुँजीकरण र दैनिक कारोबार हेर्दा आवश्यक नपर्ने ब्रोकर रानाभाटको भनाइ छ । ‘सफ्टवेयर परिवर्तन गरेर नेप्सेलाई चुस्त दुरुस्त बनाउनुपर्याे, सेवा छिटो छरितो दिनुपर्यो, नयाँ स्टक ल्याएर चल्न नसकेर मर्जमा जानुभन्दा नेप्सेलाई सुधार गरौं, विदेशी पार्टनर ल्याएर सिस्टम परिवर्तन गर्नुपर्याे, क्यापिटलदेखि अन्य कुरामा नेप्से आफै सक्षम छ,’ उनले भने, ‘पहिलो प्राथमिकता नेप्सेलाई दिनुपर्छ, नेप्सेलाई बचाउनु पर्छ, सरकारी संस्था भएरपनि नाफा आर्जन गरेर सरकारलाई कर र लाभांश दिइरहेको छ ।’ सरकारले पुँजी बजार सुधारका लागि २०५० सालमा धितोपत्र विनिमय केन्द्रलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा परिणत गरेको थियो । तर, नेपालमा १९९० को दशकबाट धितोपत्र बजारको सुरुवात भएको देखिन्छ । आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै आएको नेप्सेको विकल्प खोजिनुमा बिडम्बना भएको अर्काथरी लगानीकर्ता बताउँछन् । पुँजी बजारमा नयाँ स्टक ल्याउनुपर्छ भन्ने बहस चलिरहेका बेलामा भने केही व्यक्ति आवश्यक नभएको बताउँछन् । अहिलेको बजारको आकारका आधारमा नयाँ स्टक मार्केट आवश्यक नरहेको नेप्सेका अधिकारीहरु बताउँछन् । बजारमा धितोपत्र बोर्डले मार्केटको सेवा शुल्क निर्धारण गर्ने भएकाले नयाँ स्टक आउँदा पनि प्रतिस्पर्धा नरहने नेप्सेका एक अधिकारीले बताए । ‘कुनै वस्तु र सेवाको गुणस्तर निर्धारण र शुल्क तोक्ने बजारले हो, त्यसको लागि प्रतिस्पर्धा गर्नपर्छ, तर नेपालमा बजार र प्रतिस्पर्धाका आधारमा शुल्क निर्धारण हुँदैन,’ उनले भने, ‘यहाँ त कसको कमिसन कति भनेर धितोपत्र बोर्डले सबै तोकिदिन्छ, नेप्से र ब्रोकरले लिने सेवा कस्तो हुने भनेर बोर्डले तोक्छ, भोलिका दिनमा नयाँ स्टक आयो भने पनि शुल्क निर्धारण धितोपत्र बोर्डले तोक्ने हो, त्यो बेला प्रतिस्पर्धा भयो त ?’ विश्वका २ सय देशमा १५० वटा मात्रै स्टक मार्केट सञ्चालनमा छन् । तर, अन्य बैंक तथा वित्तीय संस्थाका लाखौं संख्या छन् । किनभने त्यो क्षेत्र र यो क्षेत्र फरक भएकाले प्रतिस्पर्धी नभएको उनको बुझाइ छ । ‘पुँजी बजार वास्तवमै विशिष्ट क्षेत्र हो, अन्य क्षेत्रमा जस्तो प्रतिस्पर्धा स्टक मार्केटमा हुँदैन, स्टक एक्सचेञ्जको बिजनेशमा कमर्शियल अप्रेशन र रेगुलेटरी क्रियाकलाप हुन्छ, रेगुलेटरी क्रियाकलाप जोडिएका क्षेत्रमा प्रतिस्पर्धा नहुने भएकाले अधिकांश देशमा एउटा मात्रै स्टक एक्सचेञ्ज सञ्चालनमा छन्,’ ती अधिकारीले भने । पाकिस्तानमा पहिला ३ वटा थियो । पछि मार्केट नभएपछि मर्ज गराएर एउटा मात्रै स्टक सञ्चालनमा ल्याएको थियो । यता ठूलो जनसंख्या भएका देश चाइना र भारतमा २ वटा मात्रै स्टक एक्सचेञ्ज सञ्चालनमा छन् । नयाँ स्टक ल्याउनुभन्दा बरु नेप्सेलाई नै निजीकरण गर्नुपर्नेमा नेप्से अधिकारीहरुको धारणा छ । ‘मार्केटको साइजले नयाँ स्टकको डिमाण्ड नै गर्दैन, नेप्सेलाई निजीकरण गर्दा हुन्छ, जसले नयाँ स्टक खोल्न चाहेका छन् उनीहरुलाई सेयर लिलाम बढाबढ गरेर नेप्सेको सेयर बिक्री भइहाल्यो नी,’ नेप्सेका ती अधिकारीले बताए । नयाँ स्टक एक्सचेञ्ज अहिलेको बजारले माग नगरेपनि सीमित व्यापारीको स्वार्थका लागि मात्रै आउन सक्ने सेयर बजार जानकारहरु बताउँछन् । नयाँ स्टक ल्याएर नेप्सेलाई डुबाउन चाहेको उनीहरुले बताए । ‘पुँजी बजारको सुधार गर्नलाई भन्दा पनि राजनीतिका आडमा केही व्यवसायी हावी भएका कारण नयाँ स्टक आउनु पर्ने दवाव छ, नेप्सेसँग २०-२२ अर्बको सम्पत्ति छ, भोलिका दिनमा नयाँ स्टक आयो भने यसलाइ बाँकी राख्दैनन्, नेप्सेको सम्पत्ति शुन्य पार्छन्,’ उनले भने,’ ‘सरकारको ५८ प्रतिशत सेयरमा १० प्रतिशत राखेर ४८ प्रतिशत बिक्री गर्ने हो सबै काम हुन्छ, नेप्सेको बोर्ड परिवर्तन हुन्छ, बोर्डले सीईओ नियुक्त गर्छ ।’ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल नयाँ स्टक एक्सचेञ्ज ल्याउनमा सकारात्मक रहेको बोर्डका एक कर्मचारी बताउँछन् । अध्यक्ष हमाल पनि सकारात्मक रहेको बताउँदै ती कर्मचारीले भने उनको भिजन हेर्दा नयाँ स्टक आउन सक्छ । ‘अध्यक्ष हमालले आफ्नो कार्यकालसम्म नयाँ स्टक ल्याउँछन्, चुनाव पछि भने प्रक्रिया अघि बढ्छ,’ ती कर्मचारीले भने । नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा प्रवक्ता रुपेश केसीले नयाँ स्टक एक्सचेञ्ज ल्याउने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरेको भएपनि कुनै कार्य अघि नबढेको बताए । बोर्डले नेप्सेलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई छिटोछरितो सेवा दिन चाहेको उनले बताए । अर्काे स्टक आउँदा प्रविधिसहित आउने भएकाले प्रविधिमैत्री हुने उनको भनाइ छ । धितोपत्र बोर्डले नयाँ स्टक ल्याउँदा लगानीकर्ता, धितोपत्र बोर्डका विज्ञ समूह लगायत सबै सरोकारवालासँग बसेर छलफल गर्ने उनले बताए । तर, हालसम्म कुनै छलफल समेत नभएकाले मूर्त रुप दिन नसकिएको उनको भनाइ छ । ‘२०६५ सालदेखि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर सुधार गर्ने, नयाँ स्टक आवश्यक छ भनेर प्रतिवेदनहरुमा उल्लेख छ, नेप्सेम संरचनामा सुधार हुन सकेन, राष्ट्र बैंकले केही सेयर बिक्री गर्याे, धेरै सेयर स्वामित्व नेपाल सरकारको छ, रणनीतिक साझेदार भित्र्याएर सुधार गर्ने भनिएपनि कार्यान्वयन हुन सकिरहेको छैन्,’ उनले भने ।

सुजुकीको एभेनिस स्कुटर बजारमा, २ लाख ९९ हजार रुपैयाँ पर्ने

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रता भिजी अटोमोबाइल्सले नेपालमा सुजुकी एभिनिस स्कुटर सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रम गर्दै कम्पनीले सुजुकी एभिनिस स्कुटर सार्वजनिक गरेको हो । भिजि अटोमोबाइल्सका प्रबन्ध निर्दशक निकुन्ज अग्रवाल, सुजुकी मोटर्स इण्डियाका  सासबैंक तल्वार र भिजीकै धिरज भट्टराईले संयत्त रुपमा सुजकी एभेनिस सार्वजनिक गरेका थिए । आकर्षक डिजाइन र मोडर्न फिचर्सले भरिएको सुजुकी एभिनिस स्कुटर नयाँ जेनेरेसनलाई लक्षित गरी बजारमा ल्याइएको प्रबन्ध निर्दशक अग्रवालले बताए । स्कुटर बजारमा माग राम्रो भएको कारण यो स्कुटर ल्याएको कम्पनीका कर्मचारी कृतन क्षेत्रीले बताए ।   पावर, पर्फमेन्स र स्टाइललाई विशेष ध्यान दिएर बनाइएको यो स्कुटर स्पोर्टी क्याटोगोरीमा हुनुको साथै विभिन्न फिचर्सले भरिएको छ । यसको नयाँ फिचर्समा एड्भास्सड स्पोर्ट स्टाइलिङ, बडी माउण्ड ब्राइट एलइडी हेडल्याम्प फ्रन्ट फ्युल बक्स विथ युएसबी स्कुटर, एक्सटर्नल फ्युल क्याप लार्ज अण्डरसिट स्टोरेज स्पेस र मोटरसाइकल इन्सपायरड रियर इन्डिकेटर्स रहेका छन् । कम्पनीले यस स्कुटरको मुल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।

हात्तीको आक्रमणबाट ५३ जनाको मृत्यु

झापा । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्युु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा मात्र छ जनाको हात्तीको आक्रमणबाट मृत्युभएको छ । अर्जुनधारामा एउटा र बुद्धशान्तिमा दुई हात्ती मृत भेटिएको पाठकले जानकारी दिए । आठ व्यक्ति हात्तीको आक्रमणबाट घाइते भएका छन् । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को दोस्रो संशोधन २०७० का अनुसार कुनै व्यक्तिलाई सामुदायिक वन, डिभिजन वनका कर्मचारीबाहेक अन्य सर्वसाधारण व्यक्तिलाई जङ्गलको क्षेत्रभन्दा बाहिर हात्तीले आक्रमण गरी मारेमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । घाइतेको हकमा सम्पूर्ण खर्च सरकारले बेहेर्ने व्यवस्था रहेको छ । घर भत्काएको, बालीनाली क्षति र भण्डारण अन्नमा क्षति पु¥याएमा १० हजार देखि रु ३० हजार रुपैयाँ सम्मको क्षतिपूर्ति पाउने व्यवस्था ऐनले गरेको छ तर सो क्षतिपूर्ति पाउनका लागि घटना भएको ३५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने व्यवस्था रहेको छ । यसै आव २०७८/७९ मा मात्रै छ जना मृतकका परिवारसहित चारसय ८५ जनालाई एक करोड १० लाख ७२ हजार एकसय ९३ रुपैयाँ क्षतिपूर्ति दिइएको पाठक बताउँछन्। यस आर्थिक वर्षमा ३७७ निवेदन परेका र ती निवेदन कार्यान्वयनको प्रक्रियामा रहेको उनले बताए। हात्तीपीडित मेचिनगर–१ बाहुनडाँगीका केशव न्यौपानेले क्षतिपूर्तिका लागि कानुनी व्यवस्था अलिक झन्झटिलो र ढिलो भएको गुनासो गरे । जङ्गली हात्तीकै कारण झापाका मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, बिर्तामोड ,भद्रपुर, कचनकवल, कमल र हल्दिबारीमा बर्सेनि लगाएको बाली भित्र्याउन पाउँदैनन् । धानको सिजनमा धान, मकैको सिजनमा मकै, गहुँलगायत बाली थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाउने गरेको हल्दिवारी–३ का यामलाल अधिकारीले बताए। सरकारले भारतबाट आउने जङ्गली हात्तीको नियन्त्रणका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि समस्या दिनप्रतिदिन उस्तै रहेको छ । रासस

नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा पशुपति संग्रहालय महास्नान घरको पुन:निर्माण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गरेका छन् । सोमबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठले संग्रहालय महास्नान घरको उद्घाटन गरेका हुन् । २०७२ को भुकम्पले क्षतिग्रस्त संग्रहालय नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा बनेको हो । बैंकले पशुपति संग्रहालय महास्थानगर परियोजनामा ५ करोड १४ लाख तथा पाशुपात क्षेत्रको संरक्षाणर्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ । बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ । म्युजियम धार्मिक महत्वका सुनका जलप लगाईएका मुर्ति, तामार पित्तलरढलौटाका मूर्तिहरु, ढुंगाका मूर्तिहरु, संस्कृति झल्काउने भेषभुषा, गरगहना मुकुण्डो एवंम चित्रकला, एतिहासिक पुस्तकहरु रहेको बैंकले जनाएको छ ।  

अब नेपालका स्वास्थ्य जनशक्ति नि:शुल्क बेलायत जान पाउने

काठमाडौं ।  नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।

फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु

काठमाडौ । फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घन्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार छ सय ४३ जनामा कोरोना सङ्क्रमण भएकोे छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा सङ्क्रमण रहेको थियो । त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस