विकासन्युज

महालक्ष्मी विकास बैंकमा भदौमा खाता खोल्ने महिलालाई छुटै छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीजको अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको छ । यस अभियान अन्तरर्गत भदाै महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

बम्बे स्टक एक्सचेञ्जको सहयोगमा वित्तीय डेरिभेटिभ मार्केट शुरु गर्छौं : सीईओ कार्की

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बम्बे स्टक एक्सचेञ्जको सहयोगमा वित्तीय डेरिभेटिभ मार्केट शुरु गरिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘नेपाली बजारमा नयाँ प्रोडक्ट सञ्चालन गर्न डेरिभेटिभ आवश्यक छ, बम्बे स्टकको प्राविधिक सहयोगमा डेरिभेटिभ संचालन गर्छौं,’ उनले भने । साथै, उनले वित्तीय डेरिभेटिभ मार्केटको संभाव्यता रहेको समेत बताए । उनले पछिल्लो २ वर्षको अवधिमा बजारमा धेरै प्रगति भएको बताए । दैनिक १४ लाख लगानीकर्ताको संलग्नता पुगेकोले बजार ठूलो फड्को मारेको उनको भनाई छ । उनले नेपाल धितोपत्र बोर्डको सहयोगमा सहयोगमा बूक बिल्डिङ, मार्जिन लेण्डिङ, लगायतका काम गर्न सफल भएको बताए । प्रबिधि प्रयोग गरे पनि समस्या आउने बताउँदै उनले क्लोज आउट हुने समस्यालाई मध्यनजर गरेर अक्सनको शुरु गरेको जानकारी गराए । साथै, बजारको विकास तथा विस्तारको लागि पछिल्लो समय नेप्सेले गीत संगीतका माध्यमबाट सेयर सम्बन्धी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।

नेपालगञ्जमा संभावित भूकम्पीय जोखिम सर्वेक्षण सुरू

राँझा । नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ । क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा विस्तृत सर्वेक्षण गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उनका अनुसार, घना बस्ती, पुरानो बस्ती र पुराना घर बढिरहेको नगरको ३ र ७ नं वडालाई आधार मानेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि सर्वेक्षण भइरहेको छ । बस्तीमा रहेका साँघुरो घर, गल्ली, जीर्ण घर, अस्तव्यस्त तार, घरको नक्सा तथा भूकम्प जोखिमबारे घरमा पुगेर अध्ययन भइरहेको अध्ययनमा संलग्न युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले बताए । यो अध्ययनबाट नगर क्षेत्रमा आवश्यक खुला क्षेत्रको अवस्था, आश्रयस्थल, स्वास्थ्यचौकीलगायतको विषयमा प्रष्ट जानकारी हुने र विपद् प्रतिकार्यमा सहयोगी हुने उनको भनाइ छ । भूगर्भविद्का अनुसार, नेपालगञ्ज क्षेत्रको भूबनोट कमजोर रहेका कारण भूकम्पीय हिसाबले उच्च जोखिममा छ । बाँकेमा केन्द्रबिन्दु भएर भूकम्प नआएको भए पनि भूकम्पीय जोखिममा रहेको प्राध्यापक भूगर्भविद् डा दीपक चौलागाईंले बताए । बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको भावर क्षेत्रलाई केन्द्र्रबिन्दु बनाएर गत शनिबार मात्रै ४।८ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पको धक्का बाँके, बर्दियालगायत भारतको उत्तरप्रदेश राज्यसम्म परेको उनले जानकारी दिए । उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी बाँकेले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना सञ्चालन गरेको छ । परियोजनाअन्तर्गत जोखिमयुक्त घरको पहिचान गरी नगरभित्र विपद् पूर्वतयारी गरी संरचना निर्माण गर्न पहल गर्ने उद्देश्यका साथ फिल्डमा प्रविधिक परिचालन गरिएको सो उपमहानगरपालिकाका विपद् स्रोत व्यक्ति प्रकाश डिसीले जानकारी दिए । रासस

सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा साइबर शिकार हुने खतरा बढ्दै

काठमाडौं । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्याे । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन् । उनीहरु फेसबुकमा साथी बने । कुरा हुँदै गएपछि उनीहरु नजिकिँदै गए । सबै कुराहरु एकअर्कालाई शेयर गर्न थाले । उनीहरु यतिसम्म नजिक भए कि आफ्नो निजी तस्बिर एकअर्कालाई पठाउनेसम्म गर्न थाले । योजनाबद्धरुपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे । केही समयपछि युवकले ती महिलालाई उक्त सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले । कहिले आफैँले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले । अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिन थाले । यति गर्दासमेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले । उक्त घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गत साउन २४ गते साइबर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथला पक्राउ ग¥यो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ । त्यस्तै गत भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ ग¥यो । नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन् । उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा चलाएको छ । माथिको उक्त घटना प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै भएको छ । सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लिलता प्रदर्शन गर्ने, ‘बेवसाइट ह्याक’ गर्ने, अनाधिकृतरुपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्यूरोमा उजुरी पर्ने सङ्ख्या बढ्दै गएको छ । फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्यूरोको तथ्याङ्कले देखाएको छ । साइबर ब्यूरोको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्बिर सामुन्ने आउँछ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा चार हजार छ सय ८६ उजुरी दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेन्जरमार्फत पीडित बनेकाको छ । यो समस्या पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय ५६ रहेको जानकारी साइबर ब्यूरोले उपलब्ध गराएको छ । यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन् । यसमा उजुरी दिने तीन सय सात छन् । यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको सङ्ख्या एक सय २७ रहेको छ । गत आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या चार हजार छ सय ८६ रहेको तथ्याङ्क प्राप्त भएको छ । यसैगरी आव २०७७/७८ मा फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या तीन हजार चार सय ५१ रहेको छ । त्यस्तै टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या ९६ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय छ पुगेको देखियो । आव २०७६/७७ मा भने फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या दुई हजार दुई सय ५० रहेको छ । त्यस्तै टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या १५ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या दुई हजार तीन सय एक पुगेको साइबर ब्यूरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पीडित भएको भन्दै उजुरी परेको आधारमा सो कार्यालयले तीन आवमा दुई सय ५८ मुद्दा दर्ता गरेको छ । फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा परेको उजुरीको आधारमा साइबर ब्यूरोले आव २०७८/७९ मा एक सय ३२ मुद्दा दर्ता गरेको थियो । त्यस्तै आव २०७७/७८ मा ७६ र २०७६/७७ मा ५० वटा मुद्दा ब्यूरोले जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको हो । उक्त तीन आवमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ परेर मुद्दा चलाएको एक सय ८४ पुरुष र १६ जना महिला गरी दुई सय रहेका छन् । जसमा क्रमशः आव २०७८/७९ मा ९७ पुरुष र १५ महिला, आव २०७७/७८ मा ५० पुरुष र आर्थिक वर्ष २०७६/७७ मा ३७ पुरुष र एक महिला पक्राउ गरेका थिए । यसरी तुलनात्मकरुपमा बढेको विद्युतीय अपराधको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपतिकुमार रायले नागरिकमा साइबर अपराधसम्बन्धी चेतनाको स्तर बढ्दै भएकाले पनि उजुरी पर्नेको क्रम बढेको हो भने । उनका अनुसार–अहिले डिजिटल माध्यमको पहुँच हरेक नागरिकसम्म पुगेकाले अपराधको तथ्याङ्क पनि बढेको देखिन्छ । समयअनुसार हरेक नागरिक सामाजिक सञ्जालको पहुँचसँग ९फेसबुक, म्यासेन्जर, टिकटक, भाइबर आदि जोडिँदै गएका छन् । यसरी उक्त माध्यमबाट पीडित बन्नेको सङ्ख्यामा पनि वृद्धि भएको हो । उनले सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने मनसाय राखेर पनि अपराध गर्ने गरेको जानकारी दिए। सूचना अधिकारी रायले भने ‘ अपराधबाट बच्नका लागि नागरिक आफैँ सचेत र चनाखो हुनुपर्छ ।’ रासस ।

एक सहकारीको उर्दी : पाँच दिनभित्र बचत फिर्ता लिन नआए गायब !

काठमाडौं । काठमाडौंको शाँखुमा रहेको जन्म बचत तथा ऋण सहकारी संस्थाले आफ्ना बचतकर्तालाई पाँच दिनभित्र बचत फिर्ता लिनका लागि आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै सो सहकारीले आफुले बचत गरेको आधिकारिक कागजात, पासबुक भौचरका साथै नागरिकताको फोटोकपी समेत लिइ बचत फिर्ता लिन आउन उर्दी गरेको हो । सो सहकारीले पाँच दिनभित्र बचत फिर्ता लिन नआउनेको रकम पनि फिर्ता नहुने बताएको छ । ‘पाँच दिनपछि दाबी गर्न आउने बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकिने जानकारी समेत यही सूचना मार्फत् दिन चाहन्छौं,’ सूचनामा भनिएको छ । सो सहकारीले भाद्र १० गते शुक्रवार सम्ममा बचत फिर्ता लिन आउन आग्रह गरेको छ । बचतकर्ताहरुको आधिकारिक कागजात बुझाउनको लागि साँखु मालपोत कार्यालय परिसरमा रहेको “निलभैरव फोटोकपी सेन्टर“मा दिउँसो २ बजे देखि ५ बजेसम्ममा आआफ्नो प्रमाण सहित सम्पर्क राख्न सहकारीले आग्रह गरेको छ । सो सहकारीका सञ्चालक डेविड श्रेष्ठले सहकारी बिक्री गर्न लागेकोले रकम फिर्ता गर्न लागेको बताए । यसले आफ्नो सदस्यहरुको तथ्यांक संकलनमा पनि सहयोग गर्ने उनको भनाइ छ ।

२० औं अर्बको कम्पनीलाई पछाडि पार्याे नेष्डोले, पुरानाले ३ गुणा कमाउँदा नयाँ जोखिममा

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त ७ करोड ५१ लाख ३१ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भयो । र, धेरै कारोबार हुने ‘टप थ्री’ मा यो कम्पनी उक्लियो । २० अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका र एक खर्ब रुपैयाँ भन्दा बढी पुँजीकरण भएको नेपाल टेलिकम, ग्लाेवल आईएमई बैंक, नविल बैंक लगायत धेरै कम्पनीहरुलाई २५ करोड ५० लाख रुपैयाँ पुँजी भएको नेष्डोले कारोबारमा जित्यो । साढे २५ करोड रुपैयाँको कम्पनीको बजार पूँजीकरण ८ अर्ब २६ करोड रुपैयाँ छ । कारोबार मात्र बढेको छैन, मूल्यले पनि सगरमाथा चढ्दैछ । आईतबार अन्त्यमा यो कम्पनीको सेयर प्रतिकित्ता ३ हजार २४० रुपैयाँमा किनबेच भयो । यति धेरै मूल्य भएको कम्पनीको न इतिहास गज्जब छ र न भविष्य भव्य छ । गत असार ३१ गते कम्पनीको तेस्रो साधारणसभा भयो तर कम्पनीले सेयरधनीलाई नगद वा बोनस सेयर केही पनि दिएन । त्यस्तै यो लघुवित्त निकट भविष्यमा अर्को कुनै संस्थासँग मर्ज वा प्राप्तिमा जाने निर्णय गरेको छ । नेप्सेका अनुसार यस लघुवित्तको पहिलो सेयर कारोबार गत गत चैत १४ गते भएको हो । पहिलो दिनको अन्तिम सेयर कारोबार ७४७ रुपैयाँमा भएको थियो । भदौ ५ गते ३ हजार २४० रुपैयाँमा कारोबार बन्दा भयो । यस अवधिमा कम्पनीको सेयर मूल्य ३३४ प्रतिशतले वृद्धि भएको छ । पुराना लगानीकर्ताले छोटो अवधिमा ३ गुणा भन्दा बढी कमाउँदा नयाँ लगानीकर्ता भने जोखिममा पर्ने जानकारहरु बताउँछन् । यस लघुवित्तमा सर्वसाधारणको सेयर ८ लाख २८ हजार कित्ता मात्र भएकोले कर्नरिङमा परेको लगानीकर्ताको भनाई छ । लघुवित्तमा  संस्थागत संस्थापक शेयरधनीको २ वटा र व्यक्तिगत संस्थापक शेयरधनी ८१ जना छन् । कुश्मा नगरपालिका ६ पर्वतमा ठेगाना रहेको यस लघुवित्तले वि.सं. २०७५ फागुन २१ गतेदेखि कारोवार शुरुवात हो । लघुवित्तसँग राष्ट्रिय स्तरमा कारोबार गर्न अनुमति पत्र छ । आईपीओ बाडँफाँट गर्दा नेष्डो लघुवित्तका म्यानेजिङ डाइरेक्टर विश्व प्रकाश प्रसाईं ठकुरीले शतप्रतिशत लाभांश वितरण गर्ने दाबी गरेका थिए । तर असारमा साधारणसभा गर्दा कम्पनीले सेयरधनीलाई खाली हात घर फर्कायो । गत आर्थिक वर्षमा २२ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा जनाएएको छ । जहाँ कम्पनीको जगेडा कोषमा ६१ करोड रुपैयाँ भएको उल्लेख छ । नाफा र जगेडा कोष हेर्दा कम्पनीले आगामी वर्ष राम्रो प्रतिफल दिने सम्भावना रहेको जानकारहरु बताउँछन् । तर राष्ट्र बैंकले लघुवित्तमाथि बढाउँदै गरेकाे कसिलाे नीति र लघुवित्त प्रति सर्वसाधारणको बढ्दो असन्तुष्टिले लघुवित्तको सेयरमा उच्च मूल्य तिर्ने लगानीकर्ताहरु पनि उच्च जोखिममा रहेको बताइन्छ ।

सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताएका छन् । ज्ञानोदय माध्यामिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार्न सरकारले १० वर्षे अभियान सुरु गरेकाले साथ दिन आग्रह गरे । ‘दस वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौं,’ मन्त्री पौडेलले भने, ‘१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौं ।’ उनले शिक्षकहरूका सेवा सुविधामा समस्यालाई सम्बोधन गर्न मन्त्रालयले निजामती कर्मचारी सरहको सेवा सुविधा दिने गरी प्रक्रिया अघि बढेको जानकारी दिए । मन्त्री पौडेलले एक सय ४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेको र यसवर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोडिने बताए । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका लागिरहेको बताए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने उदाहरण ज्ञानोदय भएको बताए । नवर्निमित ३५ कोठे विद्यालयको भवन निर्माण तीन करोड ५० लाख रुपैयाँ लागतमा सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार काठमाडौं महानगरपालिकाको एक करोड, महायज्ञबाट ६७ लाख, बागमती प्रदेश सरकारबाट ९० लाख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट २९ लाख, प्रदेश सांसद विकास कोषबाट ५० लाख, जिल्ला शिक्षा, समन्वय एकाइबाट २१ लाख सहयोग प्राप्त भएको थियो । उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक सो विद्यालयमा हाल चार हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । रासस

तीन घण्टा बन्द हुँदै एनएमबी बैंकको एटीएम सेवा

काठमाडौं । एनएमबी बैंकको एटीएम सेवा तीन घण्टा अवरुद्ध हुने भएको छ । बैंकको उक्त सेवा भदौ ७ गते (मंगलबार) राती ११ बजेदेखि ३ घण्टाको लागि अस्थायी रुपमा बन्द हुन लागेको हो । बैंकले आफ्नो पेमेन्ट सिस्टममा डीआर ड्रील गर्ने प्रयोजनको लागि सो समयमा सेवा बन्द हुने जानकारी गराएको हो ।