विकासन्युज

घाम, धुलो, पानी र जाडोसँग ट्राफिक प्रहरीको सडक संर्घष (फोटोफिचर)

काठमाडौं । सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सझिलो र रमाइलो नै लाग्छ । तर, पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ । सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरीबतास, असिना र भूकम्पजस्ता विपद् समेत नभनी निरन्तर सडकमा खटिनु ट्राफिकका लागि कम चुनौतीपूर्ण भने छैन ।   अर्कोतर्फ ट्राफिक प्रहरीको चुनौती सार्वजनिक शौचालयको अभाव, हुरी बतास र भूकम्पको धक्का समेत टुलुटुलु हेरेर बस्नु बाहेक अर्को विकल्प हुँदैन । सडकमा दुर्घटना हुँदा सवारी हटाउने,बिग्रेका गाडी ठेल्ने, डिभाइटर राख्ने झिक्ने, डोरी मिलाउने, सडकमा वर्षे भेल जमेपछि ढल खोल्ने,आन्दोलनकारीले सडकमा फ्याँकेका ढुंगा हटाउनेजस्ता धेरै काम तिनै ट्राफिक प्रहरीले गर्नुपर्ने बाध्यता छ । सडकको धुलो धुवाँका कारण कपडा चाँडै फोहोर हुन्छ । सडकमा उभिँदा दुर्घटनामा परेर कतिपय ट्राफिक घाइते समेत हुन्छन् । सडक नै ओगट्ने गरी ठडिएका बिजुलीका खम्बा, तलसम्म लतारिएका बिजुलीका तार, टेलिफोन र केबुलका तार । मनलागी बाटो काटिरहेका पैदलयात्री, लेन र जेब्रा क्रसिङ मेटिएका सडक चोक र ग्राबेल सडकमा उडिरेहेको धुलो, त्यही बीच चोकमा उभिएर हात हल्लाइरहेका ट्राफिक प्रहरीहरू । हेर्दा त राम्रै लाग्छ तर समस्या भने देखेको भन्दा पनि बढी छ । आफ्नो लेन क्रस गरेर सवारी हाँकिरहेका चालकहरुका कारण पनि कतिपय ट्राफिक व्यवस्थापनमा समस्या हुनेगर्छ । ट्राफिक लाइट भएका ठाउँमा पनि ट्राफिक प्रहरी अनिवार्य हुन्छन् । कतिपय ठाउँमा ट्राफिक लाइटसँगै ट्राफिकको इसारा पनि हुन्छ । यसले दोहोरो काम भइरहेको सहजै देख्न सकिन्छ, काठमाडौंका केही चोकहरुमा । कतिपय ठाउँमा भने ट्राफिक लाइट त हुन्छन् तर प्रयोगमा नआएका । जसका कारण पनि कही समस्या बढीरहेको देख्न सकिन्छ । आधारभुत ट्राफिक चिन्ह नहुँदा ट्राफिक व्यवस्थापनमा नै चुनौती बन्ने गरेको छ । न्युज एजेन्सी नेपाल ।

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

कास्की । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ । तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटक माझ पुर्याउँदै यसको प्रवद्र्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवद्र्धनलाई जोड दिएको वडा नं १ का वडा अध्यक्ष देवीजंग गुरुङले बताए। सिक्लेसबाट कफुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको उनले बताए। हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कफुचेसम्मका लागि अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको उनले बताए। उक्त क्षेत्रमा घोडचढी व्यवसाय सञ्चालन गर्न चाहनेले ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्न पाउँछन् । ‘गाउँपालिकाले अफ्नो नीति तथा कार्यक्रममा उक्त अनुदानको कार्यक्रमलाई समेटेको छ’, वडाध्यक्ष गुरुङले बताए, ‘यो सँगै स्थानीयको रोजगारी प्रवद्र्धन एवं सिक्लेस र कफुचेबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने छ ।’ अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको सो तालमा पुग्ने जो कोही त्यहाँको सुन्दर दृश्यबाट लोभिने गरेका छन् । लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको तालको नीलो कञ्चन पानी मनमोहक छ । पछिल्ला वर्षमा उक्त क्षेत्रमा स्वदेशी एवं विदेशी पर्यटकको आगमन वर्षेनी बढ्दै गएको छ । ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो आएर सो ताल बनेको अनुमान गरिन्छ । उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहेपनि अहिले भने छैनन् । कफुचे नामाकरण सम्बन्धमा स्थानीयको आफ्नै तर्क छ । स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ । स्थानीयका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो । पछिल्ला समयमा वर्षेनी बढ्दै गएको जलवायु परिर्वतको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासीको तर्क छ । स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्न सक्ने कफुचे हिमतालसम्म पुग्नका लागि बाटोलगायत पूर्वाधारलाई राज्यले प्राथमिकता दिनुपर्ने सिक्लेस–कफुचे मार्गस्थित हुँगुमा होटेल आइसफल चलाउँदै आएका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए। सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन् । हिड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ । आज भन्दा डेढ दशक अघिसम्म १०÷१५ वटासम्म भेडी गोठ रहेको हुँगुमा अहिले भने त्यस्ता गोठ छैनन् । तीन वर्ष अघिसम्म स्थानीय मेजा गुरुङले भेडी गोठ सञ्चालन गर्दै आए पनि उहाँले पनि तीन वर्षयता भेडी गोठ छोडेर होटेल व्यवसाय गर्न लागेका छन्। सिक्लेस हुँदै कफुचेसम्मको पदयात्रा प्रवद्र्धन गर्न सकेमा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्याउन सकिने बताउँदै गुरुङले पदयात्रा मार्गलाई भने व्यवस्थित गर्नु जरुरी रहेको बताए। कतिपय स्थानमा बाटो अप्ठ्यारो भएका कारण यसतर्फ राज्यले ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ । पोखराबाट छोटो दुरीमा रहेको कफुचे हिमतालसम्मको पदयात्रालाई प्रवद्र्धन गर्नु आवश्यक रहेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्म पन्थीले बताए । ‘जथाभाबी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू मासिँदै गएका अवस्थामा सिक्लेसदेखि कफुचेसम्मको पदमार्गलाई व्यवस्थित गरिनु आवश्यक छ,’ उनले भने, ‘छोटो दुरीमा रहेको यस हिमतालसम्मको पदमार्गलाई पर्यटन बजारमा चिनाउन सकेमा यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने देखिन्छ ।’

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर

दोधारा चाँदनी । कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार दूध र मासु अन्य जिल्लामा यहाँबाट निर्यात हुन थालेको छ । कञ्चनपुरमा सात हजार दुई सय ४५ मेट्रिक टन मासुको माग रहेकोमा सात हजार तीन सय ८८ मेट्रिक टन मासु उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु चिकित्सक खडकबहादुर पाण्डेयले बताए। उनका अनुसार एक सय ४३ मेट्रिक टन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ । कञ्चनपुरमा ४७ हजार एक सय पाँच मेट्रिक टन दूधको माग भएकोमा ७० हजार सात सय ६० मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । २३ हजार छ सय ५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ । ‘कञ्चनपुर दूध र मासु आत्मनिर्भर भइसकेको छ,’ पशुचिकित्सक पाण्डेयले भने ‘दोधारा चाँदनीको उत्पादन भारत जाने गरेको छ भने अन्य ठाउँको कैलाली जिल्ला जाने गरेको छ ।’ उनका अनुसार पछिल्लो समय किसानले व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध उत्पादन बढेको हो । ‘सरकारबाट पनि किसानले अनुदान पाउन थाले र व्यावसायिक रुपमा लागे,’ उनले भने, ‘अहिले किसानले घास खेती गर्न थालेका छन् यसकारण पनि दूध उत्पादन बढेको हो ।’ दोधारा चाँदनी भारतीय बजार नजिक भएकाले यहाँको दूध भारत जाने गरेको छ भने अन्य ठाउँको दूध कैलालीको डिडिसीले खरिद गर्ने गरेको उनले जानकारी दिए। माछा र अण्डा भने केही मात्रामा अन्य जिल्लाबाट ल्याउनुपरेको छ । पाँच हजार एक सय ७६ मेट्रिक टन माछाको माग रहेकोमा जिल्लामा एक हजार पाँच सय ७५ मेट्रिक टन मात्रै यहाँ उत्पादन हुने गरेको छ । कञ्चनपुरमा २४ हजार आठ सय ४६ मेट्रिक टन अण्डा खपत हुने गरेको तर जिल्लामा २० हजार मेट्रिक टन अण्डा मात्रै उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ । श्री उन्नत भैँसीपालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लालबहादुर पुनले दोधारा चाँदनीको दूध भारत र महेन्द्रनगर बजारमा बिक्री हुने गरेको जानकारी दिए। ‘भारतका व्यापारी दूध खरिदका लागि यही आउने गरेका छन केहीले महेन्द्रनगर बजारका डेरीमा लग्ने गरेका छन्,’ उनले भने, ‘गाईभैँसीपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान समूह बनाएर व्यावसायिक रुपमा लागेका छन् ।’ उनले ४१ जनाको समूह बनाएर अहिले भैँसीपालन गरिरहेको बताए। ‘प्रधानमन्त्री कृषि परियोजनाबाट ७० लाख अनुदान पायौँ । त्यसले भैँसीपालनमा सहज भएको छ,’ उनले भने, ‘हाम्रो समूहका अन्य ११ जनाले बाख्रापालन गरेका छन् ।’ उनका अनुसार दोधारा चाँदनीबाट मम, सेकुवाका लागि महेन्द्रनगर बजारमा खसीबोका लाने गरिन्छ । ‘यहाँ उत्पादन धेरै छ, खपत कम छ त्यसकारण किसान समस्यामा परेका छन्,’ उनले भने, ‘बेरोजगारीको समस्या आएपछि पछिल्लो समय सबै व्यावसायिक कृषिमा लागे ।’ व्यावसायिक रुपमा भैँसीपालनमा लागेका बेदकोट नगरपालिका–७ का गणेश भट्टले दूध उतपादन प्रशस्त हुने भए पनि यहाँ खपत कम हुने गरेको बताए । ‘हामीले यहाँका डेरी र केही गाउँघरमा दूध दिने गरेका छौँ’, उनले भने, ‘यहाँ प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेको छ ।’ मण्डी व्यवसायी समिति कञ्चनपुरका अध्यक्ष विशाल सुनारले यहाँ उत्पादन भएका बाख्रा, खसी काठमाडौँलगायत सहरमा जाने गरेको बताए। ‘बाहिरबाट आउने व्यवसायीले महँगोमा खरिद गरेर लग्छन् यहाँ सस्तोमा बिक्री हुन्छ’, उनले भने ‘यहाँ किसानले राम्रो मुल्य नपाउने भएपछि अन्यत्र बिक्री गर्ने गरेका छन् ।’ उनका अनुसार कुखुराको मासुमा कञ्चनपुर आत्मनिर्भर भए पनि ३० प्रतिशत अण्डा बाहिरबाट आउने गरेको छ ।

दाङको चमेरे गुफा सुनसान

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटस्थित पर्यटकीयस्थल चमेरे गुफा हिजोआज सुनसान छ । वर्षात्ले गर्दा गुफासम्ममा पुग्ने सडक बिग्रिएपछि त्यहाँ पर्यटकलाई पुग्न असहज हुने गरेको छ । मोटरसाइकल छिटफुटरुपमा जाने गरेको भए पनि गाडी जान सम्भव नहुँदा पनि पर्यटक आवतजावत गर्न समस्या हुने गरेको छ । दक्षिण एशियाकै दोस्रो ठूलो चमेरे गुफा भनेर दाबी गरिएको भए पनि त्यहाँसम्म पुग्ने सडक पक्की नहुँदा हरेक वर्ष वर्षात्मा त्यहाँ पर्यटक जाने गर्दैनन् । हिउँदका समयमा पर्यटकको घुइँचो लाग्ने गरेको त्यो स्थान हिजोआज सुनसान हुने गरेको गुफामा कार्यरत कर्मचारी सीताराम पुनले बताएका छन् । ‘हिउँदमा धेरै जना आउछन्, भिडभाड धेरै हुन्छ’, उनले भने, ‘तर हिजो आज त हप्तामा पाँच/सात जनाभन्दा बढी आउनसक्ने अवस्था छैन ।’ हिजो आज त्यहाँ पुग्नलाई निकै समस्या हुने गरेको आन्तरिक पर्यटक सुमित्रा आचार्यले बताए । ‘हामी आउँदा निकै सङ्घर्ष गर्नुप¥यो, सडकको बीचमा खाल्डाखुल्डी छन्’, उनले भने । चमेरे गुफा पुग्नलाई तुलसीपुर उपमहानगरपालिकाको वडा नं ३ को हर्नेटी हुँदै वडा नं ४ को केही भाग पर्छ । अधिकांश भाग वडा नं ३ मा पर्छ । यी दुवै वडाको समन्वयमा गुफासम्म पुग्ने सडक पक्की बनाउने विषयमा छलफल भइरहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए । ‘हामीले वडा नं ३ को वडाध्यक्षसँग पनि छलफल गरिरहेका छौँ’, उजले भने, ‘दुईवटै वडाको संयुक्त पहलमा सडक पक्की बनाउने काम हुन्छ ।’ अहिलेसम्म चमेरे गुफाको सडक तथा अन्य संरचनाका लागि प्रदेश सरकारले ६५ लाख रुपैयाँ सुजिता शाक्य फाउन्डेशनले १० लाख रुपैयाँ बजेट आएको छ । साथै चालु वर्षका लागि पर्सेनी हुँदै चमेरे गुफा पुग्नका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त गुफा २० वर्षअघि फेला परेको हो । ३० मिटर उचाइ, लम्बाइ १६ मिटर र चौडाइ सात मिटर रहेको छ भने तीन वटा तला रहेको छ । गुफामा एक हजार बढी मान्छे अट्ने आकारमा रहेको छ । गुफामा भएको पुरातत्वलाई अझै पनि पत्ता लगाउन सकिएको छैन । गुफामा एक हजार वर्ष पुराना अभिलेख फेला परेका छन् । गुफाभित्र परापूर्वककालका विभिन्न आकृति र स्तूप रहेका छन् । केही वर्षअघि स्थानीयको सक्रियतामा पहिलो पटक गुफाको चिरानीका लागि महोत्सव लगाइएको थियो । उक्त गुफा समुद्र सतहदेखि एक हजार दुई सय ३० मिटरको उचाइमा रहेको चमेरे गुफा एैतिहासिक, धार्मिक महत्व बोकेको स्थानीयले बताएका छन् । रासस

व्यापारीले बनाउन सुरु गरे अन्डरग्राउण्डमा पार्किङस्थल

काठमाडौं । व्यापारीहरुले अन्डरग्राउण्डमा रहेको पसलहरु हटाएर पार्किङ स्थल बनाउन थालेका छन् । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि व्यापारीहरुले अन्डरग्राउण्डमा पार्किङ स्थल बनाउन थालेका हुन् । यसक्रममा बानेश्वरमा रहेको यूएफओ ब्रान्डको पसल रहेको व्यवसायिक भवनले पार्किङ क्षेत्र बनाउन थालेको छ । उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ ।  

लघुवित्त र सहकारीमा समस्या : अर्थतन्त्रको संकट ‘ग्रासरुट’मा

काठमाडौं । केही दिनअघि मात्रै लघुवित्तको कर्जा तिर्नका लागि किड्नी बेचेरै भएपनि ऋण चुक्ता गर्न दबाब दिएको गुनासो बाँकेका महिलाहरुले गरे । ऋण तिर्न समय माग गर्दापनि लघुवित्तहरुले समय नदिएको र घरमै गएर धम्क्याउने गरेको आरोप उनीहरुको थियो । बाँकेको खजुरा गाउँपालिकाकी मिना बुढा क्षेत्रीलाई पहिले सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पारी कर्जा दिए पनि केही समयपछि भने तिर्नै नसकिने ब्याज लिएर दुःख दिएको गुनासो गरिन् । नेपालगञ्जकी मनिषा तामाङ पनि लघुवित्तले आफुमाथि बढी ब्याज लिएर ज्यादति गरेको बताइन् । ‘सावाँ र ब्याज तिर्ने समय ढिलो भयो भनेर घरबाट निकाल्न खोज्ने, किड्नी बेच, मरे हुन्छ, बीमा छ किन बाँच्ने जस्ता अव्यवहारिक लाञ्छना लगाएर धम्याए, घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरु केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्क्याउँछन्,’ उनले भनिन् । यस्तै, लघुवित्तले आफुलाई पीडा दिएको बताउने धना सुनारले लघुवित्तले गर्दा घरपरिवारको सम्बन्ध नै बिग्रिएको बताइन् । लघुवित्तको दबाबले दिनरात सताउने गरेको उनले दुखेसो पोखिन् । घरमा ऋण माग्न आउने बित्तिकै भैंसी लैजान्छौं, कहिले घरमा ताल्चा लगाउने जस्तो धम्की दिइरहेकोले मनमा अनेक सोच पैदा भइरहेको उनको भनाइ छ । उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भएपनि लघुवित्तहरुले दिनदिनै दबाब दिँदा समस्या उत्पन्न भएको धारणा राखिन् । लघुवित्तमा मात्रै होइन अहिले यस्तै समस्या सहकारी संस्थाहरुमा पनि देखिएको छ । अहिले बचतकर्ताले राखेको ऋण फिर्ता नदिने अवस्थामा सहकारी पुगेका छन् भने कर्जा प्रवाह गरेका ग्राहकलाई ऋण फिर्ता गर्न निरन्तर दबाब दिइरहेका छन् । केही दिन अघि देउराली बहुउदेश्यीय सहकारीसंस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले राष्ट्रिय आर्थिक अवस्था संकटपूर्ण रहेकोले केही समयमा नै सबैको निक्षेप साँवा ब्याज सहित फिर्ता गर्ने बताएका थिए । संस्थाले लगानी गरेको रकम नउठेका कारण समस्या देखिएको उनको भनाइ थियो । यस्तै, काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गर्न नसकेकर बचतकर्ता सडकमा समेत उत्रिएका थिए भने काठमाडौंको शाँखुमा रहेको जन्म बचत तथा ऋण सहकारी संस्थाले आफ्ना बचतकर्तालाई पाँच दिनभित्र बचत फिर्ता लिन नआए रकम गायब गर्ने सूचना निकालेको थियो । अहिल विभिन्न ठाउँमा रहेका सहकारी संस्थाहरुका बचतकर्ताहरु बचत फिर्ता नपाइएर विरोध गरिरहेका छन् भने सञ्चालकहरु पैसा संकलनको चटारोमा लागेका छन् । सुनसरीको भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । साना संस्थाहरुमा समस्या सिर्जना भएपछि अहिले अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव साना संस्था र सर्वसाधारणमा परेको बुझाइ धेरैको छ । अर्थतन्त्रका विभिन्न सूचकहरुमा गिरावट आएपछि नेपालको अर्थतन्त्र संकटमा पर्न सक्ने आँकलन गरिरहेको भएपनि अहिले त्यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणमा परेको अर्थविदहरुको पनि भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा सुधारको संकेत देखा परेपनि नेपाली बजारमा भने झनै नाजुक अवस्थामा पुगेको अर्थविदहरु बताउँछन् । पछिल्ला समयमा लघुवित्त वित्तीय संस्था र सहकारी क्षेत्रमा देखिएको समस्याले आर्थिक संकटको संकेत देखा परेको उनीहरु बताउँछन् । लघुवित्त र सहकारी संस्थामा देखिएको बेथितिका कारण ग्रासरुट (सर्वसाधारण) मा समस्यामा देखिएको अर्थविदहरुको बुझाइ छ । तरलता सकंट बैंकिङ्ग क्षेत्रमा मात्रै सीमित नरहेर आम सर्वसाधारणमा समते परेको देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण तल्लो तहमा समस्या उत्पन्न भएको बताए । तल्लो तहमा समस्या देखिन थालेपछि अर्थतन्त्र संकटमा पुगिसकेको उनको बुझाइ छ । ‘सबै कुरा तरलतासँग जोडिएको छ, विकास बैंकदेखि सहकारीहरुमा समस्यामा देखिनु भनेको ग्रास रुट (तल्लो तह) मा समस्या भएको हो, अन्य विभिन्न कारणले यस्तो समस्या आएको हो, यो राम्रो संकेत पक्कै पनि होइन, तल्लो तहमा समस्या देखिन थालेपछि अर्थतन्त्र संकटमा परेको हो,’ उनले भने । यस्तै, अर्थविद्ध डा.गोविन्द नेपालले आर्थिक संकटोन्मुख भनिरहे पनि तरलताको समस्या लामो समयसम्म रहिरहेका कारण यस्तो समस्या आएको बताउँछन् । निक्षेप संकलन भन्दा कर्जा विस्तारमा आक्रामक बन्दा समस्या उत्पन्न भएको उनको धारणा छ । ‘यसअघि तरलता समस्या सिजनल हो भन्थ्यौं तर, यसपटक लामो समयसम्म रह्यो, डिपोजिटमा भन्दा आक्रामक रुपमा कर्जा लगानी बढाए,’ उनले भने, ‘पैसा बाहिर देखिने तर फेरि बैंकमा आउने ठाउँमा गएन, त्यो पैसा जहाँ गएपनि जम्ने समस्या देखियो, पैसा बैंकमा ल्याउँदैनन्, औपचारिकभन्दा पनि अनौपचारिक रुपमा पैसाको कारोबार भइरहेको छ ।’ सहकारी र लघुवित्त संस्थाले ऋण दिँदा र लिँदा ख्याल गर्नुपर्ने उनको धारणा छ । ऋण प्रवाह गरेपछि नियम संगत ढंगबाट असुल गर्नुपर्ने उनले बताए । कोरोना महामारी कम भएपनि संकट समाधान नरहेको उनको भनाइ छ । ‘गलत प्रक्रियाबाट ऋण असुल गर्नु भएन, आतंकित गर्ने तरिकाले ऋण असुल गर्नु हन्न, महामारी सकिए पनि मानिसको आम्दानी सीमित छन्, सबैको खर्च गर्ने क्षमता बढ्न सकेको छैन, हिजो हामी जति धनी थियौं आजका दिनमा त्यति नै गरिब भइसको छौं,’ अर्थविद् नेपालले भने । आर्थिक गतिविधि चलायनमान नहुँदा आम्दानीको स्रोत पनि घट्ने उनको धारणा छ । तल्लो तहमा आर्थिक क्रियाकलाप कम भएकाले समस्या आएको उनले बताए । ‘आर्थिक गतिविधि र व्यवसाय चलायमान भएनन्, सर्वसाधारण जनताको खपत गर्ने क्षमता कम भयो, हिजो ३ वटा दुध खानुपर्नेमा आजका दिनमा एउटा दुधमा सीमित भए, किनभने उसको आम्दानी स्रोत कम भयो, त्यो कारण ब्याज तिर्न र घरधन्दा चलाउन गाह्रो छ,’ उनले भने, ‘रोजगारीको अवसर कम, कम बजेट खर्च, आएको बजेट पनि दुरुपयोग हुँदा जनतामा पुग्नु पर्ने रकम पुग्न सकेको छैन ।’ माथिल्लो तहमा संकट भनिरहँदा तल्लो तहमा समस्या नै देखिन थालेको उनले बताए । सर्वसाधारण जनतामा पैसा नै नभएपछि उसको व्यवसाय सञ्चालन हुन नसकेको उनको बुझाइ छ । ‘जनतासँग पैसा छैन, उसको व्यवसाय राम्रोसँग सञ्चालन हुन नसक्दा सानो धक्का पनि खेप्न सक्दैन, एक किसिमको अनिश्चितताको स्थिति छ, जसले संकटतर्फ देखा पर्याे,’ अर्थविद् नेपालले भने, ‘मारमा निम्न र निम्नमध्यम वर्ग परे, निम्न वर्गलाई सोझै हातमुख जोड्ने समस्या भयो, निम्न मध्यम वर्गीयलाई सामाजिक स्टाटस मेन्टेन गर्न गाह्रो भयो, निम्न मध्यम वर्गबाट न्यून आयमा झर्दै छन्, संकटेन्मुख अर्थतन्त्र संकट तिर गइरहेको छ ।’ विजय लघुवित्तका सीईओ बसन्त लम्सालले लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्याले आर्थिक संकटको बाछिटा मात्रै भएकाले सबैतिर समस्या देखिने बताए । कोरोना महामारीको समस्या देखिन थालेको उनको भनाइ छ । हाल ब्यक्ति र संस्थालाई मसस्या देखिएकाले गाह्रो अवस्था आएको उनले बताए । ‘यो समस्या ब्यक्ति र संस्थालाई देखिएको हो, एउटा संस्थाले दबाब दिएर पैसा उठायो भने विद्रोह गर्छन्, पैसा नउठाउने हो भने संस्थाको खराब कर्जा बढेर संस्था घाटामा जान्छ, ऋण नवीकरण गर्याे भने किन नवीकरण गरेको भनेर राष्ट्र बैंकले स्पष्टिकरण सोध्छ,’ उनले भने, ‘कोभिडको समयमा राष्ट्र बैंकले दिएको सहुलियत टाइट भयो, एउटा संस्थालाई समस्या पर्नुभनेको त्यसका क्लाइन्टलाई पनि समस्या पर्नु हो ।’ अर्थविद् डिल्लीराज खनालले लघुवित्त र सहकारी संस्थामा एकपछि अर्काे स्क्याण्डलले अर्थतन्त्र संकटमा पार्न मलजल गरेको बताए । लघुवित्त तथा सहरकारी संस्थाहरुले ऋण दिएको रकम गलत ढंगले खर्च गरेका कारण यस्तो समस्या आएको उनको भनाइ छ । ‘आर्थिक संकट यसैपनि छ, आम्दानीको स्रोत नभएपछि संकटको एउटा बाटोबाट महासंकटतर्फ लगेको हो, ब्याजदर उच्च, निक्षेपमा ओरालो लाग्नु लगायतकासबै सूचकले अर्थतन्त्र संकटमा गएको संकेत गर्छ,’ उनले भने । सरकारको प्राथमकितामा अर्थतन्त्र सम्बन्धी मुद्धा कहिले पनि नपरेको गुनासो उनको छ । समानान्तर अर्थतन्त्र, ब्ल्याक मनि, ब्ल्याक मेलिङ, माफिया तन्त्र मात्रै सरकारको प्राथमिकतामा पर्ने गरेको उनको धारणा छ । लघुवित्त तथा सहकारी संस्थाहरुले विकास बैंकको भन्दा ब्यापार बढाएको नियमन गर्नुपर्ने उनले बताए । लघुवित्त संस्थाहरुले निक्षेप कुन स्रोतबाट ल्याएर कुन बाटोबाट लगानी गर्छन् भनेर निरिक्षण गर्नु पर्ने उनको माग छ ।

भदौ १२ गते सार्वजनिक विदा

गोदावरी । कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक विदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको विदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो । यसअघि २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको विदा भदौ १९ गते दिने निर्णय गरेको थियो । प्रदेश सरकारको मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सो विदा दिने निर्णय गरेको हो । आइतबारका दिन कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत विष्णुदत्त अवस्थीले बताए । तिथिमिति अनुसार अटवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो । प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।

अन्न भण्डारका रूपमा चिनिने कञ्चनपुरमा बर्सेनि घट्दै खेतीयोग्य जमिन

कञ्चनपुर । अन्न भण्डारका रूपमा चिनिने कञ्चनपुरमा पछिल्लो समय खेतीयोग्य जमिन घट्दै गएको छ । उत्पादनका हिसाबले महेन्द्रनगर, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास र दोधारा–चाँदनी उर्वर भूमिका रूपमा रहेको छ । तर पछिल्ला केही वर्षयता यही उर्वर भूमिमा धमाधम घर बनिरहेका छन् । बजार क्षेत्रको खेतीयोग्य जमिनमा धमाधम घर बन्ने क्रम बढिरहेको छ भने अन्य केही क्षेत्रमा नदीको बर्र्सेनि कटानले गर्दा जमिन मासिदै गएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार सात सय ४१ हेक्टर रहेको छ । जसमध्ये ५६ हजार छ सय दुई हेक्टर अर्थात् ३५ प्रतिशत जमिनमा खेती हुने गरेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले जानकारी दिए । कञ्चनपुरमा बर्सेनि पाँचदेखि १० प्रतिशतले खेतीयोग्य जमिन घट्दै गएको बताए। ‘हरेक वर्ष पाँच/दश प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको छ यो बसाइँसराइका कारणले हो’, उनले भने, ‘धेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ, केही ठाउँमा नदी कटानले पनि घटेको छ ।’ जिल्लामा सबैभन्दा बढी बेलौरी नगरपालिकामा १० हजार एक सय ९६ हेक्टरमा खेती हुने गरेको जोशीले बताए। पुर्नवास नगरपालिकामा सात हजार आठ सय ५८ हेक्टर, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकामा छ हजार पाँच सय हेक्टर र भीमदत्त नगरपालिकामा सात हजार सात सय ८८ हेक्टरमा खेती भइरहेकोे छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा छ हजार तीन सय, दोधारा चाँदनी नगरपालिकामा तीन हजार छ सय, बेल्डाँडी गाउँपालिकामा तीन हजार तीन सय र लालझाडी गाउँपालिकामा चार हजार पाँच सय ६० हेक्टरमा खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘अन्न भण्डारमै हरेक वर्ष खेतीयोग्य जमिन घट्नु राम्रो होइन’, जोशीले भने, ‘सरकारले स्पष्ट नीति ल्याउन नसक्दा यो समस्या देखिएको हो ।’ विसं २०६४ मा बैतडीबाट महेन्द्रनगर बसाइँ सर्नुभएका विष्णु पन्तले पछिल्लो १० वर्षयता खेतीयोग्य जमिनमा तीव्ररूपमा बसोबास भएको बताउनुभयो । ‘पहिला बस्ती टाढा–टाढा थियो, महेन्द्रनगर बजार क्षेत्रमै घना बस्ती थिएन’, उनले भने, ‘एक दशकयता अत्यधिक सहरीकरण भयो, खेतीयोग्य जमिन कम हुँदै गयो ।’ विसं २०३२ मा बैतडीबाट महेन्द्रनगर बसाइँ सर्नुभएका बेदकोट नगरपालिका–७ का परमानन्द भट्टले पनि त्यो बेला यहाँ खेती किसानी बढी हुने गरेको बताए । ‘उतिबेला राजा महेन्द्रले पहाडी जिल्लामा उब्जनी भएन, भोकमरी हुन थाल्यो भनेर महेन्द्रनगरमा बस्ती बसाल्नु भएको हो’, उनले भने, ‘केही वर्ष अघिसम्म यहाँ प्रशस्त धान उत्पादन हुन्थ्यो, अहिले न राम्रो उत्पादन छ त खेत नै छ ।’ पहाडबाट तराई बसाइँ सर्ने क्रम बढेपछि यहाँ जनसङ्ख्या बढेको र कृषियोग्य जमिन घट्दै गएको उनले बताए । हरेक वर्ष खेतीयोग्य जमिन मासिदै जान थालेपछि सरकारले स्थानीय तहलाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रको जग्गा छुट्याउन निर्देशन दिइसकेको छ । केही दिनअघि मात्रै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मङ्सिर २३ गतेभित्र कम्तीमा कृषि क्षेत्र र गैरकृषि क्षेत्रको जग्गा छुट्याउन स्थानीय तहलाई निर्देशन दिएको छ । यसले गर्दा खेतीयोग्य जमिनको संरक्षण हुने कृषिविज्ञ बताउँछन् । नापी विभागले सात सय ५३ वटै स्थानीय तहको भूउपयोग नक्सा, सोको विद्युतीय अभिलेख तयार गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ । अहिले स्थानीय तहहरूले मन्त्रालयको सोही परिपत्रबमोजिम नगर परिषद्बाट निर्णय गर्न थालेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा मन्त्रालयबाट आएको परिपत्रअनुसार नगर परिषद्बाट पास गरेर निर्णय कार्यान्वयनका लागि अघि बढेको बताउनुहुन्छ । ‘कृषियोग्य जमिन संरक्षणका लागि यो एकदमै राम्रो हो’, उनले भने, ‘यसमा धेरै कुरा स्पष्ट छैन जसले गर्दा कम जग्गा भएका मार्कामा पर्न सक्छन् ।’ उनले नगरपालिकाभित्र कृषि क्षेत्र र गैरकृषि क्षेत्र छुट्याउने गरी काम अघि बढिरहेको बताए। शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले मन्त्रालयको परिपत्र कार्यपालिका बैठकमा राख्ने बताए । ‘मन्त्रालयको परिपत्र प्राप्त भएको छ, कार्यपालिका बैठक बस्दै छ बैठकबाट पास गरेर समिति बनाउँछौ’, उनले भने, ‘मन्त्रालयको परिपत्रबमोजिम समितिले काम अघि बढाउँछ ।’ रासस