गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन नपाइने
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो । नगरप्रमुख दीपक रिसालका अनुसार, ‘नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमासमेत क्षति पुग्ने गरी डोजर र स्काभेटर प्रयोग गर्ने गरेको जनगुनासो आएपछि यसको प्रयोगलाई नियन्त्रण गर्न नगरको अनुमतिको प्रक्रिया अगाडि बढाइएको हो ।’ मेसिनको प्रयोग गर्नुपरेमा वडाध्यक्ष तथा नगरप्रमुखको अनुमति लिएर गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ । अन्यथा प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
प्राधिकरणले भन्यो : महानगरलाई कर तिर्दैनौं, फनपार्कले बुझायो १९ लाख रुपैयाँ राजश्व
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरपालिकालाई कर नबुझाउने बताएको छ । विद्युत प्राधिकरण ऐनमा कुनै पनि स्थानीय कर नलाग्ने व्यवस्था भएका कारण महानगरलाई कर नतिर्ने प्राधिकरणले जनाएकाे हाे । विद्युत प्राधिकरण ऐनको अवलम्बन गरेका कारण हालसम्म महानगरपालिकालाई कर नबुझाएको नेपाल विद्युत प्राधिकरणका प्रशासनिक प्रमुख लोकहरी लुइँटेलले बताए । प्राधिकरणले कर नतिर्ने मनसाय बनाए पनि महानगरपालिकाले कर तिर्नको लागि ताकेता गर्दै आएको छ । ऐनमा नै स्थानीय कर नतिर्ने व्यवस्था भएपछि महानगरपालिकालाई कर तिर्नुपर्ने बाध्यता नरहेको प्राधिकरणले जानकारी दिएको छ । ‘ऐनमा स्थानीय कर नलाग्ने भनेर उल्लेख गरिएको छ, महानगरपालिका भने कर तिर्नु भनेर ताकेता गरिरहेको छ, हामीले उहाँहरूलाई ऐनमा छुटको व्यवस्था छ भनिरहेका छौं, कर तिर्नु पर्याे भने ऐनलाई संशोधन गर्नुपर्छ,’ उनले भने । प्राधिकरणले कर नबुझाउने भने पनि महानगरपालिकाले कर तिर्नुपर्ने बताउँदै आएको छ । काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले प्राधिकरणले स्थापना कालदेखि नै महानगरलाई सम्पत्ति विवरण नबुझाएको बताए । ‘प्राधिकरणले सम्पत्तिको विवरण दिनु पर्याे, उसको क्षेत्रको सम्पूर्ण विवरण आइसकेपछि बल्ल उसको सम्पत्ति कर निकाल्ने हो, त्यो निकाल्नको लागि महानगरलाई सम्पत्तिको विवरण बुझाउनु पर्ने हुन्छ, त्यसपछि उसले कति तिर्नु पर्छ भन्ने हामी हिसाब निकाल्छौं,’ उनले भने । फनपार्कले बुझायाे १९ लाख भृकुटीमण्डपस्थित ‘काठमाडौं फन पार्क प्रालि’ ले काठमाडौं महानगरपालिकालाई राजश्व बुझाएको छ । बिहीबार फनपार्क सञ्चालक समूह महानगर पुगेर करिब १९ लाख रुपैयाँ राजश्व बुझाएको हो । महानगरपाकालाई पार्कले मनोरञ्जन कर अन्तर्गत १८ लाख लाख रुपैयाँ बुझाएको अधिकारीले बताए । व्यवसाय कर पार्कले सम्बन्धित वडामा पुगरे तिरेको छ । विभागका प्रमुख अधिकारीका अनुसार पार्कले व्यवसाय कर अन्तर्गत डेढ लाख रुपैयाँ रकम वडालाई बुझाएको छ । हिजो अर्थात् बुधबार काठमाडौं महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको थियो । बहाल कर समाज कल्याणले तिर्नु पर्ने भएको उसैले तिर्ने अधिकारीले बताए । बहाल कर तिर्नको लागि काठमाडौं महानगरपालिकाले भोली १५ दिने सूचना निकालेर समाज कल्याणलाई बुझाउने पनि अधिकारीले बताए । बहाल करमा मासिक ५ लाख ५५ हजार रुपैयाँ छ । त्यसमा १० प्रतिशत महानगरपालिलाई बुझाउनु पर्ने हुन्छ । महानगरले हिजो बुधबार पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फन पार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी दिइएको थियो । अधिकारीका अनुसार ६/७ वर्ष देखि पार्कले महानगरले कर बुझाएका थिएन । सम्बन्धित सामग्री : बालेनको नजर कर नतिर्ने संस्थातर्फ, विद्युत प्राधिकरण र सञ्चय कोषसहित २५ संस्थाले करोडौं तिर्न बाँकी
जबरा भन्छन् : मेरै नेतृत्वमा करछलीका ठूला मुद्दाका फैसला भए
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा करछलीका ठूला मुद्दाका फैसला भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले यस्तो बताएका हुन् । उनले आफ्नो कार्यकालमा एनसेल, भाटभटेनीलगायतका ठूला करछलीका मुद्दामा फैसलाका साथै अर्बौंको करको सरकारीकरणसमेत भएको बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको बृहत् पूर्ण इजलासको फैसलाअनुसार ठूला करदाता कार्यालयले एनसेलको कर निर्धारण गरेको थियो ।
इच्छाराजविरुद्द साढे ४ अर्बको मुद्दा, श्रीमतीसँगै दुई छोरीहरु पनि ठगीमा संलग्न भएको आरोप
काठमाडौं । सभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङर उनका परिवारका सदस्यविरुद्द साढे ४ अर्ब रुपैयाँ ठगी सम्बन्धि मुदद दायर भएको छ । बिहीबार तामाङ र उनका परिवारविरुद्द सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानूनी सम्पत्ति तथा ठगीसम्बन्धी विशेष अदालतमा मुद्दा दायर गरेको हो । तामाङ विरुद्द ३ अर्ब ३१ करोड रुपैयाँ, उनकी श्रीमती सिर्जना शाक्य विरुद्द १ अर्ब ३ करोड र छोरीहरु प्रतिक्षाविरुद्ध ६ करोड ६६ लाख र प्रतिशाविरुद्ध १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति गैरकानूनी ढंगले आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो । तामाङ परिवारका सदस्यविरुद्धको कुल बिगो रकम ४ अर्ब ४२ करोड २२ लाख हुन आउँछ । यस्तै सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ विरुद्ध २६ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । सीआईबीले दुई महिना लगाएर अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सिभिल सहकारीका निक्षेपकर्ताको ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा सीआईबीले २०७८ साल असोज महिनामा तामाङलाई पक्राउ गरेको थियो । बिगत ३ वर्ष देखी आफुले वचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाई १५३० जना पीडितहरुले यस कार्यालयमा ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिई सोही जाहेरी दरखास्तको आधारमा अनुसन्धान सम्पन्न भई गत मंसिर १७ गतेमा उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ् सहित १२ जना प्रतिबादीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा तामाङ् र केशवलाल श्रेष्ठ पुपक्ष्र्याका लागि कारागारमा थुनामा छन् । तामाङकी श्रीमति सिर्जना शाक्य तामाङलाई पनि प्रहरीले गत साउन ३ गते पक्राउ गरेको थियो ।
काठमाडौं महानगरले विपद व्यवस्थापन विभागलाई गर्यो दमकल हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् । आज राष्ट्रिय सभा गृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै प्रमुख शाहले यस्तो बताएका हुन् । महानगरका पूर्वप्रमुृख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उनले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताए । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आव्हान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । नयाँ दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै, ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छन् । ३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक व्रेक सिस्टक (एबीयस) हुन् । ३ बर्ष वारेन्टी भएका दमकलहरुमा एवीसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा व्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भ¥याङ्, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण छन् । ८ मिटर लम्वाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् । घना बस्ती भएकाले काठमाडौं आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘विभागले सचेतनाका कार्यक्रममार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको छ ।’ नयाँ बाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन् । जुद्धबारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख चन्दन श्रेष्ठकाअनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन् । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् ।
बजार सामान्य घट्दा एनटिसीको सर्वाधिक कारोबार, हिमालयन एभरेष्टको सेयरमा सर्किट
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०८ अंकले घटेर १९७२.२९ अंकमा बन्द भएको छ । निरन्तर घटिरहेको सेयर बजार बिहीबार पनि सामान्य अंकले घटेको हो । यसअघि हिजो बुधबार दोहोरो अंकले घटेको नेप्से परिसूचक बिहीबार भने सामान्य अंकले घटेको हो । दिनभरिको उतारचढावका बीच बजार दोहोरो अंकले घटेको हो । बुधबार नेप्से परिसूचक २१.९७ अंकले घटेको थियो । यस्तै आज दिनभरिमा २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर २९ हजार १६२ पटक किनबेच हुँदा १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो बुधबार १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको थियो । बैंकिङ्ग समूह ०.१६ प्रतिशत, ट्रेडिङ समूह ०.३५ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.०७ प्रतिशत, अन्य समूह १.९२ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.१८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०६ प्रतिशत घटेको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ०.९४ प्रतिशत, विकास बैंक समूह ०.२१ प्रतिशत, निर्जीवन बीमा समूह ०.७९ प्रतिशत, जीवन बीमा समूह ०.५९ प्रतिशत, हाइड्रोपावर समूह ०.४६ प्रतिशत, फाइनान्स समूह १.३१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०४ प्रतिशतले बढेको छ । बुधबार नेपाल टेलिकमको सेयर कारोबार सर्वाधिक १२ करोड २७ लाख ५ हजार ६५६ रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ लाख ५४ हजार ७८१ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्से ओरालो लागेपनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत, अपर हेवीखोलाको ६.५८ प्रतिशत र महुली लघुवित्तको सेयर मूल्य ५.८४ प्रतिशत बढेको छ ।
महानगरले बन्द गरायो त्रिपुरेश्वरको डिजिटल होर्डिङ बोर्ड
काठमाडौं । काठमाडौं महानगरपलिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिना अनुमति होर्डिङ बोर्ड राखेको पाएपछि महानगरपालिकाले वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो । महानगरको अनुसार स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्न पाइनेमा उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ । महानगरले काठमाडौंको अन्य स्थानबाट पनि मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन जनाएको छ । महानगरले हाल नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको छ ।
बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया सुरु
रुपन्देही । बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि सम्झौता भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो । सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुनःनिर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाउने उनले बताए । कोषको ९० प्रतिशत लगानी र उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुने गरी बुटवलमा बहुतले पार्किङ तयार हुने उनको भनाइ छ । परामर्शदाता कम्पनीले चार महिनाभित्र बहुतले पार्किङको ‘डिजाइन स्टिमेट’ र बोलपत्र ‘डकुमेन्ट’समेतको काम गर्ने सहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए । बुटवलमा बढ्दो सहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने उपमहानगरपालिका प्रमुख पाण्डेयले बताए । उनले भने, ‘बुटवलमा बहुतले पार्किङ भवन आवश्यक भएकाले संयुक्त लगानीमा भवन निर्माण हुने छ ।’