अब कोकाकोला जेरो सुगर ग्लास बोटलमा
काठमाडौं । कोकाकोला नेपालले कोकाकोला जेरो सुगर आरजिबी (रिटर्नेबल ग्लास बोटल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोकाकोलाको स्वादको रिफ्रेस्मेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ । फेरि प्रयोग गर्न मिल्ने भएकाले यी आरजिबी बोटलहरू वातावरणमैत्री त छन् नै, यसको ग्लास प्याकेजिङले कोकाकोलालाई लामो समयसम्म रेफ्रेस बनाइ राख्छ । कोकाकोला जेरो सुगर आरजिबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँमा २५० मिलिको ग्लास बोतलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
विरगंजमा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम
काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले विरगंजमा पनि सह–वितरण सोरुम संचालनमा ल्याएको छ । सोरुम समुद्धघाटन डिशहोमका तर्फबाट जेनरल सेल्स म्यानेजर रमेश सापकोटा ,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर मनोज घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका शुभम ट्रेडर्सलेले अब डिशहोम फाईबरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ । ५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको शुभम ट्रेडर्सले अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने संचालक चन्दन रौनियारले जानकारी बताए ।
विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका हजुरबुवा भइसके
अत्तरिया । विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसकेका छन् । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन । आफ्नो बालापन सम्झिँदै उनी भन्छन्, ‘विसं २०३७ मा पश्चिमसेती चर्चामा आएको हो, हामी त्यतिबेला दिपायल स्कुलमा पढ्थ्यौँ । अहिले विसं २०७९ लागिसकेको छ, तर परियोजना बन्न सकेको छैन । अहिले भने यसबारेको चर्चा फेरि सुरु भएको छ, त्यसैले आश भने मरेको छैन ।’ उनले आक्रोश पोख्दै भने, ‘यो बीचमा दुईजना प्रधानमन्त्री सुदूरपश्चिमकै भइसकेका छन् तर कसैले पनि यो परियोजनालाई पूर्णता दिन सकेनन् । तर अब भने यो परियोजना बन्ला कि भन्ने आशा पलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अहिलेको पहलमा अब भने परियोजना अघि बढ्ने भएको छ । आशाको दियो बलेको जस्तो भएको छ ।’ पश्चिमसेती बन्ने भएपछि फेरि झिनो आशा पलाएको आर्दश गाउँपालिकाका ७५ वर्षीय गणेश ओझा पनि बताउँछन् । उहनी पनि चार दशकअघिदेखि कुरा मात्र भएको तर अहिले भने काम नै हुने हो कि भन्ने आशा जागेको बताए । सम्भाव्यता अध्ययनमै बित्यो चार दशक सन् १९८१ मा पहिलोपटक पश्चिमसेती आयोजना चर्चामा आयो । त्यतिबेला फ्रान्सको एक सोग्रेह नामक कम्पनीले बैतडीको ढुङ्गाड भन्ने स्थानदेखि आठ किलोमिटरमाथि बाँधरहित आयोजना निर्माण गरी ३७ मेगावाट विद्युत् उत्पादन हुनसक्ने सम्भावना देखेपछि परियोजनाबारे चर्चा परिचर्चा सुरु भयो । त्यसपछि सोग्रेहले सम्भाव्यता अध्ययनलाई निरन्तरता दियो । सन् १९८७ बाट पुनः सम्भाव्यता अध्ययन थालेको सोग्रेहले सन् १९९१ मा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक ग¥यो । अध्ययन प्रतिवेदनले बैतडीको ढुङ्गाडमा बाँध निर्माण गरी तीन सय ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखायो । तर आयोजना निर्माणका लागि नेपाल सरकारले फ्रान्सको सोग्रेह नामक कम्पनीलाई अनुमति दिएन । त्यसपछि केही समय सेलाएको आयोजनाको सन् १९९४ मा अष्ट्रेलियाको स्मेक नामक कम्पनीले अध्ययन अघि बढायो । स्मेकको अध्ययनमा पनि एक सय ९५ मिटर उचाइको कङ्क्रिट बाँध निर्माण गरी २५.१ किलोमिटर लामो जलाशय बनाउने, नदीको मार्ग परिवर्तन गरी ६.७ किलोमिटर लामो हेडरेस सुरुङमार्फत पानी निकासा गर्ने गरी सात सय ५० मेगावाट विद्युत् उत्पादन हुने देखाइयो । त्यसपछि उत्साहका साथ अध्ययनमा जुटेको उक्त कम्पनीले पनि सन् २०१२ सम्म लगातार अध्ययनमात्रै ग¥यो । अष्ट्रेलियाको कम्पनीले काम गर्न नसकेपछि सन् २००३ अक्टोबर ३ मा भारतको पावर ट्रेडिङ कर्पोरेशन अफ इन्डियासंँग सम्झौता भयो । तर सो कम्पनीले पनि काम गर्न नसकेपछि अन्ततः सरकारले विसं २०६८ मा उक्त कम्पनीसँगको समझदारी खारेज ग¥यो । त्यसपछि चिनियाँ कम्पनी थ्री गर्जेजसँग कुल लगानीको ७५ प्रतिशत थ्री गर्जेजको र बाँकी २५ प्रतिशत नेपाल सरकारको हुने गरी विसं २०६८ फागुनमा उक्त आयोजना निर्माणका लागि सरकारले सम्झौता ग¥यो । त्यसपछि थप अध्ययनमा जुटेको थ्री–गर्जेजले २०७४ मा पाँच सय ५० मेगावाट उत्पादन गर्न उपयुक्त हुने तर बढीमा छ सय मेगावाटसम्म उत्पादन गर्न सकिने भन्ने निष्कर्ष निकाल्यो । तर सरकारले आयोजनाको उत्पादन क्षमता घटाउन नमानेपछि आयोजनाको काम प्रभावित बन्यो । त्यसको केही समयपछि छ सय २० मेगावाट विद्युत् उत्पादन हुने गरी परियोजना निर्माण गर्न नेपाल सरकारले गरेको आग्रह पनि थ्री–गर्जेजले अस्वीकार ग¥यो । विदेशी कम्पनीले हात झिकेपछि नेपाल सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने घोषणा गरेको छ । परियोजना निर्माणका लागि बजेट विनियोजन भए पनि काम कहिलेबाट सुरु हुने भन्ने टुङ्गो छैन । सुदूरका जनतामा निराशा पश्चिमसेती बन्ने चर्चा भएको ४२ वर्ष बित्दा पनि आयोजना निर्माणको कामसम्म सुरु हुनसकेको छैन । पाँच वर्षमै निर्माणकार्य पूरा गर्ने, उत्पादित विद्युत् भारतलाई बिक्री गर्ने र ३० वर्षसम्म आफैँ अपरेट गर्ने अनि नेपाल सरकारलाई हस्तान्तरण गर्नेलगायतका विदेशी कम्पनीहरूसँग विभिन्न सम्झौता भए पनि त्यसको ४२ वर्ष बित्दा पनि काम सुरु भएको छैन । पश्चिमसेती आयोजना बन्ने चर्चासँगै आशाको दियो बालेका नागरिकहरू अहिले निराश बन्न थालेका छन् । आश्वासनमै सीमित परियोजना सरकारले ३१ वर्षअघि औपचारिकरूपमा सम्बोधन गरेको राष्ट्रिय गौरवको पश्चिमसेतीको निर्माणकार्य अझै अगाडि बढ्न सकेको छैन । हरेक निर्वाचनमा मुख्य नाराका रूपमा उठाइने पश्चिमसेती आयोजना आशैआशमा बितेको छ । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र चीनको थ्री गर्जेज इन्टरनेशनल कम्पनीले सात सय ५० मेगावाटको पश्चिमसेती जलविद्युत् परियोजना संयुक्त लगानीमा बनाउने सम्झौता गरेपछि यस क्षेत्रका जनतामा आशा जागेको थियो । लगानी बोर्डले स्वीकृति दिएको सम्झौतामा हस्ताक्षर भएपछि यस क्षेत्रमा काम हुने आशा पलाएको छ तर काम अगाडि बढ्न भने सकेको देखिँदैन । करिब रु एक खर्ब ६० अर्ब लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने भएकाले पनि यसलाई विभिन्न राजनीतिक दलले वर्षौँदेखि प्रतिष्ठाको विषय बनाएका छन् । पञ्चायतकालदेखि नै चर्चामा रहेको देशकै ठूलो परियोजनाले मूर्तरूप पाए यस क्षेत्रको मात्र नभई देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ । विकासमा अवरोध पश्चिमसेती बन्ने आसपासका क्षेत्र डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा चार र पाँच, बैतडीको सिगास गाउँपालिका, डोटीको आदर्श गाउँपालिका र बझाङका केही गाउँमा अहिलेसम्म विकास हुन सकिरहेको छैन । चार दशकअघिदेखि चर्चामा रहेको पश्चिमसेती बन्ने आशाको दीप भने निभ्न पाएको छैन । सात सय ५० मेगावाटको पश्चिमसेती परियोजना अहिलेसम्म बन्ने छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दर्जनौँ गाउँमा विकास निर्माणका काम हुन सकेका छैनन् । गाउँमा विकास नहुँदा निकै सकस हुन थालेको स्थानीयवासीको गुनासो छ । आदर्श गाउँपालिकाका स्थानीय कुवेर खड्का भन्छन्, ‘पश्चिमसेती आयोजना बन्ने चर्चाले गाउँमा अन्य विकास हुन सकिरहेको छैन । परियोजनालाई अब चाँडोभन्दा चाँडो अघि बढाउनुको विकल्प छैन ।’ परियोजना बन्ने हल्लाले बाटो, खाने पानी, सिँचाइ, शिक्षाजस्ता आधारभूत आवश्यकताबाट समेत स्थानीयवासी बञ्चित हुनुपरेको डोटी आदर्श गाउँपालिकाका उत्तम खड्काको भनाइ छ । जनता भन्छन्– ‘भोट बैंकका रूपमा अब प्रयोग नहोस्’ परियोजना निर्माण गर्न तीन दशकअघि सम्भाव्यता अध्ययन भएर विश्राम पाएको समयमा सरकारले फेरि अर्कै चाइना कम्पनीसँग गरेको सम्झौताले स्थानीयवासीलाई उत्साहित बनाए पनि वर्ष दिन नपुग्दै त्यो आशा पनि सेलाएको थियो । करिब एक खर्ब ६० अर्ब लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने भएकाले पनि यसलाई विभिन्न राजनीतिक दलले वर्षौँदेखि प्रतिष्ठाको विषय बनाएका छन् । यहाँका स्थानीय गाउँलेले पनि पश्चिमसेतीलाई राजनीतिक दलका नेताहरूले भोट बैंकका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । प्रत्येक चुनावमा पश्चिमसेती मुख्य प्रतिवद्धताका साथ उठ्ने गरेको छ । प्रत्येक नेता प्रत्येक राजनीतिक दलहरूले चुनावका बेला पश्चिमसेती बनाउने प्रतिवद्धता जनाउँदै भोट माग्ने गरेको आर्दश गाउँपालिकाका स्थानीय खड्काको भनाइ छ । ‘यो परियोजनाबारे आश्वासन देखाउने काम मात्रै भएको छ, कसैले काम गर्न सकेका छैनन् । अब परियोजनाको अध्ययनमै सीमितभन्दा पनि कामले गति लिनुपर्दछ’, उनले भने । उनीजस्तै यहाँका स्थानीय अब यो परियोजना भोट बैंकका रुपमा प्रयोग नहोस् भन्ने चाहेका छन् । पश्चिमसेती जलविद्युत् आयोजना अध्ययनका लागि भारतीय कम्पनीसँग सम्झौता पश्चिमसेती जलविद्युत् आयोजना र ‘सेती– ६’ को सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपालले र भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशील भट्ट र एनएचपिसीका अध्यक्ष अभयकुमार सिंहले हस्ताक्षर गरेका थिए । यही भदौ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सो सम्झौता भयो । सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी लगानी बोर्डमा प्रतिवेदन पेश गर्नुपर्ने सम्झौतामा लेखिएको छ । जसमा परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष समेटिएको हुनुपर्छ । पत्रअनुसार प्रस्तावकले पश्चिमसेती जलविद्युत् परियोजना सर्वेक्षण अनुमतिपत्रका लागि हस्ताक्षर भएको मितिले ४५ दिनभित्र आवेदन गर्नुपर्नेछ । सेती–६ परियोजनाका लागि छ महिनाभित्र आवेदन गर्नुपर्नेछ । त्यस्तै परियोजनाको अनुमानित लागत, बजार सुनिश्चितता, वित्तीय स्रोत सुनिश्चिततालगायत विषय प्रतिवेदनमा समेटिएको हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । भारतीय कम्पनी एनएचपिसीले हालसम्म सात हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन हुने जलविद्युत आयोजना निर्माण गरिसकेको बताएको छ । आफ्नो जिम्मेवारी समयमै सक्ने प्रतिबद्धता कम्पनीले गरेको छ । सरकारले सार्वजनिक निजी साझेदारी अवधारणाका आधारमा सो आयोजना अगाडि बढाउन भारतीय कम्पनी एनएचपिसीलाई जिम्मा दिएको हो । रासस
कारवाहीमा पर्ने डरले काठमाडाैं फनपार्कले तिर्यो १९ लाख रुपैयाँ कर
काठमाडौं । भृकुटीमण्डपस्थित ‘काठमाडौं फन पार्क प्रालि’ ले काठमाडौं महानगरपालिकालाई राजश्व बुझाएको छ । बिहीबार फनपार्क सञ्चालक समूह महानगर पुगेर करिब १९ लाख रुपैयाँ राजश्व बुझाएको हो । महानगरपाकालाई पार्कले मनोरञ्जन कर अन्तर्गत १८ लाख लाख रुपैयाँ बुझाएको काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले बताए । व्यवसाय कर पार्कले सम्बन्धित वडामा पुगरे तिरेको छ । विभागका प्रमुख अधिकारीका अनुसार पार्कले व्यवसाय कर अन्तर्गत डेढ लाख रुपैयाँ रकम वडालाई बुझाएको छ । हिजो अर्थात् बुधबार काठमाडौं महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको थियो । बहाल कर समाज कल्याणले तिर्नु पर्ने भएको उसैले तिर्ने अधिकारीले बताए । बहाल कर तिर्नको लागि काठमाडौं महानगरपालिकाले भोली १५ दिने सूचना निकालेर समाज कल्याणलाई बुझाउने पनि अधिकारीले बताए । बहाल करमा मासिक ५ लाख ५५ हजार रुपैयाँ छ । त्यसमा १० प्रतिशत महानगरपालिलाई बुझाउनु पर्ने हुन्छ । महानगरले हिजो बुधबार पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फन पार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी दिइएको थियो । अधिकारीका अनुसार ६/७ वर्ष देखि पार्कले महानगरले कर बुझाएका थिएन ।
उच्च रक्तचापका बिरामी दिनप्रतिदिन बढ्दै
काठमाडौं । यहाँ नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा पछिल्लो एक वर्षको अवधिमा नसर्ने रोगमध्ये पहिलो सूचीमा रहेका उच्च रक्तचापका १४ हजार चार सय २० बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्वस्थकर खानपान, सहरीकरण, गरिबी, शारीरिक निष्क्रियता, सूर्तिजन्य तथा मरिदाजन्य पदार्थको सेवनका कारण नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेढाईँले बताए । उनका अनुसार जिल्लास्थित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्याङ्कानुसार जिल्लामा नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या अधिक रहेको पाइएको हो । यस्तै दोस्रो सूचीमा दीर्घ श्वासप्रश्वासका बिरामी रहेका छन् । पछिल्लो एक वर्षमा दीर्घ श्वासप्रश्वासका छ हजार सात सय ९१ बिरामीको उपचार भएको छ । यसैगरी नसर्ने रोगअन्र्तगतको अन्य मुटुरोगसँग सम्बन्धितका पाँच हजार ८०, मधुमेहका दुई हजार छ सय ५९, एन्जाइटी चिन्ता÷डरका एक हजार दुई सय २२, डिप्रेशन दिक्दारीका सात सय ९६, दीर्घ मादक पदार्थ तथा ड्रग्स सेवनका पाँच सय ७३ बिरामीको उपचार भएको जनाइएको छ । यसैगरी जिल्लामा मुटुको बाथ रोगका चार सय १०, मानसिक रोगसँग सम्बन्धित न्यूरोसिसका दुई सय ७७, मानसिक असन्तुलनका दुई ६६, कडा खालको मानसिक रोगका दुई सय १३ जनाको उपचार गरिएको हो । यस्तै एक वर्षको अवधिमा जिल्लामा मुटुसम्बन्धीका विभिन्न रोगका २६ हजार दुई सय ५७ र मानसिक रोगसँग सम्बन्धित विभिन्न रोगका तीन हजार नौ सय ८३ बिरामीको उपचार भएको जनाइएको छ । सहरीकरणका कारण मानिसको खानपान, रहनसहनमा परिवर्तन आएसँगै शारीरिक व्यायाम नगर्दा पछिल्लो समय नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको अनुसन्धानले देखाएको सेढाईँले बताए । ‘नसर्ने रोगका बिरामीअन्तर्गत पनि मुटुरोगसँगै पछिल्लो समय जिल्लामा मानसिक रोगीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको पाइयो’, उनले भने । सेढाईँका अनुसार जिल्लाका विभिन्न अस्पताल तथा निजी स्वास्थ्य संस्थामा उपचार गरेका सबै बिरामीको तथ्याङ्क सूचना प्रणालीमा प्रविष्ट नभएको हुनसक्ने भएकाले जिल्ला बाहिर तथा जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या क्रमशः उक्त प्रणालीमा ल्याइने बताए । यसैबीच कार्यालयले जिल्लाका सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि नसर्ने रोगको चरणबद्धरूपमा आधारभूत तालिम सञ्चालन गरेको छ । यससम्बन्धी हालसम्म करिब एक सय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको तथा बाँकीलाई पनि दिइने कार्यालयले जनाएको छ । तालिमका लागि विश्व स्वास्थ्य सङ्गठन, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतले सहयोग गरिरहेका छन् । कार्यालयले जिल्लास्थित स्वास्थ्य संस्थामा स्तरअनुसारका नसर्ने रोगको औषधिको उपलब्धता, रगत जाँच, पिसाब परीक्षण, मधुमेह, प्रोटिन जाँच गराउने उपकरण उपलब्ध गराउँदै आएको छ । रासस
फर्निचर तथा फर्निसिङ एक्स्पोको आन्तरिक तयारी पुरा
काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को आन्तरिक तयारी पुरा भएको छ । एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आन्तरिक तयारी पुरा भएको जानकारी दिएको हो । संघले आन्तरिक तयारी पुरा गरी भौतिक तयारी सुरु गर्न लागेको बताएको छ । संघले एक्स्पोमा नेपाल सहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपुर्ण भुमिका खेल्ने बताए । ‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने छ,’ अध्यक्ष जोशीले भने । भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् । संघका महासचिव अर्जुन घिमिरेका अनुसार ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा छ । एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश नि:शुल्क गरिएको उनले बताए । प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएकाले स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले मेलामा शीर्ष प्रायोजन गरेको बताए । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला ‘फर्नेक्स नेपाल’ को आयोजना गर्दै आएको छ ।
झिङ्गेदाउ’ फिल्म भदौ १७ गतेदेखि प्रदर्शनीमा आउने
काठमाडौं । चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ भने हिँउवाला गौतम, प्रतिक्षा शाह, सङ्गम भण्डारी, आर्यन खड्का, आशा भुषाल, अभयराज बराल, विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । घरपरिवारमा दाजुभाइबीच हुने प्रेम, झैँझगडा तथा विवादलाई चलचित्रको विषयवस्तु बनाइएको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माले जेठानी–देउरानीको भूमिका देख्न सकिन्छ । कार्यक्रममा कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, कलाकार दिपाश्री निरौला, दीपकराज गिरी, मिथिला शर्मा, उत्तम केसी, अभिनेत्री स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कलाकारको उपस्थिति थियो । चलचित्र हेरेपश्चात कलाकारले अभिनेत्री हिँउवाला गौतमको अभिनयलाई निकै तारिफ गरेका थिए । ‘ चलचित्रमा नायकको भूमिका नै नायिकाले गरेकि छिन्’, कलाकार मिथिला शर्माले भनिन्। त्यसो भनिरहँदा अभिनेत्री गौतम निकै भावुक हुनुभएको थियो । ‘चलचित्र हेरेर हाँस्दाहाँस्दै सबैको आँखा रसाएको पत्तै नहुने रहेछ’, कलाकार शर्माले भनिन् । त्यस्तै निर्देशक तथा कलाकार निरौलाले चलचित्रको कथावस्तु मौलिक र अग्र्यानिक रहेको बताएका छन् । निर्माताका रूपमा सुलभ प्रतीक देउजा, समीक्षा देउजा रहेका यस चलचित्रमा साहित्यकार भिमनिधि तिवारीको कथा कृतिमा आधारित कथावस्तु रहेको छ । कपनगडी सिनेमा र फिल्मक्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शकले निकै मन पराएका थिए । रासस
गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन नपाइने
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो । नगरप्रमुख दीपक रिसालका अनुसार, ‘नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमासमेत क्षति पुग्ने गरी डोजर र स्काभेटर प्रयोग गर्ने गरेको जनगुनासो आएपछि यसको प्रयोगलाई नियन्त्रण गर्न नगरको अनुमतिको प्रक्रिया अगाडि बढाइएको हो ।’ मेसिनको प्रयोग गर्नुपरेमा वडाध्यक्ष तथा नगरप्रमुखको अनुमति लिएर गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ । अन्यथा प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।