भोजपुरको ऐतिहासिक टक्सार बजारको अस्तित्व मेटिँदै
भोजपुर । एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् । टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ८५ वर्षीय हरि ताम्राकारले बताए । विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन सरकारले १८७० सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसहितका पूर्वी पहाडमा खनिज पदार्थ उत्खनन् गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो । अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको ताम्राकार बताउनुहुन्छ । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो । टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्री निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले सातवटामा सीमित छन् । विसं १८७२ मा यही बजारबाट तामाको डोली पैसाका नामले प्रख्यात टक छापिने गरेको थियो । अहिले यस्तो ऐतिहासिकस्थल सुनसान छ । लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान छ । बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाका बताउँछन् । इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत यो रहेको पाइन्छ । माझकिरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए । ‘सम्पदा समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्’, ताम्राकारले भने, ‘यहाँका बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको छ ।” हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दूरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुनसकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उनले बताए । ‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थलसमेत छ । ‘टक्सार बजारका धातु उद्योगलाई ब्युँताएर यसको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो छ’, स्थायीय कुमार श्रेष्ठले भने। यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्रमात्रै होइन, विदेशमा समेत निर्यात हुने गर्छन् । अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन् । ‘धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो’, उनले भने। बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ बताउछन् । ‘टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो’, उनले भने। यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र गरिँदै
बाग्लुङ । चालु आर्थिक वर्ष २०७९/८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान गरिएको हो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्र गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र वलेवा विमानस्थलबाट मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरिएको छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार चालु आवमै सडक कालोपत्रका लागि पूर्वाधारको काम थाल्ने जानकारी दिए। ‘गत फागुनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेसँगै अहिले करिडोरको हर्मिचौरबाट मालढुङ्गासम्मको सडकखण्ड कालोपत्रका लागि ठेक्का गरिएको हो ।’ उनले भने, ‘नेपाली सेनाले ट्रयाकसँगै आठ मिटर चौडा पारेर सडक विभागलाई हस्तान्तरण गरेको थियो, कुन स्थानमा अहिले समस्या छ, त्यहाँ सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माणसहित सडक कालोपत्रका लागि बजेट विनियोजन भएर ठेक्कामा गएको हो, चालु आवमै छनोट भएको निर्माण कम्पनीले सडकको पूर्वाधार निर्माण थाल्ने छ । गुल्मीको हर्मिचौरबाट बागलुङको पालुङखोला–टाकुरी हुँदै मालढुङ्गासम्मको सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का खोलिएको हो । करिडोरअन्तर्गतको मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किमी सडक १० मिटर चौडा बनाइ सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरेको थियो । सडक विभागलाई हस्तान्तरण गरेको साढे दुई वर्षपछि उक्त सडक कालोपत्रको तयारी गरिँदै छ । यस्तै बलेवा विमानस्थलबाट टाकुरी–पालुङखोला–हर्मीचौरसम्मको सडक २०७८ असारमा करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ महिनापछि ठेक्का खोलिएको हो । भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कका रूपमा स्थापित हुने सो करिडोरको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ । त्रिदेशीय सडकका रूपमा रहेको कालीगण्डकी करिडोरले छिमेकी भारत र चीनलाई जोडेको छ । मालढुङ्गाबाट गुल्मी रिडीसम्मको खण्डमा सेनाले २०७० सालदेखि काम गरेर सडक हस्तान्तरण गरेको छ । विसं २०७० असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्रयाक खोलेको थियो । सबै सडकखण्डको ट्रयाक खुलेपछि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडकमा नाली र कालोपत्रको काम बाँकी छ । अत्यधिक पहिरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो ।
६ रुपैयाँले बढ्यो डिजेल र मट्टितेलको मूल्य, निगम अझै मासिक ६१ करोड घाटामा
काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १८१, हवाई इन्धन ९आन्तरिक० को रु १९०, हवाई इन्धन ९बाह्य०को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ । मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपश्चात् पनि एक महिनामा रु ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । आइओसीलाई २१ अर्ब तिर्न बाँकी पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब रु २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ । आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई रु सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत रु तीन अर्ब ऋण लिएको थियो ।
नेपाल राष्ट्र बैंकमा अधिकृत तृतीयदेखि सहायक द्वितीय सम्मको पदमा जागिर खुल्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले भदौ १७ गतेदेखि अनलाइन फारम भर्न आह्वान गर्दै आवेदन खुलाएको हो । विज्ञापनमा दरखास्त दिने म्याद २०७९ असोज ६ गतेसम्म रहेको सूचनामा उल्लेख गरिएको छ । दरखास्त आह्वान गरिएका पदहरुमा सहायक निर्देशक प्रशासनतर्फ १८ जना, सहायक निर्देशक प्राविधिकतर्फ १ जना, सहायक द्वितीय प्रशासनतर्फ २४ जना रहेका छन् । हेर्नुहोस् सूचना :
मुथुट फिनकर्प र आइएमईबीच सम्झौता
काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्पका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका हुन् । इण्डियामा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । यस अवसरमा बोल्दै मुथुट फिनकर्पका सीईओ साजी वर्गीसले आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले इण्डियामा आइएमईको पहुँच विस्तार भएको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने धारणा राखे । यस अवसरमा बोल्दै आइएमईका गौतम नैथानीले मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो-नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिने बताउँदै ग्राहकहरूले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्नेछन् । यो साझेदारीले आफ्नो मेहनतको कमाइ नेपालका परिवारहरूलाई घर फर्काउनको लागि भरपर्दो र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछ । नेपाली आप्रवासीहरूले मुथुट फिनकर्पको ३६०० भन्दा बढी शाखाहरूमध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन् । नेपालको लागि, विप्रेषण आप्रवाह सन् २००२ देखि बढेको छ र हाल आप्रवाह हुँदै आएको रेमिटेन्सले नेपालको राष्ट्रिय ग्राहस्थ उत्पादनको औषतमा लगभग २३ प्रतिशत योगदान गर्दछ । नेपालले पाएको कुल रेमिट्यान्सको १५ प्रतिशत भारतबाट आएको अनुमान छ । हरेक वर्ष धेरै नेपालीहरू मौसमी बसाइँसराइ, पार्टटाइम जागिर र सरकारी जागिरलगायत विभिन्न पेशाका लागि भारत जाने गर्छन् । आइएमई सन् २००१ देखि रेमिटेन्स व्यवसायमा लागिरहेको छ । यो सुविधाबाट ५० लाख नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
एक लाख राशीको ‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गर्ने भएका हुन् । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्नेछ । यो वर्षको ‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ भदौ ३१ गते नाफिज वार्षिकोत्सवको विशेष समारोहमा ५०-५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ । दुई संस्थाले भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्नेतर्फ प्रयासरत रहने पनि बताएका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिन बैंक तथा वित्तीय संस्थामात्र नभएर समस्त अर्थतन्त्रको हितमा काम गर्न स्थापना भएको जानकारी दिए । उनले सिबिफिन नाफिज बैंकिङ पत्रकारिता पुरस्कारको घोषणासँगै आर्थिक पत्रकारलाई आर्थिक घटनाक्रम तथा विषयवस्तुलाई सबल, निष्पक्ष, खोजमुलक, प्रभावकारी तथा तार्किक निचोड दिन हौसला मिल्ने दाबी गरे । गोल्यानले नाफिजसँगको सहकार्यलाई भविष्यमा अझै मजबुद बनाउँदै पुरस्कारलाई निरन्तरता दिन अक्षय कोष खडा गर्न सकिने आशा व्यक्त गरे । सो अवसरमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमुलक पत्रकारिता प्रबद्र्धन गर्न पुरस्कारले ठूलो भुमिका खेल्ने उल्लेख गरे । अर्थतन्त्रमा मिडियाको भुमिका निजी क्षेत्रको प्रबद्र्धन सँगै लगानीको वातावरण बनाउँदै आर्थिक वृद्धिमा टेवा दिने भएको जिकिर गर्दै उनले समाचारको गुणस्तर र पत्रकारहरुको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारले महत्वपूर्ण खेल्ने बताए ।
सनराइज बैंकले पायो ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्ड
काठमाडौं । सनराइज बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले नयाँ र ग्राहक उपयोगी, सेवा र सुविधा प्रदान गर्दै आएको बैंकलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगानाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो । बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटवर्कभित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो । नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तीको पैसा तिर्ने सुविधा समेत बैंकले दिँदै आएको छ । यसका साथै समय साप्रेक्षरुपमा प्रविधियुक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ जस्मा कार्डलेस विथड्र, ट्याप एण्ड पे, आफ्नै फोटो राख्ने डेबिट कार्ड, मिस्डकल रिचार्ज, अनलाइन खाता खाल्ने आदि हुन् । हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाख भन्दा बढी भिसा कार्डहरू जारी गरेको छ । बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर एउटै शोरुममा पाइने
काठमाडौं । एसजी गु्रप अन्तर्गत नेपालमा बिक्री भइरहेको मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर एउटै शोरुमबाट खरिद गर्न सकिने भएको छ । ग्राहकहरुले डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी ५ सेग्मेन्टका दुई पाङ्ग्रे साधन एकैसाथ विभिन्न शोरुमबाट पाइने भएको हो । यसका साथै बिक्रीपछिको सेवा पनि हाल कायम रहेको सर्भिस सेन्टरलाई अफग्रेड गरी सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । जसले गर्दा ग्राहकलाई पार्ट्स तथा सर्भिसिङ र मेन्टीनेन्समा सहज हुने कम्पनीको विश्वास छ । ग्राहकले काठमाडौंको नक्साल, बालाजु, मित्रपार्क, टेकु, ललितपुरको धोबिघाट तथा भक्तपुरको सल्लाघारी स्थित शोरुमहरुमा गई उक्त दुवै ब्राण्डको अवलोकन तथा टेष्ट राइड गरी खरीद गर्न सक्नेछन् । साथै, कम्पनीले ग्राहकमुखी वातावरण कायम राखी उक्त उद्देश्यलाई साकार बनाउन आफ्ना शोरुमहरुमा यही भदौ १९ गतेबाट उपत्यका व्यापी शोरुम टेष्ट राइड कार्यक्रमको शुरुवात गर्दैछ । जहाँ ग्राहकले टेष्ट राइड गरी उपहार जित्नुको साथै विभिन्न गेममा सहभागी भई थप उत्साहित माहोलमा अन्य उपहार पनि जित्न सक्नेछन् ।