विकासन्युज

नेपाल वेयरहाउजिङ्ग कम्पनीले सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

काठमाडाैं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधरणकाे लागि सेयर जारी गर्ने भएकाे छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि जारी गर्ने लागेकाे छ । कम्पनीले यसकाे लागि निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र  कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले हस्ताक्षर गरेका छन् । नेपाल वेयरहाउजिङ्ग कम्पनी नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित भएकाे संस्था हाे ।  

काठमाडौंको नयाँबजारमा सामसुङ स्मार्ट प्लाजाकाे नयाँ शाखा

काठमाडौं । हिम इलेक्ट्रोनिक्सले काठमाडौंको नयाँबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिय-नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक समेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई पनि अपग्रेड गर्दै देशकै उत्कृष्ठ बनाएको छ । उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँच वटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् । सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामाग्रीहरू बिक्री गर्दछ ।

सरकारले साना उद्योगका लागि प्रविधी विकास गर्न आविष्कार केन्द्रलाई ४० लाख दिने

काठमाडाैं । लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्दबीच १२ बुँदै सम्झाैता भएकाे छ । शुक्रबार उद्याेगमन्त्री दिलेन्द्र प्रसाद बडुकाे उपस्थितीमा लघु, घरेलु तथा साना उद्योगको लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि सहयोग आदान प्रदान गर्ने उनीहरुबीच सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान तथा विकासका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ । जसअनुरुप आविष्कार केन्द्रले अध्ययन, अनुसन्धान र विकासको प्रगति नियमित रुपमा साना उद्योग प्रर्वद्धन केन्द्रलाई जानकारी गराउनेछ । यस्ताे छ सम्झाैता  १। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रले संयुक्त प्रयासमा लघु, घरेलु तथा साना उद्योगको लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको क्षेत्रमा सहयोग आदान प्रदान गर्नेछन् । २। दुवै पक्षले प्रविधिको अध्ययन, अनुसन्धान र विकास गर्ने सन्दर्भमा सूचना, प्राविधिक सहयोग र विज्ञताको आदान प्रदान गर्नेछन् । ३। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रबाट प्रविधिको अध्ययन, अनुसन्धान तथा नवप्रवर्तन र विकासका लागि प्रोत्साहन गर्न यस आ.व.०७९/८० मा राष्ट्रिय आविष्कार केन्द्रलाई चालिस लाख रुपैया सम्झौता बमोजिम खर्च हुने गरी अनुदान रकम उपलब्ध गराईनेछ । ४. राष्ट्रिय आविष्कार केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान र विकासको प्रगति नियमित रुपमा लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रलाई जानकारी गराउनेछ । ५. राष्टिय आविष्कार केन्द्रबाट विकास भएको प्रविधिको गुणस्तर परीक्षण, बजारीकरण र प्रदर्शन गर्न दबै पक्ष आवश्यक समन्वय र सहयोग गर्नेछन् । ६. राष्ट्रिय आविष्कार केन्द्रबाट विकास हुने प्रविधिको प्रचारप्रसार र उपयोगको सम्बन्धमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, प्रर्दशनी जस्ता प्रवर्द्धनात्मक कार्यक्रम संयुक्त रुपमा गरिनेछ । ७. नेपालमा स्थापित लघु, घरेलु तथा साना उद्योगलाई राष्ट्रिय आविष्कार केन्द्रबाट विकास हुने प्रविधि प्रयोग गर्न संयुक्त रुपमा प्रयास गरिनेछ । ८. लघ, घरेलु तथा साना उद्योगलाई आवश्यक पर्ने यस्ता प्रविधिको अध्ययन, अनुसन्धान तथा आविष्कार गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिनेछ । ९. नेपालमा परम्परागत रुपमा प्रयोग हुँदै आएका रैथाने प्रविधिहरुको पहिचान, अभिलेखीकरण र अद्यावधिक तथा परिमार्जन गर्न सहकार्य गरिनेछ । १०. राष्टिय आविष्कार केन्द्रले प्रविधि विकासको क्षेत्रमा नीति निर्माण कार्यमा पृष्ठपोषण उपलब्ध गराउन सक्नेछ । ११. यो समझदारी पत्र २०८० साल असार मसान्तसम्म बहाल रहनेछ । दुवै पक्षको आपसी सहमतिमा यो समझदारी पत्रको अवधि थप गर्न सकिनेछ । १२. यस समझदारी पत्रमा उल्लेख गरिएका बुँदाहरुको तदारुकताका साथ कार्यान्वयन गर्न गराउन दवै पक्षको एकरएक जना सम्पर्क व्यक्ति तोकिनेछ ।  

कोरोना महामारीपछि नेपाल–थाइल्याण्ड बीच सम्बन्ध विस्तार

काठमाडौं । विश्वव्यापी कोरोना सङ्क्रमणपछि विकसित विश्व परिवेशमा नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई नयाँ ढङ्गबाट थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सरकार र जनस्तरबाट पहल थालनी भएको छ । नेपाल र थाइल्याडबीच ३० नोभेम्बर १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना हुनुअघिदेखि रहँदै आएको मैत्री सम्बन्धले आपसी सद्भाव, विश्वास र सहयोगका क्षेत्रलाई बढाउँदै लगेको छ । नेपालप्रति थाइल्याण्डको राजपरिवार, सरकार र जनताको उच्च सम्मान रहेको पाइन्छ भने नेपालले पनि थाइल्याण्डलाई जहिले पनि एक असल मित्र राष्ट्रकारुपमा मात्र नहेरी विपद्को समयमा मानवीय सहयोग गर्ने हितैसी राष्ट्रका रुपमा लिने गरिन्छ । कोभिडका समयमा जतिबेला नेपालमा अक्सिजनको अभावका कारण धेरैले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो, त्यतिबेला अक्सिजन कन्टिनेटरलगायत विशेष जहाज चार्टड गरी थाइल्याण्डले विभिन्न स्वास्थ्य सामग्री पठाइएको थियो । त्यस्तै भूकम्पका बेलामा पनि थाई सरकार र जनताले खुल्ला ह्दयले गरेको सहयोग कसैले बिर्सन सक्दैन । विश्वव्यापी महामारीले दुई मित्रराष्ट्र नेपाल र थाइल्याण्डबीचको पर्यटन आदानप्रदानलाई प्रवद्र्धन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सबै सरोकारवालालाई पर्यटन र लगानीका क्षेत्रमा पुनःरुत्थान तथा दिगो विकासका लागि हातेमालो गरेर अगाडि बढ्न नयाँ सम्भावनाको उजागर पनि गरेको छ । नेपालमा अहिले नै विभिन्न थाइ कम्पनीले पर्यटन, प्रविधिलगायतका क्षेत्रमा लगानी गरिरहेका छन् । संस्कृति, खानपिन, रहनसहनले पनि नेपाल थाइल्याण्डबीचको द्विपक्षीय दौत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको छ । थाइल्याण्ड र नेपालमा हात जोडेर अभिवादन गर्ने समान परम्परा रहेको छ । थाइल्याण्ड नेपालको शैक्षिक गन्तव्यस्थल पनि हो । सन् १९६० मा एआइटीको स्थापना भएदेखि नेपाली विद्यार्थी छात्रवृत्तिमा यहाँ पढ्न आउने गरेका छन् । यहाँ रहेका नेपालीमध्ये झण्डै ४० प्रतिशत विद्यार्थी नै छन् । थाइल्याण्ड र नेपालबीचको सम्बन्धलाई कसिलो बनाउने मुख्य आधार भनेकै पर्यटन हो । नेपालले खासगरी सांस्कृतिक र साहसिक पर्यटनका क्षेत्रमा बढीभन्दा बढी थाई पर्यटकलाई भित्र्याउनसक्ने सम्भावना छ । थाइल्याण्ड नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० देशमध्ये पर्दछ । सन् २०१९ मा ४१ हजार ६५३ जना थाई पर्यटकले नेपाल भ्रमण गरेका थिए । भिजिट नेपाल २०२० को निकै राम्रो प्रचार भएको थियो तर कोराना सङ्क्रमणले गर्दा परिणाम आउन सकेन । सन् २०२० को पहिलो तीन महिनामै २० हजारले नेपाल भ्रमण गरिसकेका थिए । यो सङ्ख्या एक लाख पुग्न गाह्रो थिएन । अहिले पनि हामीले निरन्तर प्रयास गरिरहेका छौँ । दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरका सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिन आवश्यक छ । तीर्थयात्री र अन्य आगन्तुकका लागि बौद्ध धर्मका आध्यात्मिक पक्षको सारको आनन्द लिनका लागि लुम्बिनी पर्यटकीय र सांस्कृतिक केन्द्रका रूपमा केन्द्रित विकासको एक थलो पनि हुन सक्छ । आज विश्वका झण्डै ९७ प्रतिशत बौद्ध जनसङ्ख्या एशियाली महादेशमा बसोबास गर्दछन् । भूटान, कम्बोडिया, जापान, म्यानमार, नेपाल, श्रीलङ्का, थाइल्याण्ड, आदि जस्ता धेरै देशले बुद्ध धर्मलाई आफ्नो राष्ट्रिय मूल्य र पहिचानको अन्तर्निहित मान्छन् । थाइल्याण्डका लागि नेपाली राजदूतले सिङ्गापुर, लाओस, भियतनाम, कम्बोडियासमेत हेर्नुपर्ने हुँदा ती देशका खासगरी बौद्ध धर्मावलम्बीलाई लक्षित गरी कूटनीतिक माध्यमबाट पर्यटन प्रवद्र्धनमा जोड दिने काम भएको छ । लुम्बिनी र पोखरालाई धार्मिक र साहसिक पर्यटकका रुपमा विकास गर्न सकिने सम्भावना छ । यी दुवै ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका छन् । गौतमबुद्ध विमानस्थल निर्माण भइसकेपछि हामीले यहाँबाट धेरै पर्यटक भित्र्याउन सक्छौँ । थाइल्याण्ड र भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिन्छ । स्माइल थाई एयरलाइन्ससँग थप उडानका लागि कुराकानी भएको छ । उसले चासो दिएको पनि छ । यसले व्यापारिक हिसाबले अध्ययन गरिरहेको होला । सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सञ्चालन गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको छ भने नेपाल वायुसेवा निगमले पनि उडान भरेको छ । थाइल्याण्डबाट आउने र नेपालबाट थाइल्याण्ड जाने पर्यटकको सङ्ख्या बढिरहेका सन्दर्भमा आपसी सहकार्य गर्नसके दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने देखिन्छ । थाइल्याण्डलाई लुम्बिनीसँग जोड्न सकिएमा यो हाम्रा लागि ठूलो उपलब्धि हुनेछ । थाइल्याण्डका अधिकांश जनता बौद्धमार्गी भएकाले तिनलाई लक्षित गरी उडान गर्न सकिएमा एक÷दुई वर्षभित्र पर्यटकको सङ्ख्या बढाउन कुनै समस्या नहोला । बुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक करिब तीन हजार थाई पर्यटकले भ्रमण गर्ने गरेका छन् । पर्यटकलाई बुद्धबारे जान्ने बुझ्ने र बसाई अवधि लम्ब्याउन पनि सहयोग पुग्नेछ । लुम्बिनीसँगै कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको अवधारणाअनुरुप बुद्धसँग जोडिएका अन्य स्थानमा समेत थाइ पर्यटकलाई लैजाने गरी ती क्षेत्रको विकासमा ध्यान दिनसकेमा नेपालले थाइल्याण्डले जत्तिकै पर्यटनबाट लाभ लिन सक्छ । नेपाल गौतमबुद्धको जन्मस्थल रहेको र थाइल्याण्ड बौद्धमार्गी देश भएकाले नेपाल थाइल्याण्डको लागि धार्मिक पर्यटनको मुख्य गन्तव्यस्थल बन्न सक्छ । त्यसैले गौतमबुद्धको जन्मभूमि लुम्बिनी थाइल्याण्डका नागरिकका लागि प्रमुख तीर्थस्थल हो भन्ने कुरा प्रचारप्रसार गराउन जरुरी छ । पोखरा पनि अर्को गन्तव्यस्थल बन्न सक्छ । थाइल्याण्डका कतिपय युवा साहसिक पर्यटनका पारखी भएकाले उनीहरुलाई पोखरासँग जोड्न सकिन्छ । प्याकेज टुरमा जोड दिनुपर्छ । थाइल्याण्डका जनता समूहमा भ्रमण गर्न रुचाउँछन् । नेपालका सांस्कृतिक सम्पदा हेर्न जान खोज्ने पर्यटक पनि यहाँ उत्तिकै रहेका छन् । नब्बे प्रतिशत बौद्ध धर्मावलम्बी जनसङ्ख्या रहेको थाइल्याण्डका जनताले बुद्धको पूजा गर्दासमेत ब्राह्मणबाट गणेश, शिव र विष्णुको पूजा गर्ने चलन रहेको पाइन्छ । थाइल्याण्ड र नेपालबीचको राजनीति एवं जनस्तरको सम्बन्ध मजबुत छ तर व्यापारिक सम्बन्ध भने अझै विस्तार हुन सकेको छैन । दुई देशबीच व्यापार घाटा उच्च रहेको छ । नेपालबाट यहाँ आयात निकै न्यून छ तर निर्यात बढी भएकाले बर्सेनि व्यापार घाटा बढ्दो छ । आसिआनका राष्ट्रबीच खुला व्यापार सम्झौता भएका कारण नेपाली उत्पादनले यहाँ प्रतिस्पर्धा गर्न गाह्रो छ । नेपालले चियामा केही निर्यात गर्न सक्छ । यहाँ कफीको माग उच्च रहे पनि हामीले निर्यात गर्न अहिले नै सक्ने अवस्था छैन । थाइल्याण्ड व्यापारिक केन्द्र पनि हो । यसका लागि नेपाली व्यापारी पनि विभिन्न तहमा सम्पर्क र सम्बन्ध विस्तार गर्दै हुनुहुन्छ । हामीले यसका लागि सहजीकरण गरिदिएका छौँ । दुई देशको सम्बन्धलाई अझ सुमधुर बनाउनका लागि कृषि, पर्यटन, व्यपार तथा पूर्वाधारमा सँगै मिलेर काम गर्न सकिने प्रशस्त सम्भावना छ । लगानीमैत्री वातावरणसँगै सरल एवं सहज कानूनी प्रक्रियाबाटै विदेशी लगानी आकर्षित हुने भएकाले त्यस दिशामा हामीले ध्यान दिनु जरुरी छ । पर्यटनसँगै कृषि प्रविधि, प्रविधि हस्तान्तरणका माध्यमबाट थाइल्याण्डले नेपालको सामाजिक–आर्थिक उन्नयनमा सहयोग गर्दै आएको छ । त्यसैले हामीले पर्यटन र लगानीमा जोड दिनुपर्छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानअन्तर्गत पाटा नेपालले विदेशी स्रोत बजारमा गएर पहिलो पर्यटन प्रर्वद्धन कार्यक्रम आयोजना गरेको थियो । हालै गैरआवासीय नेपाली सङ्घको एशिया प्रशान्त क्षेत्रीय भेला पनि बैंककमा सम्पन्न भएको छ । यस्ता कार्यक्रमले पनि नेपालकाबारेमा थाइल्याण्डका पर्यटकदेखि लगानीकर्तालाई नेपालबारे बुझ्न सहयोग पुगेको छ । थाइ जनता र नेपाली जनताबीच बढ्दै गएको सकारात्मक सम्बन्धलाई सम्मान गर्न र उक्त सम्बन्धलाई अझ प्रगाढ र दिगो बनाउनु नै हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो । थाइल्याण्डमा नेपालको प्रवद्र्धन गर्न त्यहाँस्थित सञ्चारमाध्यम र नेपालमा थाइल्याण्डको प्रवद्र्धन गर्न नेपालका सञ्चार माध्यमहरुबीच सहकार्य गर्न दुवैतर्फबाट पहल आवश्यक छ । थाई ट्राभल एजेन्टस् तथा आगन्तुकलाई सहज भिसा सेवा, नेपाल भ्रमणका सम्बन्धमा जानकारी गराउने तथा अन्य आवश्यक सहयोग प्रदान गर्न नेपाली दूतावासले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । दुवै देशका कूटनीतिक व्यक्तिहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी वरपर विकास भइरहेका पर्यटन पूर्वाधार र पर्यटकीय गतिविधिको सम्भावनालाई प्रकाश पार्दै थाइल्याण्ड–नेपाललाई बौद्ध पर्यटनका माध्यमबाट जोड्ने अवसरको खोजी गर्न ढिलाइ गर्नु हुँदैन । रासस

पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटीस्क्यान’ सेवा सुरु

झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी स्क्यान’ उपकरण ल्याए पनि सरकारले रेडियोधर्मीसम्बन्धी ऐन, नियम नबनाएका कारणले सञ्चालन आउन सकेको थिएन । अस्पतालका मेडिकल निर्देशक डा वीरेन्द्र यादवले भने, ‘पेट सिटी स्क्यान’ को सेवा सुरु भएपछि क्यान्सर उपचारका लागि भारतलगायत छिमेकी मुलुक जानुपर्ने अवस्थामा लगभग अन्त्य हुने छ ।’ क्यान्सर रोगी केही नेपाली बिरामीहरु उपचारका लागि भारतलगायत अन्य मुलुकमा जाने जनाइएको छ । उनले भने, ‘अब हामीले नै पेट सिटी स्क्यानको सेवा न्यूनतम शुल्कमा दिएपछि बाहिर मुलुकमा उपचारका लागि जानु पदैन ।’ उनका अनुसार ‘पेट सिटी स्क्यान’ उपकरणले क्यान्सर रोगको अवस्थाबारे जानकारी गराउने र यसले गर्दा क्यान्सरको उपचार गर्न सजिलो हुन्छ । ‘क्यान्सर कति फैलिएको छ । उपचारपछि निको कति भयो, भएन । सबै कुराको थाहा उपकरणबाट पत्ता लाग्ने गर्दछ’, भारतको मेदान्त अस्पतालमा सेवा गरिसक्नु भएका डा यादवले भने, ‘उपकरण सञ्चालन भएपछि अब जस्तोसुकै क्यान्सरको उपचार हामी गर्न सक्दछौँ ।’ क्यान्सर अस्पतालमध्ये पहिलोपटक पूर्वाञ्चल क्यान्सर अस्पतालाले ‘पेट सिटी स्क्यान’ सेवाको सुरुआत गरेको हो । ४५ हजारमा ‘पेट सिटी स्क्यान’ अस्पतालले अन्य ठाउँभन्दा सस्तोमा ‘पेट सिटी स्क्यान’ सेवा दिने भएको अस्पतालका निर्देशक डा यादवले बताउनुभयो । ‘पेट सिटी स्क्यान’ सेवा अस्पतालले ६० हजारमा उपलब्ध गराए पनि अहिले दुई महिनासम्म बिरामीलाई ४५ हजारमै उपलब्ध गराउने उनको भनाइ छ । भारतमा ‘पेट सिटी स्क्यान’ सेवाका लागि जाँदा करिब रु पाँच लाखसम्म खर्च हुने गरेको छ । ‘पेट सिटी स्क्यान’ सेवाका लागि ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । उक्त रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ । भारतको कोलकाताबाट खरिद गरेको दुई घण्टामा झापाको बिर्तामोडमा उक्त ‘रेडियो आइसोटोप’ आइपुग्ने र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने अस्पतालका निर्देशक डा यादवले जानकारी दिए । कोलकाताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा बिर्तामोडमा ‘रेडियो आइसोटोप’ ल्याइने गरिन्छ । ‘पेट सिटी स्क्यान’ उपकरण सञ्चालन गर्ने अस्पतालका न्युुक्लियर मेडिसिन विभागका प्रमुख डा रितेश उपाध्यायले क्यान्सरको उपचारका गर्दा पटक–पटक ‘पेट सिटी स्क्यान’ गर्नुपर्ने जानकारी दिए । उनका अनुसार क्यान्सरको उपचार थालनी गर्नुपूर्व, उपचारको बीचमा र उपचारपछि निको भयो कि भएन भनेर ‘पेट सिटी स्क्यान’ उपकरणबाट परीक्षण गर्ने गरिन्छ । ‘क्यान्सर उपचारपछि निको भयो कि भएन । उपचारलाई परिवर्तन गर्नुपर्ने हो वा होइनसमेत ‘पेट सिटी स्क्यान’बाट थाहा हुन्छ’, डा उपाध्यायले भने, ‘पेट सिटी स्क्यान’ अन्य रोगको पनि उपचारका लागि पनि प्रयोग गरिन्छ ।” उनले क्यान्सरको उपचारका लागि ‘पेट सिटी स्क्यान’ अनिवार्य रहेको भन्दै शरीरको पूरै भागको स्क्यान गरी क्यान्सरको अवस्था पत्ता लाग्ने बताए । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले दैनिक १०–१२ जनाको ‘पेट सिटी स्क्यान’ सेवा दिनसक्ने बताए । उनले आजदेखि ‘पेट सिटी स्क्यान’ सेवा सुरु गरे पनि आइतबारदेखि नियमितरूपमा सुरु गर्ने जानकारी दिए । उनका अनुसार २५ क्यान्सर बिरामीको ‘पेट सिटी स्क्यान’ गर्न तयारी गरिएको छ । अस्पतालमा दैनिक एक सय २५ जना क्यान्सरका बिरामी आउने गरेका छन् । अस्पतालम काठमाडौँ लगायत देशका अन्य क्षेत्रबाट बिरामी आउने गरेका छन् । रासस

मेरो कथा यो सुन…

मेरो कथा यो सुन तिमिले जिन्दगीको तिमि सँगको नाता अनि सम्बन्धको माया बसेछ तिमि सँग यो समयमा निश्चल माया गर्छु तिमिलाई यो जगतमा साच्चै गंगाको पानि जस्तै चोखो छ तिम्रो मन तस्तै पवित्र होला तिमिसँगको साईनो झन् तिम्रो मेरो सम्बन्धको चर्चा फैलिएछ यो जगतमा दुस्खि मन खुसि हुन्छ मेरो प्रभातको समयमा तिमि थियौ जसले मलाई धेरै कुरा सिकायौ यो जगतमा संङघर्ष गरी बाच्न सिकायौ

दशैं तिहार नजिकिएसँगै बढ्न थाल्यो रेमिट्यान्स, अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै रेमिट्यान्समा सुधार देखिएको छ । नयाँ आर्थिक वर्ष साउन र भदौको महिनामा रेमिट्यान्स आप्रवाहमा सुधार देखिएको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण केही शिथिल बनेको रेमिट्यान्स चालु आर्थिक वर्षको साउन र भदौ महिनामा भने सुधार आएको रेमिट्यान्स व्यवसायीहरु बताउँछन् । गत आर्थिक वर्षको मध्येसम्म घटेको रेमिट्यान्स आप्रवाह असार मसान्तसम्म भने बढेको थियो । गत आर्थिक वर्ष २०७८÷०७९ मा रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतवृद्धि भएर १००७ अर्ब ३१ करोड पुगेको थियो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको रेमिट्यान्सले अर्थतन्त्र सुधारको दिशामा रहेको जानकारहरु बताउँछन् । आयातमुखी अर्थतन्त्र र रेमिट्यान्समा आएको गिरावटले अर्थतन्त्र संकटमा पर्न सक्ने आँकलन गरिएकोमा असार मसान्त र साउनको तथ्याङ्कले विस्तारै सुधार भएको जानकारहरुले बताएका छन् । रेमिट्यान्स घट्दा अर्थतन्त्रमा विभिन्न समस्या देखिने जोखिम बढेको भन्दै सबैले चिन्ता व्यक्त गरेका थिए । रेमिट्यान्स घटेपछि अर्थतन्त्रमा समस्या पर्न सक्ने भन्दै सरकार समेत अडराएको थियो । अर्थविदहरुले पनि रेमिट्यान्स आप्रवाह घट्दाको असर समग्र अर्थतन्त्रमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । नेपाली मुद्रा विप्रेषक संघको सचिवालय प्रमुख श्याम पौडेलले साउन लागेपछि रेमिट्यान्स बढिरहेको बताए । कोरोना महामारीको प्रभाव कम परेको र चाडपर्वमा घरपरिवारका लागि खर्च पठाउने भएकोले रेमिट्यान्स बढेको उनको भनाइ छ । रेमिट्यान्स बढ्दै गएपछि अर्थतन्त्रमा समेत सुधारको संकेत देखिएको उनले बताए । ‘विदेश जानेहरुको संख्या बढ्दो छ, कोरोना महामारीको प्रभाव कम हुँदै गएको छ, गैर–कानुनी च्यानल घटेर कानुनी च्यानलबाट रेमिट्यान्स आउन थाल्यो, चाडपर्वमा रेमिट्यान्स बढ्छ,’ उनले भने, ‘रेमिट्यान्स बढ्दै गएपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ, रेमिट्यान्स आप्रवाह बढ्दै गएपछि अर्थतन्त्रमा समस्यामा पर्ने अवस्था हुँदैन् ।’ रेमिट्यान्स बढाउनका लागि राष्ट्र बैंक र सरकारले चनाखो भएर काम गरेपछि रेमिट्यान्स बढेको उनको भनाइ छ । बाह्य रेमिट्यान्स बढेपनि आन्तरिक रेमिट्यान्स कारोबार भने घटेको व्यवसायी पौडेलले बताए । राष्ट्र बैंकले गरेको कडाइका कारण आन्तरिक रेमिट्यान्स कारोबार घटेर घाटा भएको उनी बताउँछन् । ‘रेमिट्यान्स वृद्धि गराउनका लागि सरकार र राष्ट्र बैंक पनि चनाखो भएको छ, यहि कारणले पनि अर्थतन्त्र बिग्रिने अवस्था हुँदैन,’ उनले भने, ‘आन्तरिक रेमिट्यान्स भने कम भएको छ, आन्तरिक रेमिट्यान्स कारोबार २५ हजार मात्रै गर्न पाइन्छ, बैंकहरुको पहुँच पनि गाउँगाउँ पुगेकाले बैंक ट्रान्सफर्मर बढी हुने भएकाले आन्तरिक कारोबार कम भएको हो ।’ राष्ट्र बैंकले २५ हजार रुपैयाँ मात्रै कारोबार गर्न दिँदा ठूलो प्रभाव परेको देखिन्छ । ठूलो मात्रामा रकम पठाउँदा बैंकिङ्ग च्यानलबाट मात्रै पठाउन थालेका कारण रेमिट्यान्स बढेको देखिएको हो । नेपाली मुद्रा विप्रेषक संघका उपाध्यक्ष रितेश मित्तलले चाडपर्वको समयमा रेमिट्यान्सको आप्रवाह बढ्ने बताए । प्रत्येक वर्ष दशैंको एक महिना अघिबाट रेमिट्यान्स बढ्ने गरेको उनको भनाइ छ । विदेश जानेको संख्या पनि बढेकोले रेमिट्यान्स बढ्ने अपेक्षा उनले गरेका छन् । ‘सबैतिरबाट विदेश गइरहेका छन्, कोरोना महामारीको असर पनि अन्तर्राष्ट्रिय स्तरमा कम हुँदै गएकाले रेमिट्यान्स बढेको हो, चैत बैशाखदेखि रेमिट्यान्स आउने चाप बढेको छ,’ ‘विगतमा दशैं तिहारको समयमा अन्य महिनामा भन्दा ३०÷४० प्रतिशत बढेको देखिन्छ, यसपटक कस्तो प्रभाव पर्छ हेर्नैपर्छ ।’ नेपालको अर्थतन्त्र रेमिट्यान्सले नै थेगिएको उनको भनाइ छ । राष्ट्र बैंकका नीति नियम नयाँ–नयाँ आउने भएकाले भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने ठ्याक्कै भन्न नसकिने उनले बताए । कर्जा सम्बन्धी नयाँ नियमले अर्थतन्त्रलाई टाइट पार्ने देखिएको उनको बुझाइ छ । संघका सचिव दिपेन्द्र खनालले रेमिट्यान्स आप्रवाह एकानस नहुने गरेको बताए । रेमिट्यान्सको आप्रवामा कुन विषयले हिट गरेको हुन्छ भनेर थाहा नपाइने उनको भनाइ छ । रेमिट्यान्सको आप्रवाहमा उतार चढाव आएपनि दशैं तिहारमा बढ्ने अपेक्षा उनल गरेका छन् । ‘पहिलो डकडाउनमा बढेको रेमिट्यान्स दोस्रो डकडाउनमा ह्वात्तै घटेको थियो, डलरको मूल्य बढेको बेलामा रेमिट्यान्स घटेको हुन्छ भने कहिले डलरको मूल्य घटेको बेलामा रेमिट्यान्स बढेको हुन्छ, रेमिट्यान्समा कुन कुराले हिट गरेको हुन्छ थाहा नै हुँदैन, यो दशैं तिहारमा बढ्नु पर्छ,’ उनले भने । यस्तै, नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायाण पोखरेलले श्रम गन्तव्यमा पुगेका नेपाली श्रमिकले पठाउने रकम बढेकाले रेमिट्यान्स बढेको बताए । बैदेशिक रोजगारीमा कति गए भन्ने कुराले पनि महत्व राख्ने गरेको उनको भनाइ छ । साथै उनले रेमिट्यान्समा सिजनल प्रभाव पर्ने गरेको उनी बताउँछन् । ‘असार मसान्तमा जेठको तुलनामा बढेको छ, जसले गर्दा १ हजार प्लसको रेमिट्यान्स आयो, यसले विदेशमा जाने श्रमिकहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिएको हुन सक्ने बुझिन्छ, ऋणको साँवाब्याजको भुक्तानी असार मसान्तसम्म बुझाउनै पर्ने भएकाले विदेशबाट रेमिट्यान्स पठाएको हुन सक्छ,’ उनले भने । विदेशी मुद्राको घटबढका कारण रेमिट्यान्समा प्रभाव पारेको उनको बुझाइ छ । रेमिट्यान्स बढेका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनको भनाइ छ । तर, अन्य विषयहरुले पनि यसमा सकारात्मक भूमिका निर्वाह गरेको उनले बताए । ‘रेमिट्यान्स बढ्नुमा नेपाली मुद्रा विदेशी मुद्राको तुलनामा अवमूल्यन हुँदापनि हो, एक्सचेञ्जको रेटका कारण रेमिट्यान्स बढेको हुन्छ, विदेशमा जाने नेपालीको संख्या बढेको हुँदा धेरैले रेमिट्यान्स पठाउँदा बढेको हो, रेमिट्यान्सले धेरै हदसम्म रिजर्भका लागि काम गरेको देखिन्छ,’ सह–प्रवक्ता पोखरेलले भने । अर्थतन्त्रमा स्थिरता आउनुमा रेमिट्यान्स मात्रै नभएर अन्य कारण पनि छन् । गत वर्ष ५० प्रतिशत रिजर्भ घटिरहेको थियो । तर, विस्तारै असार मसान्तसम्म पुग्दा २०÷२२ प्रतिशतमा मात्रै सीमित भएको छ । गत वर्षको पुष मसान्त पछाडि मौद्रिक नीतिले बैदेशिक ब्यापारमा एक किसिमको अंकुश वा ब्रेक लगाएको हुँदा त्यसले पनि अर्थ राख्छ । रेमिट्यान्स बढेको छ । निर्यात भोलुम सानो भएपनि ग्रोथ बढी छ । यी कारणले पनि रिजर्भमा सहजता गरेको देखिन्छ । यस्तै, रेमिट्यान्सको मात्रै योगदान नभएर राष्ट्र बैंकका पोलीसीले सकारात्मक प्रभाव पारेको पोखरेलको बुझाइ छ । चाडपर्वको खर्चका लागि रेमिट्यान्स पठाउने भएकाले दशैं तिहारमा रेमिट्यान्स बढ्ने अनुमान गरिएको उनले बताए । दशैंतिहारमा आप्रवाह हुने रेमिट्यान्स सिजनल प्रभाव भएपनि बढ्ने अपेक्षा गरेको उनको छ । साथै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेका कारण पनि रेमिट्यान्स बढ्न सक्ने उनले बताए । ‘रेमिट्यान्स पठाउँदा मोटिभेसन के हुन्छ, कुन मोटिभेसनले रेमिट्यान्स पठाउनेहुन्छ, भविष्यवाणी गर्न सकिदैन तर विदेश जानेको संख्या बढेको, दशैं तिहारमा घर परिवारका लागि खर्च पठाउने, बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजदर बढेको, रेमिट्यान्स पठाउँदा थप ब्याजदर प्रदान गर्ने व्यवस्थाल रेमिट्यान्स पठाउन सकारात्मक भूमिका खेल्छ, गत वर्षको तुलनामा बढ्न सक्ने अपेक्षा हामीले गरेका छौं,’ उनले भने ।

इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक पाइने

काठमाडौं । इसेवाले चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन् । अफरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङ, बस टिकेटिङ र होटेल बुकिङमा आकर्षक छुटहरु रहेकाे छन् । यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तरगत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताले थप ३% अथवा ३०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । जसका लागि प्रोमोकोड ‘NAYA’ प्रयोग गर्नुपर्नेछ । यस्तै, ३ वटा टिकट खरिद गर्दा थप १५० प्राप्त गर्न सकिनेछ । यसका लागि प्रोमोकोड थ्रिपावर प्रयाेग गर्नुपर्नेछ । यति मात्र नभएर इसेवा मार्फत भदौ १६ गतेदेखि एक महिनासक्म होटल बुक गर्दा २० प्रतिशत छुट पाइनेछ भने भदौ २२ र असोज १ गते १ बजेदेखि १ः३० बजेसम्म आधाघण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ । यस्तै, भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले ५ हजार बराबरको होटलमा बस्न पाउनेछन् र अफर अन्तर्गत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी, अन्तराष्ट्र्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अतथा २५ सयसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो अफर भदौ १६ देखि असोज १६ गतेसम्म लागु हुनेछ । सेवाग्राहीले छुटकाे लागि दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्नेछ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६० लाख बढि ग्राहकलाई एप्स मार्फत सेवा प्रदान गरिरहेको छ ।