विकासन्युज

मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर एउटै शोरुममा पाइने

काठमाडौं । एसजी गु्रप अन्तर्गत नेपालमा बिक्री भइरहेको मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर एउटै शोरुमबाट खरिद गर्न सकिने भएको छ । ग्राहकहरुले डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी ५ सेग्मेन्टका दुई पाङ्ग्रे साधन एकैसाथ विभिन्न शोरुमबाट पाइने भएको हो । यसका साथै बिक्रीपछिको सेवा पनि हाल कायम रहेको सर्भिस सेन्टरलाई अफग्रेड गरी सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । जसले गर्दा ग्राहकलाई पार्ट्स तथा सर्भिसिङ र मेन्टीनेन्समा सहज हुने कम्पनीको विश्वास छ । ग्राहकले काठमाडौंको नक्साल, बालाजु, मित्रपार्क, टेकु, ललितपुरको धोबिघाट तथा भक्तपुरको सल्लाघारी स्थित शोरुमहरुमा गई उक्त दुवै ब्राण्डको अवलोकन तथा टेष्ट राइड गरी खरीद गर्न सक्नेछन् । साथै, कम्पनीले ग्राहकमुखी वातावरण कायम राखी उक्त उद्देश्यलाई साकार बनाउन आफ्ना शोरुमहरुमा यही भदौ १९ गतेबाट उपत्यका व्यापी शोरुम टेष्ट राइड कार्यक्रमको शुरुवात गर्दैछ । जहाँ ग्राहकले टेष्ट राइड गरी उपहार जित्नुको साथै विभिन्न गेममा सहभागी भई थप उत्साहित माहोलमा अन्य उपहार पनि जित्न सक्नेछन् ।

समृद्धि फाइनान्सले राष्ट्र बैंकबाट पायो बजार निर्माताको इजाजत

काठमाडौं । समृद्धि फाइनान्सले नेपाल राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत पाएको छ । राष्ट्र बैंकले ‘बजार निर्मातासम्बन्धी कार्यविधि, २०७०(दोश्रो संशोधन २०७६ बमोजिम)’ गर्ने गरि समृद्धि फाइनान्सलाई इजाजत दिएको हो । यससँगै फाइनान्सले नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकद्वारा निष्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार गर्ने छ । राष्ट्र बैंकले लामो अवधिका ऋणपत्रहरुको प्राथमिक एवम् दोस्रो बजार कारोबारलाई प्रवद्र्धन गर्ने तथा व्यवस्थित बनाउने उद्देश्यले वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरुलाई बजार निर्माताको इजाजत दिँदै आएको छ । जसअनुसार इजाजत प्राप्त संस्थाहरुले राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार मात्र गर्ने एवम् भविष्यमा नेपाल सरकारको तर्फबाट निष्काशन हुने अन्य ऋणपत्रको समेत प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न पाउने छन् । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

अब पतंजलीका सामान किन्दा पनि बीमासहित नगद फिर्ता सुविधा पाइने

काठमाडौं । एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले को ब्राण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् । तीजको अवसरमा भारतको नयाँ दिल्लीमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् । यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् । साथै, सुरुवाती ३ महिनाको लागि इस्यूयन्स फीमा ५० प्रतिशत छुट हुनेछ । सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझैं उनीहरुका आवश्यकता पुरा गर्ने विश्वास व्यक्त गरे । साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बिमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे । यस कार्डबाट बैंक र पतंजलीका ग्राहकको खरिद अनुभव नौलो तथा स्मरणयोग्य हुनुका साथै सरल तथा सहज हुने बैंकको विश्वास छ । बैंकले हाल ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

झापामा तीन हजार बढी मुद्दा फर्छ्योट, सबैभन्दा धेरै सम्बन्ध विच्छेदका

झापा । जिल्ला अदालत झापामा गत आर्थिक वर्ष २०७८/०७९ मा मुद्दाको चाप बढेको देखिएको छ । यता मुद्दा फछ्र्योटमा पनि झापा अदालत अब्बल नै दरिएको छ । जिल्ला अदालतले आव २०७८/०७९ मा तीन हजार आठ सय ५९ मुद्दा फर्छ्योट गरेको छ । उक्त गत आर्थिक वर्षमा आर्थिक वर्ष २०७७/०७८ बाट दायित्व सरेर आएकोसमेत गरेर छ हजार चार सय १९ दर्ता रहेका थिए । दायित्व सरेर आएका र नयाँ दर्ता भएकासहित तीन हजार आठ सय ५९ मुद्दा फर्छ्योट भएको सूचना अधिकारी अर्जुन गुरागाईंले जानकारी दिए । समग्रमा ६० प्रतिशत मुद्दा फर्छ्योट गर्न जिल्ला अदालत झापा सफल भएको सूचना अधिकारी गुरागाईंको भनाइ छ । उनका अनुसार आव २०७८/०७९ मा फर्छ्योट हुन बाँकी दुई हजार पाँच सय ६० मुद्दा रहेका छन् । गत आर्थिक वर्ष सबैभन्दा धेरै मुद्दा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका र धेरै फर्छ्योट पनि सोही मुद्दा भएको तथ्याङ्कले देखाएको छ । एक हजार तीन सय ६२ मुद्दा सम्बन्धबिच्छेदका मुद्दा फर्छ्योट भएका छन् । त्यस्तै अंशबण्डा चार सय ५४, लेनदेन एक सय ३५, जग्गासम्बन्धी ९४, लिखत बदर एक सय ९८, लागुऔषधसम्बन्धी दुई सय ७९, लिखतसम्बन्धी कीर्ते २७, जालसाजी एक सय ९३, ठगी ४०, जबर्जस्ती करणी एक सय २२, जबर्जस्ती करणी उद्योग ३६, चोरी तथा डकैतीसम्बन्धी एक सय ६१, करणीसम्बन्धी कसुरअन्तर्गत एक सय ९१, कर्तव्य ज्यान १७ र ज्यान मार्ने उद्योग ३१, बहुविवाह ५०, अपहरणसम्बन्धी कसुर पाँच, सवारी ज्यान वा अङ्गभङ्ग घाइते भएको कसुर एक सय १९, चेक अनादर ७३ र रिट ४५ लगायतका मुद्दा गत आवमा फर्छ्योट गरिएको सूचना अधिकारी गुरागाईंले जानकारी दिए । आव २०७७/०७८ मा सम्बन्धविच्छेदका मुद्दा नौ सय ३८ रहेकामा गत आवमा बढेर एक हजार तीन सय ३० पुगेको छ । यसरी हेर्दा झापामा दिनानुदिन सम्बन्धविच्छेदका मुद्दा बढ्ने क्रममा देखिएको नायब सुब्बा राजु पौडेलले बताए ।

बैंक अफ काठमाण्डूको मास्टरकार्डबाटै पैसा झिक्न तथा भुक्तानी गर्न सकिने

काठमाडौं । बैंक अफ काठमाण्डूको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न सकिने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अब बैंकको जुनसुकै एटीएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्ने भएका हुन् । बैंकको एटीएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पेको नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पेसहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सबै कार्डको भुक्तानी बैंकको सबै एटीएम तथा पीओएसको माध्यमबाट गर्न सकिने छ । साथै, उक्त सम्झौता अनुसार बैंक अफ काठमाण्डूले मास्टरकार्डसंग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकलाई मास्टरकार्ड उपलब्ध गराउने छ । त्यस्तै, मास्टरकार्ड बाहकले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफुसंग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

एचआईडीसीएलको सेयर मूल्य अक्सनमा भन्दा दोस्रो बजारमा सस्तो

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसिएल) ले भदौ २० गतेदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँमा २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता सेयर बिक्री गर्ने भएको हो । गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री गरेपनि कम्पनीको सोही प्रकृतिको सेयर दोस्रो बजारमा प्रतिकित्ता १ सय रुपैयाँ भन्दाकम मूल्यमा कारोबार भइरहेको छ । दोस्रो बजारमा कम्पनीको सेयर कारोबार अक्सन सेयर भन्दा कम भएपछि बिक्री नहुन सक्ने सेयर जानकारहरु बताउँछन् । दोस्रो बजारमा कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ भन्दा कम भएका बेलामा बिक्री गर्न नहुने एक लगानीकर्ताले विकासन्युजसँग बताए । बिहीबार कम्पनीको १ लाख २० हजार २५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ करोड २० लाख १९ हजार ४५१ रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको उक्त सेयर न्यूनतम प्रतिकित्ता ९८ रुपैयाँदेखि १ सय रुपैयाँमा कारोबार भएको हो । बिहीबार कम्पनीको संस्थापक सेयर खरिदकर्ताले न्यूनतम ९६.७० रुपैयाँ सम्म मूल्य राखेर २ सय कित्ता अर्डर गरेका थिए । कम्पनीको सेयर मूल्य यसअघि हिजो बुधबार प्रतिकित्ता ९८.२० रुपैयाँ थियो भने आज १.८० रुपैयाँ बढेर प्रतिकित्ता १ सय रुपैयाँ छ । कम्पनीको सेयर मूल्य अधिकतम ११५.२० रुपैयाँ पुगेको छ भने न्यूनतम ९६.५० रुपैयाँसम्म झरेको छ । दोस्रो बजारमा लगानीकर्ताले अक्सन मूल्यभन्दा कम मूल्यमा सेयर खरिद गर्न पाइरहँदा गोप्य शिलबन्दी बोलपत्रको सेयर बिक्री नहुने आँकलन गरिएको छ । कम्पनीले सेयर मूल्य घटेको बेलामा अक्सनमा सेयर बिक्री गर्न नहुने सुझाव लगानीकर्ता डमरु बल्लव घिमिरेकाे छ । यसअघि कम्पनीले गत साउन १५ गतेदेखि साउन २९ गतेसम्म २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । सो समयमा कम्पनीको ४६ लाख ४ हजार ९८५ कित्ता सेयर मात्रै बिक्री भएको थियो । यस्तै, गत असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्रै बिक्री भएको थियो । कम्पनीले हालसम्म गरी ४ पटक सेयर लिलामीमा राखेको हो । तर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण कम देखिएपछि बिक्री गर्न हम्मेहम्मे परिरहेको छ । ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकालले १ सय रुपैयाँ भन्दा कम मूल्यमा अक्सन गर्न नमिल्ने बताए । सेयर बिक्री गर्नुपर्ने बाध्यता रहेकाले बिक्रीमा राखिएको उनको भनाइ छ । दोस्रो बजारमा सेयर मूल्य कम भएपनि धेरै कित्ता खरिद गर्न नमिल्ने उनको तर्क छ । ‘मार्केटमा धेरै कित्ता पाइँदैन्, अलिअलि कित्ता मात्रै खरिद गर्न मिल्छ, दोस्रो बजारमा खरिद गर्दा शुल्क पनि तिर्नुपर्छ,’ उनले भने, ‘एक सय रुपैयाँभन्दा कम मूल्यमा अक्सन गर्न मिल्दैन तर बजारमा कम मूल्यमा कारोबार भइरहेको छ ।’ कम्पनीको संस्थापक सेयर हालै मात्र दोस्रो बजारमा कारोबारमा आएको हो । कम्पनीको हकप्रद सेयर (अक्सन प्रमोटर) गत शुक्रबारदेखि मात्रै कारोबारमा आएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका–२०७४ को दफा १५ को उपदफा ३ को ‘ख’ मा सेयर बिक्री गर्नु पर्दा अंकित मूल्यमा बढाबढ गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, सोही दफाको ‘ग’ मा हकप्रद सेयर लिलाम बढाबढबाट बिक्री गर्ने सम्बन्धी सूचना बिक्री खुला हुनुभन्दा कम्तिमा ७ दिन अगाडि कुनै दुईवटा राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नु पर्ने उल्लेख गरिएको छ । साेही कारण कम्पनीलाई दाेस्राे बजारमा सेयर मूल्य कम भएपनि अक्सनमा बिक्री गर्नु पर्ने बाध्यता भएकाे हाे ।

काठमाडौं महानगरले ९ करोडमा कालोपत्र गरेको सडक ३ महिनामै भत्कियो

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौं महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन । बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो । कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर पानी जम्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले राससलाई जानकारी दिए । ‘विकास निर्माणका कामबाट हुने कमिसनको खेल र काममा झारा टार्ने प्रवृत्तिले यस्तो भएको हो, महानगरपालिकाले तीन महिना पनि नटिक्ने कस्तो कालोपत्र ग¥यो ?, तोकिएको गुणस्तरमा काम नहुँदा यस्तो भयो, समितिले तीनपटक बजेट छुट्याए पनि महानगरपालिकाले नै गर्न खोजेकाले यो सडकको काम गर्न दिइएको हो,’ उनले भने । कालोपत्र हुनु एक वर्षअघि भने यो सडक समितिको बजेटबाट मर्मत सम्भार गरिएको थियो । विश्व सम्पदा क्षेत्रको सडक बनाएको तीन महिनामै भत्कँदा पर्यटकका माध्यमबाट देशका बारेमा गलत सन्देश गएको स्थानीय व्यवसायी मङ्गलकुमार श्रेष्ठ बताउँछन् । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको बीचबाट जान बाध्य हुनुपरेको छ । महानगरपालिकाको नौ करोड लागतमा निर्माण भएको करिब एक किमी सडक तीन महिना पनि नटिक्दा स्थानीयवासी, पर्यटक र बौद्धनाथ दर्शन गर्न आउने भक्तजन दैनिक प्रभावित हुने गरेका छन् । काठमाडौं महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको बताउँछन् । ‘महानगरपालिका निर्माण विभाग प्रमुख राम थापालाई गुणस्तरहीन काम भएकाले भुक्तानी रोकेर राम्रो काम गराउन भनेँ, वडाले त्यहाँभन्दा बढी गर्न नसक्ने भएकाले सडक बनाएको केही समयमै भत्कियो, अहिले हिँड्न नै समस्या भएको छ’, उनले भने । यस सम्बन्धमा महानगरपालिका निर्माण विभाग प्रमुख थापासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आफू बैठकमा भएकाले केही भन्न नसक्ने बताए । विदेशबाट आउने धेरै पर्यटक बस्ने हायात रिजेन्सी होटलको पूर्वोत्तरको पर्खालको यो सडकको दुरावस्थाले नेपालले विश्व सम्पदा क्षेत्रलाई कति महत्व दिएको छ भन्ने सन्देश जाने महानगरपालिका– ६ का अध्यक्ष भुवन लामा बताउँछन् । आफू वडामा निर्वाचित हुनुअघि बनेको सडक भएकाले यस विषयमा के–के भएको भन्ने बुझी महानगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने उनले जानकारी दिए ।

अग्नी ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर अब दमकमा पनि

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो । २ एस सर्भिस सेन्टरको उद्घाटन बिहीबारका दिन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराईु, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठु, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले संयुक्त रुपमा गरेका थिए । अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई सेवा दिईरहेको छ ।