विकासन्युज

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्ड विपरीतको तारे होटल

काठमाडौं । भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ । मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन् ।मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र वातावरण सुहाउँदो हुनुपर्छ तर कङ्क्रिटको यो होटल तीनतले छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले यो होटल व्यवस्थापनको जिम्मा सोल्टी समूहलाई दिएको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार होटल रु एक अर्बको लगानीमा निर्माण गरिएको हो । भरतपुर महानगरपालिका–२२ स्थित राप्ती किनारमा निर्माण गरिएको होटल वातावरणीय प्रभाव मूल्याङ्कन गरेर निर्माण गरिएको उनको जिकिर थियोे । मध्यवर्ती क्षेत्रमा पर्यावरणलाई ध्यान दिएर संरचना बनाउनुपर्ने वातावरण संरक्षणकर्मीले बताए । वडाध्यक्ष विष्णु महतोले निर्माणकै क्रममा भरतपुर महानगरपालिकामा छलफल हुँदा आफूले यसखालको होटल त्यो ठाउँमा बनाउन नहुने तर्क प्रस्तुत गरेको बताए । उनले भने, ‘मैले त्यतिबेला नै माटो सुहाउँदो होटल बनाउनुपर्छ भनेको थिएँ ।’ दोस्रो कार्यकाल पनि वडाध्यक्ष हुनुभएका उनले निकुञ्जको छेउमा बन्ने होटल मौलिकता झल्कने भिल्लाको स्वरुपमा बनाउन सोही बखत सुझाव दिइएको बताए । जिल्लाका लब्धप्रतिष्ठित व्यावसायिक व्यक्तित्वको लगानी रहेको होटलको नक्सापास गर्दा आफूले परिवर्तन गर्न आग्रह गरेको भए पनि सञ्चालकहरूले अटेर गरेको उनको भनाइ थियो । पछिल्लो समय वडाध्यक्ष महतो पनि होटलको शेयरधनी भएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले मध्यवर्तीमा होटलको संरचना मापदण्डविपरीत बनाउन नहुने बताए । उनले भने, ‘मापदण्डविपरीत भएमा निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउँछ ।’ मापदण्ड बनेपछि यससँगै अन्य होटलले कानुन उल्लङ्घन गर्दै संरचना निर्माण गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मापदण्ड मिचिएको देखिएपछि अध्ययन गर्ने तयारी भइरहेको बताए । निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले आफ्नो पालामा वातावरण प्रभाव मूल्याङ्कनका लागि सो होटलका सञ्चालकले अनुमति लिन आए पनि मापदण्डविपरीत भएकाले आफूले नदिएको बताए । आफू बर्दिया राष्ट्रिय निकुञ्जमा हुँदा एक तला भत्काउन लगाएको भन्दै उनले निकुञ्जले मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न सक्ने बताए । पाँचतारे सुविधा दिने गरी यो रिसोर्ट नेपालका २३ जना व्यवसायीको लगानीमा निर्माण गरिएको हो । रासस

डब्लूएचओले भन्यो: जाडोमा कोरोनाबाट मृत्युदर बढ्न सक्छ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ । यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका छन् । उनले भने ‘हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौँ तर अबका दिनमा आउने चिसो मौसममा भने यस सङ्क्रमणको असर अझ बढी देखिन सक्छ, हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ ।’ विश्वमा यसको सङ्क्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्याङ्कले देखाउँछ । साप्ताहिकरुपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको सङ्क्रमण ५३ लाख मानिसमा भएको देखिएको छ । यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो । त्यसैले अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आगामी जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याबे्रसियसले बताएका छन् । रासस

त्रिपुरेश्वरको डिजिटल होर्डिङ बोर्ड हटाउँदै महानगर, अन्य स्थानको पनि हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड मापदण्ड विपरीत राखिएका भन्दै हटाउने बताएको छ । महानगरले काठमाडौंको अन्य स्थानबाट मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन जनाएको छ । महानगरले हाल नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको छ ।

महानगरमै पुगेर काठमाडौं फनपार्कले बुझ्यो कर तिर्ने पत्र, २४ घण्टाभित्र नतिरे बन्द गरिने

काठमाडौं । बुधबार कर तिर्ने पत्र बुझ्न नमानेको फनपार्कले बिहीबार काठमाडाैं महानगरमै पुगेर पत्र बुझेको छ । बिहीबार बिहान ११ बजे महानगरमा पुगेर काठमाडौं फनपार्क प्रालिको सञ्चालक समूहले कर तिर्न ताकेता गरेको पत्र बुझेको हो । काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकाका अनुसार काठमाडौं फन पार्कले व्यवसाय कर वर्षको २० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । सो कर पनि ६/७ वर्ष देखि पार्कले तिरको छैन । उनीहरूले बहाल कर कति लिन्छन् भन्ने विषयको सम्झौता महानगरलाई नदिएको पनि उनले बताए । ‘सञ्चालक टिमले हिजो चिठी बुझ्न मानेको थिएन, चिठी बुझेको २४ घण्टा भित्र कर बुझाउनु पर्ने हुन्छ, आज महानगरमै आएर पत्र बुझेको छ, त्यो समय भित्र कर नतिरे महानगरले फन पार्क बन्द गर्नेछ,’ उनले भने । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित ‘काठमाडौं फन पार्क प्रालि’लाई कर तिर्न ताकेता गरेको थियो । हिजो अर्थात् बुधबार काठमाडौं महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको थियो । पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फन पार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी दिइएको छ । तोकिएको समयभित्र नबुझाएमा त्यस फन पार्क सिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने पनि जानकारी गराइएको छ । समाजकल्याण परिषद्को स्वामित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फन पार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरी विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौं फन पार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।

मल्ल ग्रुपले नर्भिक अस्पतालमा छालाको उपचारको लागि भित्र्यायो नयाँ प्रविधि

काठमाडौं । मल्ल ग्रुप अफ कम्पनिजले नेपालमा पहिलो पटक डर्मा क्लियर नामक उपचार सुरु गरेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा यसको उपचार सुरु गरेको हो । डर्माक्लियर धरती मेडिटेकले नर्भिक अस्पतालमा लन्च गरेकाे हो । कम्पनीले २९ वर्षदेखि सबै प्रकारका गुणस्तरीय लेजर मेसिन, न्युरो सर्जरी उपकरण र उच्च गुणस्तरको अस्पतालका फर्निचरहरु भित्राउँदै आएको छ । धरती मेडिटेक र मल्ल ग्रुप अफ कम्पनीज स्वास्थ्य सेवा क्षेत्रमा विश्वका उत्कृष्ट कम्पनीहरूका लागि आयातकर्ता र वितरक हुन् । ‘यस डर्मा क्लियर उपचार प्रक्रिया पीडादायी हुँदैन । उपचार पछि तुरुन्तै आफ्नो नियमित गतिविधिमा फर्कन सक्छ,’ मल्ल ग्रुप अफ कम्पनिजका अध्यक्ष राम शरण मल्लले भने, ‘पहिलो उपचार पछि नै राम्रो परिणाम देख्न सकिन्छ । छाला ताजा र सफा देखिन्छ। यस उपचारले रक्त प्रवाह र नयाँ कोशिकाहरूको पुनरुत्थानलाई पनि मद्दत गर्दछ र छालाको नवीकरण प्रक्रियालाई गति दिन्छ ।’ यस उपचारमा तीन चरणहरु पर्दछन् । पहिलो चरणमा मरिसकेको छालाका कोशिकाहरूलाई छालाको बाहिरी तहबाट बिस्तारै र कुशलतापूर्वक हटाइन्छ जसले छालालाई सफा र ताजा बनाउँदछ र स्वस्थ छालाको सतहलाई उजागर गर्दछ । अर्को चरणमा छालाबाट फोहोर, सूक्ष्म प्रदूषक र अशुद्ध तत्वहरुलाई सक्शन उपकरण प्रयोग गरि हटाईन्छ र अन्तमा एक उपकरणले एन्टिअक्सिडेन्ट र एन्टी–एजिंग सीरमलाई छालामा हालिन्छ । यसो गर्नाले छाला चम्किलो र स्वस्थ हुन्छ । डर्मा क्लियर छाला सम्बन्धि अन्य विविध उपचारहरुभन्दा अघि हुने पूर्व–उपचारको रूपमा पनि प्रयोग गर्न सकिने मल्लले बताए । डर्मा क्लियर उपचार सबै उमेर समूह र छालाका प्रकारका लागि डिजाइन गरिएको मल्लले बताए ।  ‘डर्मा क्लियर उपचार सेवा सुरु गरेकोमा हामी नर्भिक इन्टरनेशनल अस्पताल तथा विशेष गरी छाला रोग विभागको टोलीलाई बधाई दिन चाहन्छौं,’ मल्लले भने ।  

सामाजिक सञ्जालको पोस्टले पैतालीस वर्ष जेलमा

काठमाडौं । साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ । अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाई कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । उनले केवल आफ्नो विचार ट्वीट गरेकी थिइन् । यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो । रासस

बालेनको नजर कर नतिर्ने संस्थातर्फ, विद्युत प्राधिकरण र सञ्चय कोषसहित २५ संस्थाले करोडौं तिर्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिका अहिले कर संकलनको अभियानमा लागेको छ । महानगरलाई वर्षाैंदेखि कर नबुझाउने संघसंस्थासँग कर उठाउने अभियानमा महानगर जुटेको हो । महानगरपालिकाले अहिले सूचना निकाल्दै २४ घण्टा भित्र कर तिरिसक्नु पर्ने जानकारी दिँदै आएका छ । महानगरपालिकालाई विभिन्न ठुला २५ वटा संघ संस्था तथा कम्पनीहरुले कर बुझाउन बाँकी रहेको महानरले बताएको छ । काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले ठुला कम्पनीलेमात्र नभई व्यावसायिक कर पनि धेरैले बुझाउन बाँकी रहेको बताए । विभिन्न ती ठुला कम्पनी मध्ये केही कम्पनीले भने स्थापनाकाल देखिनै कर महानगरलाई बुझाएका छैनन् । विभागका प्रमुख अधिकारीका अनुसार कर्मचारी सञ्चय कोष, गुठी संस्थान, खाद्य संस्थान, बीमा संस्थान, राष्ट्रिय नाचघरा, नेपाल विद्युत प्राधिकरण, साझा भण्डार, नेपाल चेम्बर अफ कमर्स लगायत २५ वटा संस्थाले महानगरलाई कर बुझाउन बाँकी छ । महानगरपालिका अहिले कर नतिर्नहरुको विवरण संकलन गर्न तर्फ लागेको पनि उनले बताए । उनका अनुसार महानगरपालिकालाई नेपाल विद्युत प्राधिकरणले करोडौं रुपैयाँ बराबरको कर तिर्न बाँकी छ । महानगरपालिकाका अनुसार प्राधिकरणले स्थापना काल देखिनै महानगरलाई सम्पत्ति विवरण बुझाएको छैन । ‘प्राधिकरणले सम्पत्तिको विवरण दिनु पर्याे, उसको क्षेत्रको सम्पूर्ण विवरण आइसकेपछि बल्ल उसको सम्पत्ति कर निकाल्ने हो, त्यो निकाल्नको लागि महानगरलाई सम्पत्तिको विवरण बुझाउनु पर्ने हुन्छ, त्यसपछि उसले कति तिर्नु पर्छ भन्ने हामी हिसाव निकाल्छौं,’ उनले भने । यस्तै, खाद्य संस्थानले पनि महानगरपालिकालाई हालसम्म करबुझाएको छैन । महानगरपालिका अनुसार राष्ट्रिय प्रशिक्षणले पनि ३/४ वर्षदेखि कर तिरेका छैन । ‘राष्ट्रिय नाचघरले घरजग्गा बेच्न भन्दै ४ वर्ष अगाडि महानगरमा आएको थियो, कर नतिरेको भएर घरजग्गा बेच्ने सिफारिस दिएनौं, त्यो बेला घरजग्गाको कारोबार गर्यो, र अहिलेसम्म त्यो संस्थाले कर तिरेको छैन,’ उनले भने । अधिकारीका अनुसार नेपाल टेलिकम सबै भन्दा धेरै महानरलाई कर बुझाउने कम्पनीको रूपमा रहेको छ । ‘सरकारी भएका कारण कर तिर्नु नपर्ने भन्ने बुझाइ छ, अब सरकारीदेखि प्राइभेटसम्मका निकायहरूले महानगरपालिकालाई कर बुझाउनु पर्ने छ,’ उनले भने । काठमाडौं महानगरले गत वर्ष पनि कर बुझाउनका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको थियो । तर यसलाई महानगरपालिकाले निरन्तरता दिन नसक्दा यो काम रोकिएको अधिकारीको भनाइ छ । महानगरलाई यी विभिन्न संघ संस्थाहरुले करोडौं रुपैयाँ कर तिर्न बाँकी छ । कानुनमा उल्लेख गरे अनुसारको सबैले कर बुझाउनु पर्ने पनि अधिकारीको भनाइ छ । ‘कतिले कर बुझाउनु बाँकी छ भन्ने तथ्यांक महानगरले निकालेको छैन, ठुला मात्र नभई व्यावसायिक कर संकलन गर्न पनि धेरै छ,’ उनले भने । केही दिनपछि काठमाडौं महानगरपालिका कर नबुझाउने संस्थाको सूची सार्वजानिक गर्ने तयारीमा छ । काठमाडौं उपत्यकामध्ये काठमाडौं महानगरपालिकाको सबैभन्दा कम सस्तो सम्पत्ति कर रहेको छ । समयमा कर नतिर्ने १० प्रतिशत कर लाग्ने पनि महानगरपालिकाले बताएको छ । पटकपटक ताकेता गर्दा पनि कर नतिरेपछि महानगरपालिकाले पत्र र सार्वजनिक सूचनामार्फत अल्टिमेटम दिने र त्यस अवधिमा पनि नतिरेपछि कारबाही गर्ने तयारी गरेको छ । फन पार्कले बुझ्यो चिठी काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित ‘काठमाडौं फन पार्क प्रालि’लाई कर तिर्न ताकेता गरेको छ । हिजो अर्थात् बुधबार काठमाडौं महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको थियो । पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फन पार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी दिइएको छ । तर, हिजो फन पार्क सञ्चलन टिमले कर बुझाउने चिठी नलिएको पनि अधिकारीले बताए । महानगरका अनुसार सञ्चालक टिम आएर बिहान ११ बजे कर तिर्ने चिठी बुझेको छ । ‘सञ्चालक टिमले हिजो चिठी बुझ्न मानेन, चिठी बुझेको २४ घण्टा भित्र कर बुझाउनु पर्ने हुन्छ, त्यो समय भित्र कर नतिरे महानगरले फन पार्क बन्द गर्नेछ,’ उनले भने । अधिकारीका अनुसार काठमाडौं फन पार्कले व्यवसाय कर वर्षको २० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । सो कर पनि ६/७ वर्ष देखि पार्कले तिरको छैन । उनीहरूले बहाल कर कति लिन्छन् भन्ने विषयको सम्झौता महानगरलाई नदिएको पनि महानगरपालिकाले बताएको छ । तोकिएको समयभित्र नबुझाएमा त्यस फन पार्क सिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने पनि जानकारी गराइएको छ । समाजकल्याण परिषद्को स्वामित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फन पार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरी विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौं फन पार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।

नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने तयारी

चितवन । निरन्तर वर्षात्सँगै ठाउँ–ठाउँमा खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ । सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेका छन् । भरतपुर डिभिजन सडक कार्यालयका इञ्जीनियर सागर कार्कीका अनुसार मौरीपुलबाहेकका पहिरो पन्छाइसकिएको छ । मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर र एउटा एक्साभेटरले काम गरिरहेको छ । सो ठाउँमा ६० मिटर सडक पहिराले ढाकिएकामा आठ मिटर चौडा र पाँच मिटर अग्लो पहिरो पन्छाउने काम भइरहेको छ । अठार किलोमा २० मिटर लामो ११ मिटर चौडा र एक दशमलव पाँच मिटर सडक पहिराले ढाकेको थियो । बिहान ५ः५० बजेदेखि सडक अवरुद्ध भएका कारण धेरै सवारीसाधन जाममा परेका छन् । वर्षात्को समयमा बारम्बार पहिरो खस्दा यो सडक हुँदै यात्रा गर्ने यात्रुले दुःख पाउने गरेका छन् । सडक खुलेपछि पनि राति अबेरसम्म सवारी साधन जाम हुने गर्दछ ।