विकासन्युज

मुक्तिनाथ विकास बैंकले ल्यायो १ र २ वर्षे मुद्धती योजना, २२.५० लाखसम्मको बीमा सुविधा

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले ग्राहकको लागि ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले यस याेजनामा १२ प्रतिशत ब्याजदरसहित २२.५० लाखसम्मको बीमा सुविधा रहेकाे जनाएकाे छ । यो योजना अन्तर्गत व्यक्तिगत मुद्धती खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने खातावालहरुले आफनो लागि १० लाखसम्मको दुर्घटना बीमा, २ लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् । यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्नेछन् र साेही अवधिको लागि बीमा सुविधा प्राप्त गर्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  

समयमै पाँचखाल खानेपानी आयोजना सक्न मुस्किल

काठमाडौं । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनाको निर्माणको काम तीव्ररुपमा अघि बढेको बताइए पनि सामग्री अभावका कारण समयमै आयोजना सम्पन्न नहुने भएको हो । निर्माण कम्पनीले खानेपानी वितरणका लागि पोलेथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ । केही स्थानमा पाइप विछ्याउने तथा धारा वितरणका क्रममा विवाद भएको छ । विसं २०७६ भदौमा सम्झौता भएको आयोजना आउँदो पुस महिनामा सम्पन्न गर्नुपर्ने समय सीमा तोकिएको थियो । निर्धारित समयमा आयोजनाको आयोजना सम्पन्न नहुने भएको उपभोत्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताए । उनका अनुसार संरचना निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामलाई पछिल्लो समय तीव्र पारिएको हो । पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका साथै सडक निर्माणको काम भइसकेको छ । हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको लामछिानेले बताए । उनका अनुसार कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोशी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पु¥याएका कारण आयोजनाको काममा ढिलाइ भएको हो । सरकारले चालू आवको बजेट वक्तव्यमा २०७९ भित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्ने उल्लेख छ । परियोजनाको २०७६ भदौ १२ गते सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोत्ताबीच सम्झौता गरिएको थियो । आयोजनाको काम नेपाली कम्पनी कन्काई विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे ज्वाइन्ट भेन्चरले गरिरहेका छन् । यसैबीच खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीले आयोजना अनुगमनका क्रममा सरकारले दिएको समय सीमाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले निर्माण कम्पनीलाई गुणस्तरीय सामग्री प्रयोग गर्नसमेत निर्देशन दिएका छन् । खानेपानी आयोजना एक अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा सक्ने सम्झौता भएको थियो । रासस

एनसेलले पायो नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको हो । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेलले यो अवार्ड पाएको हो । एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो । ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो । ऊक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परिक्षणहरू समावेश रहेका छन् । अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा निकै हर्षित भएको बताए । ‘यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौं भन्ने प्रमाण हो, यस अवसरमा हाम्रा सबै सरोकारवालाहरुलाई उनीहरुले विश्वास र ग्राहकहरुलाई सबैभन्दा उच्च गतिको मोबाइल डेटा सेवा प्रदान गर्नका लागि पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने । यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो । त्यसैगरी अप्रिल महिनामा काठमाडौंमा आयोजित १४ औं एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट सम्मानित भएको थियो ।

नयाँ नोट सटही : डिजिटल कारोबारमा धक्का !

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्राथमिकता नगद कारोबार घटाउँदै वित्तीय क्षेत्रमा डिजिटल कारोबार बढाउनु हो । सरकारको समेत प्राथमकिता रहेको डिजिटल कारोबार राष्ट्र बैंकले आफ्नो मुख्य प्राथमिकतामा राखोके छ । तर, दशैं तिहारको लागि नयाँ नोट बजारमा पठाएर डिजिटल कारोबारलाई नै प्रभावित गर्ने काम राष्ट्र बैंकबाट भएको जानकारहरु बताउँछन् । दशैं तिहारलाई लक्षित गरेर भदौको अन्तिम सातादेखि बजारमा नयाँ नोट पठाउने तयारीमा राष्ट्र बैंक छ । आफै नगद कारोबार घटाउने तयारीमा लागेको राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउँदा डिजिटिल कारोबार प्रभावित हुन सक्ने बुझाइ धेरैको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने बताएको छ । गत वर्ष ८ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाएको राष्ट्र बैंकले यस वर्ष १० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ । यसरी प्रत्येक वर्ष अर्बाै रुपैयाँका नयाँ नोट बजारमा पठाउँदा बैंकले आफ्नो डिजिटल कारोबारमा समेत ध्यान नदिएको गुनासो छ । राष्ट्र बैंकले नगद कारोबारलाई पूर्ण रुपमा अन्त्य गर्न नसकेपनि डिजिटिल कारोबारमा जोड दियो भने प्रत्येक वर्ष बजारमा अर्बाै रुपैयाँ पठाउनु नपर्ने धारणा धेरैको छ । दशैं तिहारको समयमा धेरै कारोबार हुने भएकाले नयाँ नोटको सट्टा डिजिटल कारोबारलाई बढी जोड दिनुपर्ने सरोकारवालाको सुझाव छ । नयाँ नोट सटही गर्दा एकातर्फ नयाँ नोट छपाइको लागत बढ्ने र अर्कोतर्फ डिजिटल कारोबार गर्ने कार्यक्रम प्रभावित हुन सक्ने धेरैको बुझाइ छ । राष्ट्र बैंकले डिजिटलमा जोड दिएको भएपनि देश अनुसारको भेष गर्नुपर्ने बाध्यता रहेको एक बैंकर्सले विकासन्युजसँग बताए । दशैंतिहार नेपालीहरुको चाडपर्व भएकाले पनि राष्ट्र बैंकले सँस्कृति जोगाउन नयाँ नोट वितरण गर्नुपर्ने दायित्व रहेको उनको भनाइ छ । तर, नयाँ नोट वितरण गर्नुपर्ने चलन बन्द गर्नुपर्ने उनले बताए । ‘नयाँ नोट वितरण घटाउनुपर्छ, नगद कारोबारलाई विस्तारै निरुत्साहित गर्नुपर्छ, नोट ल्याउँदा लाग्ने लागतलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘दक्षिणा दिने समयमा डिजिटल हुनुपर्छ, परम्परा पनि जोगियो डिजिटल कारोबार पनि भयो, उपभोग पनि बढ्यो, बैंकिङ्ग प्रणालीमा पैसा पनि सर्कुलेसन भयो, डलर खर्च पनि रोकियो ।’ राष्ट्र बैंकले डिजिटल कारोबालाई बढी जोड दिनुपर्ने उनको भनाइ छ । राष्ट्र बैंकले पछिल्ला वर्षहरुमा नोटहरुको संख्या घटाएपनि डिजिटल कारोबारलाई अझै बढाउनुपर्ने उनले बताए । ग्रामिण भेगमा पनि स्मार्ट फोन र इन्टरनेटको पहुँच पुगिसकेकाले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु पर्ने उनको भनाइ छ । ‘दुर्गम स्थान जहाँ यातायातको पहुँच नै छैन् त्यहाँ पनि मान्छे र खच्चरबाट ढुवानी गरेर स्मार्ट फोनका पसल सञ्चालनमा छन्, ग्रामीण क्षेत्रमा पनि महँगो स्मार्टफोन र आइफोन बिक्री भइरहेका छन्, इन्टरनेटको पहुँच पुगेको ठाउँमा स्मार्ट फोन नचलाउने भन्ने हुँदैन्,’ उनले भने, ‘इन्टरनेट नपुगेको ठाउँ नै छैन्, राष्ट्र बैंकले डिजिटल कारोबारमा जनतालाई प्रोत्साहन गर्नु पर्छ ।’ ‘दशैंको बेलामा दक्षिणा दिँदा नोटको सट्टा सिक्का प्रयोग गरेपनि हुन्छ, बढी दक्षिणा दिन चाहेमा डिजिटल कारोबार गर्दा हुन्छ, दशैं तिहारको अवधिमा डिजिटल कारोबार निःशुल्क पनि गर्न सकिन्छ, यसको लागि राष्ट्र बैंकले नीति बनाउनु पर्छ,’ उनले भने । ‘कोरोना महामारीका बेलामा लकडाउन हुँदा कसैले पनि पैसा लिएनन्, त्यो बेलामा पनि हाम्रो परम्परा धानेकै थियो, बरु दक्षिणा दिँदा सिक्का दिउँ, बढी दक्षिणा दिनु छ भने क्यूआरबाट ट्रान्सफर गर्नु पर्ने व्यवस्था गर्नु पर्छ, उनले भने, ‘दशैंको समयमा क्यूआर, अन्तरबैंक शुल्क छुट गर्ने व्यवस्था गर्नु पर्छ, पैसा पनि बैंकिङ प्रणालीमा रहन्छ, लाइन लागेर पैसा लिनु पनि परेन ।’ यस्तै, एफवान सफ्टका चिफ मार्केटिङ्ग अफिसर अद्धैत रत्न तुलाधर दशैंमा टीका लगाउँदा दक्षिणा नोट दिएपनि कारोबार भने डिजिटलमा हुनुपर्ने बताउँछन् । नोटका कारण भ्रष्ट्राचार बढेको बताउँदै उनले डिजिटल कारोबार भएमा पारदर्शिता हुने बताए । ‘कारोबार डिजिटलमा हुनुपर्छ, नोटका कारण भ्रष्ट्राचार बढ्यो, नगदमा पहुँच भएसम्म पारदर्शीता कम हुन्छ, डिजिटल हुँदा बढी पारदर्शीता हुन्छ, कागजी नोटको प्रचलन अन्त्य गर्नै पर्छ,’ उनले भने । एकैचोटी डिजिटलमा परिवर्तन गर्न नसके पनि विस्तारै ग्रामीण क्षेत्रमा पनि पहुँच पुरर्याउनु पर्ने उनको धारणा छ । डिजिटल कारोबार बढ्दै गएकाले अझै राष्ट्र बैंकले जोड दिनु पर्ने उनका धारणा छ । ‘सबै डिजिटल भइसकेको छैन, दशैं तिहारमा अझै पनि खाममा राखेर नोट दिने चलन छ, दशैं तिहार रकमले डिजिटलमा त्यति धेरै धक्का त लाग्दैन् तर दशैंको लागि कारोबार भने सबै डिजिटल हुनुपर्छ,’ उनले भने । पूर्व बैंकर्स भुवन दाहाल डिजिटल कारोबारमा आजको भोलि नै जान नसकिएपनि बढावा भने दिनु पर्ने बताउँछन् । राष्ट्र बैंकले डिजिटललाई जोड दिएपनि नगद कारोबार भने भइरहने उनको भनाइ छ । विकसित देशमा समेत नगदमा कारोबार हुने गरेको उनले बताए । ‘डिजिटलमा आजको भोलि नै परिवर्तन गर्न सकिँदैन्, डिजिटललाई फोकस गरेपनि नगद कारोबार भने भइरहन्छ, विकसित देशमा त नगद कारोबार भइरहेको छ भने आजको भोलि नै परिवर्तन गर्न सकिन्न, सहरी क्षेत्रमा क्यूआर कोड प्रयोग नगरेर पैसाको नै कारोबार भइरहेको हुन्छ, नगदमा हुने कारोबालाई लाग्ने लागतलाई डिजिटलमा फोकस गर्नपर्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपालले डिजिटल कारोबारका लागि बानी बसाल्न राष्ट्र बैंकले भूमीका खेल्नु पर्ने बताए । नगद कारोबारलाई बिस्तारै घटाउँदै डिजिटल गर्नुपर्ने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलमा जान लागेको हुँदा डिजिटलका लागि बानी बसाल्नु पर्याे, बानी पारेर विस्तारै नोट पनि घटाउँदै नगद कारोबार घटाउनुपर्छ, एकैचोटी नोट घटाएर पनि डिजिटल गर्न सकिँदैन,’ उनले भने, ‘हामी नेपालीको बानी पनि छैन्, हातले पैसा समातेर देख्नुपर्छ, चाडपर्वमा दक्षिणा दिँदा अरुलाई असर नपर्ने गरी दिनुपर्ने हुन्छ ।’ ‘नोट तुरुन्तै आउँदैन, नोट निस्किन एक वर्ष लाग्छ, मेरो पालामा नोट निकाल्न डेढ वर्ष लगाएको थियो, एक वर्ष अगाडि नै दिएको भए अहिले पैसा आउन सक्छ, अहिले पुरानै स्टक नोट चलाउने हो, पहिला नै छापेर ल्याएको नयाँ नोट स्टक हुन्छ, त्यहि नै बजारमा वितरण गर्ने हो,’ उनले भने । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले डिजिटल कारोबारमा अभ्यस्त भएकालाई नयाँ नोटले केही काम नगर्ने बताए । धार्मिक परम्पराका हिसावले मठमन्दिरमा पनि नयाँ नोट चढाउने चलन भएकाले बजारमा ल्याउनु परेको उनको भनाइ छ । उनले वर्षभरि नै बजारमा नयाँ नोट सर्कुलेशन भइरहेको बताए । दशैंमा घोषणा गरेर जाने परिपार्टीलाई निरन्तरता दिएको उनको भनाइ छ । ‘डिजिटल कारोबारमा अभ्यस्त र अभ्यस्त हुन खोज्नेलाई नयाँ नोट केही होइन, परम्परागत धार्मिक हिसाबले मठमन्दिरमा पवित्र नोट नोट चढाउने हाम्रो समुदायमा हुनुहुन्छ, जसलाई हामीले ब्रेक लगाउन हुँदैन्,’ उनले भने, ‘नयाँ नोट बजारमा वर्षभरि नै सर्कुलेसन भइरहेको हुन्छ, दशैंमा घोषणा गरेर परम्परालाई निरन्तरता दिएको मात्रै हो, डिजिटलको ठीक विपरित हो भन्न मिल्दैन ।’ बजारमा नयाँ नोटको माग वर्षेनी कम हुँदै गएको उनले बताए । बजारमा नयाँ नोटप्रतिको आकार्षण घटेको बताउँदै उनले इन्टरनेटको पहुँच भएको ठाउँमा कम नोट सर्कुलेशन गर्ने सुझावको रुपमा लिएको बताए । ‘अघिल्लो वर्षको तुलनामा बजारमा फ्रेस नोटको डिमाण्ड तुलना गरिरहेका छौं, वर्षेनी नयाँ नोटको माग कम छ, केही समयपछि दक्षिणा पनि वालेटबाट ट्रान्सफर गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘डिजिटलबाट नै दक्षिणा ट्रान्सफर गर्नुपर्ने र नयाँ नोटप्रतिको आककर्षण घट्न सक्छ, वर्ष भरि नै पुरानो वा झुत्रा नोटहरु राष्ट्र बैंकमा छिर्छन र नयाँ नोट बाहिर निस्किन्छन् ।’

निरन्तर घट्दै सुनको भाउ

काठमाडौं । तीजमा सुनचाँदीको भाउ सस्तिएको छ । बिहिबार तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा झरेको छ । हिजो सुन तोलामा ८०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । चाँदी तोलामा ३० रुपैयाँले घट्दा प्रतितोला एक हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।  

वीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

पोखरीया । पर्साको वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । हाल दैनिक रुपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताए । रासस

बेको इलेक्ट्रोनिक्सले ल्यायो दशैं तिहार उपहार योजना

काठमाडाैं । युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले दशैं तिहारलाई लक्षित गर्दै ‘बेको सँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार’ नामक योजना ल्याएकाे छ । कम्पनीले ल्याएको यस योजना भदौ १० गतेबाट लागु भइसकेको छ । यस योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर पाईनेछ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईनेछ । साथै, बेको को रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा ४ हजार बराबरको फ्री इन्स्टलेसन पाईनेछ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीको सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा र भरतपुरमा रहेको छ ।

पर्वतको भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

कुश्मा । पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ । पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ । पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताए । यसअघि मङ्गलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो । पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन् । केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ । रासस