युक्रेन युद्धले संकटमा पर्दै युरोपको अर्थतन्त्र
एजेन्सी । महामारीको २ वर्षपछि प्रचुर मात्रामा सरकारी खर्चद्वारा अर्थतन्त्रलाई टेवा दिन र महामारीबाट पिडित परिवारलाई सामान्य अवस्थाको भावना पैदा गर्नको तयारी गरिएको थियो । तर, २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि ती सबै कुरामा परिवर्तन भयो । सामान्य अवस्था हट्यो र संकट फेरि स्थायी भएर आयो । युरोपमा मन्दी हुने कुरा लगभग निश्चित भएको छ । मुद्रास्फीति दोहोरो अंकको नजिक पुगेको छ र जाडो मौसमसँगै ऊर्जा संकट पनि नजिकिएको छ । खराब संकेतसँगै २०२३ अघि कुनै पनि महत्वपूर्ण सुधार हुन सकेन भने आउटलुक अझै बिग्रने सम्भावना छ । ‘संकट नयाँ सामान्य हो’, रिटेलर क्यारेफोरका प्रमुख कार्यकारी अलेक्जान्डर बोम्पार्ड भन्छन्, ‘हामीले विगत दशकहरूमा के प्रयोग गर्यौं, कम मुद्रास्फीति, अन्तर्राष्ट्रिय व्यापार, यो समाप्त भयो’ उनले लगानीकर्ताहरूलाई भने । परिवर्तन नाटकीय छ । एक वर्ष पहिले अधिकांश पूर्वानुमानकर्ताहरूले २०२२ को आर्थिक वृद्धि ५ प्रतिशतको नजिक हुने भविष्यवाणी गरेका थिए । तर, अब हिउँदमा आर्थिक मन्दी आधारभूत रुपमा नै देखिने सम्भावना देखिएको छ । परिवार र व्यवसाय दुबै युद्धको कारण पीडित हुन पुगेका छन् । खाद्यान्न र उर्जाको मूल्य उच्च भएको छ । अब विनाशकारी खडेरीको कारण नदीको प्रवाह घटेकाले यातायातमा पनि समस्या सिर्जना हुने देखिएको छ । पछिल्लो आधा शताब्दिमा युरोप क्षेत्रमा ९ प्रतिशत मुद्रास्फिति कहिल्यै देखिएको थिएन । मुद्रास्फितिका कारण पेट्रोल, प्राकृतिक ग्यास र मुख्य खानामा अतिरिक्त नगद प्रयोग भएकोले मानिसहरुको क्रयक्षमता घट्नेक्रममा छ । गर्मी मौसम शुरु हुनुभन्दा महिनौं अघिदेखि खुद्रा बिक्री घट्दै गएको थियो र पसलहरूले स्वयंले पनि आफ्नो खरिद घटाइरहेका छन् । जुन महिनामा खुद्रा बिक्रीको मात्रा एक वर्ष अघिको तुलनामा लगभग ४ प्रतिशत कम थियो, जर्मनीमा भने ९ प्रतिशत घटेको छ । पछिल्लो समयमा उपभोक्ताहरू नियमित तरिकाले खरिद गर्नेभन्दा पनि छुट भएका समाग्रीहरुतर्फ आकर्षित भएको देखिन्छ । जसकारण उच्च मूल्य भएका उत्पादनहरुमा भन्दापनि छुट दिने ब्राण्डहरुतर्फ लागेको देखिन्छ । यतीमात्रै नभएर उपभोक्ताहरुले आफ्नो खरिददरलाई समेत घटाउन थालेका छन् । ‘जीवन महँगो हुँदै गइरहेको छ र उपभोक्ताहरू उपभोग गर्न अनिच्छुक छन्’, जर्मन रिटेलर जालान्डोका सह–सीईओ रोबर्ट गेन्ट्जले पत्रकारहरूलाई भने । निरन्तर आपूर्ति अवरोधहरूको कारणले सिर्जना भएको उच्च मूल्यका बाबजुद पनि व्यवसायीहरुले अहिलेसम्म राम्रो गरिरहेका छन् । तर, धेरै उर्जा खपत हुने क्षेत्र भने पहिल्यैदेखि नै पिडित भइसकेका छन् । युरोपको लगभग आधा एल्युमिनियम र जिंक पगाल्ने क्षमता पहिले नै अफलाइन छ, त्यस्तै प्राकृतिक ग्याँस मा निर्भर मल उत्पादनहरु अधिकांश बन्द अवस्थामा पुगेका छन् । पर्यटन एक दुर्लभ उज्ज्वल स्थानमा परिणत भएको छ । मानिसहरूले आफूसँग भएको संचित बचत खर्च गर्न र सन् २०१९ पछि पहिलो पटक गर्मीको आनन्द लिन खोजिरहेका थिए । तर, ट्राभल क्षेत्र पनि श्रमीक अभावले गर्दा ग्रस्त भएको छ । महामारीको समयमा घर फर्किएका कामदारु अहिलेसम्म पनि काममा फर्किन हिच्किचाइरहेका छन् । कर्मचारीको अभावका कारण फ्रान्कफर्ट र लन्डन हीथ्रो जस्ता प्रमुख एयरपोर्टहरूले उडानहरू सीमित गर्न बाध्य भए । मन्दी अझै बढ्न सक्छ अहिले युरोपले भोगेको पीडा तीव्र हुने सम्भावना छ । रूसले ग्यास निर्यातमा कटौती गर्छ । ७० को दशकमा भएको तेलको समस्या भन्दा अहिले देखिएको ग्याँसको समस्या दोब्बर भएको क्यापिटल इकोनोमिक्समा क्यारोलिनले भनेका छन् । ‘हामीले विगत दुई वर्षमा युरोपमा प्राकृतिक ग्यासको मूल्यमा १० देखि ११ गुणा वृद्धि भएको देखेका छौं ।’ जाडो मौसममा सामान्य जनताको लागि उर्जा संकटले समस्या पार्ने देखिएको छ, साथै घर र कार्यालयहरू उर्जा अभावका कारण चिसो हुनेछन् । जर्मनी यस जाडोमा सार्वजनिक स्थानहरू केवल १९ डिग्री सेल्सियसमा न्यानो होस भन्ने चाहन्छ, जुन पहिले लगभग २२ डिग्री थियो । मुद्रास्फीतिको विषयलाई लिएर सस्तो उर्जा आपूर्ति त्याग्ने हो भने उर्जा उत्पादनको लागत उच्च हुन्छ । यसको अर्थ उद्योगमा लागत वृद्धि बढी उत्पादन कम हुने अवस्था सिर्जना हुन्छ । युरोपियन ब्लकमध्ये जर्मनीमा पछिल्लो १ वर्षमा मात्रै ग्यासको मूल्यमा पाँच गुणाले वृद्धि भएको छ । तर, पूर्व दीर्घकालीन सम्झौताको कारण उपभोक्ताहरुमा समस्या सिर्जना भएको छैन । तैपनी उपभोक्ताहरुले सरकार निर्देशित शुल्क भने तिर्नुपर्दछ । एकपटकको सम्झौता अवधि सकिएपछि ग्यासको मूल्य बढ्नेछ । तर, मुद्रास्फीतिमा भने माथिदेखि निरन्तर दबाब सिर्जना भइरहेको छ । युरोपको अर्थतन्त्रमा अब्बल स्थानमा रहेका तर ग्यासमा परानिर्भर रहेका मुलुकहरु जर्मनी र इट्ली चाँडै नै मन्दीमा प्रवेश गर्ने अर्थशास्त्रीहरुले बताइरहेका छन् । संयुक्त राज्य अमेरिकामा पनि मन्दीको सम्भावना छ, तर त्यो फरक ढंगले हुनेछ । सकारात्मक सम्भावना रातो–तातो श्रम बजार, तीव्र ज्याला वृद्धि, यू.एस. फेडरल रिजर्भले ब्याजका दरहरुमा गरेको वृद्धिले मन्दीको जोखिम रहेको स्पष्ट रुपमा संकेत गरेको छ । कम्पनीहरूले वर्षौंदेखि बढ्दो श्रमिक अभावको सामना गरिरहेका छन् । यसले कम्पनीहरुलाई कामदारसँग थप सम्झौता गरेर अगाडि बढ्ने संकेत गर्छ । विशेष गरी तिनीहरू अपेक्षाकृत स्वस्थ नाफा हुँदै मन्दीतर्फ गइरहेको देखिन्छ । बेरोजगारी दर अत्यन्तै कम रहेको अवस्थामा, विस्तारै मानिसहरुको क्रयशक्ति कायम हुनसक्ने कुराले मन्दी कम हुने संकेत पनि देखिन्छ । जुन कुरा अहिले बोरोजगारी दरको तथ्यांकले देखाउँछ । ‘हामीले श्रमको निरन्तर अभाव, ऐतिहासिक रूपमा कम बेरोजगारी र ठूलो संख्यामा रिक्त पदहरू देखेका छौं’, ईसीबी बोर्ड सदस्य इसाबेल स्नाबेलले पहिले रोयटर्सलाई भनेका छन्, ‘यसको अर्थ सायद यो हो कि यदि हामी मन्दीमा प्रवेश गर्यौं भने पनि, कम्पनीहरूले व्यापक स्तरमा कामदारहरूलाई हटाउन धेरै अनिच्छुक हुन सक्छन् ।’ बालाज कोरानै रोयटर्स – बालाज कोरानै रोयटर्स
ट्रायलमा नक्कली परीक्षार्थीको विगविगि, एक महिनामा ६ जना पक्राउ
काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिनेको विगविगि बढेको छ । २ जना व्यक्ति शुक्रबार पक्राउ परेका छन भने एक महिनामा ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राज कुमार श्रीमललाई पक्राउ गरेको हो । सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोहि ठाउँका २१ बर्षिय टुकुसिंह तामाङ र गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोहि ठाउँका २२ बर्षिय राज कुमार श्रीमललाई पक्राउ गरेको हो । गत साउन १९ गते देखि हालसम्म ६ जना नक्कली परिक्षार्थीहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाएको हो । गत साउन १९ गते राधेराधे ट्रायल सेन्टरबाट ललितपुरको लुभु बस्ने २३ बर्षिय सन्तोष थापाको नाममा ट्रायल दिदै गर्दा भक्तपुरको गठ्ठाघर बस्ने २२ बर्षिय सुजन भट्टराई र यही भदौ १४ गते सबिन सेन्जुको नाममा ट्रायल दिँदै गर्दा मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै गत साउन २३ गते काठमाडौँको गुर्जुधाराबाट काठमाडौको छैमले बस्ने ३० बर्षिय रामचन्द्र खतिवडाको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका ३५ बर्षिय साजन आचार्य र यहि भदौ १३ गते पाँचथर घर भई हाल सतुङगल बस्ने आईन्द्रा आङदावेको नाममा ट्रायल दिँदै गर्दा पाँचथर घर भई हाल सतुङगल बस्ने बृज फाङक लिम्बुलाई प्रहरीले पक्राउ गरि अभद्र व्यवहारमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।जसमध्ये सन्तोष थापाको नाममा ट्रायल दिने सुजन भट्टराईलाई पुर्पक्षको लागी थुनामा पठाएको छ । अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । यसका साथै अर्कै व्यक्तिले परिक्षा दिएर सवारी चालक अनुमति पत्र निकालिदा दक्ष चालकको कमी भई दुर्घटना समेत निम्तिने भएकोले ट्रायल सेन्टरहरुमा थप निगरानि बढाईएको समेत उनले बताए ।
पाँच वर्षपछि २ खर्बको विद्युत निर्यात हुन्छ, विश्वको उर्जाको स्रोत नेपाल हुन्छ : कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालबाट पाँच वर्षपछि २ खर्बको विद्युत निर्यात हुने बताएका छन् । शुक्रबार काठमाडौंमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सन्देशमुलक सुचनाबाट विद्युत खपत बढाउने बताए । ‘६ वर्ष अघि विद्यालयमा विद्युत खपत कम गर्न भन्दै जानू पर्ने बाध्यता थियो, तर सोही विद्यालयमा अब खपत गर्नु पर्यो भनेर जानुपर्ने बाध्यता आएको छ, ५ वर्षपछि २ खर्ब बढी को विद्युत निर्यात गर्छौ,’ उनले भने । उनले हाल ट्रान्समिसनको लाइनको काम अघि बढिरहेको जानकारी दिए । घिसिङ हजारौं मेगावाट बिजुलीको खपत स्वदेशमा गर्न सकिने बताउँछन् । दुधकोशी, अरुण ३, बुढीगण्डकी निर्माण कार्य तीव्र भइरहेको जानकारी दिँदै उनले सबैलाई घरका सबै सामाग्री र यातायातका साधन विद्युतिय प्रयोग गर्न आग्रह गरेका छन् । ‘ग्रीन हाइड्रोजन, रासायनिक मल, लगायत नेपालले निर्यात गर्न सक्छ, अब विश्वको उर्जाको स्रोत नेपालको पानी हुन्छ,’ उनले भने ।
राष्ट्रिय जनगणनाको अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक हुने
काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुनेभएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको र अब बागमती प्रदेशको भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र रहेको जानकारी दिए । विभागले तथ्याङ्क प्रशोधनका क्रममा १२ कक्षा उत्तीर्ण गरी कम्तीमा तीन महिना कम्प्युटर तालिम लिएका ४०० नेपाली नागरिकलाई नियुक्त गरी गत चैत महिनादेखि काम गर्दै आएको छ । प्रत्येक सिफ्टमा २०० जनाका दरले हरेक दिन बिहान ६ः३० बजेदेखि दिउँसो १२ः३० बजेसम्म छ घण्टा र त्यसपछि बेलुका ६ः३० बजेसम्म प्रशोधनको काम विभागको केन्द्रीय कार्यालय, थापाथलीमा भइरहेको छ । पहिलोपटक यसरी विभागमा भएको प्रशोधनको काम आगामी असोज महिनामा सम्पन्न हुनेछ । यसअघि गणक र सुपरभाइजरको भूमिका निर्वाह गरेका अनुभवी व्यक्तिलाई प्रशोधन प्रक्रियामा प्राथमिकता दिइएको जानकारी दिँदै निर्देशक लामिछानेले प्रशोधन कार्यमा खटिने जनशक्तिलाई कम्प्युटरमा एक अङ्क प्रविष्ट गरेवापत तीन पैसाका दरले पारिश्रमिक दिने गरेको बताए । विभागको प्रत्यक्ष निगरानीमा प्रशोधनकार्य भइरहेको र कम्प्युटर छिटो चलाउने प्रशोधनकर्ताले महिनामा ५० हजारसम्म पारिश्रमिक बुझ्ने गरेको विभागले जनाएको छ । राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमीकमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसतर्फ आवश्यक छानविन गरी मतगणना प्रक्रियालाई अन्तिमरूप दिन विभाग लागिपरेको छ । राष्ट्रिय योजना आयोगका सचिवको अध्यक्षतामा जात, जाति, धर्म, समुदायसम्बद्ध संवैधानिक आयोगसहित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सदस्य रहने समितिले उजुरी/निवेदनका बारेमा छानविन गरी निर्णय गर्ने कानूनी व्यवस्था रहेको निर्देशक लामिछानेले जानकारी दिए । उक्त प्रक्रिया पूरा भएपछि जारी राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा विभागले सार्वजनिक गर्नेछ । हरेक १० वर्षमा एकपटक हुने जनगणनाको शृङ्खलामा राष्ट्रिय जनगणना, २०७८ नेपालको १२औँ र २०७२ को संविधान जारी भएपछि सङ्घीय गणतान्त्रिक प्रणालीको पहिलो गणना हो । विभागले यसअघि भर्चुअल माध्यमबाट गत माघ महिनामा जनगणना, २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या दुई करोड ८१ लाख ९२ हजार रहेको जनाएको छ । विसं २०६८ मा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार रहेको थियो । रासस
विद्युत प्राधिकरणको एप सार्वजनिक, ५ वटा मिटरको बिल एकैपटक तिर्न सकिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपभोक्तामैत्री एप सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै प्राधिकरणले आफै बिजुलीको बिल तिर्न सकिने एप सार्वजनक गरेको छ । उक्त एपमार्फत बिजुलीको बिल तिर्नको लागि मिटर नम्बर, ग्राहक नम्बर र ठेगाना पनि राख्नु पर्ने छ । यस्तै, एपबाट पाँच जनाको मिटर जोडेर पनि बिल तिर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार एपमा आफुले तिरेको बिल, जरिवाना र उपयोग गरेको बिजुलीको रेकर्ड हेर्न सकिनुको साथै एपबाट गुनासो पनि गर्न पाइने छ । यति मात्र नभएर एपबाट विद्युतिय गाडीको लागि नजिकैको चार्जिङ स्टेशन पनि हेर्न सकिने प्राधिकरणले जनाएको छ ।
कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने भएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा सार्वजनिक भएकै दिन परीक्षा तालिकासमेत सार्वजनिक गरेको जानकारी दिए । यस वर्ष ग्रेड वृद्धि परीक्षामा एक लाख ३० हजार ८७८ परीक्षार्थी सहभागी हुन पाउने छन् ।बोर्डका उपाध्यक्ष डा शर्माले भने, ुयस वर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यसमध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् ।ु दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनःग्रेड वृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको थियो । यस वर्ष नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । तीमध्ये नतिजामा चार हजार १७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार १०७ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि दुई जिपिए ल्याएका छन् ।
कोरियामा कोरोना सङ्क्रमण घटेन, भारतमा घट्दै
सोल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ । बिहीबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८९ हजार पाँच सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३४ लाख १७ हजार चार सय २५ पुगेको छ । दक्षिण कोरियामा अघिल्लो दिन अर्थात बुधबार सार्वजनिक भएको तथ्याङ्अनुसार ८१ हजार पाँच सय ७३ जना नयाँ सङ्क्रमित थपिएका थिए । दक्षिण कोरिया कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबारको तुलनामा बिहीबार घटेको छ । बुधबार कोरोना सङ्क्रमणको कारण एक सय १२, जनाको मृत्यु भएको थियो भने, बिहीबार ६४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन । यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सङ्ख्या २६ हजार नौ सय ४० पुगेको छ । यसैबीच भारतमा एकै दिनमा छ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म छ हजार एक सय ६८ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४४ लाख ४२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा सात हजार नौ सय ४६ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार दुई सय १० जना रहेका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । २४ घण्टाको समयावधी बिहीबार मध्यरात अर्थात कोरोना सङ्क्रमणबाट भारतमा २१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार नौ सय ३२ भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८५ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३८ लाख ५५ हजार तीन सय ६५ जना कोरोनामुक्त भएका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। । सो समयबाट हालसम्म दुई अर्ब १२ करोड ७५ लाख २३ हजार चार सय २१ भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६४ लाख ६६ हजार दुई सय ५५ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
सबैको विश्वासिलो बनौं, वित्तीय जोखिमांकन गर्दा बढी चनाखो होऔं : बीमा समिति
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा समितिले आयोजना गरेको बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् कर्मचारीहरुसँग भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । कार्यक्रममा उनले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीब र पिछडिएका वर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै गरीब, विपन्न र पिछडिएका वर्गले आफ्नो क्षमता र चाहना अनुसार बीमा गर्न पाउनुपर्छ भन्नेमा समिति दृढ रहेको बताए । अन्तरक्रिया कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा निरन्तर छलफल भइरहेको र चाँडै नै दाबी भुक्तानी शुरु हुने जानकारी दिए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको विद्यमान पुँजीले जोखिम धान्न नसक्ने भएकाले चुक्ता पुँजी वृद्धिको निर्णय गरिएको, बीमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयहरुमा दाबी भुक्तानी सहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको र बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई सचेत गराइएको बताए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वित्तीय जोखिमांकन राम्रो भएमा आपराधिक घटना हुन नपाउने भएकाले बीमा कम्पनीहरु वित्तीय जोखिमांकन गर्दा बढी चनाखो हुनुपर्ने बताए । त्यस्तै, कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयमा अधिकार प्रत्योजन नहुँदा ससानो दावी भुक्तानीका लागि केन्द्रमै जानुपर्ने बाध्यता रहेको, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा देखिएको, शाखा कार्यालयहरुमा कर्मचारीको अभाव भएको, विपन्न, गरीब र पिछडिएका बर्गको क्षमता र आवश्यकता अनुसारको बीमालेख नभएको, स्वास्थ्य जोखिमांकनको परीक्षणका लागि स्वास्थ्य चौकीहरुमा उपकरणको अभाव भएको लगायतका धारणा राखेका थिए । कार्यक्रममा बीमा समितिका निर्देशक दिनेशकुमार लाल, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमितहरु लगायतको सहभागिता रहेको थियो ।