वीरगञ्ज विकास प्राधिकरण गठन गरिने
वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । वीरगञ्जको वृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो । नगरप्रमुख राजेशमान सिंहका अनुसार नगरकार्यपालिकाको पछिल्लो बैठकबाट वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरिएको थियो । साविकको वीरगञ्ज उपमहानगरपालिकामा जोडिएका नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित र योजनाबद्ध विकासका लागि वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरी काम अगाडि बढाइएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार वीरगञ्ज विकास प्राधिकरणको गठन नयाँ कार्यक्रम हो । चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा मधेस प्रदेश सरकारले वीरगञ्ज विकास प्राधिकरण र जनकपुर विकास प्राधिकरण गठन गर्ने घोषणा गरेको थियो । यसका लागि ३० करोडको व्यवस्था गरिएको छ ।
निर्वाचन आएपछि हारिएलाकी भन्ने डर सँधै हुन्छ – गगन थापा
फाइल फोटो काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन् । चुनावमा जित/हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको अनुभुति सुनाएका हुन् । काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई पनि परीक्षामा फेल भइएलाकी भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए । पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह गरे । उनले भने, ‘एउटा चुनाव जित्यो । त्यसपछि खुशी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ । उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेलो भन्ने डर । जिन्दगी नै यसरी नै जाने हो । तर बालबालिकाहरुलाई जित र हार हुन्छ । सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ । आफ्नो कर्म गर्ने हो । तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ । तर कर्म भने गर्दै जानुपर्छ ।’ महामन्त्री थापाले जिन्दगीमा सधैँ सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरुलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताए ।
उदयपुर हत्या घटना : हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ
सांकेतिक तस्बिर उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो । शुक्रबार दिउँसो पारिवारिक विवाद भएपछि बेलका नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको हत्या गरिएको थियो । तीनैजनालाई नरबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका थिए । मृतक सरिता नरबहादुरकी श्रीमती तथा सुजन छोरा हुन् । हत्यापछि नरबहादुर फरार भएका थिए । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार शोदारका अनुसार घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलका रामपुरको टोली परिचालन गरिएको थियो । उनलाई बेलका–६ बरबोट नजिकैको जङ्गलबाट खुकुरीसहित पक्राउ गरिएको हो । नरबहादुरको बयान लिने कार्य भइरहेको र हत्याको कारण चाँडै खुल्ने प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए । तीनै जनाको शव परीक्षणका लागि सुनसरीस्थित विपी मेमोरियल अस्पताल लगिएको छ ।
बैंकको लाइसेन्स खुला गर्नुपर्छ, पुँजी २० अर्ब हुनुपर्छ – विश्व पौडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बैंकको लाइसेन्स खुला हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष पौडेलले सो कुरा बताएका छन् । ‘न्युनतम पुँजी २० अर्ब रूपैयाँ राखेर हुन्छ, आवश्यक मापदण्ड बनाएर लाइसेन्स खुला गरिनुपर्छ, कुनै पनि क्षेत्रमा सिण्डिकेट राख्नु हुदैन’ उपाध्यक्ष पौडेलले भने । राष्ट्र बैंकले बैंकिङ क्षेत्रको लाइसेन्स बन्द गरेको १३ वर्ष भएको छ । नेपालको विकास कसरी हुँदैछ भनेर व्याख्या गर्ने क्रममा उनले आगामी पाँच वर्षभित्र आर्थिक उदारिकरण विस्तारित हुने र सबै क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य हुने बताए । पत्रकारहरूले पनि साेही अनुसार कमल चलाउनु पर्ने उनले बताए । हरेक क्षेत्रमा लगानीकर्ताले चाहेमा नयाँ कम्पनी खोल्न र लगानीकर्ताले चाहेमा पुराना कम्पनी बन्द गर्न पाउने गरी सहज वातावरण बनाइदिनुपर्ने उनले बताए । अहिले बैंक, बीमा कम्पनी, सेयर ब्रोकर कम्पनी, मर्चेन्ट बैंकिङ, मेडिकल कलेज, कलेज, बोडिङ स्कूल, बचत तथा ऋण सहकारी संस्था, पेट्रोल पम्प, मदिरा उद्योग, चुरोट उद्योग, क्रसर उद्योग लगायत दर्जनौ क्षेत्रमा खोल्न सरकारले लाइसेन्स बन्द गरेको छ । सिण्डिकेटका कारण उद्योग, व्यापार, यातायात लगायत धेरै क्षेत्रमा समस्या रहेको उनले सुनाए । सिण्डिकेट कै करण भारतमा ३ सय रुपैयाँ पर्ने भ्याक्सिनलाई नेपालमा १२ सय परिरहेको उनले बताए । गभर्नरको असहमति विकासन्युजसँगको जिज्ञासामा गभर्नर अधिकारीले अहिले राष्ट्र बैंक लाइसेन्स खुला गर्न पक्षमा नरहेको बताए । ‘हामी अहिल मर्जरलाई प्रोत्साहित गर्दैछ । तत्कालका लागि बैंक र बीमा क्षेत्रको लागि लाइसेन्स खुला गरिनुहुन्न भन्ने मेरो मत हो’ उनले भने । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेलले बैंकिङ क्षेत्रमा लाइसेन्स खुला गर्नुपर्छ भन्दै गर्दा गभर्नर महाप्रसाद अधिकारी सोही कार्यक्रमको मञ्चमा थिए । उनले विश्व पौडेलले बोल्नु भन्दा पहिला बोल्दै वर्किङ क्यापिटल बारे राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन २०७९ को बचाउ गरेका थिए । ‘राष्ट्र बैंकले करिव ७ वर्ष लगाएर धेरै मिहेनतका साथ यो नीति लिएको हो । यसका व्यवहारिक पक्षहरु हेरिएका छन् । कार्यान्वयनमा समस्या हुनेछैन’ अधिकारीले भने ।
देशभर विकास र समृृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ – अध्यक्ष दाहाल
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष दाहालले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए । जनताको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।’ भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उनको भनाइ थियो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरिन्। सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। प्राधिकरणले अहिले १६ अर्ब नाफा गरेको उनले जानकारी दिए । अहिले दैनिक १० करोडदेखि १२ करोडसम्म बिजुली बेचिरहेको उनको भनाइ थियो । भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ । उक्त कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्ने छ । ठेक्काको रकम दुई अर्ब ५० करोड हाराहारी रहेको आयोजनाले जनाएको छ । भरतपुर बाइपास सडकको पुरै र छ लेनको पुलचोकबाट केन्द्रिय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख छ । सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्ने छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा बिद्युत भूमिगत गर्न लागिएको हो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
अर्थतन्त्र लयमा फर्किदै छ – अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए। मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गरे । उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए। मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए। कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले आग्रह गरे।
मजदुरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आएकी छन् । चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो । कमैया मुक्तिको घोषणा भएपछि पुनःस्थापन हुँदा सरकारबाट उपलब्ध गराइएको पाँच कट्ठा जग्गामध्ये दुई कट्ठा जग्गामा चौधरीले घर बनाएकी छन्। बाँकी तीन कट्ठा जग्गामा तरकारी खेती गर्छिन् । तरकारी खेतीले वर्ष भरिको घरको खर्च चल्छ । ‘विगतमा घरखर्च चलाउनकै लागि मजदुरी गर्नु पर्ने बाध्यता थियो’, उनले भनिन्, ‘तरकारी खेती गर्ने तौर तरिका सिकेपछि यसबाटै सहजरुपमा घर खर्च चल्न थालेको छ, वर्षभरि तरकारी खेती हुन्छ, त्यही तरकारी खेतीले जीवन धानिएको छ ।’ चौधरीले वर्षमा तीन पटकसम्म तरकारी रोप्नुहुन्छ जसबाट वार्षिक रुपमा पाँच लाख जति आम्दानी हुन्छ । हिउँदको समयमा बस्ती नजिकै भएर बग्ने वनहरा नदीको बगरमा बगर खेती गर्नुहुन्छ । त्यसबाट दुई लाख जति आम्दानी हुन्छ । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि दश कट्ठा जग्गाको वार्षिकरुपमा रु १० हजार भाडा तिर्ने गरी लिजमा लिएकी छन् । अन्नको जोहो गर्नका लागि स्थानीय बासिन्दाको दुई बिघा जग्गा अधियासमेत उहाँले कमाउने गर्दै आएकी छन् । ‘छोरालाई महेन्द्रनगरमा डेरामा राखेर स्तरीय विद्यालयमा पढाउँदै आएको छु’, उनले भनिन्, ‘तरकारी खेतीको कमाइले सबै धानिएको छ‘, ‘बिरामी पर्दा, घरको गर्जो टार्न, बालबालिकाको विद्यालयको खर्च चलाउन र अरु कार्यका लागि कसैसँग कमैया मुक्ति पछि हात थाप्नुपरेको छैन, पाखुरी खियाएर, मिहिनेत गरी आम्दानी गर्दै आएको छु, यसमा परिवारले साथ दिँदै आएका छन्’, चौधरीले गर्व गर्दै भनिन्। चौधरीले १३ वर्षको उमेर छँदै चार वटा जमिन्दारको घरमा कमैया बसेर काम गरेकी थिइन्। दत्तरामजस्तै बस्तीका २० मुक्तकमैया परिवारले बर्सातमा काँक्रा, लौका, बोडी, भिन्डीलगायतको तरकारी खेती गर्दछन् । हिउँदमा दुई पटक काउली, बन्दागोभी, टमाटर, लौका, खुर्सानी, हरियो सागपातलगायतको तरकारी रोपेर आम्दानी लिन्छन । जेठ, वैशाखमा प्लाष्टिकको टनेलभित्र काँक्रो रोप्ने गरेका छन् । माघ महिनादेखि जेठको अन्त्यसम्म नदीको बगरमा लौका, फर्सी, काँक्रो, तरभुजा खेती गरेर आम्दानी लिन्छन् । ‘तरकारी खेती गरेर यति धेरै आम्दानी हुन्छ भन्ने पहिला थाहा थिएन’, सैवनिया वडायकले भने, ‘परिवारका श्रीमान श्रीमती दुवै जना मजदुरीमा जाने गरेका थियौँ, त्यसबाट दैनिक खर्च चलाउनसमेत निकै समस्या हुन्थ्यो, कुनै दिन मजदुरी नपाइदा भोकैसमेत बस्नुपर्ने अवस्था आइलाग्दथ्यो ।’ ‘पुनः स्थापन हुँदा पाइएको पाँच कट्ठा जग्गामा बालुवा मिश्रित माटो भएकाले अन्न फल्दैनथ्यो, कुन माटोमा कुन बाली सप्रिन्छ भन्ने कुरा तत्कालीन कृषि विकास कार्यालयले दिएको तालिममा सिक्यौँ’, उहाँले अनुहार हसिलो पार्दै भने, ‘त्यस पछि तरकारी खेती गर्न थाल्यौँ । तरकारी खेती गर्न थालेपछि पैसाले हात कहिल्यै रित्तो भएको छैन । विगतको जस्तो मजदुरी खोज्दै जानुपर्ने पनि छैन ।’ ‘मिहिनेत गरे खेतमै पैसा फल्छ भन्थे, पत्याएको थिइन्, थोरै जग्गामा दैनिक मिहिनेत गर्छौं, तरकारी फल्छ, बेच्छौँ, पैसा नै पैसा हुन्छ’, उनले भने । तरकारी खेती गर्नमा निपुण भएपछि वर्षभरिनै यसै खेतीलाई निरन्तरता दिँदै आएका जानकारी रानाले वर्षमा चार पटक तरकारी खेती गर्दै आएको बताउँछिन् । ‘पहिला घरमा पैसाको समस्या परे साहु महाजनसँग गुहार्नु पर्दथ्यो’, उनले भनिन्, ‘अहिले आँफै कमायो, खर्च ग¥यो, भविष्यका लागि रकम बचत ग¥यो, कुनै रोक तोक छैन, साहु महाजनसँग कर्जा माग्न जाने झन्झट छैन । के लगाउन, के खाउ भन्ने पनि छैन, तरकारी बेचेर आएको पैसाले घरको सबै खर्च चलेको छ ।’ बगरमा उत्पादित तरकारी गहुँलगायतका अन्नसँग साटेर लिने भएकाले अन्नको अभाव नहुने बरु बढी भएको अन्न बेचेर अरु कार्यका लागि खर्च गर्दै आएको उनले बताए। गएको एक महिनामै काँक्रो मात्रै बिक्री गरेर रु २५ हजार बढी आम्दानी गरेको विमल रानाले बताए। ‘मौसमी तरकारी खेतीमा बजारमा निकै प्रतिस्पर्धा हुने भएकाले मूल्य कमै पाइन्छ’, उनले भने, ‘बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी हुन्छ । प्रतिस्पर्धा कमै हुने भएकाले आम्दानी चाहेअनुसारकै हुन्छ ।’ बस्तीका व्यावसायिक तरकारी खेतीमा संलग्न मुक्तकमैया कोही पनि अब मजदुरीमा जाँदैनन् । तरकारी खेतीको कमाइले धेरै परिवारले पक्की घरसमेत निर्माण गरेका छन । केही निर्माण गर्ने तर्खरमा लागेका छन् । तरकारी बजारसम्म बोक्नसका लागि सबै जनासँग मोटरसाइकलको व्यवस्था रहेको छ । बाह्रै महिना तरकारी खेती गर्ने थोरै भए पनि बगर खेती गर्नेको सङ्ख्या भने ७० बढी रहने गरेको छ । नगरपालिकको कृषि शाखाका प्रमुख लालबहादुर धामीले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा प्लाष्टिक घर, बीउबिजन, कृषि औजार र यन्त्र उपलब्ध गराइँदै आएको बताउँछन । उनका अनुसार किसानलाई मागअनुसारको बेलाबेलामा तालिमको समेत व्यवस्था गरिँदै आएको छ । डकर्मी, कारपेन्टर, प्लम्बिङको सीप सिकेका भने अरु कहाँ अहिले पनि काममा जाने गरेका छन् । तरकारी खेतीमै संलग्नजस्तै अरु सीप सिकेकाले पनि आम्दानी गर्दै आएका छन् । बस्तीमा दुई सय बढी परिवारको बसोवास रहेको छ ।
बोर्डले शोज दिने होइन नीति निर्माण गर्ने हो भुवन केसी
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन् । शुक्रवार सम्हाल्निछ कहिले मनको प्रिमियर शोज हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताए । उनले चलचित्रि विकास बोर्डले चलचित्र व्यवस्थित तरिकाले चलाउन नीति निर्माण गर्ने भन्दै विकास बोर्डकै कारण कुनै फिल्मले शो धेरै पाए र कम पाए भन्ने कुरा नुबुझ्न आग्रह गरे । केसीले चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्ड सबै चलचित्रलाई समान रुपमा समेटेर अघि बढ्न र नबुझेकालाई बुझाउन तयार रहेको बताए । उनले कलाकारहरुले नै कतिपय ठाउँमा प्रेमगीत ३ को बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाए । उनले कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकोले सत्य बोल्न आग्रह गरे । उनले प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्न लागेको भन्दै त्यसको स्वागत गर्न कोही पनि हिच्किचाउन नहुने बताए । उनले भने, ‘चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेका हुन् । बोर्डले शोज दिने होइन, चलचित्रलाई व्यवस्थित गर्न नीति निर्माण गर्ने हो । कलाकारहरुले बोल्दा विचार गरेर बोल्नुपर्छ । प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्दैछ भनेपछि हामीले त्यसको स्वागत गर्नुपर्छ ।’