विकासन्युज

मध्यपहाडी राजमार्गले पोखरामा बजार क्षेत्र छाडेर गाउँ उक्लियो

फाइल फाेटाे कास्की । लामो समयदेखि विवादित रहेको राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा महानगर खण्डको राजमार्ग रेखाङ्कन (एलाइनमेन्ट) टुङ्गो लागेपछि ठेक्का आह्वान गरिएको छ । पोखरा महानगरपालिका–२५ याम्दी जौवारी पुलदेखि मादी गाउँपालिकाको भैँसेसम्मको राजमार्ग निश्चित नहुँदा लामो समय यस खण्डमा काम हुन सकेको थिएन । राजमार्गको नयाँ रेखाङ्कनअनुसार पोखरा बजार क्षेत्र छाडेर राजमार्ग गाउँ उक्लिएको छ । यसबाट पोखराको ग्रामीण क्षेत्र सुविधासम्पन्न राजमार्गमा जोडिने छन् । अर्मलाकोट, आँटीघर मौजा, सिक्लेस, ताङतिङलगायतका पर्यटकीयस्थलको महत्व झनै बढाउने भएको छ । मध्यपहाडीको पोखरा खण्डको दशकअघि तय गरिएको रेखाङ्कन क्षेत्रमा पछिल्लो समय बजार विस्तार भएको र राजमार्ग सोही बाटो हुँदै लैजादा ठूलो सङ्ख्यामा घरहरु विस्थापित हुने भएपछि बजार क्षेत्रमा लामो समय राजमार्ग विस्तारको योजना अघि बढ्न सकेको थिएन । कास्की खण्डकै पश्चिम क्षेत्रमा काम सम्पन्न भएको र पूर्वी खण्डको निर्माण भइरहँदा यस क्षेत्रमा विवादकै कारणले ठेक्का आह्वान हुन सकेको थिएन । सरकारले आगामी विसं २०८१ सम्ममा मध्यपहाडीको सम्पूर्ण काम सम्पन्न गर्ने गरी काम अघि बढाएको थियो । पछिल्लो समय पोखरा खण्डमा यसअघिको राजमार्गको रेखाङ्कन परिर्वतन गरिएको छ । पोखरा खण्डको ४० किमीमा नयाँ रेखाङ्कन गरेर विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी चार अर्ब लागत अनुमानसहित बोलपत्र आह्वान गरिएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताए। मध्यपहाडीको नयाँ रेखाङ्कनअनुसार याम्दीपुलदेखि, लामाचौर, अमला विसौनी, महेन्द्रगुफा, कालीखोला, अर्मलाकोट, आँटीघर, पानीघाट, मेलबोट, ज्याम्दु हुँदै भैँसेसम्म जोड्ने गरी डिपिआर बनाइएको छ । योजना कार्यालयका अनुसार याम्दीदेखि कालिखोलासम्मको सडक चार लेन र कालीखोलादेखि ज्याम्दुसम्मको पहाडी भूगोलमा दुई लेनको सडक बन्नेछ । योजना प्रमुख भण्डारीले भने, ‘भैँसेदेखि याम्दीसम्म विगत वर्षहरुमा डिपिआर र सर्भे भएर बसिरहेको र ठेक्का लगाउन नसकेको अवस्था थियो । पछिल्लो समय हामीले तीव्रताका साथ काम अघि बढाएर नयाँ रेखाङ्कनसहित डिपिआर तयार गरेर ठेक्का आह्वान गरेका छौँ, अब पोखरा खण्ड निर्माणको प्रक्रियामा अघि बढ्यो ।’ पोखरामा पुरानो डिपिआरअनुसार याम्दीपुलदेखि लामाचौर, भलाम, मणिपाल पछाडि, फूलबारी, काहुँखोला बजार हुँदै भैँसेसम्म जोड्ने योजना थियो । सो रेखाङ्कनमा अत्यधिक घर बनेको र धेरै जग्गा खण्डीकरण भएर घडेरीमा बिक्री भएकाले राजमार्गको मापदण्डले ठूलो बस्ती स्थानान्तरण गर्नुपर्ने र सो सम्भव नदेखिपछि डिपिआरनै परिर्वतन गरिएको मध्यपहाडी योजनाले जनाएको छ । बजार क्षेत्रबाट राजमार्ग लैजान नहुने र यसको डिपिआर परिर्वतनका लागि प्रदेश सरकार, महानगर तथा मादी गाउँपालिकाबाट समेत आग्रह भएको बताइन्छ । ‘राजमार्गको मापदण्डअनुसार सडकको दुवैतर्फ २५/२५ मिटर छाड्नु असम्भव देखिएको र बस्ती स्थानान्तरण गर्न नसकिने भनेर प्रदेश सरकार, महानगर, वडा तथा गाउँपालिकाबाट आग्रह भयो’, योजना प्रमुख भण्डारीले भने, ‘जग्गाको मुआब्जा दिने व्यवस्था समेत नभएकाले नयाँ रेखाङ्कनका लागि योजना कार्यालयबाट फाइल उठाएर सडक विभाग, भौतिक मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लगेर निर्णय गरेका हौँ ।’ मादी गाउँपालिकाले आफ्नो पालिकाको धेरै वडालाई समेट्ने गरी राजमार्गको नयाँ रेखाङ्कन गर्न माग गरेको थियो । कार्यपालिका बैठकबाटै भैँसेदेखि मादीको ज्याम्दु र पानीघाट जोड्ने गरी राजमार्ग लैजानुपर्ने माग गरिएको थियो । पछिल्लो एलाइनमेन्ट अनुसार मादीका अधिकांश वडा पक्की राजमार्गमा जोडिने भएका छन् । मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पहाडी क्षेत्र हुँदै मध्यपहाडी राजमार्ग विस्तारको योजनाले मादीको विकासमा ठूलो योगदान पुग्ने बताए। पालिकाका धेरै वडा मध्यपहाडीले छुने भएकाले मादीको पूर्वाधार विकाससँगै, पर्यटन, कृषि र जनजीविकालाई सहज बनाउने उनले बताए । गुरुङले भने, ‘मादीलाई धेरै समेट्ने गरी राजमार्ग लैजानुपर्छ भनेर हामीले माग गरेका थियौँ, अहिले सोहीअनुसार भएको छ । स्थानीयवासीले पनि जमिन दिन तयार हुनुभएको छ, विवाद छैन, यसले खुसियाली थपेको छ ।’ मध्यपहाडी राजमार्गको कास्की खण्डमा ९१ किमी क्षेत्र पर्दछ । कास्की खण्ड लमजुङ÷कास्की सीमा रुदीखोलादेखि कास्की÷पर्वत सीमा साँधखोलासम्म रहेको छ । रुदीखोलादेखि भैँसेसम्मको १६ किमीमा गत वर्ष ठेक्का लगाएर हाल काम चालु रहेको बताइन्छ । सो खण्डमा हाल सडक चौडा बनाउने, नाला निर्माण, टेवा पर्खाल लगाउने र गार्भेलको काम भइरहेको योजनाले जनाएको छ । याम्दीदेखि नयाँपुलसम्मको ३५ किमीसम्मको सबै काम सम्पन्न भएको छ । तीन अर्ब लागतमा यस खण्डको काम सम्पन्न भएको हो । पछिल्लो समय निर्माण गरिएको यस सडकको सौन्दर्यले देश विदेशमा भाइरलसमेत बनेको छ । हेमजा क्षेत्रको सिधा र फराकिलो सडक, आकर्षक जेब्रा क्रसिङ, सडक डिआइडर र सडकबत्तीले राजमार्गको सौन्दर्य बढाएको हो ।

भारतीय सेनाध्यक्ष आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार यहाँ आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो भने विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखद्वारा विभूषित भएका थिए । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन्। दुवै सेनाबीच सहअस्थित्व र समानता छ नेपाल र भारतबीचको विशिष्ट एवं बहुआयामिक सम्वन्धको परिप्रेक्ष्यमा दुवै देशका सेनाबीच आपसी सहअस्तित्व र समानतामा आधारित प्रचलनले समग्रमा नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा प्रवद्र्धन तथा सामरिक प्रतिरक्षामा समेत योगदान पुग्ने सैनिक प्रवक्ता नारायण सिल्वाल बताउँछन् । उनले भने, ‘मानार्थ महारथीबाट शुशोभन गर्ने परम्पराले दुई देशबीच सद्भाव र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पु¥याउदै आएको छ ।” नेपाल र भारत दुवै मुलुकले यस्तो सुशोभन कार्यक्रम राष्ट्रपति भवनमै आयोजना गर्ने परम्पराले सहअस्तित्व र समानताका आधारलाई पुष्ट्याइ गरेको छ । केही वर्षअघि भएको नाकाबन्दी खुलाउन सैनिक कूटनीतिमार्फत दुवै देशका सेनाको पहलमा ‘बे्रक थ्रु’ भएको थियो । प्राकृतिक प्रकोप र भूकम्पका समयमा भारतीय सेनाबाट सक्रियाताका साथ खोज, उद्धार र राहतमा सहयोग प्राप्त हुँदैआएको छ । नेपाली र भारतीय सेनाबीच सहकार्यका सिलसिलामा विगतदेखि नै एक–अर्का देशमा विभिन्न सेमिनार, तालिम र अभ्यास चल्दैआएको छ । नेपाली सेनाका अनुसार, भारतमा सञ्चालन भएका विभिन्न तालिममा सन् १९८९ देखि हालसम्म दुई हजार चार सय १७ अधिकृत र एक हजार तीन सय ७८ अन्य दर्जाको सहभागिता भइसकेको छ । मानार्थ प्रदान गर्ने अद्भूत प्रचलन सेनाका पूर्वउपरथी हिमालय थापाले दुवै देशका सेनाबीच सुमधुर, सद्भावपूर्ण, सुदृढ र प्रगाढ सम्बन्ध रहेको बताए । कुराकानीमा उनले भने, ‘सेनाको तालिम र अभ्यासका आधारमा सोच विचार र ‘ग्रुमिङ’को तरिका एकै खालको छ, सेनाको प्रशंसनीय र उत्कृष्ट काम, लगन र प्रतिबद्धताले एक–अर्का देशका सेनापतिलाई मानार्थ सम्मान प्रदान गर्ने अद्भूत प्रचलन रही आएको छ ।’ भारतीय सेनामा ठूलो सङ्ख्यामा नेपाली युवा कार्यरत रहनुले पनि दुई देशबीचको सम्बन्धलाई सरकार र जनस्तरमा समेत सुमधुर तुल्याउन विशिष्ट योगदान पु¥याएको छ । भारतीय सेनाले सन् २०१० देखि हालसम्म नेपाली सेनालाई करिब छ अर्ब भारतीय रुपियाँ मूल्य बराबरको हातहतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हेलिकप्टर, मोटर र मेडिकल उपकरजस्ता सैनिक सामग्री केही सहयोग र केही ठूलो सहुलियत दरमा सामग्री उपलब्ध गराउँदै आएको छ । कोरोना सङ्क्रमणले आक्रान्त तुल्याएको समयमा भारतीय सेनाले आइसियु भेन्टिलेटर र अस्पतालका लागि आवश्यक मेडिकल सामग्री पनि सहयोग गरेको थियो । सन् २००३ पछि गठन भएको सुरक्षा मामिलासम्बन्धी नेपाल–भारत परामर्श समूहको बैठकमा भएका सहमतिअनुरुप भारतीयले ती सामग्री नेपाललाई उपलब्ध गराएको हो । उक्त बैठकको सुरुआत हुन अघि पनि भारतीय सेनाले हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हवाई साधन, सवारी साधन, हलेमेट, बुलेटप्रुफ ज्याकेट तथा अन्य सैनिक सामग्रीसमेत उपलब्ध गराएको थियो । सेनाका पूर्वउपरथी जगदिशचन्द्र पोखरेलले भौगोलिक बनावट, खुला सिमाना, सामाजिक एवं सांस्कृतिक समानताका कारण नेपाल र भारतबीच जनस्तरसम्म विशेषखाले प्रगाढ सम्बन्ध रहेको बताए। उनले भने, ‘यस्तो अनुपम र विशिष्ट सम्बन्ध अरु कतै छैन, भए पनि कम छ, भारतीय र नेपाली सेनाबीच आपसी समन्वय र संयुक्त तालिम÷अभ्यास हुँदैआएको छ । उनीहरु खासगरी जङ्गल र माउण्टेन वारफेर तथा स्टाफ कलेजको तालिमा आउँछन् ।’ प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले भेट गर्नुहुने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण, सम्मान गारत निरीक्षण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्रीे हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्र्रियालगायतका कार्यक्रमा सहभागी हुनेछन्। सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा करिब २२ करोड ३८ लाख ३८ हजार मूल्य बराबरको तोप मर्मतसम्भारका पार्टपुर्जा, घोडा, सिमुलेटर, विस्फोटक पदार्थ प्रतिरोध सवारी साधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरणको सहयोग उपलब्ध गराउने भएको छ ।

मुहार फेरिएको बाग्लुङ नगरपालिका रायाडाँडाको महाविद्याजन माध्यमिक विद्यालय

बाग्लुङ । विसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो । बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पकोे छ वर्षपछि महाविद्याजनको मुहारै फेरिएको छ । अहिले विद्यालयमा भूकम्पले भत्काएको विद्यालय पुनः ठडिएको छ । विद्यालयमा १२ कोठाको विद्यालय विभिन्न चरणमा विभिन्न सरोकारवाला निकायको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्ष निकै सास्तीपूर्ण अवस्थामा पठनपाठन भए पनि एक वर्ष यता विद्यालयको पुनःनिर्माण सकिएर पठनपाठनमा सहज भएको विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीले जानकारी दिए । ‘२०५३ सालमा डिसिआरडिसी संस्थाले बनाएको १० कोठे भवन भूकम्पले पूरै क्षति पु¥यो, एक कक्षा देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा जम्मा छकोठे पक्की भवनमात्रै थियो, त्यसैको छतमा बागलुङ नगरपालिकाको केही बजेट र आन्तरिक स्रोतको केही बजेटबाट छतमा टिनको छाप्रो हालेर पढाइ चलाइयो’, प्रधानाध्यापक केसीले भने, ‘विद्यालय पुनःनिर्माणका कारण प्राङ्गण थिएन, शौचालय थिएन, निकै समस्या थियो, टिनले बारेको कक्षामा होहल्ला हुने समस्या थियो, तर पुनःनिर्माण प्राधिकरणले आठ कोठा, बागलुङ नगरपालिकाको र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठा गरी १२ कोठा मात्रै विद्यालय भूकम्पपछि पुनःनिर्माण भयो, अहिले विद्यालयमा निकै सहज तरिकाले पठनपाठन भइरहेको छ ।’ भौगोलिकरुपमा निकै जटिल स्थानमा रहेको विद्यालय भूकम्पका कारण नराम्ररी थिलो थिलो परेकाले पठनपाठनमा समस्या भए पनि अहिले विद्यालयमा आधुनिक पक्की कोठा, व्यवस्थित खेल मैदानसहित सुविधा सम्पन्न शौचालय निर्माण भएपछि विद्यालयले काँचुली फेरेको छ । विसं २०७२ पछि भूकम्पले विद्यालयमा क्षति पुर्याएपछि टिनको छाप्रोमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालय पुनःनिर्माणपछि अहिले नयाँ रुप लिएको छ । भिरालो र साँघुरो जग्गामा रहेको विद्यालय भूकम्पपछि गरिएको पुनःनिर्माणले चिटिक्क परेको छ । विसं २०५३ मा निर्माण भएको १० कोठे भए पनि भूकम्पले पूरै क्षति बनाएको थियो । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाअन्तर्गत रु एक करोड २८ लाखको लागतमा दुई ब्लकमा चार/चार कोठे भवन निर्माण गरिएको छ । अहिले जिल्लामा विद्यालयको पुनःनिर्माण सकिएर प्राधिकरणको कार्यालय नै खारेज भइसकेको छ । यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट दुई कोठा भवन १८ लाखको लागत आर्थिक वर्ष २०७७÷७८ मा निर्माण सम्पन्न भएको छ । त्यस्तै बागलुङ नगरपालिकाको सहयोगमा दुई कोठा आर्थिक वर्ष २०७६/७७ सालमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक केसीले बताए। विद्यालयमा पाँच वर्षदेखि कम्प्युटर ल्याबको व्यवस्थापन गरी कम्प्युटर शिक्षासमेत प्रदान गरिएको छ । लामो समयको समन्वय र सहकार्यका बीच विद्यालयको पुनःनिर्माण सकिएको बताउँदै बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अब विद्यालयको ध्यान शैक्षिक गुणस्तर वृद्धि गर्नमा केन्द्रित भएको बताए। ‘मेरो पहिलो कार्यकालदेखि थालिएको पुनःनिर्माण अहिले दोस्रो कार्यकालमा पूरा भएको छ, अबको ध्यान शैक्षिक गुणस्तरमा केन्द्रित भएको छ, एक शिक्षक एक ल्यापटप कार्यक्रम ल्याइएको छ, प्रविधिको हिसाबले अध्यापन गराउने लक्ष्य छ’, गौतमले भने, ‘विद्यालयमा प्रार्थना गर्ने स्थान थिएन, अब भौतिक सुधार भयो, शैक्षिक सुधारमा हाम्रो ध्यान जान्छ ।’ विद्यालयमा कक्षा १ देखि १२ सम्म एक सय ८० विद्यार्थी छन् । कक्षा ११ र १२ मा शिक्षा र लेखा अध्यापन गराएको विद्यालयमा अहिले शुद्ध खानेपानीको भने अभाव भएको विद्यालयले जनाएको छ । विद्यालयमा तारबारको भने व्यवस्थापन मिलाउन आवश्यक रहेको गौतमले बताए । विद्यालयमा तारबार नहुँदा पशु चौपाय विद्यालयमा पस्ने गरेको छ । भौगौलिक रुपमा विकट रहेको उक्त स्थानमा एक घण्टा पैदल हिँडेर विद्यालय आउने विद्यार्थीसमेत छन् । रासस ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने अभियान शुरु

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने अभियान शुरु गरेको छ । कच्ची अवस्थामा सञ्चालित विद्यालयमा पठनपाठनका गर्नुपर्ने भएकाले छात्र/छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाले चालु वर्ष २०७८/७९ मा रु ९० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी दुई वर्षभित्र सबै (४८ वटा) सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोरहित बनाउने योजना नवनिर्वाचित जनप्रतिनिधिले गाउँसभाबाट पारित गरेको छ । लामो समयदेखि धुलाम्मे अवस्थामा सञ्चालित सामुदायिक विद्यालयलाई गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउने अभियान शुरु भएपछि शिक्षक तथा विद्यार्थीसमेत उत्साहित भएका छन् । ढुङ्गामाटोबाट बनाइएका विद्यालयका कक्षाकोठालाई विस्थापित गर्दै भुँइमा ढलान तथा भित्तामा प्लाष्टर गर्ने योजना बनाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले बताए । ‘धुलोरहित विद्यालय बनाउन गाउँपालिकाले हरेक विद्यालयमा प्राविधिक टोली खटाएको छ । प्राविधिक टोलीले विद्यालयको भौतिक अवस्थाको बारेमा अध्ययन गरेर प्रतिवेदन दिन्छ’, उनले भने, ‘प्राविधिकले दिएको प्रतिवेदनको आधारमा गाँउपालिकाले बजेट व्यवस्थापन गरेर सबै सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।’ सात वडा रहेको गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयको भवन अव्यवस्थित तथा पुरानो भएर जीर्ण बनेका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा धुलो र फोहरका कारण विद्यार्थी पटक–पटक समस्यामा पर्दै आएका शिक्षकले बताउने गरेका छन् । कक्षाकोठामा धुलो र फोहर हुँदा विद्यार्थीको स्वास्थ्यमा समस्या आउने र विद्यार्थीलाई पढ्ने वातावरणसमेत नहुने भएकाले गाउँपालिकाले सबै विद्यालयका कक्षाकोठा सुधार गर्न थालेको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए। ‘धुलाम्मे विद्यालयलाई गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउने अभियान सुरु भएपछि शिक्षक तथा विद्यार्थीसमेत उत्साहित भएका छन्’, उनले भने, ‘गाउँपालिकाको यो अभियानले शैक्षिक सुधारमा केही टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित ४८ सामुदायिक विद्यालयमा चार हजार सात सय ५२ विद्यार्थी अध्ययनरत रहेका छन् । चौधवटा मावि, पाँचवटा आधारभूत (निमावि) र २९ वटा पूर्व प्राथमिक (कक्षा–५ भन्दामुनि)का विद्यालय सञ्चालनमा रहेका छन् । जिल्लाका अन्य स्थानीय तहलेसमेत आ–आफ्नो क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोरहित बनाउने अभियान सुरु गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित सरस्वती माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीको सहयोगमा धुलोरहित बनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि एेंसेलुखर्क गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई धुलोरहित बनाएको थियो । ऐसेलुखर्कमा ४३ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । सत्ताइस प्रावि, आठवटा आधारभूतर आठ माध्यमिक विद्यालय सञ्चालनमा रहेको उक्त गाउँपालिकाका माध्यमिक तहमा इ–लाइब्रेरीसमेत जडान गरेर सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले आठवटा माविमा तीन हजार दुई सय पुस्तक भएको एक÷एक वटा इ–लाइब्रेरी स्थापना गरेर सञ्चालनमा ल्याएको हो । जिल्लाका अधिकांश सामुदायिक विद्यालयको पठनपाठन कच्ची भवनको धुलाम्मे कक्षकोठामा सञ्चालन हुँदै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९६ मावि, ६७ निमावि र तीन सय ३० आधारभूत गरी चार सय ९३ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।

नवलपरासी रजहरमा प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पताल बन्ने

कावासोती । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए । यो दश बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने भए पनि विभिन्न प्राविधिक कारणले एक सय २० लाई नियमित सेवा दिन सकिने अवस्था रहेको छ । अबको केही महिनाभित्र तीन सय शय्याको अस्पताल बनाउने काम थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिए। चिकित्सालयले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षण अस्पतालको तयारी गरेको छ । पहिलो वर्ष चिकित्सालयमा ब्याचरल इन नेचुरोपेथी एन्ड योगा साइन्स (बिएनवाइस) को कक्षा सञ्चालन गर्ने गरी चिकित्सा शिक्षा आयोगमा अनुमतिको लागि पठाइएको नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए । चिकित्सालयले आवश्यक तयारी गरेको र विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसमेत सकारात्मक भएकाले आगामी वर्षबाट सो कक्षा सञ्चालन हुने अधिकारी बताउँछन् । ‘नेपालबाट बर्सेनि हजारौँ विद्यार्थी प्राकृतिक चिकित्सा अध्ययन गर्न भारत जाने गर्छन्, यहाँ शिक्षण अस्पताल सुरु भयो भने प्राकृतिक चिकित्सासम्बन्धी प्राज्ञिक जनशक्ति उत्पादन देशभित्रै हुने र पैसा बाहिर जान रोकिन्छ’, अधिकारीले भने । नेपालमा अहिलेसम्म प्राकृतिक चिकित्सा विज्ञानको अध्यापन नभएकाले आफूहरुले शिक्षण अस्पताल सञ्चालन गर्न लागेको व्यवस्थापक सापकोटा बताउँछन् । उनका अनुसार शिक्षण अस्पतालका लागि आवश्यक फरक फरक १४ विभाग बनाउनेदेखि लिएर छात्रावासलगायतका भौतिक संरचनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालले चर्चेको १० बिघा जमिन अस्पतालको नाममा नेपाल सरकारले भोगाधिकार दिइसकेको र आसपासका थप सार्वजनिक जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको छ । कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रुपमा यस चिकित्सालयले ख्याति कमाएको थियो । प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्दतीद्वारा उपचार प्रदान गरिन्छ । विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन आउनेको सङ्ख्या यहाँ हरेक दिन बढ्ने गरेको अस्पतालका व्यवस्थापक सापकोटा बताउँछन् ।

योजनाबद्ध रुपमा बनेको महेन्द्रनगर सहर नै डुबानमा

दोधारा चाँदनी । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रुपले महेन्द्रनगर बजार बसालेका थिए । महेन्द्रनगरमा विपद्को बेला पनि सहज हुने हिसाबले गल्ली निर्माण गरिएका छन् तर पछिल्लो समय ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार नै डुबानमा पर्न थालेको हो । बिहीबार रातिको वर्षाले महेन्द्रनगरको मुख्य बजार डुबानमा परेको छ । यहाँको मदन चोक आसपासका पसल अगाडि जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । यहाँका व्यवसायी मदन चन्दले ढल निकास र खोलानाला अतिक्रमण गरेका कारण बजार डुबानमा पर्न थालेको बताए । ‘अतिक्रमणले खोला नालामा साँघुरिँदै गएका छन् ढल निकास छैन’, उनले भने, ‘यो समस्या तत्काल समाधान नभए थप जटिलता आउँछ दुई वर्ष अगाडिसम्म महेन्द्रनगरमा डुबान हुँदैनथ्यो ।’ उनले पसल अगाडि डुबान हुँदा आफू धेरै समस्यामा परेको गुनासो गरे। ‘पसल अगाडि पानी जमेर आउनजानै समस्या छ यस्तोमा के व्यवसाय हुन्छ’, उनले भने, ‘ढल निकासका लागि स्थानीय सरकारले पहल गरोस् ।’ जुन हिसाबले महेन्द्रनगरको गुरुयोजना बनेको थियो त्यसको ठीकविपरीत यहाँ संरचना बन्न थालेपछि महेन्द्रनगर बजार डुबानमा पर्नुका साथै अव्यवस्थित हुँदै गएको स्थानीय इन्द्र साउदले बताए। ‘जुन गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाइएको थियो, त्यो गुरुयोजनाविपरीत घर निर्माण हुन थाले’, उनले भने, ‘खोलानाला अतिक्रमण भए, ढल निकास पुरेर घर निर्माण भएपछि डुबान त हुने नै भयो ।’ उनका अनुसार कङ्क्रिटले पानी जमिनमुनि रिचार्ज हुन नपाएकाले पनि डुबानको समस्या आएको हो । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताए । उनका अनुसार अहिले एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाइँदै छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ । ‘एडीको आनुधिक सहर बनाउने योजनाअनुसार निमार्णको काम अघि बढेको छ यसले पनि केही नाली पुरिएका छन्’, उनले भने, ‘सार्वजनिक जग्गा अतिक्रमण र निर्माण सम्पन्न नहुनु पनि बजार डुबानमा पर्नुको कारण हो ।’ सहरी सडक निर्माण एडीबीको सहयोगमा ३६ दशमलव छ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ । पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणको काम सुरु गरिएको छ । विसं २०१४ मा तत्कालिन राजा महेन्द्रले देश दर्शनको क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिलाई सोधपुछ गर्दा त्यहाँको नाजुक स्थिति, गरिबी, खान नपुग्ने कमाइ, खान जमिन पनि नभएको अवस्था थाहा पाएपछि त्यहाँका जनतालाई तराई झर्न आग्रह गरे । विसं २०१८ देखि पहाडबाट तराई बसाई सर्न सुरु भएकोे यहाँका जानकार बलदेव अवस्थी बताउँछन् । उनका अनुसार त्यति बेला महेन्द्रननगर बजार गौचरन, खेत रजङ्गल रहेको थियो भने थारुको बस्ती पनि त्यो बेला यहाँ रहेको पाइन्छ । विसं २०१८ मा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएको बताइन्छ । त्यति बेला भारतको चण्डीगडको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाएको बलदेव अवस्थीले बताए। ‘यो नेपाल अधिराज्यकै प्लानिङ सहर हो, यो सहर गुरुयोजना बनाएर बनाएको हो’, उनले भने, ‘त्यो गुरुयोजनाअनुसार बजार विस्तार भएन जसले गर्दा आज डुबानको समस्या आयो ।

पाल्पा रामपुरको शीतभण्डार पुनः मर्मत गरी सञ्चालनको तयारी

पाल्पा । ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने भएपछि यस वर्ष भने कृषकले यहाँ भण्डारण गर्न आलु राख्न चाहेनन् । पहिलो वर्षमा नै आलु बिग्रिएपछि भण्डारण गृह व्यवस्थापन गर्न अहिले मर्मत तथा सम्भारको काम गरेर व्यवस्थित बनाउन थालिएको छ । भण्डारण गृहमा केही प्राविधिक समस्या भएपछि त्यसलाई पुनः मर्मतसम्भारको काम गरेर सञ्चालनको तयारी गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । नगर प्रमुख थापाका अनुसार मर्मत गर्न यस वर्ष नगरपालिकाले १० लाख रकम विनियोजन गरेर काम भइरहेको छ । गत वर्ष राखिएको आलु निकालेपछि गएको वैशाखदेखि नै यहाँको भण्डारण कक्ष प्रयोगविहीन रहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन् । । ‘यहाँ बनाइएको भण्डारण गृहको संरचना आलुबालीलाई लक्षित गरेर तयार पारिएको छ, रामपुरमा धेरै उत्पादन हुने भनेको आलु (खाद्यान्न बालीबाहेक) हो, अन्य तरकारी, फलफूल भण्डारण गृहमा नै राख्नुपर्ने गरेर उत्पादन अहिले छैन, पहिलो वर्ष राखेको केही आलु टुसाएपछि यस वर्ष भण्डारण गृहमा केही सामग्री राखिएको छैन ।’ विसं २०७८ को वैशाखमा निर्माणको काम सम्पन्न गरी शीतभण्डार प्रयोगमा ल्याइएको हो । यहाँ पहिलोपटक रामपुरमा उत्पादन भएको आलु भण्डारण गरिएको थियो । पाल्पा जिल्लाकै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण भएपछि सुरुका समय कृषक उत्साहित भए पनि सुरक्षित भनेर राखिएको ठाउँमा आलु बिग्रन थालेपछि हौसिएका कृषक अहिले निराश बनेका छन् । बुटवल, भैरहवालगायतका बाहिरी बजारबाट रामपुरमा भित्रिएका तरकारी निरुत्साहित गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकको लागि बनाइएको संरचना भए पनि राम्रोसँग प्रयोग गर्न नपाएको कृषक धर्मराज ढकालले बताए। ‘नेतालाई भाषण गर्ने काम मात्रै भयो, कृषकले उपयोग गर्न पाएनन्, स्थानीय सरकारले यसको रेखदेख र सञ्चालनलाई व्यवस्थित बनाउनुपर्ने हो, संरचना तयार पारेपछि गुणस्तरको छ कि छैन त्यसको परीक्षण नगरिकन प्रयोगमा ल्याउँदा हामीले नराम्रोसँग धोका बेहोर्नुप¥यो, कषकले राम्रोसँग प्रयोग गर्न नपाउने भएपछि देखावटीकै लागि मात्रै रामपुरमा राख्नभन्दा अन्यत्र स्थानान्तरण गरेमा प्रयोगमा त आउँला’, उनले गुनासो पोखे । भण्डारगृहभित्रै बिग्रिएको आलुको क्षतिपूर्ति दिने क्रममा पनि सम्बन्धित पक्षले न्यायोचित काम नगरेको उनी बताउँछन् । गत वर्ष भण्डारण गरिएको आलु बिग्रिएपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति रकमबाट ठगिनुपरेको बताए। साढे पन्ध्र क्विन्टल आलु राख्नुभएका ढकालले एक क्विन्टल बिग्रिएकै भए पनि आलु झिके । अन्य आलु सबै बिग्रिएपछि प्रतिबोरा दुई हजारका दरले क्षतिपूर्ति दिने भने पनि आफूले साढे १४ क्विन्टलको ५६ हजार मात्रै रकम बुझेको ढकाल बताउँछन् । उनले ठेकेदार पक्ष र नगरपालिकाबीच भएको समझदारीअनुसार पाउनुपर्ने रकम ५८ हजार पाउनुपर्ने भए पनि दुई हजार रकम कम पाएको बताए । कृषकको हितका लागि नभई सस्तो लोकप्रियता कमाउन संरचना तयार पारिएको विजयपुर कृषि सहकारी रामपुरका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए । ‘गत वर्ष राखिएको आलु अस्तव्यस्त बनेपछि मर्मतसम्भार तत्कालै गरेको भए यस वर्ष आलु भण्डारण कार्य हुन्थ्यो, कृषि बाली उत्पादनको समयलाई मध्यनजर गरेर संरचना व्यवस्थित बनाउनुपर्छ, अहिले आएर बल्ल मर्मतको काम भएको भन्ने सुनिएको छ, अर्कोतर्फ कृषकलाई केही सहुलियत पनि छैन, देखाउनकै लागि मात्रै संरचना बनेजस्तो भयो’, उनले भने। नारायण ढकालले शीतभण्डारमा राखिएको आलु उम्रने र कुहिने भएपछि आफूले पाउनुपर्ने क्षतिपूर्तिबापतको २६ हजार रकम नपाएको गुनासो सुनाए । उनले राखेको १३ बोरा आलुको अहिलेसम्म पाउनुपर्ने रकम नपाएपछि सम्बन्धित निकाय, जनप्रतिनिधि, राजनीतिक दलका अगुवासमक्ष गुनासो राखेकोमा त्यसको सुनुवाइ नभएको बताए। शीतभण्डारणको पूर्वाधार तयार भए पनि राम्रोसँग सञ्चालन नभएको, यसको रेखदेख नगरपालिकाले गर्नुपर्ने हो र निर्माणमा ठेकेदारले लापर्बाही गरेको लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनाल बताउँछन् । जुन प्रयोजनका लागि बनाइएको हो त्यसको सही सदुपयोग हुनुपर्ने र तत्काल अनुगमन गरेर नियमितरुपमा सुचारु गर्न सम्बन्धित निकायलाई जानकारी गराउने प्रदेशसभा सदस्य खनालको भनाइ छ । कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रविना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्तरुपमा तीन करोड २६ लाख ७६ हजार पाँच सय ६६ मा ठेक्का सम्झौता गरी निर्माण गरिएको हो यो संरचना । यसमा फरक फरक क्षमताका पाँच कोठा रहेका छन् । साथै दुईतले दशकोठासहितको प्रशासनिक भवन, अपाङ्गतामैत्री शौचालय छ । बीउका लागि एक सय क्विन्टल आलु राखेकोमा व्यवस्थापन राम्रो नहुँदा लगानी र मेहनत सबै खेर गएको यमकान्ति गौतम बताउँछन् । महँगो मूल्यमा उन्नत जातको बीउ खरिद गरेर उत्पादन गरिएको बीउ आलु सबै कुहिएपछि यस वर्ष खानलाइ मात्रै आलु उत्पादन गरेका छन् । उनले बर्सेनि भैरहवाको शीतभण्डारमा बीउ आलु भण्डारणका निम्ति लैजाने गर्दथे। आफ्नै गाउँमा संरचना भए पनि राम्रो व्यवस्थापन नहुँदा भण्डारणमा कृषक मारमा परेको गौतमले बताए । पहिलो वर्ष नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्रमार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई दुई लाख पाँच हजारमा एक वर्षको लागि सम्झौता गरेको थियो ।

भोजपुरमा पञ्चेबाजाको मौलिकता हराउँदै

भोजपुर । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर । हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो पुस्तामा परम्परागत बाजाभन्दा पनि आधुनिक प्रविधिमा ध्यान बढ्दै गएकाले पुराना संस्कृति र परम्परा पनि ओझेलमा पर्दै जान थालेका हुन् । पछिल्लो पुस्तामा पुराना लोकबाजाको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने भावना नदेखिएकाले यस्ता कुरा लोप हुँदै गएको विद्योदय मावि भोजपुर नेपाली विषयका शिक्षक खोमराज धमलाको भनाइ छ । उनी भन्छन्, ‘अहिलेका पुस्तालाई के हो पञ्चेबाजा, के हो नरसिङ्गा मतलब नै छैन, यस्तै हो भने अब ती कुरा क्रमिकरुपमा इतिहास बन्न सक्छन् ।’ त्यतिमात्र होइन पछिल्लो समयमा बाजागाजा बजाउनेको सङ्ख्यामा कमी आउँदै जान थालेपछि पनि यो परम्परा कम हुँदै गएको स्थानीयको भनाइ छ । भोजपुर नगरपालिका–५, बोखिमका ६६ वर्षीय पर्शुराम मोते भन्छन्, ‘बाबुबाजेले गर्दै आएको यो परम्परा र यो मान्यतालाई अहिलेको पुस्ता बुझ्न चासो दिँदैनन्’, मोतेले भने, ‘हाम्रो निधनपछि कसले बाजा बजाउला ? भएको बाजा पनि लोप हुन लागिसक्यो ।’ विशेष गरी सहनाइ विवाहबाहेक दशैँ, तिहार, विभिन्न परम्परागत सांस्कृतिक पर्वका बेला बजाइन्छ । नेपाली लोक संस्कृति जोडिएको पञ्चेबाजामध्ये एक सहनाइको महत्व पछिल्लो पुस्तामा आएर पूरै परिस्कृत हुनथालेको छ । वर्षौंदेखि चल्दै आएको लोपोन्मुख मौलिक लोकपञ्चेबाजा जगेर्नाको सट्टा युवा पुस्तामा नयाँ जमानाको प्रविधिमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धरासायी बन्दै गएको भोजपुर नगरपालिका–८ कातुलसी ढुङ्गानाको धारणा रहेको छ । ‘आधुनिक गीत सङ्गीत र नयाँ प्राविधिक वाद्यवादनको लोकप्रियताले नेपाली पहिचान बोक्ने पञ्चेबाजा (दमाहा, झ्याली, ट्याम्को, नरसिङ्गा र सहनाइ) लगायत नेपाली संस्कृतिको मौलिकपनमा चासो घट्दै गएको छ । ढुङ्गानाले भने, ‘अहिलेका युवा पुस्ता त बजारमा आएर पेन ड्राइभमा गीत भर्ने, इन्टरनेटबाट डाउनलोड गर्छन् गाउँमा गएर छानी छानी बजाउँछन् ।’ एकातिर चासो कमी हुनु र अर्कोतिर गाउँघरमा पञ्चेबाजा बजाउन जान्ने मान्छेको कमीले पनि लोकबाजाको रौनक हराउँदै गएको भोजपुर नगरपालिका–३ का टेकबहादुर मोतेको भनाइ छ । चाडबाडका बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने लोकबाजाका शिल्पकार अहिले कतै कतै मात्र भेटिने मोतेको भनाइ छ । बिहे, कर्मकाण्ड, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, विभिन्न पूजालगायत धार्मिक एवं सामाजिक सांस्कृतिक मूल्यमान्यतामा नयाँ प्रविधिले गर्दा मौलिक लोकबाजा ओझेलमा पर्दै गएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने स्थानीय घमचन्द्र दाहाल बताउँछन् । ‘युवापुस्ताले आफ्नो रीतिरिवाज नै बिर्सन थालिसक्यो । पुराना परम्परा र संस्कारभन्दा पनि विदेशी संस्कारमा उनीहरूको बढी रुचि छ । आधुनिक प्रविधितिर उनीहरूको ध्यान गएकाले लोकबाजा प्रयोगविहीन बन्दै गएका छन्’, दाहालको भनाइ रहेको छ ।