पहिरोले तनहुँको जामुने–खैरेनी सडक अवरुद्ध
दमौली । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो । सडकमाथिबाट पहिरा खसेपछि जामुने–खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको उनले बताए । ‘वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ’, उनले भने । अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे –४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ । सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीयवासी भीमलाल श्रेष्ठले जानकारी दिए । पृथ्वीराजमार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।
बालेन भन्छन् : हामी सय दिनको दौडमा छैनौं हामीसँग ५ वर्षका योजना छन्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकाल १ सय दिन पुगेको अवसरमा सार्वजनिक प्रतिक्रिया दिएका छन् । प्रतिक्रियामा मेयर बालेन शाहले आफुहरुले १ सय दिनमा महानगरले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको बताएका छन् । आफुले गरेका कामको सूची बनाएर मात्रै सफल नभइने भन्दै मेयर शाहले आफुलाई मनमा लागेको कुरा सम्झिदै १ सय दिनको अनुभव र प्रतिवद्धता सार्वजनिक गरेका छन् । यस्ताे छ मेयर शाहले सार्वजनिक गरेको अनुभव र प्रतिक्रिया : हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ । १. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सहि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफुले पाएको अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनस् फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ । २. इस्पोट्र्सका लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढि थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने रु त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ । ३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो । यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफु त्यो बिधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ । ४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भुमिकाका लागि अर्को भुमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु । ५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ । ६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधी हुनुको औचित्य पनि त्यहि हो । अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।
सोमालियामा अल–शबाब समूहद्वारा २० जनाको हत्या
एजेन्सी । सोमालियाको चरमपन्थी समूह अल–शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् । सरकारी सञ्चार माध्यम र स्थानीयबासिन्दाले चरमपन्थी समूह अल–शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् । अल–कायदासम्बद्ध समूहविरुद्ध स्थानीय एक भएको प्रतिशोधस्वरूप उक्त आक्रमण भएको स्थानीयवासीले बताएका छन् । स्थानीय हसन अब्दुल्लले अमेरिकी समाचार संस्था ९एपी०लाई फोनमार्फत दिएको जानकारीमा भनिएको छ, “बेलेटवेनबाट माटाबनसम्म खाद्यान्न ढुवानी गर्ने चालक र यात्रुहरू थिए र यात्रुहरूले प्रयोग गर्ने खाद्यान्न र सवारी साधनहरू बोकेका कूल सात वटा ट्रकहरूमा आगजनी गरिएको थियो । सरकारी सेनाले यात्रुलाई लक्षित गर्ने उद्देश्यले बेलेटवेन र माताबन जोड्ने व्यस्त सडकमा अल–शबाबले राखेको बारूदी सुरूङ्ग नष्ट गरेको एक दिनपछि उक्त आक्रमण भएको हो । अल–शबाबले आक्रमणको पुष्टि गर्दै स्थानीय स्तरमा परिचालन गरिएका २० जना लडाकू मारिएको दाबी गरेको छ । सोमालियाली सरकारले यस ‘बर्बर’ आक्रमणको निन्दा गरेको छ र मध्य र दक्षिणी सोमालियाको महत्वपूर्ण भागमा कब्जा जमाएको चरमपन्थी समूहविरुद्ध स्थानीय परिचालनका लागि आफ्नो समर्थन दोहो¥याएको छ ।
स्रोत नखुलेको ३९ लाख ५० हजार नगदसहित पक्राउ
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा काठमाडौँ आउँदै गरेका नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिनुभयो । पक्राउ भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ । भट्टराईलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।
अर्थतन्त्रले लय समातेको अर्थक्षेत्रका नेतृत्वहरुको दाबी
काठमाडौं । मुलुकको अर्थतन्त्रको मुख्य क्षेत्रको नेतृत्व गरिरहेका नेतृत्वहरुले मुलुकको अर्थतन्त्रले लय समातेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । कोरोना महामारीपछि विश्वका केही मुलुकमा देखिएको आर्थिक संकटको अवस्था नेपालमा पनि सिर्जना हुनसक्ने अनुमान गरिएको बेला मुलुकको अर्थतन्त्र सम्हालिइरहेका मुख्य नेतृत्वहरुले सकारात्मक विषययको संकेत गरेका छन् । कार्यक्रममा अर्थतन्त्रको विषयमा आफ्नो धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेको बताए । उनले सरकारले समयमा नै होसीयारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए । मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताउए । विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास अर्थमन्त्री शर्माले व्यक्त गरेका छन् । तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको उनको भनाइ थियो । साथै उनले देशमा लगानीयोग्य वातावरण निर्माण भएकाले निजी क्षेत्रलाई उत्पादनमूलक कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रमा लगानी गर्न आग्रह गरे । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले नेपालमा पनि विस्तारै मानिसले पैसा बचत गर्ने प्रचलन सुुरु भएको र त्यसले अर्थतन्त्र सुधारको बाटोमा जाने विश्वास व्यक्त गरे । पहिला नयाँ घर, घडेरी र सवारी साधनमा खर्चिने पैसा अहिले बचत गर्ने प्रवृत्ति बढेको उनको भनाई छ । उपाध्यक्ष डा पौडेलले अबको ५ वर्षमा केही सडक आयोजना निर्माण पूरा हुने र त्यसले पनि अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताए । कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी बढाउन सक्ने हो भने दीर्घकालीन रुपमा अर्थतन्त्रमा स्थायित्व हुने उनको धारणा छ । उपाध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्र माथि उकास्न उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी बढोत्तरी गरिनुपर्ने बताए । उनले सरकार अर्थतन्त्रलाई उकास्नेगरी आधारभूत पूर्वाधार र ठूला आयोजना निर्माणमा केन्द्रित भएकाले अबका दिनमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै मुलुकको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको बताए । श्रम बजार खुल्दै गएको, रेमिटन्स बढेको तथा विदेशी पर्यटक आगामनमा पनि सुधार देखिएकाले अहिले चिन्तित हुने अवस्था नरहेको उनले बताए । गभर्नर अधिकारीले विश्वव्यापी मूल्यवृद्धिका कारण नेपालमा पनि असर परेको तर मङ्सिर यता सरकारले विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको उल्लेख गरे ।
एमबान स्पोट्र्स मिट २०२२ सम्पन्न
काठमाडौं । नेपालमर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर हेल्दी लाइफस्टाइल’ भन्ने नाराका साथ एमबान स्पोट्र्स मिट २०२२ भदौ १७ गते सम्पन्न भएको छ । स्पोट्र्स मिटको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यता भएको थियो । खेल उद्घाटनमा नेपाल मर्चेन्ट बैंकर संघका अध्यक्ष मेख बहादुर थापाले अतिथि तथा सहभागिहरुलाई मन्तव्यमार्फत् स्वागत गरेका थिए । साथै उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि. काप्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडिएस एण्ड क्लियरिङ्ग लि. का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र नेपालब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनालीको पनि सहभागिता रहेको थियो । स्र्पोट्स मिटमा नेपालमर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नेपाल धितोपत्रबोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लि. को बिभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागीता रहेकोछ । बिभिन्न खेलकुद प्रतियोगिताहरु अन्तर्गत मिति २०७९ भाद्र १७ गते टेबलटेनिस र ब्याटमिण्टनका बिभिन्न विधामा प्रतिस्पर्धा सम्पन्न भएका छन् । जसमा ब्याटमिण्टन प्रतियोगिता अन्तर्गत भएका खेलहरुमा पुरुष डवल तर्फ विजेता नेपाल एसबिआई मर्चेन्ट् र उप विजेतामा नागरिक लगानी कोष भएको छ । त्यसै गरी महिला डवल तर्फ विजेता प्रभु क्यापिटल र उपविजेतामा ग्लोबल आइएमई क्यापिटल भएका थिए । सोहि दिन सम्पन्न भएका टेबल टेनिस प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरुमा पुरुष सिंगल तर्फ विजेता एनआईबिएल एस क्यापिटल र उपविजेताकुमारी क्यापिटल साथै महिला सिंगल तर्फ विजेता र उपविजेता सिद्घार्थ क्यापिटल रहन सफल भएका थिए । त्यसै गरी टेबल टेनिस भेट्रान अन्तर्गत भएका प्रतियोगिताहरुमा विजेता र उप विजेता ग्लोबल आइएमई क्यापिटल रहन सफल भएका थिए । उक्त स्र्पोट्स मिट अन्तर्गत हुने फुटसलका प्रतिस्पर्धाहरु यहि मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा १३ वटा टिमबीच प्रतिस्पर्धा सम्पन्न हुनेछन् । साथै, मिति २०७९ भाद्र २५ गते सम्पूर्ण खेलहरुको पुरस्कार वितरण तथा प्रतियोगिता समापन ढुकु फुटसल हवमा नै विशेष कार्यक्रमका बिच गरीने आयोजकले जनाएको छ ।
ऊर्जामन्त्री भुसालद्वारा सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित
काठमाडौं । ललितपुर महानगरपालिका–२५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने स्थानीय एवं समाजसेवीलाई शनिबार सम्मान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान गरेकी हुन् । खोकना डोबाटोस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा भूमाफीयाले व्यक्तिका नाममा लैजाने प्रयास गरेपछि मन्त्री भुसालको अगुवाइमा १०४ जनाको संरक्षण समिति बनाएर सामुहिक ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । संरक्षण समितिका सदस्यको सक्रिय पहलमा जिल्ला अदालत र पुनरावेदन अदालतले समुदायको नाममा समर्पित जग्गा व्यक्तिको हुन नसक्ने फैसला गरेपछि सो जग्गा छ्यासिकोट सामुदायिक स्वास्थ्य भवन संरक्षण समितिको नाममा अर्थात सार्वजनिक रुपमा कायम भएको छ । सो अवसरमा समितिका तर्फबाट मुद्दाको नेतृत्व गर्ने वरिष्ठ अभिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, अन्य वकिल तथा संरक्षण समितिका अध्यक्ष कृष्णहरि खड्कासहित सदस्यहरु एवं अन्य समाजसेवीलाई मन्त्री भुसालले खादा लगाएर सम्मान गरिन् । उक्त जग्गामा बनेको भवनमा स्थानीयले स्वास्थ्य शिविर एवं ध्यानयोग सञ्चालन गर्दै आएका छन् । समितिका सचिव रघुनाथ खड्काका अनुसार विसं २०५१ सालदेखि निरन्तर समुदायको पक्षमा सङ्घर्ष गर्दै आएर गत साउन १६ गते भएको उच्च अदालतको फैसलाले सार्वजनिक जग्गा व्यक्तिको हुनबाट जोगिएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले एक पटक समुदायमा हस्तान्तरण गरिएको जग्गा पुनः व्यक्तिको हुन नसक्ने बताउँदै जग्गाधनी धनमाया महर्जनले विगत ३० वर्षअगाडि नै समुदायलाई हस्तारन्तर गरेको जग्गामा विभिन्न हकवालाको नाममा व्यक्तिको नाममा पार्ने प्रपञ्च भएको भन्दै त्यस्ता गविधिविरुद्ध एक भएर लाग्न सुझाव दिए। कार्यक्रममा मन्त्री भुसालले भुमाफियाको विरुद्ध एकताबद्ध भएर स्थानीय जनताले मुद्दा दायर गरेको र सबैको पहलले जनताको सम्पती जनताकै नाममा रहने स्थिति सिर्जना भएको बताए । उनले भनिन्, ‘सार्वजनिक हितमा समर्पित भएर सार्वजनिक सम्पत्तिको संरक्षणमा लाग्ने सबैलाई बधाई, आगामी दिनमा पनि सार्वजनिक हितका लागि एकताबद्ध हुन अपिल गर्दछु ।’ सामाजिक न्ययको पक्षमा आफू निरन्तर समर्पित हुने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, ‘सामाजिक लडाइको प्रतिकका रुपमा प्राप्त भएको यो जग्गामा समुदायका लागि वतावरणमैत्री वहुउपयोगी भवन निर्माण गरेर प्रयोगमा ल्याउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु, सार्वजनिक सम्पत्ति र सम्पदाको संरक्षणमा सबै लागौँ ।’ कार्यक्रममा प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र जीवनराम श्रेष्ठले सार्वजनिक सम्पत्तीको संरक्षणका लागि समुदाय नै लाग्नुपर्नेमा जोड दिँदै समुदाय एक हुँदा आफ्नो सम्पदाको संरक्षण गर्न सकिने विश्वास व्यक्त गरे ।
मोटरहेड ब्राण्डको ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक
काठमाडौं । नेपालका लागी मोटरहेड ब्राण्डका आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि.ले यही १९ भाद« २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो ‘४ को चमत्कार, वाइक पनि वचत पनि’ अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्र्याच कार्ड मार्फत ७,९०० देखि १,००,००० जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १,००,००० जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै टेकेन २५० पुरानो मोडलको जुनसुकै माध्यमबाट खरीद गर्दा सिधै २५,००० छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा पाल्नु हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज र पोस्ट क्याम्पियन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयर गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ । मोटरहेडको हाल टेकेन २५०, टेकेन आर २५० अपग्रेडेड, स्पोटर्स २५० रोड, स्पोटर्स २५० अफरोड, एमएच १५०, एमएच २०० एक्स, एक्स टर्की र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु बिक्री गर्दै आएको छ । वाइकहरुको मूल्य ३,१०,००० देखि ४,९५,००० सम्म रहेको कम्पनीले जनाएको छ । कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ ।