
काठमाडौं । मुलुकको अर्थतन्त्रको मुख्य क्षेत्रको नेतृत्व गरिरहेका नेतृत्वहरुले मुलुकको अर्थतन्त्रले लय समातेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । कोरोना महामारीपछि विश्वका केही मुलुकमा देखिएको आर्थिक संकटको अवस्था नेपालमा पनि सिर्जना हुनसक्ने अनुमान गरिएको बेला मुलुकको अर्थतन्त्र सम्हालिइरहेका मुख्य नेतृत्वहरुले सकारात्मक विषययको संकेत गरेका छन् ।
कार्यक्रममा अर्थतन्त्रको विषयमा आफ्नो धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेको बताए । उनले सरकारले समयमा नै होसीयारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए । मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताउए । विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास अर्थमन्त्री शर्माले व्यक्त गरेका छन् ।
तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको उनको भनाइ थियो । साथै उनले देशमा लगानीयोग्य वातावरण निर्माण भएकाले निजी क्षेत्रलाई उत्पादनमूलक कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले नेपालमा पनि विस्तारै मानिसले पैसा बचत गर्ने प्रचलन सुुरु भएको र त्यसले अर्थतन्त्र सुधारको बाटोमा जाने विश्वास व्यक्त गरे । पहिला नयाँ घर, घडेरी र सवारी साधनमा खर्चिने पैसा अहिले बचत गर्ने प्रवृत्ति बढेको उनको भनाई छ ।
उपाध्यक्ष डा पौडेलले अबको ५ वर्षमा केही सडक आयोजना निर्माण पूरा हुने र त्यसले पनि अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताए । कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी बढाउन सक्ने हो भने दीर्घकालीन रुपमा अर्थतन्त्रमा स्थायित्व हुने उनको धारणा छ । उपाध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्र माथि उकास्न उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी बढोत्तरी गरिनुपर्ने बताए । उनले सरकार अर्थतन्त्रलाई उकास्नेगरी आधारभूत पूर्वाधार र ठूला आयोजना निर्माणमा केन्द्रित भएकाले अबका दिनमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै मुलुकको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको बताए । श्रम बजार खुल्दै गएको, रेमिटन्स बढेको तथा विदेशी पर्यटक आगामनमा पनि सुधार देखिएकाले अहिले चिन्तित हुने अवस्था नरहेको उनले बताए । गभर्नर अधिकारीले विश्वव्यापी मूल्यवृद्धिका कारण नेपालमा पनि असर परेको तर मङ्सिर यता सरकारले विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको उल्लेख गरे ।