विकासन्युज

सिन्धुपाल्चोकका किसान तरकारी खेतीबाट बने आत्मनिर्भर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी जस्ता तरकारी लहलहाउँदो छ । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुल्ला स्थानमा तरकारी फलाउन नसकेका कृषक टनेलमा गरिएको खेतीले मनग्य उत्पादन गरिरहेका छन् । यहाँका कृषकले पाखाबारीमा मकै, गहुँ, जौ, कोदो, धान खेतीको साटो मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट आम्दानी हुन थालेको बलेफीका कृषक रोजन तामाङले बताए । बलेफीकै कृषक सङ्गीता तामाङ परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको बताउछन् । लागत घटाउन, उत्पादन बढाउन र रोग कीराको समस्याबाट बच्न टनेल भित्र हाइटेक प्रविधि किसानले प्रयोग गर्न थालेका छन् । स्थायी संरचनाको प्लास्टिक टनेल बनाएर बिरुवाको जरा–जरामा आवश्यकताअनुसार सिँचाइ हुने थोपा सिँचाइ प्रविधि जडान गरिएको छ । हावा र प्रकाश छिर्ने पारदर्शी प्लास्टिकको टनेल बनाइएको छ । बिरुवाको जरा जरामा पाइपमार्फत बिरुवालाई आवश्यक पर्ने पानी र खाद्य तत्व आपूर्ति गराइन्छ । सुधारिएको गोठ निमार्णले बस्तु भाउको मूत्र पनि सदुपयोग हुने गरेको सुनकोसी–६ का कृषक प्रदीप भण्डारी बताउछन् । उत्पादन भएको तरकारी बिक्रीका लागि समस्या नभएको मेलम्ची नगरपालिका–९ ज्यामिरेका तरकारी कृषक वासुदेव कटुवालले बताएका छन् । तरकारी बेचेर एक सिजनमा करिब एक लाखदेखि डेढलाख रुपैयाँ आम्दानी हुने गरेको कटुवालले जानकारी दिए । जापानको परराष्ट्र मन्त्रालयको सहयोगमा पिस विन्ड्स जापानमार्फत समृद्धिका लागि यथायोग्य कार्यसस्था नेपालअन्र्तगत खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले मेलम्ची–९, सुनकोसी गाउँपालिका–६, बलेफी गाँउपालिका ४ र ६ का दुई सय ७७ घरधुरीलाई कृषक समूहमा आबद्ध गराएर प्रविधिसहित व्यावसायिक तरकारी खेतीमा जोडिएको छ । उनीहरुले उत्पादन गरेको तरकारी सङ्कलन केन्द्रमा जम्मा हुन्छ । किसानले बजारमा चलेको मूल्य पाउँछन् भने तरकारी मुख्य बजारमा बिक्री हुने गरेको छ । स्थानीय तहले कृषिमा सामग्री वितरणसँगै प्रविधि पनि सिकाउँदा थप उपलब्धि देखिने कृषि विज्ञ डा रामचन्द्र भुसाल बताउछन् । रासस

दशैंका लागि अधिकांश गन्तव्यको टिकट बुक्ड, ८० प्रतिशत बुकिङ अनलाइनबाट

काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दशैंमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्छन् । दशैंमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातको रुपमा हवाईसेवालाई लिइन्छ । दशैं आउन करिब तीन साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दसैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए । उनले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताए । ‘दशैंका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ ‘ट्रक रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज लिमिटेड भएकाले अत्यधिक चाप हुन्छ ।’ प्रवक्ता शर्माले दशैं लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज प्रयाप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिए । सामान्यतया दशैं आउन एक महिनाअघि देखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन् । उनीहरुका अनुसार दशैंलाई लक्षित गरेर अहिले ७० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ । सङ्घका प्रवक्ता कँडेल अनलाईनबाटै अधिकांश बुकिङ भएको बताउँछन् । आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक दुई सय ६० दुईतर्फी उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेका छन् । दशैंमा दैनिक तीन सय ५० हाराहारी उडानबाट २० हजार बढी यात्रुले सेवा लिने उनको अनुमान छ । ‘कोभिड–१९ महामारीमा उडानको चाप थियो, यस पटकको दसैँमा झनै यात्रुको चाप हुने देखिन्छ, यात्रुको मागअनुसार उडान थप्छौँ’, प्रवक्ता सिटौलाले भने । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दशैंका लागि अहिले धमाधम बुकिङ भइरहेको र समग्रमा ७० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको जानकारी दिए । उनका अनुसार कम्पनीको अनलाइनबाट मात्रै ८० प्रतिशत बुकिङ भइसकेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताए । उनले भने, ‘पहिला जस्तो दसैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ करिब फुल भइसकेको छ । यात्रुको मागअनुसार उडान सङ्ख्या थप्न गर्न सकिन्छ ।’ तुलनात्मक रुपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रतियात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालाहित हुन्छन् । नजिकिएको दसैँलाई मध्यनजर गर्दै अहिले हवाई सेवा प्रदायक कम्पनीले धमाधम अग्रिम टीकट बुकिङ गरिरहेका छन् । केही गन्तव्यमा त दसैँ आउन एक महिनाअघिनै टिकट ‘प्याक’ भइसकेको छ । दशैंमा राजधानी काठमाडौं छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टिकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ । वायुसेवा कम्पनीका अनुसार अहिले दसैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ । तुम्लिङटार र सुर्खेत गन्तव्यको बुकिङ ‘फुल’ आन्तरिक उडानको महत्वपूर्ण स्टल रुट मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ फुल भइसकेको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एयरकोे तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ पूर्ण भइसकेको छ । बाँकी गन्तव्यमा पनि अधिकांश प्याक भइसकेको छ । विशेषगरी फुलपातिदेखि विजया दशमी टिकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ सोही अनुरुप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन् । नेपाली पात्रोअनुसार यो वर्ष असोज १० गते घटस्थापना र १९ गते विजया दशमी टिका रहेको छ । सत्तरी प्रतिशत बुकिङ दसैँलाई लक्षित गरेर एयरलाइन्सको धमाधम हवाई टिकट बिक्री भइरहेको छ । अहिले ६० देखि ७० प्रतिशत बुकिङ भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरको विभिन्न गन्तव्यमा ७० प्रतिशत हाराहारी बुकिङ छ । पहिला ट्राभल एजेन्सीमार्फत टिकट होल्ड गरिन्थ्यो । उसको अनलाइन बुकिङ ८० प्रतिशत भइसकेको छ । यती एयरलाइन्सले आफ्नो ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ । श्री एयरलाइन्सको पनि सोही हाराहारी बुकिङ छ । एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दसैँका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताए । यती एयरलाइन्सका प्रवक्ता बर्तौलाका अनुसार ७० प्रतिशत अनलाइनबाट र बाँकी ३० प्रतिशत ट्राभल एजेन्सी तथा एयरलाइन्सको टिकट बिक्री काउन्टरमा प्रत्यक्ष गएर यात्रुले टिकन लिने गरेका छन् । सौर्य एयरलाइन्सले शुक्रबारदेखि दसैँ र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जानकारी गराएको छ । एयरलाइन्सले विभिन्न दररेटका टिकट अनलाइन बुकिङमा राख्ने भएकाले सस्तो टिकट चाँडै फुल हुन्छ । त्यसपछि महँगो टिकट खरिद गर्नुपर्ने हुन्छ । एयरलाइन्सले अनलाइनबाट वर्षभरी नै टिकट बुक गर्न सकिने गरी खुला गरेका छन् । यसले यात्रुलाई सहज रुपमा टिकट लिएर गन्तव्यमा पुग्न सहज भएको छ । रासस

सहकारीका सञ्चालकको तिनपुस्ते विवरण माग, अधिकांशको लगानी घरजग्गामा

काठमाडौं । सहकारी विभागले समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकको तीनपुस्ते विवरण माग गरेको छ । पछिल्लो समय एकपछि अको सहकारी संस्थामा समस्या देखिएको र सञ्चालक पनि भाग्ने प्रवृति बढ्दा विभागले समस्यामा परेका सम्पूर्ण सहकारीका सञ्चालकहरुको तीनपुस्ते विवरण माग गरेको हो । सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकहरुको तीन पुस्ते विवरण माग गरेको बताए । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं स्थापना दिवसमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो विषयको जानकारी दिएका हुन् । ‘पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिएकाे छ, यसमा हामी सजग भएर काम गरिरहेका छौं, कतिपय सहकारीमा सञ्चालक नै फरार हुने र बचतकर्ताको रकम डुब्नेसम्मको जोखिम हुन सक्छ, त्यसैले पनि समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकहरुको तीनपुस्ते विवरण माग गरेका छौं, तीन पुस्ते विवरण आएपछि सहकारी समस्यामा परेपनि बचतकर्ताको रकम उनीहरुबाट भराउँछौं,’ उनले कार्यक्रममा भने । यस्तै, उनले कतिपय सहकारीमा सञ्चालकहरु परिवर्तन भएकोले विवरण पाउन मुस्किल भइरहेको बताए । तर, अधिकांशको विवरण विभागमा आइसकेको उनकाे भनाइ छ । उनका अनुसार अहिले केही सहकारीहरुमा तरलताको ठूलो समस्या छ । विभागले अध्ययन गर्दै जाँदा कतिपय सहकारीहरुम एक प्रतिशत पनि तरलता नरहेको भेटाएको हाे । समस्या देखिएका सहकारीहरुले नीति नियमको कुनै प्रवाह नगरी घरजग्गामा लगानी गर्दा एक्कासी समस्या सिर्जना भएको तर्क दिए । धेरै सहकारीहरुले शतप्रतिशत लगानी घरजग्गामा गरेकाे बताए । यस्तै, उनले अहिले विभागले सबै सहकारीहरुलाई वित्तीय विवरण प्रकाशितका लागि निर्देशन दिएकोले त्यसले पनि केही तथ्यांक आउने र सहकारीको यथार्थ वस्तुस्थिति देखाउने धारणा राखे । उनका अनुसार फागुनसम्म विभागले नेपालका सहकारीका सम्पूर्ण तथ्यांकहरु सार्वजनिक गर्नेछ । उनले आफुले वर्तमान सहकारीको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा संयोजक रहेको राष्ट्रिय समस्या समाधान समतिमिा पुर्याइसकेको बताउँदै सो समितिले पनि यो समस्यालाई सम्बोधन गर्नेमा आफु विश्वस्त रहेको धारणा राखे । उनले अहिले सहकारीका विषयमा धेरै समस्या बाहिरिँदा पनि बचतकर्ताहरुले आत्तिएर आवधिक बचत पनि फिर्ता मागिरहेको बताए । यसले पनि सहकारीलाई एक किसिमको दबाब सिर्जना गरेको बताए । पछिल्लो समय सहकारी संस्थाहरुमा पनि मर्जरको विषयले प्राथमिकता पाइरहेको बताउँदै यसमा विभाग सकारात्मक भएको उनले बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लले विश्वको अर्थतन्त्रमा नै समस्या आउँदा सहकारीमा पनि केही समस्याको संकेत देखिएको बताइन् । सहकारी संस्थाहरु स्वनियमन, अनुशासन र शुसानको अभ्यास गरिनै रहेको बताउँदै उनले केही सीमित सहकारीको कारण सहकारी क्षेत्र नै बदनामी बन्नु परेको धारणा राखिन् । यसमा सहकारीका सदस्यहरु पनि जिम्मेवार बन्नु पर्ने उनले बताइन् । यस्तै, उनले विभिन्न बैंकहरुले १० गुणा बढी बचत योजना ल्याएको कारण पनि सहकारीमा केही समस्या आएको बताइन् । ‘मेरो स्मरण भएसम्म बैंकहरुले यस्ता खालको आकर्षक मुद्दति योजना ल्याएका थिएनन्, मानिसहरु सहकारीमै बचत गर्न रुचाउँथे, बैंकहरुले पैसा १० गुणासम्म बढ्ने योजना ल्याएपछि सहकारीहरुबाट पैसा झिकेर बचतकर्ताले पैसा ती योजनाहरुमा राख्ने थाले, तरलतामा समस्या भएकै कारण बैंकहरुले निक्षेप बढाउन त्यस्ता योजनाहरु ल्याए, जसको प्रत्यक्ष असर सहकारीमा परेको हो,’ उनले कार्यक्रममा भनिन् । यस्तै, नेपाल नेपाल बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कुन)काक वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि पछिल्लो समय केही सहकारीमा समस्या आएकोले सबै मिलेर त्यस्ता समस्या नआउने वातावरण सिर्जना गर्नु पर्ने धारणा राखे । उनले सहकारीमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि हुनु पर्ने बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पनि सहकारी संस्थाहरु गुणस्तरीय हुनु पर्नेमा जोड दिए । सहकारी संस्थाहरुमा तरलताको अभाव हुँदै गएको बताउँदै उनले त्यसमा सजग बन्नु पर्ने धारणा राखे ।

स्टक एक्सचेञ्जमा लगानी गर्न निजी क्षेत्रलाई खुल्यो बाटो, ३ अर्बको पुँजी, सरकारको स्वामित्व शून्य

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज ल्याउनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रक्रिया अघि बढाएको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न लाइसेन्स प्रदान गर्न नियमावली संशोधन गरेर अर्थमन्त्रालय पठाएको हाे । सेबाेनका ध्यक्ष रमेश हमालले नयाँ स्टक सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएकाे बताएका छन् । बोर्ड सञ्चालक समितिले नयाँ स्टकलाई लाइसेन्स दिन धितोपत्र बजार सञ्चानलन नियमावली, २०६४ संसोधन गरी अर्थमन्त्रालय पठाएको उनले जानकारी दिए । बोर्डले पठाएको नियमावली संशोधन मन्त्रिपरिषद बैठकबाट पारित भएमा नयाँ स्टक सञ्चालन गर्न प्रक्रिया अघि बढ्नेछ । नियमावली संशोधन गरेर अघिल्लो साता मन्त्रालयमा पठाएको र मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेपछि कार्यान्वयन गर्ने अध्यक्ष हमालले बताए । यसअघि स्टक संचालन गर्न ५ करोड पूँजी हुनुपर्नेमा बढाएर ३ अर्ब पुर्याएको उनले बताए । ‘यसअघि ५ करोड पूँजी हुनुपर्ने व्यवस्था हुँदा हाँस्यास्पद थियो, ५ करोडले स्टक चल्दैन्, यसलाई बढाएर पूँजी ३ अर्ब पुर्याएको छ,’ अध्यक्ष हमालले भने, ‘बैंक तथा वित्तीय संस्था र धितोपत्र व्यवसायी सेयरहोल्डर बन्न पाउँछन्, व्यक्तिलाई नयाँ स्टकको लाइसेन्स दिइने छैन, प्राइभेट कम्पनी वा पब्लिक लिस्टेड कम्पनी सेयर होल्डर बन्न पाउनेछन् ।’ राष्ट्र बैंक र बीमा समितिको नियम अनुसार नयाँ आउने स्टकमा एउटा कम्पनीको १५ प्रतिशत सेयर होल्ड राख्न पाइने व्यवस्था मिलाइएको अध्यक्ष हमाले बताए । यसअघि एउटा कम्पनीको अधिकतम १० प्रतिशत सेयर लगानी गर्न पाइने व्यवस्था थियो । ‘नयाँ स्टकमा सरकारी संस्थाको लगानी हुँदैन, पब्लिक र निजी कम्पनीको मात्रै सेयर हुन्छ, अनि मात्रै बजारको विकास हुन्छ, त्यसपछि नेप्सेले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, अहिले यो अर्थमन्त्रालयको विभाग भएर चलिरहेको छ,’ उनले भने, ‘अब दक्ष र अन्तर्राष्ट्रिय स्तरको टेक्नोलोजी भएको स्टक आएमा नेप्से पनि प्रतिस्पर्धी हुनुपर्छ । २०७४ सालमा बजारलाई नयाँ स्टक चाहिन्छ भनेर बोर्डले निर्णय गरेको उनले बताए । २०७० सालमा बोर्डले यसबारे अध्ययन गरेको थियो । पछिल्लो ३ महिनादेखि बोर्डले यस विषयमा काम गरेर अघिल्लो हप्ता मात्रै मन्त्रालयमा पठाएको र मन्त्रीपरिषदको बैठकले निर्णय गरेपछि अगाडी बढ्ने उनले बताए । आफ्नो कार्यकालमा पूँजी बजारमा ऐतिहासिक काम हुने उनको तर्क छ । ‘सरकारले साथ दियो भने मेरो कार्यकालभित्र नयाँ स्टक सञ्चालनमा आउँछ किनभने नयाँ स्टक बिना बजारको विकास सम्भव भएन, मेरै पालामा सबै ऐतिहासिक काम हुन्छन्,’ उनले भने, ‘मेरो २ वर्षको कार्यकालमा लगानीकर्ताका सबै माग पुरा गर्छु, मेरुदण्ड बनेपछि ढाड सिधा गराउनुपर्छ, अनि मात्रै मान्छे सिधा हिड्न थाल्छ, हातखुट्टा बलिया बनाएपछि सबल हुन्छ ।’ यसमा नेप्सेको फरक धारणा रहेको छ भन्ने प्रश्नमा अध्यक्ष हमालले भने, ‘नेप्से सरकारी संस्था हो, नयाँ स्टक ल्याउनमा सरकारको फरक धारणा छैन्, अर्थमन्त्रालयले नै नेप्सेलाइ सुधार गर्न चाहेको छ, पहिलादेखि सुधार गर्न चाहेको भएपनि सुधार गर्न सकेको छैन्, नेप्से सुध्रिएको अवस्था छैन्, अब प्रतिस्पर्धाले सुधार हुन्छ ।’ निजी क्षेत्रलाई बाटो खुल्यो अब स्टक एक्सचेञ्जमा व्यापारिक घरानालाई पनि बाटो खुलेको छ । यसअघि पनि बाराम्बार स्टक एक्सचेञ्जमा निजी क्षेत्रको लगानी हुनु पर्ने माग गरिँदै आएको थियो । अब भने सेबोनले त्यो बाटो खुला गरिदिएको हो । हमालले अब प्रतिस्पर्धाको आधारमा नयाँ स्टक एक्सचेञ्जका लागि अनुमति दिने बताएका छन् । उानका अनुसार जुनसुकै क्षेत्रमा पनि निजी क्षेत्रका प्रवेश हुँदा त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने धारणा पनि राखे । स्टक एक्सचेन्जका लगानी गर्नका लागि विभिन्न व्यामपारिक समूह इच्छुक छन् । यसअघि बैंक तथा वित्तीय संस्था, धितोपत्र व्यवसायी र सूचीकृत भएका कम्पनीले मात्रै लगानी गर्न पाउने व्यवस्था भएकोमा अब त्यो व्यवस्था हटाइएको हो । चुनाव आउन केही महिना मात्रै बाँकी रहँदा नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अगाडि बढाउँदा धेरैले शंसय व्यक्त गरेका छन् ।

कुमारी बैंकका ग्राहकलाई रुपन्देहीको श्री कृष्ण पोलीक्लिनिकमा विशेष छुट

काठमाडाैं । कुमारी बैंक र रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रालिबीच सम्झाैता भएकाे छ । बैंक र पोलीक्लिनिकबीच बैंकका ग्राहकलाई श्री कृष्ण पोलीक्लिनिककाे सेवाहरुमा विशेष छुट दिने सम्झाैता भएकाे हाे । यस सम्झौता अनुसार बैंकका ग्राहकले श्री कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया/ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३ देखि ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

गाईघाटमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु

उदयपुर । त्रियुगा नगरपालिकास्थित वडा नम्बर ११ र १२ को गाईघाट बजार क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको छ । राजधानी काठमाडौं महानगरपालिकासहित देशका विभिन्न नगरपालिकामा सार्वजानिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य सुरु भइरहँदा गाईघाट बजारमा पनि नक्सा पास विपरित सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए । उनका अनुसार सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचनालाई नगरपालिकाका इञ्जिनीयरको प्रत्यक्ष उपस्थिति र नक्सा जाँच गरी हटाउने कार्य सुरु भएको हो । गाईघाटस्थित त्रियुगा बसपार्क क्षेत्रबाट गाईघाट डिएमगेट हुँदै त्रियुगा नमूना माविको पछाडिको सडकखण्डदेखि लोकतान्त्रिक चोकसम्मको सडक क्षेत्र र गाइघाट सेतो पुल हुँदै मदन भण्डारी मार्गअन्तर्गत पु्रानो गाईघाटस्थित पिजी चोक तथा बरुवा बसपार्क क्षेत्रसम्मको झण्डै चारकिलो मिटर चौडाइ र पाँच किलामिटर लम्बाइका बजार क्षेत्रका अवैध घर टहरा संरचना हटाउन दुई हप्ता अगाडि नै सूचना जारी गरिएको उपप्रमुख महेश्वरी राईले बताए । सूचना जारी गरेर दिइएको समयावधि समाप्त भइसकेका कारण संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि गाईघाट बजारको ट्राफिक चोकदेखि पुरानो गाईघाटका पिजी चोकसम्मको दाँयाबाँया सडकखण्ड अतिक्रमण गरेर बसेका तरकारी व्यापारी तथा फलफूल व्यापारीलाई हटाउने कार्य सम्पन्न भएको बताइएको छ । रासस

कामना सेवा डिजिटल विक : क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत बोनस पाइने

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहककाे लागि केएस डिजिटल विक अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न भदाै १९ गतेदेखि भदाै २४ गतेसम्मकाे लागि डिजिटल विक अफर सार्वजनिक गरेको हाे । यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० वा १५ प्रतिशत बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले आइएमई पे तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिंक गरी १०० रुपैयाँसम्मको क्यासब्याक लगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोनपे, एफवानसफ्ट, एनसिएचएल, भिसा, आइएमई पे र खल्ती डिनिटल वालेटसँगको संयुक्त साझेदारीमा ल्याएको हो ।  

भृकुटीमण्डप बजारलाई दशैँको रौनकले अझै छोएन

काठमाडौं । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ । सस्तो मूल्यमा सामान पाउने खुला बजारमा दशैँको रौनकले नछोए पनि व्यापार नखस्किएको काठमाडौं निम्न वर्गीय व्यापार सङ्घले जनाएको छ । सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले भने, ‘खुला बजारमा दशैँका लागि किनमेल गर्नेको चहल पहल छैन । विभिन्न अवरोह पार गर्दै अहिले परिवार पाल्न सक्ने अवस्थामा व्यापारी छन् । व्यापारी उत्साहित नै छन् ।’ दैनिक २० देखि ३० हजार ग्राहक आउने बजारमा विशेषगरी दशैँ आउन १५ दिन बाँकी हुँदामात्रै व्यापार सुरु हुने उनको तर्क छ । गत दुई वर्ष कोरानाका कारण खासै धेरै चहलपहल नभए पनि यस वर्षको दशैँमा व्यापार हुनेमा उनी ढुक्क छन् । पछिल्लो वर्ष हरेक सामानको मूल्यवृद्धि भएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले कच्चा पदार्थको मूल्य बढ्नुको असर सामानमा परेको स्पष्ट पारे । उनले भने,’सवारीसाधन पार्किङस्थल नहुँदा व्यापारमा असर परेको छ । बजारमा शौचालय अपुग छ ।’ काठमाडौंको पुरानो खुद्रा बजारका रूपमा परिचित सो खुला बजारका अधिकांश व्यवसायी उपत्यका बाहिरका छन् । साना व्यवसायीले थोरै पूँजीबाट जीविकोपार्जन गर्दै आएका छन् । विगत तीन वर्ष कोरोना महामारीले गर्दा व्यापार नभए पनि अहिले भने व्यापारले गति लिएको १२ वर्षदेखि कपडा व्यवसाय गर्दै आएका सूर्य पौडेलले बताए । ‘व्यापार नभएर कोरोनाकालमा परिवार पाल्नै मुस्किल थियो, अहिले भने व्यापारले गति लिएको छ,’ उनले भने, ‘अब चाडबाड नजिक आए व्यापार धेरै हुनेमा उत्साहित छौँ ।’ पछिल्लो वर्षमा चीनबाट सामान आयात नहुँदा पनि व्यवसायमा खासै असर नपरेको व्यवसायीहरू बताउँछन् । अहिले नेपालमै उत्पादन भएका कपडा ग्राहकलाई बिक्री गरिरहेको र ग्राहकले मन पराइरहेको पनि व्यारीकोे भनाइ छ । कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने खुला बजारमा एक हजार २ सय ६५ ‘स्टल’ छन् भने अधिकांश व्यापारीले दुई स्टल प्रयोग गर्दै आएका छन् । बजारभित्र आठ सय ४४ पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित छन् । स्टल भाडासँगै व्यवसायीले सरसफाइ, बिजुली र सुरक्षाको पैसा पनि तिर्नुपर्छ । बजारभित्र कपडा, जुत्ताचप्पल, कस्मेटिक, भाँडाकुँडा, खेलौना, झोला, रेडिमेड कपडालगायतका व्यवसाय सञ्चालनमा छन् । लामो समय कोरोना महामारीले भृकुटीमण्डप बजार पनि सुनसान बनेको थियो । व्यवसायीको राहतका लागि समाज कल्याण परिषद्ले एक महिनाको भाडा पनि छुट दिएको थियो । व्यवसायीले प्रत्येक महिनाको स्टल भाडा समाज कल्याण परिषद्लाई र हरेक वर्ष काठमाडौं महानगरपालिकालाई कर तिर्दै आएका छन् । महानगरलाई प्रत्येक व्यापारीले तीन हजार आठ सयदेखि सात हजार पाँच सयसम्म कर तिर्दै आएको उपाध्यक्ष पौडेलले जानकारी दिए । उनले भने, ‘हाम्रो बजारमा कुनै पनि बेरुजु छैन, हरेक महिनाको १५ गतेभित्र भाडा समाज कल्याण परिषद्लाई तिर्दै आएका छौँ ।’ मध्यम तथा निम्न वर्गले किनमेल गर्ने बजारलाई थप व्यवस्थित गर्न २४सै घण्टा सुरक्षागार्ड पनि खटाइएको छ । सुरक्षागार्डलाई पनि निम्न वर्गीय व्यवसायीले नै तलब सुविधा दिँदै आएका छन् । परिषद्ले बजारलाई सुन्दर र व्यवस्थित गर्न सेमी परमानेन्ट (ढलानसहितको जस्तापाताले छाउने) यसअघि नै निर्णय गरिसकेको छ । तर कामले भने अझै गति लिन सकेको छैन । बजारलाई सेमी परमानेन्ट गर्न सुरु गरेर उद्घाटनसमेत गरिएको भए पनि अर्थाभावले काम अघि बढ्न नसकेको परिषद्का प्रशासन प्रमुख तथा सूचना अधिकारी सञ्जयकुमार मल्लिकले जानकारी दिए । ‘पालमुनि लामो समय बस्दा कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था हेरेर परिषद्ले स्टल बनाउने विगतमा नै निर्णय गरिसकेको छ, त्यसको उद्घाटनसमेत भइसकेको छ’, उनले भने । अब नीति तथा कार्यक्रमअन्तर्गत बजेट भए काम अघि बढाउने परिषद्को योजना रहेको उनले बताए । सूचना अधिकारी मल्लिकले बजारमा ढल व्यवस्थापन अहिलेको टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै तत्काल बजारको व्यवस्थापन गर्न तीन–चारवटा परिषद्ले योजना बनाएको सुनाए । उनले भने, ‘सिसीक्यामेरा लगाउने, सुरक्षामा सहयोग, पानीको निकास र सरसफाइमा ध्यान दिने भनेर अहिले व्यवस्थापनमा लागेका छौँ ।’ अहिले भएका शौचालय पर्याप्त नभए पनि व्यवस्थित गर्न सके थप प्रभावकारी हुने उनको तर्क थियो । ‘शौचालय अपुग छैनन्, बजार बाहिर पनि र भित्र पनि छन्, त्यसलाई व्यवस्थित गरेमात्र हुन्छ थप गर्नुपर्दैन,’ उनले भने । गुणस्तरीय सामान, सरल र सुपथ मूल्यमा सामान पाइने भएकाले भृकुटीमण्डपमा विगत १० वर्षदेखि किनमेल गर्ने गरेको उपभोक्ता नेत्रप्रसाद सापकोटाले बताए । भृकुटीमण्डप बजारमा अन्य स्थानमा भन्दा निकै सस्तो सामान पाइने उनको भनाइ थियो । उनले भने, ‘ठूला चाडपर्वमा आवश्यक सामान यहीबाट किनमेल गर्छु, मसहित सबै परिवारलाई आवश्यक सामान यहीबाट किन्छौँ । बाहिर महँगी बढेको महसुस हुन्छ तर यहाँ किन्दा त्यस्तो लाग्दैन ।’ पन्ध्र वर्षदेखि कपडा व्यवसाय गर्दै आएका व्यवसायी शिव धमलाले भर्खरैमात्र तीज, कुशेऔँसीजस्ता चाड सकिएको जनाउँदै दशैँको व्यापार सुरु नभएको बताए । उनले भने, ‘अहिले सुनसानजस्तै छ, दशैँका ग्राहक बढेका छैनन् ।’ नेपालमै उत्पादन भएका चिनियाँ र नेपाली सामान बिक्री गर्ने गरेको बताउँदै उनले पछिल्लो समय धेरैजसो नेपाली सामान नै बढी बिक्री भइरहेको जानकारी दिए । उनले कपडामा मात्रै ४० प्रतिशतले महँगी बढेको सुनाए । कपडामा बढेको महँगीले सधैँ आउने ग्राहक भड्किन खोज्ने भन्दै उनीहरूलाई सम्झाउन समय खर्चिनु परेकोसमेत उनले गुनासो पोखे । उनले भृकुटीमण्डप बजारमा आफूले दिनसक्ने मूल्यमा कपडा पाउने भएकाले विगत पाँच वर्षदेखि किनमेल गर्न आउने गरेको धनगढीकी जेनी ओझाले बताए । स्नातक दोस्रो वर्षमा अध्ययनरत उनले भने, ‘यहाँ हामीले भनेकै मूल्यमा सामान पाउँछौँ । यहाँका कपडाको गुणस्तर पनि आजसम्म राम्रै छ, अब दशैँमा किनमेल गर्न पनि यतै आउने हो ।’ अर्का व्यवसायी विकास थापाले गत दुई वर्ष खासै व्यापार गर्न नपाए पनि यस वर्षको दशैँले भने उत्साह थप्नेमा आफू आशावादी रहेको बताए । उनले नेपाली उत्पादन बिक्री गर्न पाएकामा खुसी व्यक्त गर्दै धेरैजसो भृकुटीमण्डप बजारमा विद्यार्थी युवा–युवती किनमेलका लागि आउने बताए ।