विकासन्युज

यी हुन् महानगरपालिकालाई कर नतिर्ने २३ ठूला कम्पनी, चर्चित व्यापारीलाई समाउँदै बालेन

काठमाडौं । काठमाडौं महानरपालिकाले राजश्व नतिर्ने ठूला कम्पनीको नाम संकलन गरिरहेको छ । महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउनेको लागि आधार र प्रमाणहरु जुटाउने काम थालेको हो । महानगरपालिकाले अहिले वडागत रूपमा कर नतिर्ने कम्पनी तथा व्यवसायीहरूको नाम संकलन गर्न थालेका काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले बताए । केही दिन अगाडि मात्र महानगरपालिले कर नतिर्नेले कारबाही गर्ने भन्दै २४ घण्टे सूचना प्रकाशन गरेको थियो । अधिकारीका अनुसार महानगरले हालसम्म कर नबुझाउने २३ वटा विभिन्न संस्था तथा कम्पनीको नाम संकलन गरिसकेको छ । ‘महानगरपालिकाले कर उठाउँदैन, कर उठाउने जिम्मा वडाको हो, अहिले वडासँग कर नबुझाउनेको विवरण मागेका छौं,’ उनले भने । ठूला कम्पनी मध्ये केही कम्पनीले भने स्थापनाकाल देखिनै कर महानगरलाई बुझाएका छैनन् । उनका अनुसार महानगरपालिकालाई नेपाल विद्युत प्राधिकरणले करोडौं रुपैयाँ बराबरको कर तिर्न बाँकी छ । महानगरपालिकाका अनुसार प्राधिकरणले स्थापना काल देखिनै महानगरलाई सम्पत्ति विवरण बुझाएको छैन । यस्तै, खाद्य संस्थानले पनि महानगरपालिकालाई हालसम्म कर बुझाएका छैन । महानगरपालिकालाई ह्वाईट फिल स्कूलले पनि महानगरलाई लाखौं रुपैयाँ कर बुझाउन बाँकी छ । रञ्जना ट्रेड सेन्टरले पनि वर्षौंदेखि कर बुझाउन बाँकी रहेको अधिकारीले बताए । रञ्जना ट्रेड सेन्टर कालु गुरुङ, मिनबहादुर गुरुङ, दुर्गा बहादुर श्रेष्ठ लगायतका व्यवसायीको भवन हो । विभागका प्रमुख अधिकारीका अनुसार साझा भण्डार, राष्ट्रिय नाचघर, नेपाल चेम्बर अफ कमर्श, कर्मचारी सञ्चय कोष भवन, नेशनल ट्रेडिङ्ग लिमिटेडले पनि महानगरलाई कर बुझाउन बाँकी छ । यसैगरी नेपाली जामे मस्जिद, कृषि सामाग्री कम्पनी, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताले पनि लामो समयदेखि कर तिरेका छैनन् । आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, त्रिवेणी कम्प्लेक्सले पनि कर बुझाउन बाँकी रहेको महानगरले जानकारी दिएको छ । काठमाडौं प्लाला नेपाल ट्रष्टको भवन हो । त्रिवेणी कम्प्लेक्स संघाई ग्रुपको हो । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका रामचन्द्र संघाई त्रिवेणी ग्रुपका मालिक हुन् । कर नतिरेपछि राष्ट्रिय नाचघरको घरजग्गा कारोबार रोक्का भएको छ । ‘राष्ट्रिय नाचघरले घरजग्गा बेच्न भन्दै ४ वर्ष अगाडि महानगरमा आएको थियो, कर नतिरेको भएर घरजग्गा बेच्ने सिफारिस दिएनौं’ । गाडी व्यापार गर्ने कम्पनीहरु एडभान्स र भिजी अटोमोबाइल्स प्रालिले पनि कर महानगरलाई बुझाएका छैन । अधिकारीका अनुसार सिविक, डेण्टल हस्पिटल, ठूला विजनेश कम्प्लेक्स बनाएर भाडा उठाउने व्यापारीहरु प्रदीप रत्न अमात्य, मसिना अमात्य, रविता श्रेष्ठले पनि कर बुझाउन बाँकी छ । महानगरपालिका अहिले वडा गत रुपमा कर नतिर्नेहरुको नाम संकलन गरिरहेको छ । थप विवरण आउँन बाँकी रहेको पनि अधिकारीले बताए । ‘सरकारी भएका कारण कर तिर्नु नपर्ने भन्ने बुझाइ छ, अब सरकारीदेखि प्राइभेटसम्मका निकायहरूले महानगरपालिकालाई कर बुझाउनु पर्ने छ,’ उनले भने ।  

तोलाको ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९३ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि बढेर ९३ हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ११० रुपैयाँ कायम भएको छ ।

अल्फा एकेडेमीमा नेपाली पठन सिप प्रतियोगिता सम्पन्न

पोखरा । पोखराको लेखनाथमा रहेको अल्फा एकेडेमीमा नेपाली पठन सिप प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले विद्यार्थीको तहअनुसार भाषिक सिप विकास गर्ने उद्देश्यले साथ सो प्रतियोगिता गरेको जनाएको छ । तीन तहमा विभाजित गरी सम्पन्न गरिएको सो प्रतियोगितामा कक्षा १ देखि ३ सम्मको समूहमा कक्षा ३ की मन्सु परियार पहिलो, कक्षा ३ कै सृष्टि पतानी दोस्रो र कक्षा १ की सोम्या ढुङ्गाना तेस्रो भएका थिए । कक्षा ४ र ५ को अर्को समूहमा कक्षा ४ का प्रजित रानाभाट पहिलो, कक्षा ५ का अर्पण भण्डारी दोस्रो र कक्षा ४ का सञ्जोग राना मगर तेस्रो भएका थिए । त्यस्तैगरी, कक्षा ६ देखि कक्षा ८ सम्मको अर्को समूहमा कक्षा ७ की प्रशंसा शर्मा पहिलो, कक्षा ६ की प्रिसी त्रिपाठी दोस्रो र कक्षा ८ की जुनिता रानाभाट तेस्रो स्थान ओगट्न सफल भएका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य रमेशराज पौडेलले विद्यार्थीमा भाषिक सिप विकास नभएसम्म उनीहरूको ज्ञानको दायरा फराकिलो नहुने भएकाले यस प्रकारका कार्यक्रमलाई विद्यालयले प्राथमिकताका दिँदै आएको बताएका थिए । यस्तै, कार्यक्रममा निर्णायक रेहकी विद्यालयकी शिक्षिका ज्योति रानाभाटले विद्यार्थीमा पछिल्लो समय नेपाली भाषाको भाषिक सिप निकै कमजोर रहेकाले विद्यार्थीलाई भाषिक सिप विकासमा निरन्तर लाग्न आग्रह गरेकी थिइन् । विद्यालयको अनुसरा प्रतियोगितामा उत्कृष्ट भएकमा विद्यार्थीमध्येबाट केहीलाई भदौ २४ गते नेसनल प्याब्सन कास्कीले आयोजना गर्ने नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा सहभागी गराइने छ ।

स्याङ्जाको वालिङ–जगत सडकखण्ड अवरुद्ध

वालिङ । स्याङ्जाको वालिङ–जगत सडकखण्ड आज विहानदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ–५ लसुनेमा पहिरो खसेको थियो । सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ–५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो । अविरल वर्षासँगै ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई–तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् । सडक खुलाउनका लागि वालिङ नगरपालिकाबाट डोजर आउँदै गरेको उनले बताए । प्रहरी तथा जनप्रतिनिधि पहिरो खसेको स्थानमै पुगेर बाटो खुलाउनका लागि पहल तथा सवारीसाधनको व्यवस्थापन मिलाउने काम गरेका छन् । सवारीसाधनको चाप बढी हुने यस सडकमा तत्कालका लागि एकतर्फी भए पनि बाटो सञ्चालन गर्नतर्फ लागिएको उनले बताए । रासस

कनेक्ट आइपिएसमार्फत फण्ड ट्रान्सफर गर्दा १०२ रुपैयाँ क्यासब्याक

काठमाडौं । नेपाल क्लियरीङ्ग हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा ट्विस्ट अफ टु को अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता मोबाइल बैकिङ्गको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये १०२ जनाले १०२ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सो अफर भदाै १९ गतेदेखि असोज २९ गतेसम्म लागु हुने कम्पनीले जनाएकाे छ । कम्पनीले आईतबारदेखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने र सोको जानकारी हरेक हप्ताको अन्त्य पछि www.connectips.com मा प्रकाशन गरिने जनाएकाे छ । ग्राहकले फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरी, फन्ड ट्रान्सफर वा सेन्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ । कनेक्टआइपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपिएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आइपिएस मार्फत चालु आर्थिक वर्षको करिब देढ महिनामा ३९५ अर्ब बराबरको ५२ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छयाैट भइसकेको छ ।

नक्कली नोट बनाउने कागजसहित नुवाकोटका हिरामान लामा पक्राउ

काठमाडौं । नक्कली नोट बनाउने कागजको बण्डलसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । नुवाकोट जिल्लाको साविक ककनी गाविस ५ स्थायी घर भई हाल काठमाडौं बस्ने ३२ वर्षिय हिरामान लामा नक्कली नोट बनाउने कागजसहित पक्राउ परेका हुन् उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट शुक्रबार राति पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उनको साथबाट १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।

सनराइज बैंकले ल्यायो १ लाखको १५ लाख हुने गज्जबको मुद्दती खाता

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहहरुको लागि १५ गुणासम्मको प्रतिफल दिने मुद्दती खाता ल्याएको छ ।  सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्म रकम प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यस खातामा १४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ । बैंकको अनुसार यस योजनामा सहभागी हुन न्युनतम २५ हजार रकम मुद्दती गर्नुपर्ने छ । उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले ५ लाखसम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ । हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सबै बैंकको ध्यान १० गुणा वृद्धि योजनामा, बीमा बजारलाई धक्का

काठमाडौं । गत माघमा नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक उत्सव मनाउँने क्रममा ‘एनआइबिएल गज्जब ६ मुद्दती खाता’ योजना ल्यायो । यसको अवधि २० वर्षे राखियो । अहिले १ लाख बचत गर्नेले २० वर्षपछि ६ लाख पाउने अर्थात बचत रकमको ६ गुणा फिर्ता हुने योजना बैंकले ल्यायो । नेपालको बैकिङ इतिहासमा २० वर्ष लामो अवधिको मुद्दती योजना यो नै पहिलो भएको जानकारहरु बताउँछन् । तीन दशकभन्दा बढी बैकिङ क्षेत्रमा काम गरेर गत वर्ष मात्र सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका दाहालको अनुभवमा अधिकांश नेपालीले १ वा २ वर्ष अवधिको मुद्दती खातामा पैसा राख्छन् । व्यक्तिगत निक्षेपकर्ताले ५ वर्षभन्दा बढी अवधिको मुद्दतीमा पैसा जम्मा गर्न मान्दैनन् । बीमा कम्पनीहरु, कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता संस्थाहरुले भने उच्च दरको व्याज हुँदा १० वर्ष अवधिको मुद्दतीमा पनि पैसा राख्न रुचाउँछन् । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीको अनुभव पनि त्यस्तै छ । २ वर्षभन्दा बढी अवधिको मुद्दती खातामा पैसा राख्ने निक्षेपकर्ता विरलै पाइने उनले बताए । बैंकहरुले ४० वर्ष अवधिको घर कर्जा दिएको, २५ वर्षसम्मको परियोजनामा कर्जा प्रवाह गर्ने गरेको सन्दर्भमा २० वर्षसम्मको निक्षेप योजना ल्याउन आफैमा राम्रो भएको उनको भनाई छ । नेपाल इन्भेष्टमेन्ट बैंकका नायव प्रमुख कर्याकारी अधिकृत बिजेन्द्र सुवालले २० वर्ष लामो अवधिको निक्षेप योजना आफूहरुले पहिलो पटक ल्याएको बताए । ‘एनआइबिएल बैंकले पहिलो पटक २० वर्षमा ६ गुणा भनेर ल्याएको हो । यसपछि अरु बैंकहरुले पनि केही फरक सुविधाहरु थपेर यस्तै प्रकृतिको निक्षेप योजना ल्याएका छन्’ उनले भने । दीर्घकालका कर्जा प्रवाह गर्ने बैंकहरुले निक्षेप पनि दीर्घकालिन प्रकृतिको ल्याउनु पर्छ भन्ने आवाज आईरहेको समयमा यस्तो योजना ल्याएको पनि उनले सुनाए । ‘दीर्घकाल समयको लागि घर कर्जा, सवारी कर्जा, परियोजनामा ऋण प्रवाह गर्नुपर्छ, एसेट लाइबिलीटी म्यानेज गर्नुपर्छ, कर्जा २५ वर्षको लागि दिने तर निक्षेप १ वर्षको लागि लियो भने एक वर्षपछि त डिपोजिट हुँदैन, त्यसलाई म्याच गर्न लामो अवधिको डिपोजिट राख्ने हो,’ डीसीईओ सुवालले भने । १० गुणा योजना, १ खर्ब २८ अर्ब गायब गत असारमा एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्यायो । उक्त योजनामा अहिले १० लाख रुपैयाँ निक्षेप राख्यो भने १९ वर्ष १० महिनापछि १ करोड रुपैयाँ फिर्ता पाइने एनआईसी एशिया बैंकका ब्राण्डिङ प्रमुख सरोज भट्टराई बताउँछन् । १० गुणा प्रतिफल पाउने मुद्दती योजनामा एनआईसी एशिया बैंक बढी प्रभावकारी रुपमा बजारमा प्रस्तुत भएको अन्य बैंकहरुको बुझाईं छ । यस योजना अन्तर्गत बैंकले साउन महिनामा मात्र १० अर्बभन्दा बढी निक्षेप संकलन गरेको बताइएको छ । लगतै कुमारी बैंकले ‘कुमारी धनवृद्धि’ मुद्दती योजना ल्यायो । २० वर्ष ९ महिना ८ दिन अवधिको उक्त योजनामा मुद्दती अवधिपछि एकमुष्ट १० गुणा बढी रकम पाउने उल्लेख छ । निक्षेपकर्ताको व्याजमा लाग्ने कर बैंकले तिर्ने र बचतकर्ताले पाउने १० गुणा रकम पुरै पाउने बैंकले जनाएको छ । त्यसपछि सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसबिआई बैंक, नेपाल बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंकले पनि निक्षेपमा दोब्बरदेखि १० गुणासम्म फिर्ता गर्ने योजना ल्याए । ‘१० गुणा प्रतिफल’ योजनामा बैंकहरुले लिएको समय भने फरक फरक छ । सिटिजन्ज बैंकले २२ वर्ष १ महिनामा १० गुणा पाउने उल्लेख गरेको छ । सिद्धार्थ बैंकले २१ वर्ष ८ महिना अवधि तोकेको छ । एनसीसी बैंकले २१ वर्ष ६ महिना २८ दिनमा १० गुणा हुने भनेको छ । प्राइम बैंकले १९ वर्ष १० महिना ७ दिनमा १० गुणा पाउने भनेको छ । सबैं बैंकले व्यक्तिगत मुद्दती खातामा ११.०३ प्रतिशत व्याज दिने भनेका छन् । तर १० गुणा प्रतिफल योजनामा समय भने २ वर्षसम्मको अन्तर छ । व्याज गणना विधि, व्याज आम्दानीमा कर कट्टी गर्ने र नगर्ने बैंकहरुको फरक फरक नीतिको कारण मुद्दती अवधि फरक परेको नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले विकासन्युजसँग बताए । उनले सामाजिक सञ्जालमा नै लेखेका पनि लेखेका छन्- ‘निक्षेप रकमको व्याज भुक्तानी सम्बन्धित स्रोतमा कट्टि गरिनुपर्ने कर गणना तथा भुक्तानी सम्बन्धमा उदाहरणसहित कार्यविधि बनाई राष्ट्र बैंकले निर्देशन जारी गरिदिनु पर्यो ।’ बैंकिङ क्षेत्रमा तरलताको अभाव चर्किएको बेलामा १० गुणा प्रतिफल योजनालाई धेरै बैंकले अनुसरण गरे पनि समग्र बैकिङ क्षेत्रमा निक्षेप बढेको छैन, बरु घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा बैकिङ क्षेत्रमा कुल निक्षेप ५१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको थियो । भदौं १५ गते कुल निक्षेप ५० खर्ब ३१ अर्ब भएको छ । यसअवधिमा एक खर्ब २८ अर्ब रुपैयाँ निक्षेप बैकिङ प्रणालीबाट वाहिर गएको छ । नयाँ निक्षेप ल्याउनु भन्दा पनि भएका पुराना निक्षेपकर्तालाई टिकाउन पनि १० गुणा प्रतिफल योजना ल्याउन बैंकर्सहरु वाध्य भएको ज्ञवालीको भनाई छ । निक्षेपमा अधिक पैसा हुनेहरुले छोरा छोरीको नाममा १० लाख राखिदिउ न त, बिहे गर्ने बेलामा काम लाग्छ, उच्च शिक्षामा खर्च गर्न काम लाग्छ भनेर थोरै थोरै रकम २०/२१ वर्ष लामो मुद्दती योजनामा राख्ने गरेको पाइएको उनले बताए । बैंकहरुले नयाँ प्रडक्ट ल्याउन नसकेको भनेर उपभोक्ताहरुले टिकाटिप्पणी गरिरहेको बेलामा आफूहरुले नयाँ प्रडक्ट ल्याएको उनको भनाइ छ । ‘एउटै प्रडक्ट भएपछि ग्राहकलाई खल्लो लाग्छ, नयाँ-नयाँ किसिमको प्रडक्ट बजारमा ल्याउँदा ग्राहकलाई रमाइलो हुन्छ, प्रडक्ट ल्याएन भने बैंकले सुतेर खायो भन्छन्, यस्ता प्रडक्ट सधैं आवश्यक छन्, बैंकले पनि कुनै न कुनै प्रडक्ट ल्याइरहेका हुन्छन्,’ उनले भने, ‘अहिले बैंकिङ्ग क्षेत्रमा तरलता अभाव छ, तरलता तान्नकै लागि योजना ल्याइएको हो ।’ बीमा बजारलाई धक्का बैंकहरुले २ गुणादेखि १० गुणा वृद्धि बचत योजना ल्याएपछि जीवन बीमा कम्पनीहरुलाई धक्का लागेको छ । बीमा गर्दा बीमितले २०/२५ वर्षपछि दोब्बर पाँउछ भनेर बीमा गराउने जीवन बीमा अभिकर्ताहरु अहिले दवावमा परेको जीवन बीमक संघका उपाध्यक्ष एवं सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए । ‘बीमा गर्नेले दोब्बर रकम पाउँछ भनेर बीमा गराउनु नै मिस गाइड थियो । त्यस्ता कम्पनी वा अभिकर्ताहरुलाई बैंकका २ देखि १० गुणा वृद्धि योजनाले नराम्ररी असर गरेको छ’ पौडेलले भने । सर्बसाधारणले आर्थिक संकटको अनुभव गरेको, बैकिङ क्षेत्रमा तरलताको अभाव भएकोले पनि पछिल्लो समय बीमा बजार सुस्ताएको उनले बताए । बैंकहरुको चक्रबर्ती मुद्दती योजना जीवन बीमा योजनाभन्दा पनि कडा भएको बैंकर्स भुवन दाहाल बताउँछन् । ‘जीवन बीमा योजनामा त हरेक वर्ष बीमाशुल्क तिर्दै जान पाइन्छ । तर बैंक मुद्दतीमा त एकैपटक पैसा राख्नुपर्छ’ दाहाल भन्छन्- ‘चक्रबर्ती मुद्दती योजनामा निक्षेपकर्ताले व्याज पनि चलाउन नपाउने भएकोले नगद प्रवाह बन्द हुन्छ ।’ यस्तो योजना बचतकर्ताको लागि सकसपूर्ण हुने र दीर्घकालिन रुपमा बैंकहरुलाई पनि महँगो पर्ने दाहालको विश्लेषण छ ।