जावा मोटरसाइकल अब मात्र ९ प्रतिशत ब्याजदरमा किन्न पाइने
काठमाडौं । जावाले चाडपर्व मौसममा नयाँ ग्राहकहरूका लागि अफर ल्याएको छ । कम्पनीले मात्र ९ प्रतिशत ब्याजदरमा जावा मोटरसाइकल पाइने गरी ल्याएको छ । जावाले फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेजसँगको सहकार्यमा यो सुविधा ल्याएको हो । अफर अन्तर्गत ग्राहकले हरेक जावा बाइकको खरिदमा निःशुल्क प्रोफेशनल राइडिङ ज्याकेट र निःशुल्क हेल्मेट पनि प्राप्त गर्नेछन् । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । कम्पनीको अनुसार यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सिईद्वारा प्रमाणिकरण गरिएको छ । कम्पनीले पुराना गाडीको लागि सर्वाधिक मूल्याङ्कन सहित एक्सचेन्ज इजी सुविधा पनि उपलब्ध गराउँदै आएको छ । जावा मोटरसाइकल एक दशकभन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्कले भित्राएको हो । आग्नि माटो इन्क प्रा।लि अग्नि ग्रुप अन्तर्गत स्थपित सहसंस्था हो ।
सरकारले कृषियोग्य जमिनमा घर बनाउन नदिने
काठमाडौं । सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ । ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सकेसम्म घर तथा आवासस्थल बनाउन नदिने गरी सरकारले त्यस्तो व्यवस्था गरेको हो । एकातिर कृषियोग्य जमिन घट्दै जाने अर्कोतर्फ विदेशबाट आयात भएको विप्रेषणसमेत क्रमशः उपभोग्य वस्तुको आयातमा नै खर्च हुने विकराल स्थिति देखिएपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग ऐन, २०७६ मार्फत जग्गाको वर्गीकरण गरेको हो । त्यसका लागि मन्त्रालयले पृथ्वीनारायण शाहको भनाइलाई आर्दश वाक्यका रुपमा राखेको छ । ‘खेत बन्या जग्गामा घर भयो पनि घर अन्त जग्गामा सारी कुलो काटी खेत बनाइ आवाद गर्नु’ भन्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रख्यात भनाइका आधारमा जग्गाको वर्गीकरण गरिएको मन्त्रालयको भनाइ छ । भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारणमन्त्री शशि श्रेष्ठले खेतीयोग्य जमिन घर तथा आवासका लागि मात्रै प्रयोग हुने र खाद्य पदार्थ आयातका लागि मात्रै ठूलो मात्रामा धनराशि खर्च हुने गरेको अवस्थालाई मध्यनजर गरेर जग्गाको सुरक्षाका लागि बाध्य भएर नै यस्तो व्यवस्था गर्नुपरेको जानकारी दिए । उनले भूउपयोग ऐनअनुसार गरिएको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरिसकिएको बताए । सरकारले कृषि, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला, ताल, सिमसार, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रका रुपमा जग्गाको वर्गीकरण गरेको छ । कृषिबाली उत्पादन पशुपक्षीपालन, फार्महाउस, मत्स्यपालन, माहुरीपालन, रेशमखेतीलगायतका कृषिजन्य उत्पादन क्षेत्र, वागवानी वा वनबाटिका, जडीबुटी र कृषि वनका लागि प्रयोग भएको वा हुनसक्ने जग्गा सम्झनुपर्नेछ । जताततै क्रङ्क्रिटको जङ्गल मात्रै विस्तार भएको पाइएपछि राष्ट्रियहित र चासोलाई हेरेर सरकारले जग्गाको वर्गीकरण गरेको मन्त्री श्रेष्ठको भनाइ छ । उनले खाद्य पदार्थ उत्पादन हुने क्षेत्रलाई सुरक्षित गर्ने र अन्य क्षेत्र तोकिएका स्थानमा जे कामका लागि तोकिएको हो, सोही गर्ने गरी प्रबन्ध गरिएको छ । स्थानीय तहलाई आगामी मङ्सिरभित्र जग्गाको वर्गीकरण गरी सम्बन्धित नापी तथा मालपोत कार्यालयलाई जानकारी गराउन भनिएको छ । यसबाट जग्गाको रक्षा हुने र जुन प्रयोजनाका लागि जग्गा छुट्याइएको हो, सोही कामका लागि मात्रै उपयोग हुने सरकारको विश्वास छ । रासस
क्षतिग्रस्त रसुवाको पासाङल्हामु मार्ग १० दिन भित्र सञ्चालन हुँदै
रसुवा । अविरल वर्षाका कारण क्षतिग्रस्त रसुवाको पासाङल्हामु मार्ग पुनः निर्माण कार्य तीब्ररुपमा अगाडि बढाइएको छ । उत्तरी नाका रसुवागढीबाट आयात भएका चिनियाँ माल सामग्री काठमाडौँ ढुवानी गर्न नसकिएपछि पुनः निर्माणको कार्य छिटोछरितो बनाइएको होे । गत साउन २४ गते रातिको वर्षाले उत्तरगया गाउँपालिका वडा नं ५ बनुवा घुम्तीमा करिब ७० मिटर सडकमा क्षति पुगेपछि पूर्णरूपमा सवारीसाधनको आवतजावत रोकिएको छ । डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजनल इञ्जिनीयर एवं कार्यालय प्रमुख अमृतमणि रिमालका अनुसार बनुवा घुम्तीस्थित पासाङल्हामु मार्गबाट अबको १० दिनभित्र एकतर्फीरूपमा भए पनि यात्रुवाहक बस एवं मालवाहक कन्टेनर सञ्चालन गराउने लक्ष्य राखी काम अगाडि बढिरहेको छ । समग्रमा पहिरो स्थलको सडक पुनः निर्माण कार्य ६५ प्रतिशत पूरा भएको निर्माणमा संलग्न सुन्धरादेवी निर्माण सेवाका इञ्जिनीयर निर्मल प्याकुरेलले स्थलगतरूपमा जानकारी दिए । लगाउनुपर्ने दुई हजार आठ सय घनमिटरमध्ये एक हजार आठ सय घनमिटर जाली पर्खाल तयार भइसकेको बताइएको छ । विपद् व्यवस्थापनअन्तर्गत छिटोछरितो पुनःनिर्माणको काम गराउन सडक प्रमुख रिमालले निर्देशन दिएका छन् । पहिराका कारण सडक मार्ग अवरुद्ध हुँदा नेपाल चीनबीचको व्यापारी कारोवारका साथै उत्तरी रसुवामा निर्माणाधीन जलविद्युत्का सामग्री ढुवानीमा समेत बाधा परिरहेको छ । पहिराका कारण माल सामग्री ढुवानी गर्न नपाउँदा उपकरण जडान कार्यमासमेत समस्या भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ । व्यापारी व्यवसायीले रसुवागढी नाकाबाट काठमाडौँ लान तयार गरेको साढे दुई अर्बभन्दा बढीको माल सामग्री केरूङमा अलपत्र परेका छन् । रसुवाको सडक अवरुद्ध र केरूङमा उत्पन्न कोभिड रोगका कारण सामान आयात हुन नसक्दा व्यापार व्यवसायलाई ठूलो समस्या आएको व्यवसायी धर्म पौडेलले बताए । पहिराका कारण बनुवा घुम्तीतर्फको पासाङल्हामु मार्ग बन्द भएपछि वैकल्पिक मार्गका रूपमा सञ्चालन गरिएको धारापानी तारूकेतर्फको ग्रामीण सडकबाट भने टाटासुमो जीपले नियमित सेवा दिइरहेको र एम्बुलेन्ससमेत गुडिरहेको कालिका गाउँपालिका–३ का वडाध्यक्ष फणीन्द्रप्रसाद न्यौपानेले बताए । नियमित बस सेवाले भने लहरे र माझगाउँ क्षेत्रबाट यात्रुको पल्टिगरी सेवा दिइरहेको बस व्यवसायीले बताएका छन् । सडक अवरुद्ध भए यता निर्माण सामग्रीको अभावमा विकासका सबै कार्य ठप्प भएका छन् । रासस
भाटभटेनीमा पनि पस्यो महानगर, बेसमेन्टमा रहेको संरचना खाली गर्न डोजरको प्रयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभटेनीको बेसमेन्ट पनि खाली गर्ने भएको छ । काठमाडौं महानगरपालिका–३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना खाली गर्न सुरु गरेको हो । बेसमेन्टमा रहेको संरचना खाली गर्न महानगरले डोजर पनि साथमै लिएर गएको छ । भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना खाली गर्न लागेको बताइएको छ । पछिल्लो समय महानगर विभिन्न ठाउँमा पार्किङका लागि निर्माण भएका बेसमेन्टको अनुगमन गरिरहेको छ भने सो बेसमेन्ट अन्य प्रयोजनका लागि प्रयोग भएको पाइमा कारवाही पसिन गर्दै आएको छ । यो सँगै अनधिकृत संरचना हटाउनमा पनि महानगर सक्रिय बनेको छ ।
तरकारी खेतीबाटै डेढ लाखसम्म कमाउँछन् झापाका किसान
झापा । जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । टनेल विधिबाट खेती गर्दा मौसमी र बेमौसमी तरकारी दोब्बर उत्पादन हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुला स्थानमा तरकारी फलाउन नसकेका कृषकले टनेल प्रविधिमा खेती गर्न थालेपछि मनग्य उत्पादन गरिरहेका छन् । यहाँका कृषकले बारीमा मकै, कोदो, धानखेतीको सट्टा तरकारीखेती गर्न थालेका हुन् । अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती गर्न थालेका कृषकमा पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता विपरीत स्वदेशमै राम्रो आम्दानी गर्न सकिने विश्वास पैदा भएको शान्तिनगरका रघुनाथ कोइरालाले बताए । उनले दुई बिघा छेत्रफलमा सब्जीखेती लाउँदै आएका छन् । शान्तिनगरकै अर्का कृषक दलबहादुर राई परम्परागत तरिकालेभन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको बताउँछन् । लागत घटाउन, उत्पादन बढाउन र रोग किराको समस्याबाट बच्न टनेलभित्र ‘हाइटेक’ प्रविधि किसानले प्रयोग गर्न थालेका छन् । स्थायी संरचनाको प्लास्टिकको टनेल बनाएर बिरुवाको जराजरामा आवश्यकताअनुसार सिँचाइ हुने थोपा सिँचाइ प्रविधि जडान गरिएको छ । थोपा सिँचाइ प्रविधिमार्फत बिरुवाको जरा जरामा पाइपमार्फत बिरुवालाई आवश्यकपर्ने पानी र खाद्य तत्व आपूर्ति गराइन्छ । सुधारिएको गोठ निर्माणले बस्तुभाउको मूत्र पनि सदुपयोग हुने गरेको बाहुनडाँगीका कृषक प्रदीप भण्डारी बताउँछन् । उत्पादन भएको तरकारी बिक्रीका लागि समस्या नभएको बुद्धशान्ति– ६ का तरकारी कृषक राजेन्द्र भट्टराईले बताए । यहाँ उत्पादित सब्जी झापाकै बिर्तामोड, दमक, धुलाबारी, काँकडभित्तालगायत बजारमा बिक्री हुने गरेको भट्टराईले बताए । तरकारी बेचेर एक सिजनमा करिब एक लाखदेखि डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको भट्टराईले बताए । यस ठाउँका प्रायः सबै कृषकले बेमौसमी सब्जीखेती लाउने गरेका छन् । रासस
खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना
नवलपरासीपूर्व । नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित ऐनमा गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन बाँझो रहेका खण्डमा कुनै फार्म, कम्पनी वा गाउँपालिकालाई करारमा दिनुपर्ने उल्लेख गरिएको छ । गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन लगातार दुई वर्षसम्म बाँझो राखेमा गाउँपालिकाले आर्थिक ऐनमा तोकिए बमोजिमको जरिवाना लगाउन सक्ने जनाइएको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन यस्तो नीति अख्तियारी गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । कृषि क्षेत्रमा विभिन्न तालिम, विनाधितो ऋिण, अनुदानसहित कार्यक्रम सञ्चालन गरिएकाले कुनै खेतीयोग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको अध्यक्ष पाण्डेले बताए । कृषि तथा पशु उत्पादनका क्षेत्रमा गाउँपालिकाले विशेष बजेट व्यवस्था गरेको बताउँदै दूध उत्पादन र पशुपालनमा पनि अनुदानको व्यवस्था गरिएको बताए । हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशनले हुप्सेकोट गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को प्रथम संशोधन प्रस्तावसहित तीनवटा ऐनलाई पारित गरेको छ । रासस
पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प
बेइजिङ । पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ( सिईएनसि) ले जनाएको छ । यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ ।
मुख्यमन्त्री राउत भन्छन् : मधेशमा लगानी गराैं
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गरेका छन् । मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उनले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गरेमन हुन् । मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाए । उनले भने, ‘आफ्नो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्भाव अनुकरणीय छ । मधेश सरकारको तर्फबाट तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । आउनुस्, लगानी गर्नुहोस्, वातावरण हामी दिन्छौँ । समृद्ध मधेश निर्माणको बाटोमा यहाँको सहयोगको अपेक्षा हामीले गरेका छौँ ।’ प्रदेश सरकारले उद्योग ऐनमार्फत लगानीको वातावरण सुनिश्चित गरीसकेको उनले स्पष्ट पारे । कार्यक्रममा दक्षिण कोरियामा रहेको एक सयभन्दा बढी युवाको सहभागिता रहेको थियो । रासस