ढुङ्गा बोकेर बस्ती जोगाउन स्थानीयलाई साथ दिदै मन्त्री बडू
दार्चुला । यहाँको बाढीप्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बाङाबगड क्षेत्रमा बस्ती जोगाउन स्थानीयसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले समेत साथ दिएका छन् । शुक्रबार आएको लास्कुखोलाको कटानले बाङाबगड वस्ती बिस्थापित हुन थालेपछि मन्त्री बडू स्वयं ढुङ्गा बोकेर स्थानीयलाई साथ दिँदै छन् । शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुग्नुभएका उनी लास्कु खोलामा ढुङ्गा बोकेर साथ दिइरहेका छन् । प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकालीका नगर प्रमुख नरसिह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, नेकपा एमालेका जिल्लास्तरीय नेता, जिल्लास्थित सुरक्षाकर्मी, स्थानीय र युवा विद्यार्थीले बिहानैदेखि तारजाली लगाएर बाङबगड क्षेत्रमा खोला फर्काउने प्रयास गरिरहेका छन् । बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुङ्गा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यक्ता रहेको मन्त्री बडूले बताए । उनले भने, ‘अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गराँै ।’ नदीको बहाव कम हुने बित्तिकै बजारको कटान रोकिन्छ । यो सबैको साझा दायित्व हो । बजार क्षति भयो भने फेरि दर्जनौ घर तथा पसलमा क्षति हुने देखिन्छ । बाङाबगड क्षेत्रको खानेपानी ट्याङ्की नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुङ्गा भर्ने काम भइरहेको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले बताए । स्थानीयको सहभागितामा बिहान ६ बजेबाटै ढुङ्गाजाली भर्न थालिएको छ । माथिल्लो बाङाबगड नजोगाउने हो भने पूरै बजार विस्थापित हुने अवस्था रहेको छ । वेपत्ता १० जना अझै भेटिएनन्, खोजीकार्य जारी शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिराका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका दश जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरामा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने दश जना बेपत्ता छन् । महाकाली–३ का धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की, महाकाली–४ का सरस्वती लुहार, मोहन लुहार, महाकाली–२ का मानमति शाहु, महाकाली–१ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत गाहामगरले बताए । महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताको खोजीमा समस्या भइरहेको छ । उनीहरुलाई महाकाली नदी किनार नजिकका प्रहरी युनिट परिचालन गरेर खोजी भइरहेको छ । राहत र उद्धारको काम सँगसँगै अघि बढाइएको छ । अहिलेलाई पीडितलाई त्रिपाल दिइएको छ । अस्थायी बसोबासको प्रबन्ध भइरहेको छ । अधिकांशले आफन्तको घरमा तथा जिल्ला समन्वय समितिको हलमा आश्रय लिइरहेका छन् । रासस
शहरलाई गाउँसँग जोड्दै होमस्टे, बाँकेमा मात्रै वार्षिक १ करोड आम्दानी
राँझा । बाँकेका गाउँवस्तीमा व्यावसायिकरुपमा सञ्चालित होमस्टे (घरबास)ले ग्रामीण पर्यटकको सङ्ख्या बढेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले नयाँपन दिने गरेको छ । होमस्टेमा खान, बस्न र घुम्न आउने सबैजसो पाहुना शहर बजारका हुने गरेको बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । आफ्नो ठाउँ, परिवेश, माटो सुहाउँदो आफ्नो मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएकाले होमस्टेमा आउने पाहुनाले गाउँले जीवन, परिवेशको जानकारीसँगै स्थानीय परिकारको स्वाद लिँदा नयाँ अनुभव हुने गरेको चौधरीको भनाइ छ । शहरका रेष्टुरेण्ट र होटलमा हुने जन्मदिन उत्सवलगायतका सानातिना कार्यक्रमदेखि सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाका बैठक र कार्यक्रम पनि अहिले होमस्टेमा हुने गरेका छन् । गाउँमा गएर बैठक तथा कार्यक्रम गर्दा नयाँ अनुभव हुनुका साथै सहभागीलाई समेत उत्साह मिल्ने गरेकाले आफूहरुले अधिकांश वैठक तथा कार्यक्रम होमस्टेमा गर्दै आएको नेपालगञ्ज जुनियर जेसिजका अध्यक्ष शिवकुमार मौर्यले बताए । गाउँमा सञ्चालन भएका होमस्टे शहरलाई गाउँसँग जोड्ने माध्यम भएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक–३२५ बी २ का पूर्व गभर्नर मधुसुदन शर्मा बताउँछन् । उनले होमस्टेमा घुम्न आउने पाहुनालाई मनोरञ्जनको लागि लायन्स पार्क, वनभोज स्थललगायत १० लाख बढीको पूर्वाधार निर्माणमा लायन्सले सहयोग गरेको जानकारी दिए । अहिले गाभर होमस्टे पुग्ने पाहुनाहरु लायन्स पार्कमा पुगेर रमाउने गरेका छन् । गाउँमा स्थापना भएका होमस्टेले शहरलाई गाउँसँग जोड्नुका साथै गाउँमा रोजगार पनि सिर्जना गरेको छ । गाउँमा उत्पादन हुने स्थानीय जातका मासुजन्य र दूग्धजन्य पदार्थको खपत गाउँमै भएको छ । गाउँका युवाले गाउँमै काम पाउने अवस्था भएको छ । समुदायमा स्वरोजगार तथा रोजगारको सिर्जना भएको छ । काम गर्न चाहने युवाहरु गाउँमै रोजगारमा संलग्न हुने वातावरण बन्दै गएको छ । जिल्लाभरिका होमस्टेमा वार्षिक एक करोड बढी आम्दानी हुने गरेको होमस्टे महासङ्घका केन्द्रीय महासचिव एवम् बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष चौधरीले जानकारी दिए । ‘हामीले केवल जीविकोपार्जन मात्रै नभई आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र पर्यटनको अवधारणा अघि सारेका छौँ’, खड्कवार नमूना सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर रानाले भने, ‘गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।’ बाँके निकुञ्जसँगै जोडिएको खड्कवारमा “संस्कृति र प्रकृति”को संरक्षण, सम्बद्र्धन र विकासका लागि होमस्टेले अभियान सञ्चालन गरेको अध्यक्ष रानाको भनाइ छ । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ । स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र लोकल कुखुरा तथा खसीको मात्रै प्रयोग गरिनु खड्कवार होमस्टेको विशेषता हो । थारु, जनजाति, बाहुन क्षेत्रीको मिश्रित वस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाचहरु देखाएर ग्रामीण रहनसहन र संस्कृतिबारे जानकारी गराउने गरिएको अध्यक्ष रानाले बताP । नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको राप्ती सोनारी गाउँपालिका–८ मा नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँहरु भएकाले नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रबाट यहाँ दैनिकजसो पाहुना जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गदेखि सय मिटर दक्षिणमा रहेको नयाँगाउँ होमस्टे नजिकै वनस्पति उद्यान, ढकेरी वनभोज स्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार पनि छ । आफूकहाँ आउने पाहुनालाई आफ्नै उत्पादनले सेवा गर्ने गरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताए । होमस्टेमा बस्नका लागि आउने पाहुना विभिन्न सङ्घसंस्थाका सदस्य र विदेशी पनि हुन्छन् । होटलभन्दा सस्तो र गाउँको अर्गानिक खाना पाइने भएकाले विभिन्न स्थानको अध्ययन अवलोकनका लागि आउने सङघ–संस्थाका सदस्यको रोजाइ प्रायः होमस्टे हुने गरेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य धर्मलाल रोकाय बताउँछन् । निकुञ्ज तथा वनमा घुमघाम र अध्ययनका लागि जानेहरू पनि धेरै होमस्टेका पाहुना हुने गरेका छन् । नेपालका धेरैजसो होमस्टे पर्या–पर्यटन लक्षित गरेर सञ्चालन गरिएकाले पनि पाहुनाको कमी नहुने केन्द्रीय सदस्य रोकायको भनाइ छ । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित बैजनाथको गाभर भ्याली होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारी–८ को नयाँगाउँ होमस्टेले अहिले स्थानीय गाउँवस्तीलाई नगर तथा शहरी क्षेत्रमा चिनाउन र यस ठाउँको विकास र समृद्धिका लागि टेवा पुगेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए । होमस्टेलाई संस्कृति र प्रकृतिको संरक्षणसँगै आर्थिक रुपमा सबल बनाउन आवश्यक समन्वय गर्दै आएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । बाँके निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचारप्रसार र प्रकृतिमा आधारित पर्या–पर्यटन प्रवद्र्धनमा जोड दिन थालिएको छ । होमस्टेमा आउने पाहुनालाई निकुञ्जका मध्यवर्ती क्षेत्रमा जिप सफारी, हात्ती सफारी, जङ्गल वाक, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, ¥याफ्टिङ लगायतका प्याकेजले बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटन प्रवद्र्धन हुँदै गएको उनको भनाई छ । होमस्टेले बढायो आम्दानीसँगै चेतना बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका होमस्टेले आम्दानीसँगै समुदायमा चेतना समेत जगाउने काम गरेको छ । होमस्टेमा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउनेदेखि संस्कृतिको समेत विकास भएको कोहलपुर नगरपालिका–१३ मा सञ्चालित खड्कवार होमस्टेका सञ्चालक यज्ञबहादुर राना बताउँछन् । घरमा सञ्चालित खड्कवार नमूना सामुदायिक होमस्टेमा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा राना परिवारको दिनचर्या बित्ने गरेको छ । ‘होमस्टे सञ्चालन भएपछि घरको सबै परिवार यसैमा व्यस्त हुने गरेका छौँ’, रानाले भने,’घरका सबै परिवारलाई काम पुग्ने गरेको छ, कमाई पनि हुने गरेको छ ।’ रानाको परिवार जस्तै अहिले जिल्लाका ग्रामिण क्षेत्रमा खुलेका होमस्टे स्वरोजगारीसँगै आयआर्जनको माध्यम बनेको छ । रानाले होमस्टेमा आउने पाहुनाका कारण आफूहरुको आम्दानीको स्रोत बढ्दै गएको बताए । आम्दानीको स्रोत बढेपछि जीवनमा परिवर्तन आएको र दिनचर्या पनि बदलिएको उनको भनाइ छ । राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ होमस्टेकी शोभी थारूलाई घर चलाउन मात्र होइन, कपडा, चुरापोतेलगायत आफूलाई आवश्यक पर्ने सामान किन्न आफैँ सक्षम भएका छन् । आफूलाई मन लागेको सामान र छोराछोरीको कापी–कलम, विद्यालयको शुल्क तिर्न श्रीमानसँग हात पसार्नु पर्दैन । होमस्टे सञ्चालन भएका गाउँका महिलाको चेतना र आय बढेको छ । अहिले कसैको घरमा फोहोर भेटिंदैन । उनीहरु विभिन्न ठाउँबाट आउने मानिससँग कुरा गर्न र खुवाउन सिकेका छन् । घरमा सञ्चालन गरेको होमस्टेले गाउँले जीवनमा ठूलै परिवर्तन ल्याएको छ । होमस्टेमा पाहुना आउँदा घरका सबै परिवारले काममा सघाउने गरेका छन् । अरू बेला मेलापातको काम सकिएपछि फुर्सदिला हुने महिलाहरू होमस्टे सञ्चालन भएपछि वेफुर्सदिला भएको राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले बताए । बाँके राष्ट्रिय निकुञ्जको स्थापनासँगै मध्यवर्ती क्षेत्रमा पर्यटकलाई लक्षित गरेर होमस्टे खुल्ने क्रम बढ्दै गएको छ । निकुञ्जमा बाघ हेर्न तथा शान्त वातावरणमा रमाउन स्थानीयको आकर्षण होमस्टेमा बढ्दै गएपछि होमस्टे सञ्चालक उत्साहित बनेको डाँगीको भनाइ छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट सहजै पुग्न सकिने भएकाले बाँकेका सामुदायिक होमस्टेमा आन्तरिक पाहुनाको चहलपहल बढ्दो रहेको छ । यहाँका होमस्टे र ठूलो लगानीका आरामदायी होटल समेत थपिएको केन्द्रीय महासचिव चौधरीले बताए । उहाँका अनुसार गाभर भ्याली सामुदायिक होमस्टेकै च्यामा क्षेत्रका रुपमा अहिले च्यामामा पनि होमस्टे विस्तार भएका छन् । च्यामामा करिव एक करोडको लगानीमा गणेश चौधरीले सुविधा सम्पन्न होमस्टे सञ्चालनमा ल्याएका छन् । विसं २०७० मा शुरु भएको बाँकेको गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली सामुदायिक अध्यक्ष चौधरीले बताए । होमस्टे व्यवसायले थारू महिलाको चेतना धेरै माथि उठेको छ । आफ्नो समुदायबाहेक अरूसँग बोल्न डराउने, गाउँबाट अन्यत्र नजाने उनीहरू अहिले होमस्टेमा आउने पाहुना र उनीहरूसँगको घुलमिलले विभिन्न ठाउँको संस्कृति र मानिसलाई चिन्ने मौका पाएको चौधरीको भनाइ छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । रासस
अव्यवस्थित प्रचार सामग्री हटाउँदै शंखरापुर नगरपालिका
काठमाडौं । शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्डलगायतका प्रचार सामग्री हटाउन थालेको छ । नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै सुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, व्यानरलगायतका सामग्री हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख आङ्काजी शेर्पाले जानकारी दिए । नगरपालिकाले इन्द्रायणी बजारबाट बिजुलीका खम्बा र सार्वजनिक स्थानमा नगरको सुन्दरतालाई नै कुरुप पार्नेगरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउन सुरु गरेको शेर्पाले जानकारी दिए । नगरपालिकाले वडा नं ९ देखि सुरु गरेर वडा नं १ सम्मका त्यस्ता सामग्री हटाउने अभियान थालेको हो । प्रचारका नाममा नगरपालिकालाई नै कुरुप पार्नेगरी जथाभावी राखिएका त्यस्ता प्रचार सामग्री नगरप्रमुख रमेश नापितको निर्देशनमा हटाउन थालिएको हो । रासस
आरम्भ चौतारी लघुवित्तका डिसीईओ ज्ञवालीले पाए कामुको जिम्मेवारी
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत (डिसीईओ) शिवप्रसाद ज्ञवालीले कायम मुकायम (कामु) को जिम्मेवारी पाएका छन् । भदौ २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै ज्ञवालीले भदौ २६ गतेदेखि सीईओ नियुक्त नभएसम्म उक्त पदको पनि कार्यभार सम्हाल्ने छन् । संस्थाको सीईओ लक्ष्मीप्रसाद शर्माले राजिनामा दिएसँगै कामुको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो । भदौ २५ गते नै बसेको सञ्चालक समितिको बैठकले सीईओ शर्माको राजिनामा स्वीकृत गरेको हो ।
गृह मन्त्रालयले माग्याे १ लाख १५ हजार म्यादी प्रहरी
काठमाडौं । गृह मन्त्रालयले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी मागेको छ । आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्ति म्यादी प्रहरीको लागि मागेको हो । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिनुपर्ने छ ।
औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध
काठमाडौं । ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध गराउन खोजेमा त्यसो गर्दा पनि पितृले नपाउने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । श्राद्धमा कर्ताले पालना गर्नुपर्ने एकछाकी बाहेकका सबै नियम निमन्त्रणा पाएको पुरोहितले पनि पालना गर्नुपर्ने शास्त्रीय विधि रहेको बताउँछन् । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई । श्राद्ध गराउने पुरोहितले पनि घरमा पूजा गर्नु नहुने शास्त्रीय वचन छ । नित्य पूजा गर्ने अरु कोही नभई गर्नै पर्ने भएमा पूजा गरिसकेपछि फेरि स्नान गरेर मात्र यजमान कहाँ श्राद्ध गर्न जानुपर्छ । पुरोहितले पनि निधारमा टीका लगाउनुहुँदैन । ‘कर्ता र पुरोहितको पनि निधारमा टीका देखेपछि पितृ निराश भएर फर्कन्छन्, यसैले पूजा गर्नै पर्ने भए पनि पानीको मात्र टीका लगाउनुपर्छ, पुरोहितले एक घरमा मात्र श्राद्ध गर्नुपर्छ,’ उनले भने । देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे ।। देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको नामोच्चारण गरी ब्राम्हणहरुलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ भनी विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । सोह्र श्राद्धमा कुनै एक पितृको मात्र नभएर दिवङ्गत भएका सम्पूर्ण पितृको सम्झनामा तर्पण दिई श्राद्ध गरिन्छ । आफ्नै घर हुनेले घरमा र घर नहुनेले नदीको किनारमा श्राद्ध गर्नुपर्छ । अघिल्लो दिनदेखि नै चोखो बसेर, कपाल काटेर श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । ब्रम्हाजीले बताएअनुसार श्राद्ध भनेको श्रद्धा अर्थात् विश्वास हो । दिवङ्गत पितृको कर्म गर्दा दिएको पाउनुहुन्छ भनेर श्रद्धा र विश्वासले ब्राम्ह्ण, गाई, अग्नि, नदी, दुःखी, गरिब, असहायमा समर्पण गर्नु श्राद्ध हो भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नेपाल धर्म र संस्कृतिले धेरै धनी रहेको छ । प्रत्येक दिनजसो एक न एक पर्व परेकै हुन्छ । चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । वर्षका चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह् श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्मका सोह् तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह् श्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । बढ्दो आधुनिकताका कारणले गर्दा कतिपय व्यक्तिलाई श्राद्धका नियम थाहा नहुन पनि सक्दछ । हरेक व्यक्तिको जिम्मेवारी बढ्दै गएको कारणले गर्दा आफ्नो संस्कार, मूल्य र मान्यतालाई बिर्सिदै जाने क्रम बढेको छ । समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभई नहुने वस्तुको अभाव हुँदै गएको छ । पितृ खुसी हुनु भयो भने आयु, पुत्र, धन, विद्या, राज्य, सुख, स्वर्ग, मोक्ष प्राप्त हुन्छ । त्यसैले शास्त्रले पितृकर्मलाई अत्यन्त महत्व दिएको छ । देवताले दिने, पितृले हर्ने शास्त्रीय मान्यता नेपाली समाजमा रहँदै आएको छ । न सन्ति पितरश्चेती कृत्वा मनसि यो नर । श्राद्धम् न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते ।। अर्थात् जसले पितृ छैनन् वा हुँदैनन् भनी श्राद्धादि कर्म गर्दैनन् भने त्यसको रगत पितृले पिउँछन् भन्ने वचन पनि ग्रन्थमा रहेको छ । भगवान् राम, भीष्मपितामह आदिले पनि श्राद्ध गर्नुभएको रामायाण, महाभारतलगायत ग्रन्थमा उल्लेख गरिएको छ । हाम्रा धार्मिक शास्त्रमा श्राद्ध धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । दिनदिनै गरिने नित्य श्राद्ध हो । वार्षिक एकोद्दिष्ट नैमित्तिक श्राद्ध, आफ्नो इच्छा सिद्ध होस् भनी गरिने काम्य श्राद्ध, विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध, सपिण्डी श्राद्ध, पार्वण श्राद्ध, गोठमा गरिने गोष्ठी श्राद्ध, पितृ तृप्ति विद्धानको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो । सीमन्तोनयन, पुंसवन आदि संस्कारका निमित्त गरिने कर्मांङ्ग श्राद्ध हो । देवताका लागि गरिने दैविक श्राद्ध । देशान्तरमा जाँदा घ्यूले गरिने यात्रा श्राद्ध हो । शरीर स्वस्थ होस् भनी गरिने पुष्टिश्राद्ध हो । यसैगरी अर्को ग्रन्थमा पाँच प्रकारको श्राद्धको उल्लेख गरिएको छ । यो श्राद्ध भने आजकाल धेरै गरिएको देखिन्छ । यसमा नित्य, नैमितिक, काम्य, वृद्धि र पार्वण श्राद्ध रहेका छन् । हाम्रो समाजमा एकोद्दिष्ट बढी प्रचलनमा छ । पितृलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । पितृको मृत महिना, पक्ष र तिथि याद गरी यो श्राद्ध गरिन्छ । वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ । सोह् श्राद्ध समेत भनिने पिता अर्थात् बाबुको जुन तिथिमा गरिन्छ । एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्ण पक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा पनि वर्णन गरिएको छ । पार्वण श्राद्धमा चार जना ब्राम्ह्ण चाहिने भएकाले ब्राम्ह्णको प्रतीक स्वरुप कुशको ब्राम्ह्ण थापिन्छ । पहिले–पहिले पार्वण श्राद्ध गर्दा चार जना ब्राम्ह्ण अगाडि राखेर पूजाआजा गर्ने परम्परा थियो । यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राम्हण राख्न थालिएको पण्डित देवकोटा बताउँछन् । दुवैपट्टि दुई÷दुई ब्राम्ह्णलाई क्रमशः विश्देव र पितृ ब्राम्ह्ण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव, मनुष्य, दिव्यपितृ र स्वपितृलाई तर्पण दिएर सुरु गरिन्छ । प्रत्येक ब्राम्हणलाई निमन्त्रणा गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअधि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो घर नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ । घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ । के हो पिण्ड पिण्ड भनेको ब्रह्माण्डको उत्तम वस्तुद्वारा निर्मित पितृलाई नाम गोत्रोच्चारणपूर्वक समर्पण गरिने पितृको भोज्य अर्थात् खाने पदार्थ हो । श्राद्धको दिन छोरीको छोरो नाति, कुश, तुलसी, कालो तिल, मासको बारा, अदुवाको भुजुङ्गो छोप चाहिन्छ । कर्ताले दिएको पिण्डको अन्न पितृलाई अमृत अवस्थामा प्राप्त हुन्छ । दैत्ययोनीमा गएको भए भोगरुपमा प्राप्त हुन्छ । पशु योनिमा तृण अर्थात् घाँसका रुपमा प्राप्त हुन्छ । सर्प योनिमा वायु रुपमा प्राप्त हुन्छ । यक्ष योनिमा गएको भए पान रुपले प्राप्त हुन्छ । मनुष्य योनीमा गएको भए अन्नका अनेक रुपमा प्राप्त हुन्छ । प्रेत योनिमा गएको भए रगतको रुपमा प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । पितृ पक्ष सोह् श्राद्धको अपराह्नकाल: कुन तिथि कतिखेर गर्ने दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह् श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको हुन्छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह् श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचन अनुसार पञ्चाङ्गकार तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह् श्राद्धका सबै तिथिको समय निकाली सार्वजनिक गर्नुभएको हो । पितृ पक्षसमेत भनिने सोह् श्राद्ध यस वर्ष भदौ २६ गते आइतबार अर्थात् आजदेखि सुरु भएको छ । सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय प्रमाण छ । आइतबार आज प्रतिपदा तिथिको श्राद्ध दिउँसो १३ ः १४ बजेदेखि १४ः १९ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा एवं पितृ ब्राह्मणको आह्वान र पूजा तोकिएको समयअघि नै गर्न सकिने विधि छ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । भदौ २६ गते आइतबार नै द्वितीया तिथि श्राद्ध दिउँसो १४ः०९ बजेदेखि सूर्यास्तपूर्व सम्मको समय दिइएको छ । भदौ २७ गते सोमबार तृतीया तिथि श्राद्धको समय १३ः३० बजेदेखि सूर्यास्त पूर्वसम्म गर्न सकिन्छ । भदौ २८ गते मङ्गलबार चतुर्थी तिथि श्राद्ध पनि १३ः१२ बजेदेखि सूर्यास्त पूर्व नै सक्ने गरी गर्नुपर्छ । यसैगरी पञ्चमी तिथि श्राद्ध भदौ २९ गते बुधबार दिउँसो १३ः बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा सक्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध भदौ ३० गते बिहीबार १३ः११ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध भदौ ३१ गते शुक्रबार १३ः११ बजेदेखि सूर्यास्त पूर्व सम्ममा गर्नुपर्नेछ । यस वर्ष असोज १ गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पञ्चाङ्ग पात्रोमा उल्लेख छ । अष्टमी तिथि श्राद्ध असोज २ गते आइतबार दिउँसो १३: ०९ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ । नवमी तिथि श्राद्ध असोज ३ गते सोमबार दिउँसो १३ः१० देखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध असोज ४ गते मङ्गलबार १३ः०९ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ । एकादशी श्राद्ध असोज ५ गते बुधबार दिउँसो १३ः०८ बजेदेखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ । द्वादशी तिथि श्राद्ध असोज ६ गते बिहीबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयमा सक्ने गरी गर्नुपर्नेछ । त्रयोदशी तिथि श्राद्ध असोज ७ गते शुक्रबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गर्नुपर्नेछ । यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज ८ गते शनिबार १३ः०६ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताए । औँसी तिथि श्राद्ध असोज ९ गते आइतबार दिउँसो १३ः०७ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गरिसक्नु पर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ । यस्तो श्राद्ध पितृले पाउँदैनन् । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह् श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । पितृपक्ष अर्थात् सोह् श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए । यो समयमा पनि कारणवश सोह् श्राद्ध गर्न नसकिएमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह् श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । रासस
बैंकहरुमा प्रडक्ट ‘कपि पेष्ट’को अभ्यास मौलाउँदै, बैंकर्सको सिर्जनशिलतामाथि प्रश्न
काठमाडौं । गत वर्षको माघमा नेपाल इन्भेष्टमेन्ट बैंकले निक्षेपमा राखेको रकम २० वर्षमा ६ गुणा हुने योजना सार्वजनिक गर्याे । बैंकले सो योजना ल्याएको केही समयपछि एनआईसी एशिया बैंकल पनि सोही प्रकृतिको १० गुणा बढी रकम पाइने स्कीम सार्वजनिक गर्यो । एनआईसी एशिया बैंकले सो योजना ल्याएपछि अन्य बैंकले पनि धमाधम सोही प्रकारका योजना ल्याउन थालेका छन् । अहिले अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले सोही प्रकृतिका योजना ल्याएका छन् भने कतिपपय ल्याउने चरणमा छन् । लगानीयोग्य पुँजीको अभाव भइरहेको समयमा बैंकहरुले यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकलाई आकर्षित गरिरहेका छन् । यस्तै, केही वर्ष अघि माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक कल सेन्टर सेवा सञ्चालन गरेको थियो । बैंकले आफ्नो ग्राहकलाई सेवा बारे जानकारी गराउनका लागि कल सेन्टरको अवधारण ल्याएको थियो । सोही सेवालाई अन्य बैंकले पनि अनुसरण गर्दै अन्य बैंकहरुले पनि कल सेन्टर सञ्चालनमा ल्याए । यस्तै माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक करिब ५ वर्षअघि नै च्याटबाट सेवा सुरु गरेको थियो । बैंकले च्याटबट सेवा सुरु गरेसँगै अन्य बैंकले पनि सोही सेवा सुरु गरे । केही समय अघि (२०७८ बैशाख ) मा एनआईसी एशिया बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक ‘क्विक पे’ सेवाको सुरुआत गरेको थियो । साना तथा मझौला व्यवसायीका एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने सेवा ल्याउँदा अन्य बैंकहरुले पछि सोही सेवाको सुरुवात गरे । यस्तै, नेपाली बैंकिङ क्षेत्रमै एनएमबि बैंकले भिडियो कलमा आधारित खाता खोल्न सकिने सुविधा ल्याएकोथियो । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कलमार्फत नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्ने सुविधा ल्याएको थियो । अहिले अधिकांश बैंकहरुले सेवा सुरु गरिसकेका छन् । यी केही उदाहरणहरु हुन् । पछिल्लो समय बैंकहरु एक बैंकले ल्याएको ल्याएको योजना अर्को बैंकले अनुसरण गर्ने अभ्यास नेपालमा व्याप्त छ । डिजिटल बैंकिङ मा त झन यो अभ्यास बढ्दो छ । बजारमा नयाँ प्रडक्ट आउँदा पहिला ल्याउने बैंकमा कार्यरत कर्मचारीको श्रृजनात्मक क्षमता अब्बल रहेको पनि यस्त उदाहरणले देखाउँछ । बैंकहरुले आफ्नो ब्राण्डिङ र प्रडक्ट उत्पादन गर्नका कर्मचारी राखेको हुन्छ । यसका लागि बैंकले दख्खल भएका व्यक्तिलाई बैंकमा जागिर दिने गरेको हुन्छ । तर, अधिकांश बैंकले इनोभेसन वा दख्खल भएका कर्मचारी नपाउँदा अर्काको योजना वा प्रडक्ट कपी गर्नुपर्ने बाध्यता बैंकहरुमा देखिन्छ । बैंकहरु ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छन् । ग्राहकलाई राम्रो सेवा सुविधा दिन बैंकहरुबीच प्रतिस्पर्धा बढी हुन्छ । तर, आफ्नो ग्राहकलाई अन्य बैंकमा जान नदिन अर्काे बैंकको प्रडक्ट वा योजना कपी गर्नु पर्ने बाध्यता रहेको बैंकर्सहरु बताउँछन् । ग्राहकलाई सर्वसुलभ सेवा सुविधा दिनका लागि बैंकहरुले नयाँ नयाँ योजना वा अफर ल्याउने गरेका छन । तर, एक बैंकले सार्वजनिक गरेको योजनालाई अर्काे बैंकले पनि जस्ताको त्यस्तै कपी गर्ने गरेका छन । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ भने बैंकका प्रडक्ट ‘कपी’ हुनेका रुपमा लिनु नपर्ने बताउँछन् । उनका अनुसार बैंकहरुले ग्राहकलाई लक्षित गरेर नै नयाँ प्रडक्ट ल्याउने भएकाले एक बैंकले ल्याएको प्रडक्ट अर्को बैंकले पनि ल्याउनु पर्ने बाध्यता छ । तर, त्यसलाई कपि पेष्टका रुपमा लिन भने नहुने उनको भनाइ छ । ‘बैंकका प्रडक्ट ‘कपि’ हुँदैनन्, खासै नौलो प्रडक्ट भनेर कसैले ल्याएका छैनन्, पहिला २/४ वर्षका मुद्दती योेजना थिए, अहिले ग्राहक तान्न १५ गुणा फिर्ता गर्ने योजना ल्याए,’ उनले भने, ग्राहकले त्यो बैंकमा यस्तै सुविधा छ यता छैन भनेर कम्प्लेन गर्छन्, सोही कारण पनि एक बैंकले अर्को बैंकको जस्तै सेवा ल्याउनु पर्ने हुन्छ ।’ एउटा बैंकले ल्याएको योजना वा प्रडक्टलाई अन्य बैंकले फरक भेरियन्ट राख्ने गरेको उनको तर्क छ । पहिला–पहिला सरकारी बैंकले प्रडक्ट कपी नगरेपनि हाल सरकारी बैंकले पनि कपी गर्ने गरेको उनले बताए । ‘सबै बैंकका घर कर्जा, गाडी कर्जालगायत सबै एउटै प्रकृतिका प्रडक्ट हन्छन्, यसमा नयाँ फरक केही हुँदैनन्, सबै बैंकको बचत, मुद्दती, कर्जा हुन्छ, अलिकति केही फरक हुन्छ,’ उनले भने । तर, प्रडक्टमा कपिराइट भने नलाग्ने उनको भनाइ छ । ‘बैंकका प्रडक्टमा कपिराइट लाग्दैन, नाम फरक गरेर ल्याएका हुन्छन्, कपिराइट नै लगाउनु पर्ने समस्या छैन, आफूसँग भएको ग्राहकलाई अरु बैंकमा जान रोक्नुपर्ने बाध्यता हो, अहिले त सरकारी बैंकहरु वाणिज्य, कृषि विकास र नेपाल बैंकले समेत बाध्य भएर दिनुपर्ने बाध्यता आयो, पहिला–पहिला उनीहरुलाई मतलब हुँदैनथ्यो ।’ यस्तै, ग्लोबल आइएमई बैंकका डेपुटी सीईओ महेश शर्मा ढकाल कुनै बैंकले नयाँ प्रडक्ट ल्याउँदा अन्य बैंकको निक्षेप बाहिरिने गरेको बताउँछन् । बजारको माग अनुसार ग्राहकलाई सेवा दिनका लागि यस्ता योजना आउने गरेको उनको बुझाइ छ । समान खालको प्रडक्ट आउँदा ग्राहकलाई छनोट गर्न सक्ने बाटो खुला हुने उनको बुझाइ छ । समान किसिमको प्रडक्ट हुँदा ग्राहकलाई फाइदा नै हुने उनले बताए । ‘आवश्यकता अनुसार कुनैले नयाँ प्रडक्ट ल्याए भने अरुको डिपोजिट त्यता जान्छ, नयाँ स्कीम ल्याउनु भनेको अरु बैंकको डिपोजिट तान्ने रणनीति हो, त्यो निक्षेप नखोसियोस् भन्नका लागि फरक तरिकाले समान प्रडक्ट ल्याएका हुन, ग्राहकको माग, मार्केटको सम्भावना, तरलता, बजार कुन ट्रेण्डमा गएको छ भनेर प्रडक्ट ल्याउने गरिएको छ,’ उनले भने, ‘समान खालको प्रडक्ट हुँदा ग्राहकले छनोट गर्न पाउँछन्, ग्राहकले यस्तै प्रडक्ट हुँदा अन्य बैंकसँग तुलना गर्छन् जहाँ राम्रो देख्छ त्यहाँ जान्छन्, ग्राहकलाई फाइदा नै हुन्छ ।’ बैंकका प्रडक्टलाई दर्ता गर्ने प्रचलन नहुँदा कपिराइटको मुद्धा नलाग्ने उनले बताए । कपिराइटको मुद्धा लाग्नका लागि प्रडक्ट दर्ता गर्नुपर्ने उनको भनाइ छ । ‘बैंकको प्रडक्ट भनेर दर्ता गरिएको हुँदैन, दर्ता गरेको छ भने मात्रै कपिराइटको मुद्धा लाग्ने हो, कपिराइट लिएको हुनुपर्छ, कपिराइट लिएको छ भने मुद्धा लाग्ने हो, लिएको छैन भने लाग्दैन, नयाँ नयाँ प्रडक्ट, फिचर ल्याउँदा बैंकको श्रृजना पनि बढ्छ, बैंकको ब्राण्डिङमा पनि ठूलो सहयोग पुर्याउँछ,’ डीसीईओ ढकालले भने । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले बैंकका प्रडक्ट समान हुन सक्ने बताए । बैंकले निक्षेप र कर्जाका प्रडक्ट नै डेभलप गर्ने भएकाले समान हुन सक्ने उनको भनाइ छ । कुनै बैंकले एउटा प्रडक्ट डेभलप गरेमा अर्काे बैंकले मूल्य भेरियसन गरेर ल्याउन सक्ने उनले बताए । ग्राहकलाई जुन बैंकको प्रडक्ट राम्रो लाग्छ सोही बैंकमा जान सक्ने उनको बुझाइ छ । बैंकहरुलाई ब्याजदरको सीमा तोकिएको हुँदा प्रडक्ट पनि समान हुने गरेको उनको तर्क छ । ‘बैंकहरुका प्रडक्ट समान हुन सक्छन्, बैंकहरुले डिपोजिट र क्रेडिटका प्रडक्ट नै डेभलप गर्ने हो, जस्तै कृषि कर्जाका लागि कुनै बैंकले प्रडक्ट बनायो भने उस्तै–उस्तै प्रडक्ट अर्काे बैंकले ल्याउन सक्छ तर प्राइस भेरियसन हुन्छ, ग्राहक आफूलाई कस्ट इफेक्टिभ जहाँ सस्तो पर्छ त्यहाँ जान्छ, बैंकले फाइदा हुने ठाउँमा मात्रै एप्रोच गर्छ,’ उनले भने, ‘ब्याजदर महत्वपूर्ण हो, ब्याजदर पनि समान हुन्छ किनभने सर्टेन प्रतिशत भन्दा भेरियसन गर्न नपाइने भएकाले समानता देखिएको हो ।’ बैंकहरुले इनोभसनमा जोड दिनुपर्ने उनको भनाइ छ । बैंकहरुमा इनोभेसन नहुँदा निक्षेप र कर्जाको प्रडक्ट समान हुनु स्वभाविक रहेको उनको भनाइ छ । बैंकहरुको सञ्चालक समितिले गरेको निर्णयलाई कपिपेस्ट भन्न नमिल्ने उनको बुझाइ छ । बैंकलाई आफ्नो बैंकिङ्ग सेवालाई कसरी पृथक बनाउन भन्ने सञ्चालक समितिको चासोको विषय भएको उनले बताए । ‘कतिपय कुरा राष्ट्र बैंकले डाइरेक्टिभ लेण्डिङ तय गरेको हुन्छ, त्यो एरियामा पनि बैंकहरु पुग्नै पर्छ, बैंकहरुले इनोभेसन गर्न सकेमा झनै राम्रो हो, इनोभेसन गर्न नसक्दा लोन र डिपोजिटका प्रडक्ट समान हुनु सामान्य नै हो, अर्काे डिजाइनमा पनि समानता हुन सक्छ, पोखरेलले भने, ‘बैंकहरुको सञ्चलाक समितिले स्वीकृत गरेर निर्णय गरेको विषयलाई कपि पेस्ट गर्याे भन्न मिल्दैन, उहाँहरु आफै अलर्ट हुनुहुन्छ, बैंकको सेवा, प्रडक्ट कस्ता ल्याउने, बैंकलाई कसरी पृथक बनाउने राष्ट्र बैंकको चासो होइन सञ्चालक समितिको हो ।’ हालसम्म बैंकको प्रडक्टलाई कपी गरेको विषयमा अदालतमा मुद्दा भने परेको छैन । तर, बैंकरहरुले अनौपचारिक रुपमा यो बैंकले मेरो प्रडक्ट कपि गर्यो भन्ने आरोप भने लगाउने गरेका छन् ।
सिन्धु विकास बैंक १३ औं वर्षमा
काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । बैंकले भदौ १९ गतेदेखि भदौ २४ गतेसम्म विभिन्न कार्यक्रमहरु गरी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको हो । आफ्नो १३औं बार्षिकोत्सव यहि भाद्र १९ गते देखि भाद्र २४ गते सम्म सप्ताह ब्यापी रुपममा बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । बैंकले यस अवसरमा ट्राफिक जनचेतना कार्यक्रम, स्कुल कलेजहरुमा वित्तिय साक्षरता कार्यक्रम, बैकिङ्ग कसुर तथा साईबर क्राईम विषयमा सचेतना मुलक कार्यक्रहरु लगायत विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । यसका साथै बैंकले चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक र दोलखा जिल्लामा रहेका विभिन्न प्रतिष्ठित मठ मन्दीरहरुको सरसफाई तथा डस्टबिनहरु वितरण गरी भदौ २४ गते बैंकको कर्पोरेट कार्यालयमा रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा बनेपा बजार क्षेत्रका स्थानिय वासिन्दा तथा विभिन्न बैक वित्तिय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु समेत गरी ७५ जनाले रक्तदान गरेका थिए । सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, एससिटी डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, क्युआर कोड, सिएएसबिए, कनेक्ट आइपिएस, आरटिजिएस लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।