भोजपुरमा रुद्राक्षको मूल्य ६० प्रतिशत घट्दा व्यावसायिक किसान मर्कामा
भोजपुर । रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६० प्रतिशतसम्म गिरावट आएपछि व्यावसायिक किसानमा मर्कामा परेका हुन् । जिल्लाको दिङ्लाका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोतका रुपमा रुद्राक्षलाई लिइन्छ । रुद्राक्षको मूल्यमा गिरावट आउनुमा यसको उत्पादन राम्रो बनाउन पछिल्लो समयमा औषधिको प्रयोग गर्नाले पनि मूल्यमा कमी आएको व्यवसायी सुजन राईको भनाइ छ । किसानले जेठ, असारमा रुद्राक्षको बोटमा औषधिको प्रयोग गर्ने गरेका छन् । रुद्राक्षको मुखदार दानाको मूल्य १० हजारदेखि ४० लाख रुपैयाँसम्म पर्ने व्यवसायी राईको भनाइ छ । आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार भनिन्छ । बजारमा सबै बढी २१ मुखे दानाको माग रहेको छ । २१ मुखे दाना आकारको आधारमा अहिले पनि सात लाख रुपैयाँ देखि ४० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । रुद्राक्षमा हुने सबै गुण २१ मुखे दानामा हुने मान्यता रहेकाले यसको माग धेरै रहेको व्यवसायी राईले जानकारी दिए । यस्तो दाना कहिलेकाहीँ मात्र फल्ने गर्दछ । राम्रो आकार भएको पाँच र छ मुखे दाना प्रतिकेजी दुई लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको उनी बताउँछन् । रुद्राक्षको मूल्य मुख, तौल तथा आकारका आधारमा निर्धारण हुने गर्दछ । यस क्षेत्रका एक जना किसानले ३० देखि पाँच सयसम्म रुद्राक्षका बिरुवा रोपेर व्यावसायिक खेती गर्दै आएका छन् । यहाँको स्थानीयको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो । सामान्यतः विगतका वर्षमा दुईमुखे दानालाई २० हजार रुपैयाँदेखि ३० हजार, तीनमुखे तीन सयदेखि पाँच सय रुपैयाँसम्म, पाँचमुखे ४० देखि एक सय रुपैयाँसम्म, सातमुखे पाँच सय रुपैयाँदेखि एक हजारसम्ममा किनबेच भए पनि अहिले मूल्यमा गिरावट आएको व्यापारी बताउँछन् । त्यस्तै आठमुखे एक हजारदेखि तीन हजार रुपैयाँसम्म, नौ, १० र ११ मुखे पाँच हजारदेखि दश हजार रुपैयाँसम्म र बाह्रमुखे सात हजारदेखि बाह्र हजार रुपैयाँसम्म बिक्री हुँदै आएको थियो । तेह्रमुखे दश हजारदेखि १५ हजार रुपैयाँसम्म र १४ मुखे १० हजारदेखि दुईलाख रुपैयाँसम्म बिक्री हुने गरेको थियो । अहिले १४ मुखे दानाको मूल्य आठदेखि दश हजार रुपैयाँमा मात्र रहेको छ । अहिले मुखदारबाहेकका अन्य रुद्राक्ष अत्यन्तै कम मूल्यमा बिक्री भएको व्यवसायीले बताउने गरेका छन् । रुद्राक्षको बिक्रीमा विगतको तुलनामा ५० देखि ६० प्रतिशत मूल्यमा गिरावट आएको रुद्राक्ष व्यवसायी सङ्घ केन्द्रीय सचिव उत्तम कटुवालले जानकारी दिए । मूल्यमा गिरावट आएसँगै रुद्राक्षको व्यावसायिक कारोबार गरिरहेका व्यवसायी मारमा परेको कटुवालको भनाइ छ । मूल्य घटेपछि विगतका वर्षमा सङ्कलन गरिएको रुद्राक्ष भण्डारण गरेर राख्नुपर्ने बाध्यता रहेको समेत कटुवालले बताए । कोभिड महामारीका कारण चिनियाँ व्यापारी रुद्राक्ष किन्न आउन छोडेपछि बिक्रीमा गिरावट आएको स्थानीय रुद्राक्ष व्यवसायी राईले जानकारी दिए । विगतमा प्राकृतिकरुपमा औषधि प्रयोग नगरी उत्पादन भएका रुद्राक्षका बोटमा कमै मात्र भए पनि गुणस्तरीय मुखदार दाना फल्ने राम्रो मूल्यमा बिक्री हुने गरेको थियो । औषधिको प्रयोगले उत्पादनमा वृद्धि भए पनि मूल्यमा भने कमी आएको राईको भनाइ छ । औषधिको प्रयोगले किसानको लागत भने बढाएको छ । एकपटक औषधि प्रयोग गर्दा एउटा रुखका लागि १० देखि १२ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । औषधिको प्रयोग नगरेको दाना बिक्री नहुने भएकाले किसानले अनिवार्यरुपमा औषधि प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । ‘औषधि प्रयोग नगरेको दाना बिक्री नै हुन्न’, व्यवसायी राईले भने, ‘औषधि प्रयोगले उत्पादन लागतसँगे उत्पादन बढाएको छ तर मूल्य घटेको छ ।’ निकासी गर्दा पनि कर तिरेर लैजाँदा बाटोमा धेरै झन्झट हुने उनीहरुको गुनासो छ । नगरपालिकालाई प्रतिकेजी एक हजार रुपैयाँ र मुखदार दानाको पाँच हजार रुपैयाँ निकासी कर तिर्दै आएको व्यापारी बताउँछन् । रुद्राक्षलाई सहजरुपमा बिक्री वितरण गर्ने वातावरण बनाउन आवश्यक रहेको व्यवसायी राईले बताए । यसलाई नगदेबालीका रुपमा बिक्री गर्न पाउनुपर्ने उनको भनाइ छ । मुखदारबाहेक अन्य दानाको मूल्य धेरै घटेको व्यवसायी राईले बताए । ‘अहिले मुखदार दानाको मात्र खोजी भइरहेको छ’, उनले भने, ‘अहिले चिनियाँ व्यापारी कम आउने गरेका छन् । त्यसले पनि रुद्राक्षको व्यापारमा कमी आएको देखिन्छ । यसले व्यावसायिकरुपमा खेती गरिरहेका किसानलाई प्रत्यक्ष मार परेको छ ।’ भोजपुरमा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार सङ्खुवासभाको खाँदबारी र तुम्लिङ्टार नै हो । खाँदबारीबाट तराईका जिल्ला, काठमाडौँ तथा चीन र भारतमा समेत निर्यात हुने गर्दछ । यस्तै युरोप र अमेरिकालगायतका मुलुकमासमेत रुद्राक्ष निर्यात हुने गरेको छ । भोजपुरमा रुद्राक्षको इतिहास हेर्दा विसं १९३२ भन्दा पहिले भारतको कासीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्लामा रोपेको भन्ने भनाइ छ । रुद्राक्ष धार्मिकरुपमा पनि प्रयोग गरिन्छ । एकमुखेदेखि २१ मुखेसम्मका रुद्राक्षबारे महापुराणमा वर्णन गरिएको दिङ्लाबजारका तोयानाथ गौतमले जानकारी दिए । रुद्राक्ष रातो, कालो, सेतो र पहेँलो रङको उत्पादन हुने गर्दछ । कालो रङको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारिकन धागो छिराउन सकिन्छ त्यसलाई सबैभन्दा सर्वश्रेष्ठ मानिन्छ । षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानीलगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । रुद्राक्षको हेरचाह, गोडमेल तथा यसलाई प्रशोधन गर्नुपर्दछ । यसको खेती गर्दा अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने तथा राम्रो आम्दानी हुने भएकाले धेरै कृषकको रोजाइमा पर्दै आएको छ । रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानलाई यसको सुरक्षामा समेत समस्या छ । रुद्राक्ष समुन्द्री सतहदेखि एक हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिन्छ । रासस
१४ बैंकले तनहुँका कृषकलाई दिए ३३ करोड बढी ऋण, ब्याजदर पाँच प्रतिशत मात्रै
दमौली । सहुलियत ब्याजदरमा ऋण लगानीबाट तनहुँका चार सय ३० पशुपालक कृषक लाभान्वित भएका छन् । जिल्लास्थित विभिन्न बैङ्कले उपलब्ध गराएको सहुलियत ब्याजदरमा ऋण लगानीबाट चार सय ३० पशुपालक कृषक लाभान्वित भएका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको तथ्याङ्कअनुसार जिल्लाका १४ बैङ्कले पशुपालक कृषकलाई सहुलियत ब्याजदरमा ऋण लगानी गरेका छन् । सरकारको निर्णय बमोजिम ती बैङ्कले पशुपालक कृषकलाई सहुलित ब्याजदरमा पशुपालन गर्नका लागि ऋण उपलब्ध गराएको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । पशुपालनमा सहयोग पुर्याउन बैङ्कले पाँच प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरेका छन् । कार्यालयको तथ्याङ्कअनुसार कृषकलाई ३३ करोड १८ लाख १५ हजार रुपैयाँ ऋण प्रवाह गरिएको छ । कृषकले ऋण लिएर कुखुरा पालन, पशुपक्षी तथा मत्स्यपालना, बाख्रा, गाई भैंसीपालनमा लगानी गरेका छन् । कुखुरापालनका लागि आठ, पशुपक्षी तथा मत्स्यपालनका लागि एक सय २९, बाख्रा तथा गाईभैंसीपालनका लागि चार, पशुपालनका लागि दुई सय ८७ ले सहुलियत ब्याजदरमा ऋण लिएका छन् । कुखुरापालनका लागि एनआइसी एसिया बैङ्कले २० रुपैयाँ लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि नेपाल बङ्गलादेश बैङ्कले एक करोड २५ लाख रुपैयाँ, बाख्रा तथा गाईभैंसीपालनका लागि साङ्ग्रिला विकास बैङ्कले १७ लाख रुपैयाँ, पशुपक्षीपालनका लागि सनराइज बैङ्कले चार करोड पाँच लाख रुपैयाँ, पशुपक्षीपालनका लागि लक्ष्मी बैङ्कले एक करोड ९२ लाख ८३ हजार रुपैयाँ लगानी गरेका छन् । पशुपालनका लागि ग्लोबल आइएमइ बैङ्कले दुई करोड ३९ लाख रुपैयाँ, पशुपक्षी तथा मत्स्यपालनका लागि कामना सेवा विकास बैङ्कले एक करोड ४५ लाख रुपैयाँ, पशुपक्षी तथा मत्स्यपालनका लागि राष्ट्रिय वाणिज्य बैङ्कले ५२ लाख रुपैयाँ, पशुपक्षी तथा मत्स्यपालनका लागि मेघा बैङ्कले एक करोड छ लाख ८० हजार रुपैयाँ, पशुपक्षी तथा मत्स्यपालनका लागि कुमारी बैङ्कले नौ करोड ५८ लाख नौ सय ६० रुपैयाँ, पशुपक्षी तथा मत्स्यपालनका लागि कृषि विकास बैङ्कले सात करोड ३५ लाख ७५ हजार रुपैयाँ, पशुपक्षी तथा मत्स्यपालनका लागि एनएमवि बैङ्कले ५७ लाख ५० हजार रुपैयाँ, कुखुरापालन तथा पशुपालनका लागि माछापुच्छे बैङ्कले पाँच करोड ३८ लाख ५० हजार रुपैयाँ पशुपालनका लागि नेपाल बैङ्कले दुई करोड ९१ लाख ९२ हजार रुपैयाँ र पशुपालन कै लागि मेरो माइक्रोफाइनान्सले तीन करोड ९१ लाख ८५ हजार रुपैयाँ लगानी गरेका छन् । भेटेरीनरी पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएपछि पशुपालन गर्नेको सङ्ख्या बढेको छ । यद्यपि किसानले लागत अनुसारको मूल्य पाउन नसकेको गाईपालक कृषक व्यास नगरपालिका–११ निवासी कालिका पौडेलले बताए । ‘चोकरको मूल्य महिनैपिच्छे बढ्छ, तर दूधको मूल्य बढ्दैन, लागत अनुसारको मूल्य नपाउँदा कृषक मारमा पर्दै आएका छन्’, उनले गुनासो गरे । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँमा दूध, मासु र अण्डाको उत्पादन मागभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७७/७८ भन्दा २०७८\७९ मा दूध, अण्डा, मासु र माछाको उत्पादन वृद्धि भएको केन्द्रले जनाएको छ । आर्थिक वर्ष ०७८\७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै अण्डा दुई करोड ७० लाख ६० हजार गोटा उत्पादन भएको छ । दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिकटन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ । दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिकटन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको छ । प्रतिव्यक्ति प्रति वर्ष दूध ८४ दशमलव ९४ लिटर आवश्यक पर्ने भएकामा जिल्लामा एक सय १८ दशमलव ५४ लिटर, मासु १७ दशमलव ८३ किलो आवश्यक पर्नेमा जिल्लामा १४ दशमलव ४१ किलो, अण्डा ५१ दशमलव १८ गोटा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा उपलब्ध भइरहेको छ । रासस
नेप्से दोहोरो अंकले घट्दा ७४ करोड रुपैयाँमा सिमित, हिमालयन एभरेष्ट र नबिलको कारोबार धेरै
काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.४७ अंकले घटेको छ । ओरालो लागेको सेयर बजारले निरन्तरता पाएको हो । यस्तै आइतबार दिनभरिमा २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार १२४ पटक किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार अन्य समूह बाहेक सबै समूहमा राताम्य छाएको छ । बैंकिङ समूह ०.२५ प्रतिशत, विकास बैंक समूह १.४८ प्रतिशत, फाइनान्स समूह १.३९ प्रतिशत, होटल तथा पर्यटन समूह १.४१ प्रतिशत, जलविद्युत समूह १.५४ प्रतिशत, लगानी समूह १.०२ प्रतिशत, वस्वन बीमा समूह ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत, लघुवित्त समूह ०.८३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५७ प्रतिशत, निर्जीवन बीमा समूह ०.४९ प्रतिशत र ब्यापार समूह ०.६० प्रतिशत घटेको छ । यस्तै, आज अन्य समूह भने ०.२९ प्रतिशतले बढेको छ । जसमा नेपाल रिइन्स्योरेन्सको सेयर मूलय बढेको छ भने नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य घटेको हो । आज दिनभरिमा मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ४.५६ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ३.८९ प्रतिशत बढेको छ । यस्तै, आज सानिमा लार्ज क्याप फण्डको सेयर मूल्य ५.३७ प्रतिशत घटेको छ । यस्तै, आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक ३ करोड ९५ लाख ७८ हजार ४७१ रुपैयाँ र नबिल बैंकको ३ करोड १७ लाख ५० हजार ९७० रुपैयाँ बराबरको कारोबार भएको छ ।
मलाई व्यङ्ग गर्ने ‘बरिष्ठ नेता’लाई १५ प्रश्न
लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘बरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ । उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो । तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्योस् १। पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयोरु उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन ? २। संसद भनेको देशको नीति(नियम बनाउने थलो हो। तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका के, के विषयमा कति पटक बोल्नुभयोरु बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो ? ३। तपाईं देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद। राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवाँ नियन्त्रित, ट्र्याफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयोरु फेरि तपाईं त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो ? ४। काठमाडौँ सम्पदाको शहर हो। सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनु भयो कि ? ५। बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो। अहिले छुन पनि हिचकिचाउनु पर्छ। नदिनाला सफाईका लागि केही काम गर्नुभयो ? ६। त्यो सांसद विकास कोष भन्ने छ निरु त्यो खासमा बाहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनि राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरि छुट्याइएको बजेट हो। तपाईंले त्यो लिनु भयो कि भएनरु वास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नु पर्थ्यो नि, हगी ? ७। तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो किरु सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो ? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालावन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो ? ८। इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधिश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि ? ९। साँच्ची, नेपाली पुरूषसँग विवाह गरे लगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो ? १०। द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्बन्धमा जुन अत्यधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन। त्यो त गम्भिर विषय हो नि। अलि चासो दिनु पर्थेन ? ११। हुन त, विचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ। त्यो त अति भएन र भन्या ? १२। तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो ? १३। अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घढीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ? १४। झण्डै एउटा कुरा विर्सिएको। गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध सृंखलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे ? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ। छ भने बताइदिनोस् न, कृपया । १५। तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ। मैले त बीपी, कृष्ण प्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ । तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो । १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन । मौका पाए कोही नबस्ने देश बनाउनु भयो। राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो । खै के भनुँ ! अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ। मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ? मनमा खर्रर आएको मात्र लेखेको हुँ। अहिलेलाई यति नै। छुटेका कुरा पछि गर्दै जाउँला। नमरी बाँचे, कालले साँचे भेटौँला कुनै दिन ? तपाईंको व्यंग योग्य नव राजनीतिकर्मी रवीन्द्र मिश्र
पवन गोल्यानले भने : नेपाली वस्तु निर्यात गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिन्छौं
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने बताएका छन् ।आईतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् । उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए । अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकहरुमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको बताए । उनले नेपाली युवाहरुले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिविफिनले आर्थिक सहयोग गर्नसक्ने बताए । अध्यक्ष गोल्यानले हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्नसक्ने दाबी गरे । उनले सरकार तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्नेगरी नीतिगत काम गर्न भने नसकेको गुनासो गरे । अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने उनले बताए । उनले नेपालमा अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात भइरहेको भन्दै नेपालमा २ खर्बको नेपाल भित्र कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गरे । अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताए । सबै नेपालीले नेपाली लगाऔं नेपाली खाऔं अभियान चलाउनुपर्ने उनी बताउँछन् ।
म्याग्दीमा चार सय १५ घरमा पुग्यो विद्युत्
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभिए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको जानकारी दिए । ‘मुख्य, शाखा लाइन, ट्रान्सफर्मरलगायतका संरचना निर्माण तथा जडान गरेर भदौ २५ गतेदेखि विद्युत् सेवा वितरण थालिएको छ’, उनले भने, ‘मगरदाङमा विद्युत् विस्तार गर्न सङ्घीय सरकारको करिब दुई करोड ५० लाख रुपैयाँ लगानी भएको छ ।’ मगरदाङका बासिन्दा रातिका समयमा उज्यालोका लागि लघु जलविद्युत्मा निर्भर रहेका थिए । विसं २०७७ मा दाङखोलामा आएको बाढीले २५ किलोवाट क्षमताको मगरदाङडाँडागाउँ–आशाटोल लघुजलविद्युत् परियोजनाको विद्युत्गृह, नहर र जेनेरेटरमा क्षति पु¥याएपछि त्यस क्षेत्रका स्थानीय विद्युत् सेवाबाट वञ्चित रहनुपरेको थियो । मालिका गाउँपालिका–५ का वडाध्यक्ष मीम पुनले केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवासुविधा विस्तार भएपछि दैनिक घरायसी काम, विद्यार्थीलाई पठनपाठन गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको बताए । ‘वडाको गर्जरा, रुन्मामा यसअघि नै विद्युतीकरण भएको थियो’, उनले भने, ‘घरथोक, पन्थोक, जुग्जा र छुटेका बस्तीमा चालु आर्थिक वर्षभित्रमा विद्युत् सेवा विस्तार गर्ने तयारी भएको छ । विद्युत् सेवा विस्तारसँगै फर्निचर, पाउरोटी उद्योग, विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, वडा र अन्य कार्यालयको प्रशासनिक काम सहज भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरणकेन्द्रअन्तर्गत २१ घरमा विद्युत् सुविधा विस्तार भएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले गत आर्थिक वर्षमा थप ११ किलोमिटर ११ केभी र चार सय/दुई सय भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार भएको बताए । चालु आर्थिक वर्षमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगङ्गाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तरगतको मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हँुदै आएको छ । रासस
अधिकांश सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन छाडे, आवधिक निक्षेप पनि माग्न थालेपछि समस्या
काठमाडौं । अहिले बैंकसँगै सहकारी क्षेत्रमा पनि तरलताको समस्या भएपछि सहकारी संस्थाहरुलाई बचतकर्ताको रकम फिर्ता दिन पनि सकस भएको बुझिएको छ । वाणिज्य बैंकहरुले आकर्षक स्कीम ल्याउँदा सहकारीका सदस्यहरुले ती स्कीममा पैसा राख्नका लागि पनि सहकारीबाट पैसा फिर्ता लिइरहेका छन् । यसले पनि सहकारीमा थप तरलताको दबाब परेको छ भने अहिले कतिपय सहकारी संस्थाहरुलाई बचत फिर्ता गर्न नै सकस परेको बुझिएको हो । अहिले अधिकांश सहकारीहरुले बचतकर्तालाई निश्चित समय दिएर रकम लिनका लागि अनुरोध गरिरहेको बुझिएको छ । स्रोतका अनुसार अहिले काठमाडौंका अधिकांश ठूला सहकारीहरुले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । त्यसैले पनि बचतकर्तालाई केही निश्चित समय दिएर बचत फिर्ता दिने ‘डेडलाइन’ सहकारीहरुले तोकिरहेको स्रोतको दाबी छ । एक महिना अगाडि मात्रै राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रिय संघ लगायतका सहकारीहरुका छाता संस्थाहरुले तरलताको समस्या देखिएपछि सहकारी संस्थाहरुलाई एक पटकमा ५ प्रतिशत मात्रै रकम फिर्ता गर्न निर्देशन दिएको थियो । सो निर्देशनले पनि सदस्यहरुलाई एक किसिमको त्रास सिर्जना गरेको बुझाइ धेरैको । त्यसपछि निरन्तर सहकारीबाट पैसा बाहिरिरहेको जानकारहरु बताउँछन् । सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असन्तुलन हुने भन्दै सहकारीहरूका छाता संस्थाहरुले सो निर्देशन दिएका थिए । तर, त्यसले सहकारीका सदस्यहरुमा त्रास सिर्जना गर्नमा सघाउ पुर्याएको सहकारी विज्ञहरु बताउँछन् । गत साउनमै गौतमश्री बहुउद्देश्यीय सहकारी लिमिटेडका निक्षेपकर्ताले निक्षेप फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी गरेपछि अन्य सहकारीमा पनि निक्षेप फिर्ताको चाप बढेको समाचार बाहिरिएका थिए । त्यससँगै देउराली बहुउद्धेश्यीय सहकारी, काठमाडौंको शाँखुमा रहेको जन्म बचत तथा ऋण सहकारी संस्था लगायत समस्यामा परेको समाचार बाहिरिएका थिए । त्यसपछि निरन्तर रुपमा अन्य सहकारीहरुमा पनि चाप बढेको बताइएको छ । गत साता मात्रै राष्ट्रिय सहकारी महासंघले सहकारीको पैसा सहकारीमै राख्नु पर्ने र सहकारीको पैसा बैंकमा नराख्न आग्रह गरेको थियो । महासंघले सात बुँदे निर्देशन जारी गर्दैतरलता अभाव हुन नदिनका लागि सहकारीको पैसा सहकारीमै राख्ने अभियानलाई स्थापित गर्ने सबै सहकारीहरुलाई अनुरोध गरेको थियो । त्यसँसँगै हल्ला भएजस्तो सहकारीमा गम्भीर समस्या नभएकोले आफू आवद्ध संस्थासँग नियमित सम्पर्कमा रही निश्चिन्त भएर सेवा लिन ग्राहकहरुसँग आग्रह पनि गरेको थियो । भदौ १८ गते नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवसमा बोल्दै राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंकहरुले आकर्षक मुद्दति योजना ल्याउँदा सहकारीमा समस्या देखिएको बताएकी थिइन् । ‘मेरो स्मरण भएसम्म बैंकहरुले यस्ता खालको आकर्षक मुद्दति योजना ल्याएका थिएनन्, मानिसहरु सहकारीमै बचत गर्न रुचाउँथे, बैंकहरुले पैसा १० गुणासम्म बढ्ने योजना ल्याएपछि सहकारीहरुबाट पैसा झिकेर बचतकर्ताले पैसा ती योजनाहरुमा राख्ने थाले, तरलतामा समस्या भएकै कारण बैंकहरुले निक्षेप बढाउन त्यस्ता योजनाहरु ल्याए, जसको प्रत्यक्ष असर सहकारीमा परेको हो,’ उनले कार्यक्रममा भनेकी थिइन् । विश्वको अर्थतन्त्रमा नै समस्या आउँदा सहकारीमा पनि केही समस्याको संकेत देखिएको उनको भनाइ थियो । उनले तरलता अभाव भइरहेको समयमा बचतकर्ताले आवधिक निक्षेप पनि झिक्न खोज्दा समस्या सिर्जना भएको धारणा राखेकी थिइन् । सहकारीहरुमा एकपछि अर्को समस्या बाहिरिन थालेपछि बचतकर्ताले आवधिक बचत पनि फिर्ता माग्न थालेको सहकारीकर्मीहरु बताउँछन् । यसले पनि सहकारीहरुलाई एक किसिमको समस्या सिर्जना गरेको छ । सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले अहिले बैंक तथा वित्तीय संस्थाहरुमा पनि तरलताको समस्याका कारण सहकारीमा पनि केही समस्या देखिएको बताए । ‘अहिले विश्वको अर्थतन्त्र नै समस्यामा छ, नेपाली बैंक वित्तीय संस्था नै समस्यामा छन्, आयात निर्यातको ट्रेण्डले पनि त्यो देखाउँछ, पुँजीगत खर्च हुन सकेको छैन, रेमिट्यान्समा कमि आइरहेको छ, वित्तीय प्रणालीमा नै समस्या छ, फ्रोन्टमा सहकारी हुँदा समस्या देखिएको हो तर सहकारीमा धेरै हल्ला गरेर यस्तो अवस्था सिर्जना गरियो, जुन गलत हो,’ उनले भने ।
छ सय ४० नयाँ व्यवसायिक प्रतिष्ठानले पाए नापतौल इजाजतपत्र
काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८/७९ मा छ सय ४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र प्रदान गरेको छ । कार्यालयका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्ममा कोशी र सगरमाथा कार्यालयअन्तर्गत व्यवसायिक फर्मलाई सो इजाजतपत्र वितरण गरिएको हो । कार्यालय प्रमुख मनोजकुमार पोख्रेलद्वारा उपलब्ध विवरणमा कोशी र सगरमाथाअन्तर्गत तीन हजार तीन सय १९ व्यवसायिक तथा औद्योगिक प्रष्ठिान सो कार्यालयबाट हालसम्म नापतौलसम्बन्धी इजाजतपत्र लिइ सञ्चालनमा रहेका छन् । सोअवधिमा कार्यालबाट सात सय ३९ थान पम्पको नोजल जाँच गरेको र दुई सय ३९ ट्याङ्करको क्यालिव्रेशन जाँच गरेको बताइएको छ । उपरोक्त कारोबारबाट सो अवधिमा एक करोड २० लाख ४६ हजार आठ सय ८१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने कार्यालयबाट एकल अनुगमन २२ पटक तथा संयुक्त अनुगमन २१ पटक भएको कार्यालयले जनाएको छ । रासस