विकासन्युज

सामाजिक सुरक्षा कोषले श्रमिकका सन्तानलाई ६ लाखसम्म छात्रवृत्ति दिने

काठमाडौं । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध श्रमिकका सन्तानलाई स्नातक पढ्न ६ लाख रुपैयाँको छात्रवृत्ति दिने निर्णय गरेको छ । कोषले ७ प्रदेशबाट वार्षिक ८४ जना श्रमिकका सन्तानलाई स्नातक पढाउन ६ लाख रुपैयाँसम्म छात्रवृत्ति दिने निर्णय गरेको हो । कोषको बिहीबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, बैठकले सरकारले निर्धारण गरेको घातक रोग लागेमा १० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ ।

१०४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०४ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ३ हजार ५८७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५९२ जना तथा एन्टिजेन विधिबाट १ हजार ९९५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा २०१ जना निको भएका छन् भने ८ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ३१६ पुगेको छ ।

‘दुई नम्बरी धन्दाबाट पैसा कमाउने प्रवृति बढ्यो, रातारात धनी बन्ने सपना देख्नु हुन्न’

काठमाडौं । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताएका छन् । बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशीलता सम्मेलन’को उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले लामो सङ्घर्षका साथ राजनीतिक परिवर्तनमा होमिँदै जीवनको उत्तरार्धतिर आइसकेकाले स्मरण गर्दै भने, ‘अब बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने मेरो अठोट हो, उद्योगमैत्री ऐन कानुन, बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने सोच छ ।’ अध्यक्ष दाहालले आजको स्थिति हेर्दा १० वर्षमा मुलुकलाई विकासको गतिमा अघि बढाउन सम्भव छ भने । त्यसकाल लागि युवाको जागरुकता आवश्यक भएको उनले बताए । अध्यक्ष दाहालले थपे, ‘हाम्रो भरोसा तपाईं युवा नै हो, तपाईहरू भविश्य होइन वर्तमान हो, अठोट गर्याे भने देशलाई नयाँ र आर्थिकरूपले गतिशिल बनाउन सकिन्छ । नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएको पनि उनले बताए । उनले प्राकृतिक स्रोतसाधनको प्रचुर सम्भावना रहेको तर राजनीतिक वातावरण र उनीहरूको दृढ इच्छाशक्ति, सही भिजन, योजना र कार्यक्रमको अभाव रहेको बताए । भौगोलिक अवस्थाका आधारमा नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना अधिक रहेकाले उक्त अवसर र सम्भावना नगुमाउन युवालाई आह्वान गरे । उनले अहिले पनि सबैभन्दा विकास गर्न सकिने महत्वपूर्ण क्षेत्र भनेको कृषि नै भएको बताउँदै कृषिमा आत्मनिर्भर र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकता औँल्याए । अध्यक्ष दाहालले विगतमा खाद्यान्नमा निर्यात गर्ने हाम्रो मुलुक आर्थिक स्थितिमा पछाडि जानु चुनौतीपूर्ण अवस्था हो भने । उनले जलविद्युत्, पर्यटन तथा जडीबुटी र खनिजको विकास गर्ने कुरा हुँदाहुँदै पनि कृषिमा आधारित उद्योग दीगो र दीर्घकालीन हुने बताए । दुई नम्बरी धन्दाबाट सम्पत्ति कमाउने प्रवृत्ति समाजमा रहने र त्यो प्रवृत्ति हावी हुने खतरा रहेको जिकिर गर्दै अध्यक्ष दाहालले सम्पत्ति कसरी कमाउने र कसरी खर्च गर्ने कुरा महत्वको नभएको तर समाजलाई कसरी अघि बढाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताए । उनले युवालाई कुनै उद्योग स्थापना गरेर छिट्टै पैसा कमाउने सपना नदेख्न आग्रह गरे । पैसा कमाउनका लागि धैर्यता लिन सुझाव दिए । ‘काम ढिलो होस्, तर दीर्घ होस्, रातारात धनी हुनुपर्छ भनेर सुरु गरेको व्यवसाय तत्काल त्याग्नु हुन’, उनले युवालाई सुझावात्मकरुपमा भने । अध्यक्ष दाहालले आफ्नो बाल्यकाल स्मरण गर्दै खान नपुगेर कास्कीबाट चितवन झरेको मान्छे दुईपटक प्रधानमन्त्री नै भइसकेको भनी युवालाई उत्प्रेरणा जगाए । उनले आफूले युद्धको नेतृत्व लिँदै द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न तथा समावेश संविधान निर्माणका लागिसमेत नेतृत्वदायी भूमिका लिन पाएको सुनाए । राम्रो योजनाका साथ काम गर्नसके सफल हुने पनि बताए । सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले मुलुकको आर्थिक विकासका लागि नयाँ राजनीतिक सोचको आवश्यकता रहेको बताएका छन् । मन्त्री गहतराजले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायत क्षेत्रका सम्भावना भएको क्षेत्र रहेको तर त्यसका लागि नयाँ राजनीतिक सोचका साथै भिजनेवल नेतृत्वको हातमा राजनीतिक प्रणाली जानुपर्नेमा जोड दिए । उनले युवालाई मुलुकको समृद्धि र विकासका लागि जोड्नुपर्ने आवश्यकता औँल्याए । मुलकुका प्रचुर सम्भावना रहेको प्राकृतिक स्रोत र साधनलाई सही ढङ्गले सदुपयोग गर्ने नयाँ सोचको आवश्यकता भएको र त्यो युवाबाटै सम्भव रहेको मन्त्री गहतराजको भनाइ थियो । उनले मुलुकको जमिन र पानीको सही सदुपयोग हुनु जरुरी छ भने । सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले अब कृषिको विकासँगै आर्थिक क्रान्ति आवश्यक रहेको बताए । उद्योगी गोल्यानले युवा उद्यमीले नै त्यसको नेतृत्व गर्नुपर्ने बताए । उनले नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताउँदै कृषिमा लाग्न युवालाई आग्रह गरेका छन् । उनले कृषिको बजारीकरणमा समस्या परे युवासँग आफू पनि हातेमालो गर्न तयार रहेको बताए । नेपालमा व्यवसाय गर्दा त्यसमा असफल भइयो भन्दैमा उक्त व्यवसाय छाडेर जान नहुने उल्लेख गर्दैै उनले कडा परिश्रम गरे सफलतामा पुग्न सकिने अनुभव सुनाए । गोल्यानले नेपालमा मह, जडीबुटी र अचारलगायतको उत्पादन गरेर त्यसलाई ब्राण्ड बेच्न पनि आग्रह गरे । सम्मेलनका संयोजक विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले अबको आन्दोलन शान्ति, स्थायित्व र आर्थिक विकास भएको बताए । संयोजक गैरेले अबको निर्वाचनमा जुन दल उक्त मुद्दालाई लिएर अघि बढ्छ त्यही दलले युवाको मत पाउने पनि बताए । उनले युवा उद्यमी बनेर देशको अर्थतन्त्रमा बदलाब दिन चाहने युवाका लागि राजनीतिक नेतृत्वको सहयोगको खाँचो रहेको औँल्याउनुभयो । उहाँले मुलुकमा युवामैत्री र उद्योगमैत्री नीति र कानुनको खाँचो रहेको सुनाए । राष्ट्रिय युवापरिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले सगरमाथा, लुम्बिनी र पशुपतिनाथलाई शिरमा राखेर कृषि, ऊर्जा, पर्यटन र औद्योगिक क्रान्तिको तिर चलाउनसके विकास र समृद्धिको खिर खान समय नलाग्ने बर्ताए । उनले हरेक वर्ष छ लाख युवा विदेश पलायन भइरहेका सन्दर्भमा उनीहरूलाई मुलुकभित्रै स्वरोजगार बनाउँदै राष्ट्रिय निर्माणको अभियानका लाग्नसके मुलुकमा आर्थिक विकासको गति अघि बढाउन समय नलाग्ने उल्लेख गरे । जारी सम्मेलनमा ५५ जिल्लाका युवा उद्यमी र उद्यमी बन्न चाहने युवाको सहभागिता रहेको छ । सम्मेलनमा आर्थिक विकासका विभिन्न विषयमा समूहगत छलफल जारी छ । रासस

डिशहोमको २ टेलिभिजन विज्ञापनले जित्यो कृति अवार्ड

काठमाडाैं । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’ र ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम’ टेलिभिजन विज्ञापनले कृति अवार्ड पाएकाे हाे । ‘खुसीको कनेक्सन’ ले उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड र ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम’ ले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड  पाएकाे हाे ।  

फुटपाथ खोइ ? विद्युत प्राधिकरणले खायो

काठमाडौं । काठमाडौं घट्टेकुलोमा बस्दै आएका कमल अधिकारी दिनहुँ धोबिखोला कोरिडोरमा बेलुका पैदल यात्रामा निस्कछन् । घरबाट निस्केर उनी बेलुका अनामनगरको भाटभटेनीमा पुगी आवश्यक सामान खरिद गरेर घर फर्किन्छन् । तर, पैदल यात्रामा भोग्नु परेका समस्याले उनलाई बिरक्त बनाउँछ । पैदल यात्रीका लागि भनेर बनाइएका फुटपाथ हिड्नै नसक्ने भएपछि उनी आक्रोश व्यक्त गर्छन् । हिँड्दै अनामनगरको भाटभटेनीसम्मको यात्रा तय गरेका अधिकारी गाडी जाममा परेको जस्तो फुटपाथमा हिडेका मान्छे जाममा पर्नु परेको गुनासो गर्छन् । सेतोपुलदेखि अनामनगरको भाटभटेनी करिडोरसम्मको फटुपाथमा बाटो नै बन्द हुने किसिमले राखिएका बिजुलीका क्याबिनेटले समस्या दिने गरेको उनको भनाइ छ । कोरिडोरको छेउमा बनाइएको साँघुरो फुटपाथमा प्राधिकरणले क्याबिनेट बक्स राख्दा पैदलयात्रीलाई समस्या हुने गरेको छ । ‘साँघुरो फुटपाथ छ, त्यही माथि फुटपाथमा क्याबिनेट बक्सको अवरोध, ओहोर दोहरो गर्नुपर्यो भने पनि पर्खेर जानु पर्ने बाध्यता छ, फुटपाथबाट सडकमा झरेर पुनः फुटपाथमा उक्लिनु पर्ने बाध्यता छ,’ उनले भने । बिजुलीको तार भूमिगत गर्दा प्राधिकरणले ठाउँ ठाउँमा बिजुलीको लाइन वितरण गर्न राखेका बक्स अहिले धोबिखोला मात्रै हैन, काठमाडौंका अधिकांश ठाउँका फुटपाथमा क्याबिनेट बक्स छन् । यसले पैदलयात्रीलाई धेरै ठूलो समस्या दिने गरेको छ । नेपाल विद्युत प्राधिकरणले नै यसरी फुटपाथ नै कब्जा गरेर उक्त बक्स राख्नु आफैमा दुःखको विषय भएको उनीहरु बताउँछन् । फुटपाथ नै अवरुद्द हुने किसिमले राखिएका बक्सले यात्रुलाई पेटीबाट सडकतिर धकेलिरहेको पैदलयात्रीको गुनासो छ । एक जना मान्छे पनि फुटपाथमा राम्रोसँग हिँड्न नसक्ने उनको भनाइ छ । फुटपाथमा बिजुलीको बक्सले अवरोध ज्यान जोखिममा राखेर सडकमा हिँड्नु परेको गुनासो अधिकारी गर्छन् । यस्तै, स्थानीय रञ्जन गुरुङले पनि फुटपाथमा बिजुलीको क्याबिनेट बक्स राख्दा समस्या भएको बताए । गुरुङले फुटपाथमा रहेको बिजुली बक्सले ज्यान लिने खतरा हुने डर पैदल यात्रीमा हुने गरेको बताए । ‘खतरामुक्त फुटपाथमा हिँड्न पाउनुपर्याे, सहज यात्रा गर्न पाउनु हाम्रो अधिकार हो, बिजुलीका बक्सहरू प्राधिकरणले व्यवस्थित गरिदिन्छ भन्ने विश्वास लिएका छौं,’ उनले भने । काठमाडौंका फुटपाथमा हिँड्ने अधिकांशलाई अहिले क्याबिनेट बक्स समस्या बनेको छ । बक्सले बाटो छेकेपछि फुटपाथमा हिँड्ने मान्छे सडकमा झर्दा दुर्घटनाको जोखिम पनि बढेको छ । केही स्थानमा सानो ठाउँ छोडिएता पनि अधिकांश बक्स राखिएको फुटपाथ नै अवरुद्द गरेका छन् । कतिपय ठाउँमा यात्रुलाई पर्खाल र क्याबिनेटको बीचमा च्यापिएर हिँड्नुपर्ने बाध्यता छ । प्राधिकरणले भूमिगत तारको विस्तार गर्ने भनेर काम अगाडि बढाएको थियो । तारको व्यवस्थापन हुन नसक्दा अहिले सडकको छेउमा नै अव्यवस्थित खुल्ला तार पनि छरपष्ट अवस्थामा छन् । अब छिट्टै हटाउँछौं : प्राधिकरण नेपाल विद्युत प्राधिरणले क्याविनेट राख्दा ढंग नपुगेकोले अब छिट्टै हटाउने प्रतिबद्धता गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा राखेका बिजुलीका बक्स हटाउनका लागि तयारी भइरहेको प्राधिकरणको भनाइ छ । यस विषयमा काठमाडौं महानगरले पनि चासो देखाएको छ । प्राधिकरणले महानगरसँग पनि हटाउने बताइसकेको छ । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईल अहिले रहेको ठाउँबाट हटाएर पोलमा बक्स राख्ने विषयमा तयारी भइरहेको बताए । महानगरले पनि पोललाई पनि अन्डरग्राउण्ड गर्न भनेको छ । तर, महानगरले पोलमाथि राख्ने बताइसकेको छ । अहिले प्राधिकरणले विभिन्न ठाउँमा तार भूमिगत गर्ने काम गरिरहेको छ । त्यसका लागि क्याबिनेट बक्स पनि राखिरहेको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले परामर्शदाता र ठेकदार कम्पनीले अव्यवहारिक रुपमा राखिएका यस्ता बक्सहरुको रि–डिजाइन गरिसकेको बताएको छ । प्राधिकरणका अनुसार हाल काठमाडौं उपत्यकामा ३ हजार ७ सय बिजुलीका बक्स जडान गरिएका छन् ।

लगनखेलको मन्जुश्री पेट्रोल पम्प सिल

काठमाडौं । काठमाडौं महानगपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । मापदण्डविपरित बनाइएको उक्त पेट्रोल पम्प महानगरले आइतबार सिल गरेको हो । उक्त पेट्रोल पम्प लामो समयदेखि महानगरकै जग्गामा संचालनमा रहेको थियो । महानगरले उक्त पेट्रोल पम्पलाई ६ महिना अगाडि नै मापदण्ड विपरीत रहेको भन्दै हटाउन सूचित गरेको थियो । तर, पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि पम्प सिल गरिएको महानगरले जनाएको छ ।

जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

जुम्ला । यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताए । सम्मेलनमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने जनाइएको छ । महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के नाच र स्थानीय कलाकारसमेतको प्रस्तुती रहने छ । जुम्ली लोकल जातका स्याउको बजार प्रवद्र्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्रीका लागि महोत्सवमा राखिने भएको छ । यस वर्ष राष्ट्रिय कलाकारसहित स्थानीय झाँक्रीसहित महोत्सव लगाउने तयारी गरेको आयोजकले जनाएको छ । महोत्सवमा जुम्लाका सबै किसानलाई आफूले उत्पादन गरेका स्याउ र स्याउबाट बनाइएका परिकारसमेत ल्याएर आउन अनुरोध गरिएको छ । महोत्सवमा कृषि विज्ञले किसानको स्याउको स्वाद, गुणस्तर र साइज परीक्षण गर्नेछन् । उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने छ । स्याउबाट बन्ने ब्राण्डी, जाम जेलि वाइनको बजारीकरण हुनेछ । यसवर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएकोे कृषि विकास कार्यालयले जनाएको छ । रासस

मोहन प्रसाद फुयाँलको नेतृत्वमा एनटिनको कार्यसमिती चयन

काठमाडौं । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन एनटिनको नयाँ कार्यसमिति चयन भएको छ । मोहन प्रसाद फुयाँलको नेतृत्वमा एनटिनको १५ जनाको कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणिकुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष नरेश प्रसाद पटेल चयन भएका छन् । यस्तै, सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बि। सी।, सालिकराम आचार्य, हरि बहादुर कार्की, विनोद महर्जन, ई। दीपक पौडेल, राम प्रसाद भट्ट, हरि कृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, राम बाबु सिंह, कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक निर्वाचित भएका छन् । साथै, कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि संगठन अझ सशक्त ढङ्गले क्रियाशील रहने बताउँदै महाधिवेशनले ११ बुँदे प्रस्ताव पारित गरेको छ । महाधिवेशनमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।